इरानद्वारा इजरेलमा जबाफी क्षेप्यास्त्र हमला, प्रतिरक्षामा नउत्रन पश्चिमा देशलाई चेतावनी

इरानी आक्रमणपछि तेल अभिभ

तस्बिर स्रोत, Reuters

इजरेली हमलाको जबाफमा इरानले गयराती इजरेलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरेली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका थिए।

इरानले यूके, अमेरिका र फ्रान्सलाई तेल अभिभको प्रतिरक्षामा नउत्रन चेतावनी दिएको छ। यदि पश्चिमा देशहरूले इजरेलमाथि आफ्नो आक्रमण रोक्न सहयोग गरे यूके, अमेरिका र फ्रान्सका उनीहरूका सैन्य अखडा र पानी जहाजमा आक्रमण गर्ने चेतावनी दिइएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्।

बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरेली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।

उक्त जबाफी हमलामा परेर ४० जनाको इजरेली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

तेल अभिभ

तस्बिर स्रोत, Anadolu via Getty Images

शनिवार सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्।

संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए "अझ क्रूर" इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्।

इजरेल के भन्छ?

खोज तथा उद्धार

तस्बिर स्रोत, Reuters

एक इरानी क्षेप्यास्त्र तेलअभिभ नजिकैको एक भवनमा खसेको थियो

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, एउटा इरानी क्षेप्यास्त्र तेलअभिभ नजिकैको एक भवनमा खसेको थियो

इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ।

इजरेली वायु सेनाले इरान भित्रका निशानाहरूमा हमला जारी रहेको जनाएको छ।

इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो।

बीबीसीका मध्यपूर्व क्षेत्रीय सम्पादक सबास्टिअन असर इरान पछिल्ला एक-दुई वर्ष अघिको तुलनामा जतिसुकै कमजोर भए तापनि उसले अझै पनि अभूतपूर्व इजरेली आक्रमणको कडा प्रतिक्रिया दिन सक्ने देखाएको बताउँछन्।

इजरेली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन्।

बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन्।

शुक्रवार आफ्नो एक मन्तव्यमा नेतान्याहूले इरानी जनतालाई त्यहाँको सत्ताविरुद्ध उठ्न र आफ्नो स्वतन्त्रता प्राप्त गर्न आह्वान गरेका थिए।

तेहरान विमानस्थलमा 'विस्फोटन'

तेहरानमा खुसीयाली

तस्बिर स्रोत, Abedin Taherkenareh/EPA

इजरेलले इस्फहान र फोर्डोस्थित आणविक केन्द्रका साथै इरानको नटान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्रमा प्रहार गरेको जनाएको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले 'युद्ध सुरु गरेको' र आफ्नो देशले जबाफमा 'ठूलो प्रहार' गर्ने बताएका छन्।

इजरेलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्।

इस्लामिक रिभोलुशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत इरानले इजरेलका "दर्जनौं निशानाहरू, सैन्य अखडा र हवाई अड्डाहरूमा" हमला गरेको जनाएको छ।

इरानले आफ्नो उक्त कारबाहीलाई "ट्रु प्रमिस थ्री" (अनुवादित नाम) नाम दिँदै त्यसबारेका थप विवरण पछि बताइने जनाएको छ।

तेहरानले अमेरिका, फ्रान्स र ब्रिटेनलाई चेतावनी दिँदै इजरेलविरुद्धका हमला रोक्न उसलाई सघाएमा त्यस क्षेत्रमा रहेका तिनीहरूका अड्डाहरू र जहाजहरूलाई निशाना बनाइने बताएको छ।

समाचार संस्था एएफपीले आफ्ना एकजना पत्रकारलाई उद्धृत गर्दै तेहरानस्थित विमानस्थलबाट आगो र बाक्लो कालो मुस्लो आइरहेको देखिएको जनाएको छ।

मध्यपूर्व

इरानको अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा "विस्फोटन" भएको बताएको छ र त्यहाँबाट भारी धुवाँ निस्किरहेको देखिने तस्बिर सार्वजनिक गरेको छ।

इजरेली हमला धेरैजसो परमाणु र सैन्य केन्द्रहरूमा लक्षित देखिन्छन् तर आवासीय क्षेत्रहरूमा पनि त्यसको असर पारेको छ।

इजरेलले इरानलाई परमाणु अस्त्र बनाउन रोक्नका लागि आक्रमण सुरु गरेको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।