इजरेलले अहिल्यै इरानविरुद्ध हमला गर्न चाहनुका कारण

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प
    • Author, टम बेटम्यान
    • Role, अमेरिकी विदेश मन्त्रालय संवाददाता

इरानविरुद्ध इजरेलको सम्भावित् हमलाको विषयमा इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच तनाव बढिरहेको प्रस्ट देखिन्थ्यो।

अहिले हमला नगर्न ट्रम्पले इजरेली नेतालाई भन्दै आएका थिए।

अमेरिकी प्रशासन इरानसँग परमाणु वार्तामा रहेका बेला इजरेलले पर्खनु पर्ने उनले भन्दै आएका थिए।

किन इजरेलले अहिले नै हमला गर्‍यो?

तर स्पष्ट छ, इजरेलीहरूलाई लाग्यो उनीहरूका सामु कारबाहीको अवसर आएको छ।

गत वर्ष लेबननमा गरिएको हमलापश्चात् हेज्बोल्लाहको शक्ति क्षीण भएको अहिलेको अवस्थामा इरानीहरू सम्भवत: यो क्षेत्रमा यति कमजोर फेरि नहुने भन्ने इजरेलको विश्वास छ।

अमेरिकीहरूलाई मन नपरेपनि नेतान्याहुलाई यो नै उत्तम समय हो भन्ने लाग्यो।

इरानमाथि हमला भएको समाचार आउनासाथ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संक्षिप्त विज्ञप्ति जारी गरे जसमा उनले इजरेली हमलालाई 'एकपक्षीय कारबाही'को संज्ञा दिँदै अमेरिका र उसको निकट साझेदारबीच दुरी बनाए।

"इरानविरुद्धका हमलामा हामी संलग्न छैनौँ र हाम्रो उच्च प्राथमिकता भनेको सो क्षेत्रमा रहेका अमेरिकी फौजको सुरक्षा हो," उनले भने।

इजरेलले आत्मरक्षाका निम्ति इरानमाथि आक्रमण गर्न आवश्यक भएको आफूहरूलाई बताएको रुबियोले उल्लेख गरेका छन्।

अमेरिकाले के गर्ला?

तत्कालका निम्ति ह्वाइट हाउसले – सार्वजनिक रूपमा – सैन्य कारबाहीबाट आफूलाई अलग्ग्याएको छ। लडाइँमा सामेल नहुने सङ्केत दिने उसको प्रयास छ।

गत वर्ष पनि जब इजरेलले सो क्षेत्रमा लडाइँ विस्तार गर्‍यो, अमेरिकाले त्यस्तै प्रतिक्रिया जनायो। लडाइँ विस्तार हुन नदिने, इजरेललाई आत्मरक्षा गर्न सघाउने अनि अमेरिका आफैँ लडाइँमा नतानिने उसको नीति रह्यो।

पछिल्ला आक्रमणहरू हुनुभन्दा केही घण्टा अगाडि अमेरिकी अधिकारीहरूले इजरेलले कारबाही गरेमा त्यसलाई अमेरिकाको सहयोग नहुने बताएका थिए। कुनै हवाई इन्धन रिफ्युलिङ सहायता समेत नहुने भनेर उनीहरूले भने। ती टिप्पणी तेहरानतर्फ लक्षित थिए।

तर रुबियोको विज्ञप्तिमा उल्लिखित दुरी सो क्षेत्रमा रहेका अमेरिकी अखडाहरूमा बदलाका कारबाही नहोस् भन्नका निम्ति मात्र लक्षित थियो वा साँच्चिकै दुई देशबीच विमति बढेको छ भन्ने त्यसले देखाउँछ – यो अझै प्रस्ट भएको छैन।

उनको वक्तव्यमा इरानी प्रत्याक्रमणबाट जोगाउन इजरेललाई अमेरिकाले मद्दत गर्ने कुरा परेको छैन। त्यस्ता अमेरिकी सहयोग अवश्यम्भावी छन् तर सार्वजनिक रूपमा वाशिङ्टनले त्यसो भन्न नचाहनु अलि अस्वाभाविक देखिएको छ।

आक्रमणभन्दा अगाडि अमेरिकासँग 'पूर्ण संयोजन' भएको इजरेलको भनाइ छ। तर वाशिङ्टनमा त्यो भावना पाइँदैन।

तर रुबियोले इरानी सत्तालाई चेतावनी पनि दिए: "म स्पष्ट हुन चाहन्छु: इरानले अमेरिकी स्वार्थ वा फौजलाई निसाना तुल्याउनु हुन्न।"

इरानले प्रतिक्रिया जनाउने लगभग तय जस्तै छ।

त्यसैल अब प्रश्न उठ्छ इजरेलको सहयोगका लागि अमेरिकाले के गर्ला?

स्मरण रहोस्, गत वर्ष दुई पटक अमेरिका यस्ता मामिलामा तानियो। जोखिम के छ भने परिस्थिति चाँडै अनियन्त्रित बन्न सक्छ।

गत वर्ष जस्तो इजरेलको उसका साझेदारहरूसँग निकट समन्वय भएको यसपालि देखिँदैन।

यो घटनाक्रम अलि छिटो अनि अलि अनियन्त्रित हिसाबले भएको देखिन्छ।

आगामी दिन तथा घण्टा अत्यन्तै महत्त्वपूर्ण हुने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।