सिरियाली द्वन्द्वमा इजरेलको द्विविधा : जानेबुझेकै जोखिम र बढ्दो खतरामध्ये कुन छान्ने

तस्बिर स्रोत, Getty Images
- Author, मुहन्नद तुतुन्जी
- Role, बीबीसी अरेबिक
सिरियामा द्वन्द्व चर्किएसँगै सिरियाका राष्ट्रपति बशर अल–असदको सत्तालाई सघाउने कि विरोध गर्ने भन्ने विषयमा आफ्ना गोप्य योजनाहरूबारे इजरेलले पुन: समीक्षा गर्दै छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले छिमेकमा विकसित नयाँ स्थितिबारे छलफल गर्न दुईवटा बैठक डाकेकै बेला उनको देशको सेनाले पश्चिम सिरियामा आफूद्वारा नियन्त्रण गरिएको गोलन हाइट्समा सुरक्षा घटनाहरू हुन सक्ने डरले उच्च सतर्कता अपनाएको छ।
सिरियामा गृहयुद्ध सुरु भएदेखि नै इजरेल सक्रियताका साथ संलग्न रहँदै आएको छ। उसले सन् २०१५ देखि नै इरान र हिजबुल्लाहका ठेगानाहरूमा भन्दै सिरिया र लेबननमा हवाई हमला गर्दै आएको छ।
त्यसअघि इजरेलले आफूसँग सीमा जोडिएको सिरियाली क्षेत्रमा सेनासँग लडिराखेका विद्रोहीहरूलाई गोप्य सहयोग गरेको थियो। कालान्तरमा इजरेली सञ्चारमाध्यम तथा अधिकारीहरूले खुलासा गरेअनुसार त्यस्ता सहयोगमा स्वास्थ्य सहयोग, खाद्यान्न आपूर्ति, सैन्य तालिम तथा हतियारका प्रावधान आदि समेटिएका थिए।
हायात तहरिर अल–शाम (एचटीएस)को नेतृत्वमा सिरियामा विपक्षीहरूले तीव्र गतिमा प्रगति गर्दै संवेदनशील क्षेत्रहरूमा कब्जा जमाएसँगै इजरेल आफ्नो राजनीतिक द्विविधाको पुनर्मूल्याङ्कन गर्ने स्थितिमा पुगेको छ : आफ्नै हितका निम्ति इरान र हिज्बुल्लाहसँग मिलेर लडिराखेका विपक्षीहरूको प्राप्तिलाई समर्थन गर्ने वा इरानलाई सिरियामा उपस्थित हुन अनुमति दिने तर इजरेलविरुद्ध दशकौँदेखि कुनै प्रत्यक्ष खतरा पैदा नगरेको असद नेतृत्वको सिरियाली शासनलाई निरन्तरता दिने विषयलाई प्राथमिकतामा राख्ने?
'इजरेलका निम्ति बढ्दो खतरा'

