१३ वर्षदेखि गृहयुद्धको पासोमा सिरिया, कहाँ कसको नियन्त्रण छ

विद्रोही नियन्त्रित एलेपोको अजाजमा सिरियालीहरूको प्रदर्शन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सिरियाली द्वन्द्वमा पाँच लाख मानिसको मृत्यु हुनुका साथै उक्त द्वन्द्व अन्तर्राष्ट्रिय खेलाडीहरूको छायायुद्धमा परिणत भएको छ
    • Author, फातिमा चेलिक
    • Role, बीबीसी न्यूज टर्किश

तेह्र वर्षको लडाइँपछि पनि सिरियाली युद्ध अझै जारी छ।

राष्ट्रपति बशर अल-असदविरुद्धको सन् २०११ को शान्तिपूर्ण विद्रोह पूर्ण स्तरको गृहयुद्धमा बदलियो। पाँच लाख मानिसले ज्यान गुमाउँदा उक्त युद्ध अमेरिका र रुससमेतका क्षेत्रीय शक्तिहरू संलग्न छायायुद्धमा परिणत भएको छ।

हाल चार भागमा विभाजित भएको सिरयामा कतै असद–शासनको नियन्त्रण छ भने कतै विभिन्न हतियार तथा विचारधारा बोकेका स्वघोषित समूहहरूको नियन्त्रण छ।

कहाँ कसको नियन्त्रण छ भन्ने कुरामा युद्ध सुरु भएयता धेरै परिवर्तन भएको छ। प्रारम्भमा विद्रोहीहरूका कारण ठूलो भूभाग गुमाएको असदको सरकारको हाल देशको दुई तिहाइ हिस्सामाथि नियन्त्रण छ। त्यसो हुनुमा सन् २०१५ देखि युद्धमा सक्रिय रूपमा सामेल रुसको भूमिका छ।

तर विशेष गरी टर्कीको सीमावर्ती उत्तरी क्षेत्रमा स्वघोषित समूह तथा अन्तर्राष्ट्रिय खेलाडीहरूद्वारा समर्थित हतियारधारी समूहहरूले आन्तरिक सीमाहरू बनाएका छन्।

सिरियामा कहाँ कसको नियन्त्रण छ भनी जनाउने चित्र

"राजधानी दमास्कसको पूर्वदेखि युफ्रेटिज नदीसम्मको भूभागमा इरानको प्रभाव छ," 'प्रोस एन्ड कन्स सेक्युरिटी एन्ड रिस्क एनालिसिस सेन्टर'का सेर्हात इर्कमेन भन्छन्।

"भूमध्यसागरीय तटदेखि दमास्कससम्मको क्षेत्र र दक्षिणी भूमि रुसको प्रभावमा छन्," उनले थपे।

इरान र रुस असद सरकारका सबैभन्दा ठूला समर्थकका रूपमा रहँदै आएका छन्। भूमध्यसागर क्षेत्रको मुख्य सिरियाली बन्दरगाह लताकिया असदको नियन्त्रणमा छ र यसले गृहयुद्ध सुरु भएयता महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

इडलिबमाथि कसको नियन्त्रण छ?

इडलिब प्रान्त असदविरोधी इस्लामिक हतियारधारी समूहको अन्तिम बचेको गढ हो।

सन् २०१५ मा सरकारले नियन्त्रण गुमाएयता इडलिब प्रान्तमा विभिन्न विपक्षी गुटहरूको नियन्त्रण रहँदै आएको छ। हाल उक्त प्रान्तका धेरैजसो क्षेत्र हायात तहरीर अल–शाम (एचटिएस) को नियन्त्रणमा छ। उक्त समूह सुन्नी मुस्लिमहरूको राजनीतिक तथा हतियारधारी सङ्गठन हो।

"यसलाई नुस्रा फ्रन्ट भनिन्थ्यो र धेरै मानिसहरू सोही नामसँग परिचित होलान्। यो अल कायदाको सिरियाली शाखा थियो," बीबीसी मोनिटरिङकी जिहादी सञ्चारविज्ञ मीना अल–लामी भन्छिन्।

