सन् २०२३ मा इस्लामिक स्टेटलाई के भयो?

आईएस फाइल फोटो

तस्बिर स्रोत, Getty Images

    • Author, मिना अल-लमी
    • Role, बीबीसी मोनिटरिङ

इस्लामिक स्टेट समूह (आईएस) ले कुनै बेला उत्तरपूर्वी सिरियादेखि उत्तरी इराकसम्मको भूमि नियन्त्रणमा राखेको थियो। तर सन् २०२३ मा उक्त समूहले गर्ने गरेका आक्रमणमा उल्लेख्य कमी भएको बीबीसी मोनिटरिङले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ।

अघिल्लो वर्षको तुलनामा आईएसका गतिविधि आधाभन्दा बढीले घटेको छ र सो समूहको नेतृत्वमा पनि क्षति पुगेको छ।

उक्त समूहको इजिप्टस्थित शाखा यो वर्ष नै निष्क्रिय बनेको थियो। विगतमा यमन र लिबियाका शाखाहरू पनि मौन भएका थिए। यसैबीच अफगानिस्तानस्थित समूहले अघिल्लो वर्ष गरेका हमलाको तुलनामा सानो अंश हुने गरी आक्रमणको जिम्मेवारी लिएको थियो।

अफ्रिकामा रहेको उक्त समूहको सञ्जालले पनि कम हमलाहरूको जिम्मेवारी लिएको थियो। त्यसको अपवाद साहेल शाखा रह्यो जुन पूर्वी मालीमा विस्तार भएको थियो। उसले नीजेरमा आक्रमणको जिम्मेवारी लिएको थियो भने प्रचारात्मक गतिविधिमा केन्द्रित थियो।

सङ्ख्याले हामीलाई के भन्छ?

यो वर्षको डिसेम्बर महिनालाई नजोड्ने हो भने आईएसले विश्वभरि सन् २०२३ मा ८३८ वटा हमला गराएको दाबी गर्‍यो।

अघिल्लो वर्षको त्यही अवधिमा १,८११ वटा आक्रमणको दाबी गरिएको थियो। त्यस हिसाबले ५३ प्रतिशत आक्रमणको सङ्ख्या कम भएको देखिन्छ।

यी विश्लेषण र खोज आईएसको आफ्नै औपचारिक दाबी, सन्देश प्रवाह, प्रचारबाजी र आफ्ना समर्थकहरूलाई उपलब्ध गराइएका जानकारीका आधारमा तयार पारिएका आक्रमणका तथ्याङ्कका आधारमा लिइएको हो।

त्यही भएर कतिपय अवस्थामा यो बढाइचढाइ गरिएको वा कम महत्त्व दिएको हुन सक्ने देखिन्छ। ज्यानुअरी १ देखि नोभेम्बर ३० सम्मको तथ्याङ्कलाई विश्लेषण गरेर यो सामग्री तयार पारिएको हो।

आईएसका आक्रमणबारे हामीलाई के थाहा छ?

आफ्ना गतिविधि उत्कर्षमा रहँदा उक्त समूहले सिरिया र इराकको ठूलो क्षेत्रमा नियन्त्रण कायम गरेको थियो तर सन् २०१७ सम्म आइपुग्दा उसले ९५ प्रतिशत भूमिमाथिको नियन्त्रण गुमाएको छ।

सन् २०१९ मा कुर्दिश लडाकु समूह र अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनले बाघुज गाउँलाई नियन्त्रणमा लियो। त्यो आईएसको गढ रहेको सिरियाको अन्तिम गाउँ थियो।

त्यसपछि शृङ्खलाबद्ध पराजय बेहोर्दै उक्त समूह कमजोर बन्न पुग्यो।

आईएसले आफूले गराएको दाबी गरेका आक्रमण (सन् २०१८-२०२३). नोट: सन् २०२३ को तथ्याङ्क नोभेम्बर महिनासम्मको हो . .

