सिरियाको दोस्रो ठूलो सहरमा विद्रोहीको पकडपछि सरकारी फौज फिर्ता

तस्बिर स्रोत, EPA
- Author, डेभिड ग्रिटन
- Role, बीबीसी न्यूज
सिरियाली सरकारी फौजहरू देशको दोस्रो ठूलो सहर अलेपोबाट फिर्ता भएका छन्। राष्ट्रपति बशर अल-असदविरुद्ध खडा भएका विद्रोहीहरूले उक्त सहरमा पकड बढाएसँगै सरकारी सेना पछि हटेको हो।
सेनाले विद्रोहीहरू सहरको "ठूलो भागमा" प्रवेश गरेको स्विकार्दै त्यसको प्रत्याक्रमण गरिने बाचा गरेको छ।
सिरियाली गृहयुद्धमा यस हमलालाई पछिल्ला वर्षको सबैभन्दा उल्लेख्य बताइएको छ।
यूकेस्थित सिरिअन अब्जर्बेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार बुधवार हमला सुरु भएयता त्यहाँ २० जना सर्वसाधारणसहित ३०० जना भन्दा धेरै मानिसहरू मारिएका छन्।

तस्बिर स्रोत, Reuters
सिरियाको एउटा मुख्य साझेदार इरानका विदेशमन्त्री अब्बास आराग्ची आइतवार सिरिया पुग्ने कार्यक्रम छ। त्यसपछि उनी केही विद्रोही समूहलाई सघाइरहेको देश टर्की पुग्नेछन्।
अमेरिकाले सुरुवाती प्रतिक्रिया जनाउँदै उक्त हमलासँग आफ्नो कुनै सरोकार नरहेको जनाएको छ।
राष्ट्रपति असदले के भने?
शनिवार बोल्दै राष्ट्रपति असदले "[सिरियाको] स्थिरता र भौगोलिक अखण्डताको रक्षा गर्न सबै आतङ्कवादी र उनीहरूका समर्थकको सामना गर्ने" बाचा गरे।
"हमला जति नै तीव्र भए पनि [देश] आफ्ना साझेदार र मित्रहरूका सहायताको बलमा उनीहरूको सामना गर्न र नष्ट गर्न सक्षम छ," उनको कार्यालयले असदलाई उद्धृत गर्दै जनाएको छ।
प्रजातन्त्र पक्षधर प्रदर्शनकारीविरुद्ध असदको सरकार निर्मम प्रतिकारमा उत्रिएपछि सन् २०११ मा सुरु भएको गृहयुद्धमा करिब पाँच लाख मानिसहरूले ज्यान गुमाइसकेका छन्।

तस्बिर स्रोत, Getty Images
सन् २०२० मा युद्धविराम सहमति भएसँगै उक्त द्वन्द्व धेरैजसो साम्य भएको थियो। तर विद्रोही फौजले उत्तर पश्चिमी सहर इड्लिब र त्यस आसपासका प्रान्तमा नियन्त्रण कायम राखेका थिए।
इड्लिब अलेपोबाट मात्र ५५ किलोमिटरको दूरीमा पर्छ। सन् २०१६ मा सरकारी नियन्त्रणमा आउनुअघिसम्म अलेपो समेत विद्रोहीको बलियो पकड भएको सहरका रूपमा थियो।
विद्रोहीहरू को हुन्?
पछिल्लो हमलाको नेतृत्व इस्लामिक लडाकु समूह हायात तहरिर अल- शाम (एचटीएस) र टर्कीको साथ पाएका उसका साझेदारहरूले गरेका छन्।
एचटिएस असद सरकारविरुद्ध लडिरहेका समूहहरूमध्ये सबैभन्दा प्रभावकारी र घातकमध्येमा पर्छ। यसको इड्लिबमा यसअघि नै राम्रो पकड छ।
एसओएचआरका अनुसार विद्रोहीहरूले अलेपोको विमानस्थल र आसपासका दर्जनौँ सहरहरूमा कब्जा जमाएका छन्।
उनीहरूले स्थानीय समय अनुसार साँझ पाँच बजेबाट लागु हुने गरी रातभरका लागि कर्फ्यू घोषणा गरेका छन्।

तस्बिर स्रोत, Anadolu
एसओएचआरले अलेपोको दक्षिणमा पर्ने सिरियाको चौथो ठूलो सहर 'हमा'सहित सिरियाका कैयौँ ग्रामीण नगरहरूमा विद्रोही लडाकुहरू अघि बढेपछि सिरियाली सेना फिर्ता भएको जनाएको छ।
तर सिरियाली सरकारी सञ्चारमाध्यममा उद्धृत गरिएका एक सैन्य स्रोतले ती दाबीको खण्डन गरेका छन्।
वर्षौँपछि पुन: रुसी हमला
सिरियाली सेनाका अनुसार विद्रोहीहरूले "अलेपो र इड्लिबका मोर्चामा कैयौँ विन्दुहरूमा व्यापक हमला गरेका छन्" र लडाइँ १०० किलोमिटरको दायरामा" फैलिएको छ।
सेनाले दर्जनौँको सङ्ख्यामा आफ्ना सैनिकहरू मारिएको जनाएको छ।
गृहयुद्धको उत्कर्षमा असदलाई शक्तिमा राख्न उल्लेख्य भूमिका खेलेको रुसी वायुसेनाले शनिवार अलेपोमा हवाई हमला गरेको थियो।
सन् २०१६ मा सिरियाली फौजलाई उक्त सहरमा पुनः नियन्त्रण कायम गर्न सघाएयता पहिलो पटक रुसले त्यस्तो हमला गरेको हो।
एसओएचआरका अनुसार इड्लिबमा अन्य नौ रुसी हमला गरिएका छन्।
एकजना अमेरिकी प्रवक्ताले सिरियाको "रुस र इरानमा रहेको निर्भरता" र सन् २०१५ को राष्ट्रसङ्घीय सुरक्षा परिषद्को योजना अनुसार अघि बढ्न नमान्नुले उक्त देशमा "अहिले विकसित अवस्था देखिएको" बताएका छन्।
शनिवारका तस्बिरहरूमा अलेपोबाट बाहिर निस्कने सडकहरू त्यहाँबाट बाहिरिन खोजिरहेका मानिसहरूका कारको ताँतीका कारण जाम भएका देखिन्छन् भने सहरमाथिका आकाशमा धुवाँको मुस्लो देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








