कासिम सुलेमानी मारिएको पाँच वर्ष, के उनले सुरु गरेको इरानको 'एक्सिस अफ रेसिस्टेन्स' कायम रहला?

सैन्य पोसाकमा कासिम सुलेमानी

तस्बिर स्रोत, Getty Images

    • Author, खासयार जोनेइदी र फरजाद सेइफिकरन
    • Role, बीबीसी पर्सिअन

गत महिना इरानको साथ पाएको सिरियाली सरकार ढलेपछि 'एक्सिस अफ रेसिस्टेन्स'ले ठूलो धक्का बेहोर्‍यो।

सो प्रभावशाली गठबन्धन मध्यपूर्वमा एक प्रमुख पक्षका रूपमा रहँदै आएको छ।

त्यसका एक मुख्य सुत्रधार कासिम सुलेमानीको पाँचौँ वार्षिकीको अवसर पारेर बीबीसी पर्सिअनले उक्त गठबन्धनको भविष्य केलाएको छ।

पाँच वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपति भएका बेला कासिम सुलेमानी अमेरिकी सेनाले निशाना परेर बग्दादमा मारिएका थिए।

सुलेमानी इस्लािमक रेभोलुसन कार्ड कोर (आईआरजिसी)को एउटा शाखाको रूपमा रहेको विशिष्ट क्विड फोर्सका कमाण्डर थिए।

उनी विदेशमा हुने इरानको कारबाहीका लागि जिम्मेवार मानिन्थे। उनी इरानको क्षेत्रीय प्रभाव र सैन्य रणनीति बनाउने एकजना मुख्य व्यक्ति थिए।

सन् २०२० को ३ ज्यानुअरीमा अमेरिकी ड्रोन हमलामा मारिनुभन्दा तीन महिनाअघि सुलेमानीले आईआरजिसीका कमाण्डरहरूलाई एउटा गोप्य मन्तव्य दिएका थिए।

जसक्रममा उनले "एक्सिस अफ रेसिस्टेन्सको सङ्ख्यात्मक र गुणात्मक विस्तार"को चर्चा गरेका थिए।

यस्तो लाग्थ्यो कि आफू मारिन सक्ने ठानिरहेका कारण आफूले दुई दशकदेखि क्विड फोर्सको नेतृत्व गर्दाको रिपोर्ट दिन सुलेमानी चाहिरहेका थिए।

"आईआरजिसीले सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा प्रतिरोध विकास गर्ने क्रममा दक्षिणी लेबननको २,००० वर्ग किलोमिटर क्षेत्रबाट पाँच लाख किलोमिटरमा विस्तारित भएको छ," उनले भनेका थिए।

"आईआरजिसीले प्रतिरोधका क्रममा भौगोलिक सम्बन्ध सिर्जना गर्‍यो; जसको अर्थ यसले इरानलाई इराकसँग, इराकलाई सिरिया र सिरियालाई लेबनानसँग जोड्यो। आज तपाईँ तेहरानबाट कार चढेर बेइरुतको दक्षिणी उपनगरहरूमा निस्कन सक्नुहुन्छ।"

इरानमा उक्त एक्सिस अफ रेसिस्टेन्सलाई सुनेमानीको एउटा मुख्य उपलब्धिका रूपमा हेरिन्छ।

तर पछिल्ला वर्षमा त्यसले कैयौँ ठूला धक्का बेहोरेको छ।

मध्यपूर्व बदल्न सक्ने सोच

इरान र उसको प्रभाव क्षेत्रको नक्सा

सन् १९८० को दशकमा इरानको क्षेत्रीय विस्तार सुरु भयो जतिखेर उसले लेबननमा शिया हिज्बुल्लाह अभियान स्थापना गर्न सहयोग पुर्‍यायो। त्यो अमेरिका र इजरेल दुवैविरुद्ध उत्रिनका लागि थियो।

पछि उक्त क्षेत्रमा सन् २००३ मा अमेरिकाले इराक अतिक्रमण, सन् २०११ को अरब स्प्रिङ र इस्लामिक स्टेट समूहजस्ता सुन्नी अतिवादी समूहको स्थापनाले अस्थिरता सिर्जना गर्‍यो।