पहिले अल–कायदासँग सम्बन्धित हायात तहरीर अल–शाम (एचटिएस) का लडाकुहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पहिले नुस्रा फ्रन्ट भनेर चिनिने हायात तहरीर अल–शाम (एचटिएस) ले अल–कायदसँग सम्बन्ध बाँकी नरहेको बताएको छ

स्थानीय विद्रोही समूहहरूले अल–कायदाको ब्र्यान्डसँग जोडिएका कारण नुस्रा फ्रन्टसँग काम गर्न अस्वीकार गरेपछि यसले सन् २०१७ मा अल कायदासँग सम्बन्ध तोडेको घोषणा गर्‍यो।

"अल–कायदाको ब्र्यान्डसँग हरकोही डराउँथे। त्यसैले उक्त समूहले स्वतन्त्रता घोषणा गर्‍यो," मीना अल–लामीले भनिन्।

एचटिएसले आफू स्वतन्त्र भएको घोषित गर्दै कुनै बाह्य शक्तिसँग नजोडिएको दाबीसहित आफ्नो विश्वस्तरको जिहादी महत्वाकांक्षा नभएको बताएपनि संयुक्त राष्ट्रसङ्घ, अमेरिका र टर्कीले उक्त समूहलाई अल–कायदासँग समबन्धित ठान्दै आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन्।

सिरियाली पत्रकार सार्किस कासर्गिअन त्यस क्षेत्रका चिनियाँ उइगर प्रभुत्वको तुर्किस्तान इस्लामिक पार्टीजस्ता धेरै कट्टरपन्थी समूहहरूले एचटिएसलाई समर्थन गर्ने बताउँछन्। टर्की समर्थित लडाकुहरूलाई इडलिबबाट निकालेपछि एचटिएसले त्यहाँ 'डि–फ्याक्टो' प्रशासनिक निकाय गठन गरेको छ।

"यसका मन्त्रालयहरू छन्, यसका मन्त्रीहरू छन्– जो सामाजिक सञ्जालमा निकै सक्रिय छन्। तिनले नयाँ परियोजनाहरूको उद्घाटन गर्छन्, पुनर्निर्माणका काम गर्छन् र दिक्षान्त समारोहमा भाग लिन्छन्," मीना अल–लामी भन्छिन्।

"यसरी उनीहरूले स्वयंलाई माइक्रोस्टेट (राज्यभित्रको सानो राज्य)का रूपमा प्रस्तुत गर्ने कोसिस गर्नुका साथै सेवा प्रवाहमार्फत् अन्तर्राष्ट्रिय समूहको मान्यता प्राप्त गर्ने कोसिस गरिराखेका छन्।"

सन् २०१७ मा टर्की(जो सिरिया सरकारको विपक्षमा छ) तथा सिरियाका मित्रहरू रुस र चीन कजाकस्तानको राजधानी अस्तानामा भएको वार्तामा एउटा सम्झौतामा पुगे। त्यसमा इडलिबसहितका क्षेत्रमा सङ्घर्ष घटाउने योजनासहित 'डि–एस्केलेसन जोन'हरू तयार पार्ने विषय समेटिएको थियो।

त्यसको अर्को वर्ष रुस र टर्की इडलिबमा असैन्यकृत मध्यवर्ती क्षेत्र सिर्जना गर्न सहमत भए। सरकारी बलहरूलाई त्यहाँका विद्रोही लडाकुहरूसँग अलग्याउनु उक्त सहमतिको उद्देश्य थियो।

अफ्रिनमा कसको नियन्त्रण छ?