तस्बिर स्रोत, Getty Images
हनान ग्याफन इजरेली सैन्य गुप्तचर निकाय 'यूनिट ८२००' का पूर्वनेता हुन्। उनले बीबीसीसँगको कुराकानीमा सिरियाको स्थितिले 'इजरेलका निम्ति खतरा बढाइराखेको' बताए।
उनले हिज्बुल्लाहका गतिविधिका निम्ति सिरिया 'उर्वर भूमि' भएको बताए। उनका अनुसार त्यहाँ उक्त समूहले क्षेप्यास्त्र र ड्रोनहरूसहितका अत्याधुनिक हातहतियार बनाउने कारखाना सञ्चालन गर्छ।
असदको कमजोर शासन र इरानको सीमित नियन्त्रण क्षमताले संयुक्त रूपमा "विपक्षी समूहले दमास्कसमा नियन्त्रण जमाउने सम्भावनाको तुलनामा त्यहाँको राजनीतिक स्थिति इजरेलका निम्ति अधिक खतरनाक बनाइदिन्छ।"
यी इजरेली सैन्यविज्ञले क्षेत्रीय र अन्तर्राष्ट्रिय हस्तक्षेपसामु असदको घट्दो प्रभाव र पकडबारे इजरेलको सुरक्षा संस्थापनमा चिन्ता बढिराखेको ख्याल गरेका छन्।
उनले 'एचटीएस' जस्ता अमेरिका तथा केही अन्य देशहरूद्वारा आतङ्ककारी सङ्गठन घोषित समूहहरू र तिनका अतिवादी विचारधाराहरूका कारण इजरेलले नयाँ चुनौतीहरूको सामना गर्न पर्न सक्ने औँल्याए।
उनले भने, "सीमाक्षेत्रमा यस्ता समूहहरूको उपस्थितिले भविष्यमा झन् ठूलो खतरा पैदा गर्न सक्छ।"
'एचटीएस' सन् २०११ तिर जबहत अल–नुस्राका नामले चिनिन्थ्यो र अल–कायदासँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो।
स्वघोषित इस्लामिक स्टेट (आईए)का दिवङ्गत नेता अबु बकर अल–बगदानीसमेत यसको गठनमा संलग्न थिए।
यसलाई राष्ट्रपति असदविरुद्ध लागेका समूहरूमध्ये सबैभन्दा प्रभावकारी र खतरनाक मानिन्थ्यो।
'परिचित जोखिम'

तस्बिर स्रोत, Getty Images
तेल अभिभ विश्वविद्यालयका उपाध्यक्ष तथा प्राध्यापक इयाल जिसर सिरियाली मामिलाका जानकार हुन्। उनी हालै उत्तरमा भएको सिरियाली सेनाको हारलाई रणनीतिक मोडका रूपमा व्याख्या गर्छन्।
उनले बीबीसीसँग सन् २००० मा असद सत्तामा आएदेखि नै इजरेल उनको शासनप्रति अभ्यस्त भएको बताए। उनका अनुसार असदको सत्ताले इजरेली सीमालाई शान्त राखिदिएको थियो।
"उक्त शान्तिलाई इजरेलले लाभदायक ठान्यो किनकि इजरेली हवाई हमलाका बाबजुद यसले सिरियाली सरकारका तर्फबाट कुनै किसिमको जबाफी सैन्य कारबाही देख्न परेन," उनले भने।
इजरेलका केही विश्लेषकहरू असदकै सत्ताको निरन्तरतालाई नै उसले प्राथमिकता दिनुपर्ने विकल्पका रूपमा हेर्छन्। उनीहरू असदलाई "परिचित जोखिम"का रूपमा व्याख्या गर्छन्।
उनीहरू असदको सत्ताले निरन्तरता पाउँदा क्षेत्रीय स्थायित्व कायम हुने विश्वास गर्छन्। तथापि अन्यले विद्रोहीलाई सघाउनु इजरेलका निम्ति अधिक फाइदाजनक हुन सक्ने तर्क गर्छन्। त्यसो गर्दा खास गरी इरान र हिजबुल्लाहको प्रभाव घटाउन सकिने उनीहरूको भनाइ छ।
'असदभन्दा अस्थिरता ठीक'

तस्बिर स्रोत, Getty Images
इजरेलले कसरी यस्तो जटिल स्थितिको सामना गर्ला भन्ने प्रश्नमा ग्याफनले भने, "म त त्यहाँ आफ्नो उपयोगिता गुमाइसकेको शासन समाप्त हुने गरी अस्थिरता होस् भन्ने चाहन्छु।"
उनले सिरियामा समयक्रममा पैदा हुने नयाँ यथार्थलाई स्वीकार गर्न इजरेल सक्षम हुने कुरामा जोड दिए।
पछिल्लो चार वर्षमा सिरियामा प्रभावकारी युद्ध समाप्त भएजस्तो महसुस गरिएको थियो।
अहिलेसम्म देशका मुख्य सहरहरूमा असदको शासन मूलत: निर्विरोध रहँदै आएको थियो, भलै सिरियाका अन्य केही भागहरूमा उनको प्रत्यक्ष नियन्त्रण थिएन।
ग्याफन इजरेललाई स्थितिको मूल्याङ्कन गर्न र वैकल्पिक रणनीति विकास गर्न पर्याप्त समय उपलब्ध हुने गरी सिरियाको गृहयुद्ध लम्बिन सक्ने बताउँछन्।
सिरियामा विपक्षीहरूको प्रगति इजरेलका निम्ति खतराजन्य हुन सके पनि अन्तत: त्यो त्यस शासनको तुलनामा अधिक अनुकूल हुन सक्छ, जसले सिरियालाई इरानबाट हिज्बुल्लाहसम्म हतियार पुर्याउन प्रमुख ढुवानी मार्गका रूपमा प्रयोग गर्न अनुमति दिन्थ्यो।
'विद्रोहीलाई सघाउनु विकल्प होइन'