त्यसले इरानलाई त्यस क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो पार्ने अवसर दियो।

सिरियामा आईआरजिसीको तैनाथ र इराक र लेबननमा शिया लडाकु समूहको उपस्थितिले इरानको सीमादेखि भूमध्यसागरको तटसम्मको भौगोलिक सम्बन्ध स्थापना गर्दै इजरेली कुनासम्म समेत पुग्यो।

हिब्रु युनिभर्सिटी अफ जेरुसलेमका एकजना प्राध्यापक डानिअल सोबेलमनका विचारमा सन् २००३ मा इराकमा अमेरिकी अतिक्रमण नहुँदासम्म इरान र उसको नियन्त्रणमा रहेका क्षेत्रबीचको स्थल बाटो सम्भव मानिन्थेन।

"इराक युद्धले इरानलाई त्यस्तो सम्बन्ध जोड्दै इराक, सिरिया र त्यहाँदेखि सिधै लेबनन जोड्ने अवसर दियो," उनी भन्छन्।

"त्यो साँच्चिकै महत्त्वपूर्ण थियो किनकि लेबननमा हिज्बुल्लाह इरानको क्षेत्रीय काम र र एक्सिस अफ रेसिस्टेन्सको आधारशिलाका रूपमा थियो।"

यमन समेत गृहयुद्धमा फस्यो जहाँ राजधानी र कैयौँ मुख्य सहरहरू इरानसँग सम्बन्ध भएका शिया लडाकुहरूको नियन्त्रणमा पुगे।

इजरेलबाहिरको 'रिङ अफ फायर'

दायाँबाट: मोहम्मद रेजा जाहेदी (दमास्कसमा सन् २०२४ मा मारिएका आईआरजिसी कमाण्डर), हसन नस्रल्लाह, कासिम सुलेमानी र समिर तफिक डिब (सन् २०२४ को सेप्टेम्बरमा मारिएका नस्रल्लाहका सल्लाहकार)

तस्बिर स्रोत, Soleimani.ir

तस्बिरको क्याप्शन, दायाँबाट: आईआरजिसी मोहम्मद रेजा जाहेदी, हिज्बुल्लाहका हसन नस्रल्लाह, कासिम सुलेमानी र हिज्बुल्लाहका समिर तफिक डिब (सबै अमेरिकी वा इजरेली सैन्य कारबाहीमा मारिए)

पछिल्ला वर्षमा उक्त एक्सिस अफ रेसिस्टेन्स मुख्य रूपमा शिया समूह र केही सुन्नी इस्लामवादीबीचको क्षेत्रीय गठबन्धनको प्रतीक बन्यो।

सुन्नी इस्लामवादी समूहका रूपमा हमासको प्यालेस्टिनी समूह र इस्लामिक जिहाद छन् जो मध्यपूर्वमा पश्चिमा र इजरेली प्रभावसँग जुझ्ने उद्देश्य राख्छन्।

त्यस्तो एक्सिस गैरराज्यपक्षहरू मिलेर बनेको छ। जस्तो, लेबननमा हिज्बुल्लाह, इराकमा शिया लडाकु समूहहरू, यमनमा हुथी विद्रोहीहरूका साथै यसअघि सिरियामा रहेको बसर अल-असदको सरकारले इरानको महत्त्वपूर्ण भूराजनीतिक स्वार्थमा उभिएका थिए।

उक्त सञ्जालको साथ नभएका भए असदको राज निकै अघि अन्त्य हुनेवाला थियो।

त्यसले इजरेलको सीमा आसपास "रिङ्ग अफ फायर" बनाउँदै इजरेल र अमेरिका दुवैविरुद्ध इरानको मुख्य अवरोधक अस्त्र बने।

जर्ज डब्ल्यु बुसका पालामा इराक र अफगानिस्तानमा सुरु भएका अमेरिकी सैन्य युद्ध र सिरियामा आईआरजिसीसँगको अमेरिकी संलग्नताका कारण इरान परमाणु सम्झौता भङ्ग हुने (हाल निष्क्रिय) ओबामा प्रशासनको चिन्ताजस्ता कारण तेहरानको क्षेत्रीय अवस्था बलियो बन्ने एवं एक्सिस अफ रेसिस्टेन्स विस्तार हुन सघाउने कारण थिए।