त्यसयता उसले अफ्रिकास्थित आफ्ना शाखाहरूको निर्माणमा आफूलाई केन्द्रित गरेको छ र मध्यपूर्वमा खेपेको पराजयबाट ध्यान मोड्ने प्रयास गरिरहेको छ।

उक्त समूहले अहिले अझै पनि इराक र सिरियामा विद्रोही गतिविधि गरिरहेको छ र उसले एशिया, अफ्रिका र मध्यपूर्वका कम्तीमा एक दर्जन भातृसंस्थाहरूको सञ्जाललाई हेरिरहेको छ। तिनका गतिविधि उल्लेख्य रूपमा कम भएको देख्न सकिन्छ।

गएको मार्चमा आईएसले आक्रमणका सङ्ख्या कम हुनुको कारणबारे स्पष्टीकरण दिँदै सुरक्षाको कारणले आफूले गरेका सबै हमलाहरूको सार्वजनिक रूपमा जिम्मेवारी नलिने गरेको बताएको थियो।

इजिप्टको साइनाईमा रहेको आईएसको शाखाले यो वर्ष कुनै पनि आक्रमणको जिम्मा लिएन। अघिल्लो वर्ष स्वेज कनाल नजिक पर्ने क्षेत्रमा समेत गरी उसले १०२ वटा हमला गराएको बताएको थियो। पछिल्लो समयमा उसले इजिप्टका सुरक्षा बलबाट नराम्रो क्षति बेहोरेको सङ्केत मिल्छ।

आईएसको अफगानिस्तानस्थित खोर्सान प्रान्त (आईएसकेपी) शाखाका हमलाहरूको सङ्ख्या पनि घटेको छ। सन् २०२२ मा १४५ र तालिबान सत्तामा आएको सन् २०२१ मा २९३ वटा आक्रमण गरेको दाबी गरेको सो समूहले सन् २०२३ मा २० वटा हमला गराएको दाबी गर्‍यो।

हमलाको सङ्ख्या घटेको भएपनि त्यसले ठूलो सङ्ख्यामा क्षति निम्त्याएको थियो। जुलाई महिनामा आईएसकेपीले उत्तर पश्चिम पाकिस्तानमा एउटा इस्लामिस्ट दलको राजनीतिक र्‍यालीमा गराएको दाबी गरेको आत्मघाती हमलामा कम्तीमा ६० जना मारिएका थिए।

इराकमा आईएसले सन् २०२३ मा १४१ वटा आक्रमण गरेको थियो जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६५ प्रतिशत कम हो। अघिल्लो वर्ष सिरियामा २९२ वटा आक्रमणमा जिम्मेवारी लिएको उक्त समूहले यो वर्ष ११२ वटा हमला गराएको उल्लेख गरेको थियो।

के आईएस अफ्रिकामा विस्तार भइरहेको छ?

सन् २०१९ मा बाघुजमा खेपेको पराजययता आईएसले आफ्नो प्रचारबाजीलाई सब-सहरा अफ्रिकामा ‘विस्तार’ र ‘जित’ को दृष्टिकोण निर्माण गर्न केन्द्रित गरेको थियो।

त्यहाँ उसका पाँच शाखाहरू छन्। नाइजिरियामा केन्द्रित वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी), प्रजातान्त्रिक गणतन्त्र कङ्गो केन्द्रित सेन्ट्रल अफ्रिका प्रोभिन्स जसले बेलाबेलामा यूगान्डा, साहेल शाखा, मोजाम्बिक शाखा र सोमालिया शाखामा पनि घुसपैठ गर्ने गर्छ।

सबैभन्दा सक्रिय शाखा आईएसडब्ल्यूएपी रहेको थियो जुन उत्तर पूर्वी नाइजिरिया र लेक चाड क्षेत्रवरपर सक्रिय छ।

तर सन् २०२३ मा उसको गतिविधि पनि घटेको थियो। उसले सन् २०२२ मा ४७० आक्रमणको जिम्मा लिएको थियो। सन् २०२३ मा २६६ हमला आफूले गराएको उसले बताएको छ।

सेन्ट्रल अफ्रिका प्रोभिन्स र मोजाम्बिक शाखाले पनि कम आक्रमणको जिम्मेवारी लिएका छन्। तर उनीहरू मुख्य खतरा साबित भएका थिए। दुवैले स्थानीय र क्षेत्रीय सुरक्षा बललाई हमला गरेको दाबी गरेका थिए र इसाई गाउँहरूलाई पनि निसाना बनाएका थिए।

आईएस सेन्ट्रल अफ्रिका प्रोभिन्सले यो वर्ष युगान्डामा गरिएका चारवटा हमलाको जिम्मा लिएको थियो। त्यसमध्ये एउटाले दुई पर्यटक र तीनका गाइडको ज्यान लिएको थियो। तर धेरैतिरबाट हमलाको आरोप लगाइएको भएपनि उसले पश्चिम यूगान्डामा एउटा माध्यमिक विद्यालयमा गएको जुनमा गरिएको आक्रमणको भने जिम्मा लिएन।