तस्बिर स्रोत, Getty Images
इजरेलले विगतमा केही विपक्षी खेमाहरूलाई सघाएको भए पनि जिसर खास गरी उत्तरी सिरियाका विद्रोहीहरू जसले टर्कीसँग सम्बन्ध राख्दै आएका "विपक्षीलाई प्रत्यक्ष रूपमा सघाउने कुरा तत्कालका निम्ति सम्भव हुने कुरा होइन" भन्नेमा विश्वास गर्छन्।
टर्की इजरेलसँग तनावपूर्ण सम्बन्ध रहँदै आएको अर्को राज्य हो।
जिसरका अनुसार इजरेलले अहिले सिरियाली सत्तालाई प्रत्यक्ष सघाइराखेको नभए पनि इरानको प्रभावलाई चुनौती दिन सक्छ। उनले इरानी जहाजहरूलाई सिरियामा ओर्लिन नदिने तथा इरान–समर्थित विद्रोहीहरूका अभियानलाई इराकको मद्दतबाट रोक लगाउनेजस्ता उपायहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
उनले असदको अर्को महत्त्वपूर्ण सहयोगीका रूपमा रुसको महत्त्वलाई पनि जोड दिए।
जिसरले आईएसआईएसको पुनरागमले पैदा गर्ने भद्रगोलले इजरेल र सिरियाली सत्ता दुवैलाई झन् ठूलो खतरा पैदा गर्न सक्ने चेतावनी दिए।
विगतमा उक्त इस्लामवादी समूहमाथि विजय प्राप्त गर्न असद देशको कम हातहतियारयुक्त र कमजोर उत्प्रेरणायुक्त अनिवार्य भर्तीबाट बनेको सेनामा मात्रै निर्भर हुन सक्दैनथे, जो प्राय: विद्रोही आक्रमणका बेला आफ्नो स्थितिको रक्षा गर्न असमर्थ हुन्थ्यो।
त्यसको सट्टा उनी मैदानमा रुसी हवाई शक्ति र इरानी सैन्य सहयोगमाथि उच्च मात्रामा निर्भर हुन पुगे, उनले मूलत: हिज्बुल्लाहसहित तेहरानद्वारा प्रायोजित 'मिलिशियाहरूको' सहयोग लिए।
जिसरका विचारमा इजरेलले द्वन्द्वको कुनै एउटा पक्षलाई सघाएर सिरियामा पूर्ण युद्ध सुरु गर्ने सम्भावना छैन तर उसले इरानसँग जोडिएका सैन्य ठेगानाहरूमा सीमित कारबाही जारी राख्ने छ।
असदको भविष्यबारे इजरेलमा चलिरहेको बहस एउटा व्यापक भूराजनीतिक द्विविधाको प्रतीक हो : के इजरेलले स्थिरतालाई प्राथमिकता दिन्छ, भलै असदको जस्तो शासनसँग काम गर्न किन नपरोस्? वा थप अस्थिरता पैदा हुन सक्ने भए पनि परिवर्तनकारी शक्तिहरूलाई चुन्छ?
सिरियामा घटनाक्रमहरूको विकास हुने क्रम जारी रहँदा इजरेलले बदलिँदो सिरियाली परिदृश्यका कारण उत्पन्न तत्कालका सुरक्षा चासो र आफ्नो दीर्घकालीन स्वार्थहरूबीच सन्तुलन मिलाउँदै जटिल गतिशिलताको सावधानीपूर्वक सामना गर्नुपर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