ट्रम्प प्रशासनका बेला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका जोन बोल्टन आफ्नो सेना बलियो बनाउन र आफ्नो गठबन्धन विस्तार गर्ने प्रयासमा इरान सफल भएको टिप्पणी गर्छन्।

त्यो एउटा "गम्भीर प्रयास" रहेको बताउँदै जसका लागि उनीहरूले लामो समयको अन्तरालमा अर्बौँ अमेरिकी डलर लगानी गरेको बताउँछन्।

"त्यो लेबननमा हिज्बुल्लाहको सिर्जना र स्थापनासँगै सुरु भएको थियो। जब त्यसलाई इरानको परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमसँग जोडेर हेरिन्छ तब त्यो निकै महत्त्वाकाङ्क्षी लाग्छ र त्यसमा उल्लेख्य उपलब्धि हासिल भएको देखिन्छ।"

खस्कँदो इरानी प्रभाव

पाँच वर्षअघि डोनल्ड ट्रम्पले कासिम सुलेमानीको हत्याको आदेश दिँदै एक्सिस अफ रेसिस्टेन्सको प्रभाव धरासायी पार्ने धरातल बनाएका थिए।

यतिखेर पुनः ट्रम्प ह्वाइटहाउसमा फर्कने तयारी गरिरहँदा इरान दुई दशकयताकै सबैभन्दा कमजोर अवस्थामा छ।

आफू राष्ट्रपति छँदा ट्रम्पले इरानमा "अधिकतम दबाब" अभियान चलाएका थिए। जसक्रममा इरान परमाणु सम्झौताबाट पछाडि हट्नुका साथै पुनः कडा प्रतिबन्ध लगाउने कदमहरू थिए।

जसले पछिल्लो सात वर्षमा इरानमाथि उल्लेख्य आर्थिक दबाब परेको छ।

जससँगै आफ्ना एक मुख्य कमाण्डर सुलेमानीको समेत हत्या हुँदा इरानको क्षेत्रीय भूमिका कमजोर बनिरहेको छ।

यद्यपि सन् २०२३ को अक्टोबर ७ तारिखमा इजरेलमा भएको हमासको हमलाले अझ ठूला चुनौती थपिदिएको छ।

हमास नेताहरू मारिनुका साथै गाजामा रहेको उनीहरूको सैन्य फौज परास्त गरिनुका साथै बेइरुतमा हिज्बुल्लाहका नेता हसन नस्रल्लाहसहित उक्त शिया समूहका कैयौँ वरिष्ठ कमाण्डरहरू मारिनुले इजरेलविरुद्ध इरानका प्रतिरोधी क्षमता उल्लेख्य रूपमा कमजोर बनेको छ।

डा डानिअल सोबेलमनले इरानी प्रभावको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रीय औजारका रूपमा हिज्बुल्लाहको सैन्य संयन्त्रमा परेको ठूलो असरका कारण क्षेत्रीय समिकरण लामो समयका लागि इजरेलको पक्षमा सरेको बताउँछन्।

"कैयौँ वर्षसम्म हिज्बुल्लाहले आफूलाई एक्सिस अफ रेसिस्टेन्सको सबैभन्दा शक्तिशाली पक्षका रूपमा उभ्याएको थियो," उनी भन्छन्।

"अब हामी यस एक्सिसको दिगोपनको वास्तविकताबारे छलफल गर्ने अवस्थामा छौँ, जुन अचम्मलाग्दो हो।"

उनी थप्छन्: "एक्सिस अफ रेसिस्टेन्सले इरानको पक्षमा शक्ति सन्तुलन मोड्न सकेको थियो, तर अब अवस्था पूर्ण रूपमा उल्टिएको छ।"

त्यसैगरी जोन बोल्टनका अनुसार सिरियामा अनपेक्षित रूपमा असदको सत्ता ढल्नु "नि:सन्देह रूपमा" इरानको "ठूलो पराजय" हो।