अघिल्लो वर्ष सब-साहरा अफ्रिका क्षेत्रमा ८४७ वटा आक्रमण गरेको आईएसले दाबी गरेकोमा यो वर्ष उक्त सङ्ख्या ५०८ पुगेको छ। तर त्यो आईएसले विश्वभरि गरेका आक्रमणको ६० प्रतिशत हो जुन अफ्रिकामा गरिएको हालसम्मकै उच्च हो।

आईएसको गतिविधि कहाँ बढिरहेको छ?

बीबीसी मोनिटरिङले सङ्कलन गरेका तथ्याङ्कका आधारमा आईएसका साहेल क्षेत्र र फिलिपिन्सका शाखाहरू यो वर्ष बढी सक्रिय देखिएका छन्।

गत एप्रिलयता नीजरसँगको सिमानानजिकै पूर्वी मालीमा आईएसको गतिविधि विस्तार भएको छ। साहेल देशहरूमा हाल देखा परिरहेका राजनीतिक र सुरक्षा उथलपुथललाई सो उग्रवादी समूहले फाइदा लिएको जस्तो देखिन्छ।

आईएसले आफूले गराएको दाबी गरेका हमलाहरू (सन् २०१८-२०२३) . नोट: सन् २०२३ को तथ्याङ्क नोभेम्बर महिनासम्मको हो. .

जुलाई र अक्टोबरयता आईएसले ‘अपराधसँग जुझ्न’ र ‘न्याय कायम’ गर्न गरेका भनिएका ‘सैन्य गतिविधि’ बारेका प्रतिवेदन र तस्बिरहरू सार्वजनिक गरेको थियो।

उक्त प्रचारसामग्रीले नीजेर र मालीको सीमा क्षेत्रमा सरिया कानुनको प्रवर्धन गर्न र त्यहाँको ‘डी-फ्याक्टो’ अर्थात् वास्तविक स्थानीय निकायले जसरी काम गरेको थियो।

नीजेरमा भएको सत्तापलटपछि आईएसले ठूलो क्षति गराउने गरी देशको पश्चिममा सेनाविरुद्ध आक्रमण गरेको थियो। अक्टोबरमा गरिएको एउटा हमलामा लगभग ६० सैनिक मारिएका थिए र सरकारले तीनदिने शोकको घोषणा गरेको थियो।

सन् २०१४ यता आईएसले दक्षिणपूर्वी एशियाका समूहबाट समर्थनको प्रतिबद्धता पाइरहेको छ। उक्त समूहका शाखाहरू दक्षिणी फिलिपिन्सका टापुहरूमा बढी क्रियाशील देखिन्छन्। फिलिपिन्समा इसाईहरूको बाहुल्य छ। तर ती टापुहरू मुस्लिमबहुल क्षेत्र हुन्।

जुलाईयता यो वर्ष उक्त समूहले त्यहाँ २० हमलाको जिम्मेवारी लिएको छ जुन अघिल्लो वर्षको सात थियो।

बीबीसीको विश्लेषणले नसमेटेको एउटा घटना डिसेम्बर ३ को पनि हो जसमा आईएसले एउटा क्याथोलिक प्रार्थनामा गरेको हमलाको जिम्मेवारी लिएको छ।

त्यस बेला उसले उक्त क्षेत्रमा भर्ना खुलेको पनि जनाएको थियो।

हामीलाई आईएस नेताहरूबारे के थाहा छ?

उक्त समूहले हालै आफ्नो नेतृत्वमा रहेका नेताहरू गुमाएको छ। एक वर्षभन्दा थोरै बढी अवधिमा उसका तीन नेताहरू मारिएका छन्। ती सबै सिरियामा फेब्रुअरी २०२२ र एप्रिल २०२३ मा मारिएका थिए।

अक्टोबर २०१९ मा गरिएको एउटा कारबाहीमा अबु बकार अल-बग्दादीको मृत्यु भएपछि उक्त समूहको नेतृत्व अबु इब्राहिम अल-हासिमीले अल-कुरेशीले गरेका थिए। त्यसपछि अबु अल- हसन अल-कुरेशी र उनीपछि अबु अल-हुसैन अल-कुरेशी उक्त समूहको नेतृत्वमा आएका थिए।