सिरियाको दक्षिणपश्चिमको इलाका अफ्रिन कुनै समय कुर्दहरूको कब्जामा थियो। उक्त क्षेत्र अहिले टर्की समर्थित असदविरोधी समूहहरूको नियन्त्रणमा छ।

कुर्द वाईपीजी लडाकुलाई सामेल गराएर सीमा सुरक्षा बल गठन गर्ने अमेरिकी निर्णयपछि सन् २०१८ मा टर्कीले सीमाको अर्कोपट्टी कुर्द सेनामाथि ठूलो हमला सुरु गर्‍यो। अङ्काराले वाईपीजीलाई राष्ट्रिय सुरक्षा खतराका रूपमा हेर्नुका साथै टर्कीको दक्षिणपूर्वमा तीन दशकभन्दा बढी समयदेखि सङ्घर्षरत् समूह पीकेकेसँग सम्बन्धित ठानेको थियो।

त्यसयता अफ्रिन क्षेत्रमाथि टर्की र यसका सिरियाली मित्रशक्तिहरूको नियन्त्रण रहँदै आएको छ।

एसएनएको तालिम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टर्कीले आफू–समर्थित विद्रोहीहरूलाई सन् २०१७ मा सिरियन न्याश्‍नल आर्मीका रूपमा 'रिब्र्यान्डिङ' गर्‍यो

टर्कीले सन् २०१७ मा आफू–समर्थित विद्रोही समूहहरूलाई सिरियन न्याश्‍नल आर्मी (एसएनए) का नाममा एउटै छातामुनि समेट्यो। तिनीहरूलाई पहिले फ्री सिरियन आर्मी (एफएसए) भनिन्थ्यो।

एसएनएमा मुराद डिभिजनजस्ता तथा मुस्लिम ब्रदर्स र कतारसँग सम्बद्ध समूहहरू सामेल थिए जो सोझै टर्कीको सेना र गुप्तचरसँग जोडिएका थिए।

"अहिलेसम्म हामीले थाहा पाएअनुसार यी समूहहरूले जिहादी समूहहरूसँग काम गर्दैनन्, तर ती निश्चय नै टर्कीका क्षेत्रीय मुद्दा, प्राथमिकता र महत्वाकांक्षासँग जोडिएका छन्। त्यसले गर्दा तिनीहरू कुर्द नेतृत्वको 'सिरिअन डेमोक्र्याटिक फोर्सेज'का साथै सिरियाली सरकारी बलहरूको पनि विपक्षमा छन्," मीना अल–लामीले भनिन्।

टर्कीको समर्थनका साथ एसएनएले हाल आफ्रिनदेखि जराब्लुससम्म, पश्चिममा युफ्रेटिज नदीसम्म र पूर्वमा तेल अब्याददेखि रास अल–आइनसम्मका क्षेत्रलाई नियन्त्रण गर्छ।

एसएनए सिरियाली अन्तरिम सरकार नामको निकायको हिस्सा हो। साथै टर्कीको सरकार र सेनाले समेत यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।

मनबिजमा कसको नियन्त्रण छ?

त्यस्तै 'सिरियन डेमोक्र्याटिक फोर्सेज' (एसडिएफ) उत्तरको अर्को प्रसिद्ध समूह हो।

कुर्दसम्बद्ध जातीय तथा अरबी सैन्य बलसहितका विद्रोही समूहहरूको यस गठबन्धनले युफ्रेटिज नदीको पूर्वदेखि इराकी सीमासम्म र पश्चिममा तल रिफात र मनबिज सहरमाथि नियन्त्रण गर्छ।

एसडिएफले सन् २०१८ मा उत्तर र पूर्वि सिरिया स्वायत्त प्रशासन नामको इकाइको स्वघोषणा गरेको थियो। यसले सिरियाको एक चौथाइ हिस्सामा कब्जा जमाएको छ भने एसडिएफ नियन्त्रित भूभागमा अमेरिका र रुस दुवैका सैन्य आधारहरू सञ्चालित छन्।

आईएस समूहविरुद्धको संयुक्त सैन्य कारबाहीका क्रममा अमेरिकी नेतृत्वको गठबन्धनसँग तैनाथ एसडिएफका लडाकुहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एसडीएफले आईएस समूहविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनसँग सहकार्य गर्नुका साथै संयुक्त सैन्य अभ्यास समेत गर्ने गरेको देखिएको छ