"यो हिज्बुल्लाहका लागि समेत एउटा ठूलो पराजय हो। किनकि इरानदेखि उनीहरूसम्म क्षेप्यास्त्र, अस्त्र र अन्य उपकरण पुग्ने स्थल मार्ग अवरुद्ध बनेको छ," बोल्टन भन्छन्।

"त्यसैले इजरेलको उच्च दबाबमा रहेको हिज्बुल्लाहले यतिखेर गम्भीर आपूर्ति समस्या खेपिरहेको छ।"

भविष्य

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह मारिएको क्षेत्र

तस्बिर स्रोत, Getty Images

यतिखेर इरानले धेरै कमाण्डर र एक्सिस अफ रेसिस्टेन्सका नेताहरू गुमाउँदै, आफ्ना साझेदारबीचको भौगोलिक सम्बन्धको अभाव झेल्दै कठिन अवस्थामा छ।

इराकमा रहेका शिया लडाकुहरू र यमनका हूथी विद्रोहीहरू त्यस क्षेत्रमा तेहरानसँग बाँकी रहेका सहज पक्ष हुन्। तर तिनले समेत अमेरिका र इजरेलबाट व्यापक हमला खेपिरहेका छन्।

इरानको अर्बौँ डलर लगानी र सिरियामा लाखौँ मानिसहरूको रक्तपातपूर्ण मृत्युपछि पनि कुनै बेला मुख्य क्षेत्रीय शक्तिका रूपमा हेरिएको एक्सिसले यतिखेर अभूतपूर्व चुनौती सामना गरेको छ।

त्यसैबीच ट्रम्प शक्तिमा फर्किएसँगै इरान र अमेरिकाबीच कुनै सम्झौता हुने देखिँदैन। ह्वाइटहाउसले चीन र इराकतर्फ दबाब मोड्दै तेहरानको तेलको आम्दानीमा धक्का पारिदिन सक्छ।

वासिङ्टनले इराकमा रहेको पपुलर मोविलाइजेसन फोर्सलाई उक्त समिकरणबाट टुटाइदिने कदम चाल्न सक्छ।

मध्यपूर्वको पछिल्लो हलचलबिच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले डिसेम्बरमा भनेका थिए: "यस रेसिस्टेन्सलाई जति तपाईँ दबाब दिनुहुन्छ, त्यो त्यति नै प्रतिबद्ध बन्छ।"

उनले सो सञ्जालको दायरा यस क्षेत्रमा पहिलेभन्दा अझ बढ्ने" बताए।

उनको अभिव्यक्ति सो गठबन्धनलाई पुनः बलियो पार्ने र गुमाएका भौगोलिक क्षेत्र पुनः प्राप्त गर्न इरानको सम्भावित प्रयास दर्साउँछ।

इजरेली सेनाका एकजना पूर्व गुप्तचर नेता र सुरक्षा त्राससम्बन्धी एकजना विज्ञ इब्राहिम लेभिनले एक्सिस अफ रेसिस्टेन्सभित्र बदलाको भावना यतिखेर उत्कर्षमा रहेकोले यसका नेताहरूले पुरानै अवस्था हासिल गर्न व्यग्र प्रयासहरू गर्ने बताउँछन्।

लेभिनका विचारमा केही हदसम्म सिरिया "गुमे" तापनि "इरानले सिरियामा पहुँच पुन कायम राख्न र सिरियाली भूभाग प्रयोग गर्न [एचटिएस समूहका नेता] जुलानीजस्ता नेतासामु प्रस्ताव लैजान सक्छ।"

यसैबीच डा डानिअल सोबेलमन हालको अवस्था मध्यपूर्वमा राजनीतिक नवीनता खोज्ने एउटा महत्त्वपूर्ण क्षण हुनसक्ने ठान्छन्।

"सम्भवतः त्यहाँ इजरेल-प्यालेस्टिनी द्वन्द्व सुल्झाउने एउटा अवसर हुनसक्छ," उनी भन्छन्।

"राजनीतिज्ञ र राजनीतिक शिल्पकारहरूले यो समयलाई छोप्दै, युद्धका नतिजा केलाउँदै त्यस क्षेत्रको राम्रो भविष्यका लागि वैकल्पिक बाटो खोज्ने समय हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।