यी नेताहरू आपसमा नातेदार होइनन् तर उनीहरूको उपनाम ‘अल-कुरेशी’ ले मक्कामा रहेको पैगम्बर मोहम्मदको एउटा जातिलाई जनाउँछ।

उक्त समूहले सन् २०१४ मा इस्लामिक परम्परामा आधारित शासन व्यवस्था "क्यालिफेट" घोषणा गरेपछि उनीहरूले आफ्ना नेतालाई ‘क्यालिफ्स’ अर्थात् पैगम्बर मोहम्मदका उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका थिए। बग्दादीले पहिलो पटक आफूलाई ‘क्यालिफ’ दाबी गरेका थिए।

सन् २०२३ को अगस्टमा आईएसले आफ्ना नयाँ नेता अबु हाफ्स अल-हासिमी अल-कुरेशीलाई प्रस्तुत गरेको थियो। तर उनको बारेमा एकदमै कम जानकारी छ र उनले नेतृत्वले दिने सन्देश दिन बाँकी छ।

अमेरिका नेतृत्वको गठबन्धनले गरेका आक्रमणमा मुख्य गरी सिरिया र इराकमा आईएसले आफ्ना अन्य कमान्डरहरू पनि गुमाएको थियो।

अगस्टमा मोजाम्बिकको सेनाले उसले देशभित्र रहेका आईएसका प्रमुखलाई मारिदिएको बताएको थियो। तर उक्त समूहले क्यालिफ वा प्रवक्ता जोडिएकाबाहेक अरू घटनामा विरलै प्रतिक्रिया दिने गर्छ।

सन् २०१७ मा आईएसले ९५ प्रतिशत भूभागबाट आफ्नो नियन्त्रण गुमाएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१७ मा आईएसले ९५ प्रतिशत भूभागबाट आफ्नो नियन्त्रण गुमाएको थियो

गाजा युद्धको प्रभाव के छ?

आईएसविरुद्ध जाराी सैन्य कारबाही र सोमालिया, साहेल, लेक चाड क्षेत्र र सिरियाजस्ता ठाउँमा प्रतिद्वन्द्वी समूहका चुनौतीले पनि उक्त समूहका गतिविधिमा केही ह्रास आएको ठानिएको छ।

नेतृत्वले बेहोरेको क्षति र अहिलेको नेतृत्वको पहिचानबारे खासै जानकारी नहुनुलाई पनि महत्त्वपूर्ण कारण मानिएको छ।

तर अहिले पनि विशेष गरी अफ्रिकामा आईएसबाट सयौँ हमलाहरू हुने गरेका छन्।

आईएसले कैयौँ देशका राजनीतिक, सुरक्षा र जातीय कमजोरीका फाइदा लिँदै आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

गाजा युद्धलाई आईएस र अन्य उग्रवादी समूहहरूले उपयोग गर्न सक्ने एउटा त्यस्तो ‘अवसर’का रूपमा हेर्न सकिन्छ। उनीहरूले उक्त द्वन्द्वलाई आफ्ना शत्रुहरूविरुद्धको क्रोध परिचालन गर्ने माध्यमका रूपमा लिन सक्छन्।

युद्ध सुरु भएयता गाजामा २१,००० जनाले ज्यान गुमाएका छन् भने ५२,००० जनाभन्दा बढी घाइते भएका छन्। हमासले अक्टोबर ७ मा इजरेलमाथि गरेको आक्रमणमा १,२०० जना मारिएका थिए भने २४० जना बन्धक बनाइएका थिए।

अल-कायदाले प्यालेस्टिनी उग्रवादीहरूसँगै लडाइँमा भाग लिन मुस्लिमहरूलाई आह्वान गरेको भए पनि आईएसले उक्त समूहको पत्रिका अल-नाबामा प्रकाशित गरेको विवरणमा प्यालेस्टिनी समूहलाई प्रशंसा गरेको वा मुस्लिमहरूलाई समर्थन गर्न आग्रह गरेको पाइएन।

उक्त समूहले विगतमा गाजा क्षेत्रमा रहेका आफ्ना समर्थकहरूमाथि दमन गरेको आरोप हमासमाथि लगाएको थियो। आईएसले इजरेललाई ‘संरक्षण गरेको’ भन्दै अरब देशहरूसहित विश्वभरि प्रतिशोधात्मक आक्रमणहरू गर्न उक्साउनेतर्फ आफूलाई केन्द्रित गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।