"अन्य विद्रोही समूहभन्दा भिन्न एसडिएफले मस्को र वासिङ्टन दुवैका माध्यमबाट अन्तर्राष्ट्रिय वैधता हासिल गर्ने कोसिस गर्छ," सुरक्षा विश्लेषक सेर्हात इर्कमेन भन्छन्।

"एकातिर उनीहरू देशको भविष्यमा कसरी समाहित हुन सकिन्छ भन्नेबारे सिरियाली सरकारसँग छलफल गरिराखेका हुन्छन् भने अर्कातिर दमास्कसले जोडदार विमति राख्ने अमेरिकासँग निकटको राजनीतिक, आर्थिक र सैन्य सहकार्य व्यवस्थापन गरिराखेका छन्," उनी भन्छन्।

के सिरियामा स्लामिक स्टेटको खतरा समाप्त भएको हो?

सन् २०१४ मा आफूलाई क्यालिफेटघोषणा गरेको आइसिस समेत भनेर चिनिने स्वघोषित स्लामिक स्टेट (आईएस) समूह धेरै वर्षसम्म सिरिया र इराकका धेरै हिस्सामा कब्जा जमाउन सफल रह्यो।

यसको उदयले सिरियामा युद्धको दिशालाई बदल्नुका साथै यसलाई परास्त गर्न अमेरिकाको नेतृत्वमा ७० भन्दा धेरै देश सामेल गठबन्धन पैदा हुने स्थिति बन्यो।

उक्त गठबन्धनले अन्तत: सन् २०१९ मा आईएसलाई उसको सिरियास्थित अन्तिम आश्रयस्थलबाट बाहिर धकेल्दियो।

त्यसोभए के सिरियामा स्लामिक स्टेटको खतरा पूर्ण रूपमा सकिएको हो?

"यो पुन: विद्रोही समूहका रूपमा ब्युँतिएको छ, आकस्मिक आक्रमण गर्ने र फरार हुने शैली अपनाउँछ। तर यो सिरियामा निकै सक्रिय छ र यसका आक्रमणहरू यो वर्ष उल्लेख्य मात्रामा बढेका छन्," मीना अल–लामी भन्छिन्।

एसडिएफद्वारा विभिन्न शिविरहरूमा थुनिएका तथा राखिएका आफ्ना लडाकु र तिनका परिवारहरूलाई मुक्त गर्न सफल भएमा आईएसका निम्ति महत्त्वपूर्ण मोड आउने उनी बताउँछिन्।

आईएस लडाकुहरूका पत्नी बताइएका महिलाहरूलाई पहरा दिँदै आन्तरिक सुरक्षा गस्ती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शंकास्पद आईएस लडाकुका साथै हजारौँ महिला र बालबालिकाहरू पनि विभिन्न हिरासत केन्द्रमा राखिएका छन्

एम्नेस्टी इन्टरन्याश्‍नलले आईएसको पराजयको पाँच वर्ष नाघिसक्दा पनि हजारौँ मानिसहरू अझै हिरासतमा रहेको बताएको छ। त्यसमा अनुमानित ११,५०० पुरुष, १४,५०० महिला र ३०,००० बालबालिका छन्। उनीहरूलाई अल होल र रोजका कम्तिमा २७ वटा हिरासत केन्द्र र दुईवटा शिविरमा राखिएको छ।

"इस्लामिक स्टेटको आँखा ती शिविरहरूमा छ। आईएस कुनै पनि किसिमका सङ्कटको पर्खाइमा छ, ताकि सुरक्षा कमजोरी भेटिएको खण्डमा शिविर तथा जेलहरूमा आक्रमण गरेर त्यहाँ भएकाहरूलाई मुक्त गर्न सकियोस्," मीना अल–लामी भन्छिन्।

"उत्तरी सिरियामा टर्कीको नेतृत्वमा कुर्द बलविरुद्ध मुख्य सैन्य कारबाही वा सिरियामा शिया मिलिशियाविरुद्धको ठूलो अमेरिकी कारबाही त्यस्तो सङ्कटको अवसर हुन सक्नेछ," उनले थपिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।