इरानका परमाणु केन्द्रहरूमा भएका क्षति स्याटलाइट तस्बिरमा देखियो

तस्बिर स्रोत, Maxar / BBC
- Author, पल ब्राउन र शायान सरदारिजादे
- Role, बीबीसी भेरिफाई
बीबीसी भेरिफाईलाई उपलब्ध भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा इरानका दुईवटा परमाणु केन्द्रसहित अन्य सैन्य निसानामा भएको क्षतिको प्रस्ट दृश्य देखिएको छ।
दुई फरक स्रोतहरूबाट प्राप्त तस्बिरहरूमा नतान्ज परमाणु केन्द्रका साथै तब्रिज सहरको दक्षिणमा अवस्थित क्षेप्यास्त्रस्थलमा क्षति पुगेको देखिन्छ। ती दुवै क्षति इजरेलले इरानमाथि शुक्रवार गरेको पहिलो आक्रमणका क्रममा भएका हुन्।
अन्य तस्बिरहरूमा नाम सुनिएका थप क्षेप्यास्त्र अखडाहरूमा पनि क्षति पुगेको देखिन्छ।
इजरेलले इरानका कैयौँ स्थानहरूलाई निसाना बनाएर आक्रमण गरिरहेको छ। जसको बदलामा इरानले जबाफी हमला गरेको छ।
क्षति पुगेका परमाणु स्थलहरू
म्याक्सारले हालै जारी गरेको भूउपग्रहबाट लिइएका अप्टिकल इमेजरीले इरानको नतान्ज र इस्फाहान परमाणु केन्द्रहरूमा भएको क्षति प्रस्ट देखाएका छन्।
नतान्जमा पाइलट इन्धन प्रशोधन केन्द्र र एक विद्युतीय सबस्टेसनमा क्षति भएको देखिएको इन्स्टिच्युट फर स्पेस एन्ड इन्टरन्याश्नल सेक्युरिटी (आईएसआईएस)को विश्लेषणले देखाएको छ।

यसअघि पहिलोपटक क्षतिको दृश्य देखाएको रेडार तस्बिरको विश्लेषणले पनि यही निष्कर्ष निकालेको थियो।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय (आईएईए)का प्रमुख राफाएल ग्रोसीले पनि शुक्रवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई यसबारेमा जानकारी गराएका थिए।
उनले "इरानले युरेनिअम उत्पादनका लागि ६० प्रतिशतसम्म प्रशोधन गरिरहेको इन्धन प्रशोधन कारखानाको जमिनमाथिको भाग नष्ट भएको" बताएका थिए।
इरानले यहाँ युरेनिअम-२३५ प्रशोधन गरिरहेको दाबी गरिएको थियो। युरेनिअम-२३५ आणविक ऊर्जा केन्द्र र परमाणु अस्त्र दुवैका लागि अत्यावश्यक तत्त्व हो।
आक्रमणको केही समयपछि देखा परेका र पुष्टि गरिएका भिडिओहरूमा उक्त स्थानबाट धुवाँको मुस्लो उठेको देखिन्छ।
रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट 'रुसी'का जस्टिन ब्रोङ्कले बीबीसी भेरिफाईसँग विस्फोटको प्रवृत्ति हेर्दा "जमिनको भाग छेड्न सक्ने" विस्फोटक प्रयोग गरिएको जस्तो देखिए पनि ठोकुवा गर्न नसकिने बताए।
उनका अनुसार सम्भवतः जीबीयू-३१भर्सन ३ वा जीबीयू-२१ जस्ता अझै विशिष्टीकृत भेदक विस्फोटकहरू प्रयोग भएका हुन सक्छन्।

तस्बिर स्रोत, Telegram
"बङ्कर बस्टर" भनेर चिनिने यी अस्त्रहरू विगतमा पनि इजरेलले गाजा र लेबनन दुवै स्थानमा भूमिगत निसानाहरूलाई लक्षित गर्न प्रयोग गरिसकेको छ।
यद्यपि "भूमिगत पाइलट इन्धन प्रशोधन कारखाना रहेको हल र मुख्य इन्धन प्रशोधन कारखानामा भौतिक आक्रमणको कुनै सङ्केत नदेखिएको" ग्रोसी बताउँछन्।
आईएईएले शनिवार इस्फाहानमा चार "महत्त्वपूर्ण भवनहरू"मा क्षति पुगेको जनाएको छ। जसमा युरेनिअम प्रशोधन केन्द्र र इन्धन प्लेट निर्माण कारखाना समेत छन्।
म्याक्सारबाट प्राप्त पछिल्ला तस्बिरहरूको बीबीसी भेरिफाईले विश्लेषण गरेको छ।
जसबाट इस्फाहानमा कम्तीमा दुईवटा संरचनामा क्षति पुगेको र उक्त स्थानको बाहिरी परिसरमा एउटा जलेको चिन्ह देखिएको छ।

तस्बिर स्रोत, Maxar
आईएईएले नतान्ज र इस्फाहानका उक्त क्षेत्रमा "विकिरण वृद्धि भएको" कुनै अभिलेख प्राप्त नभएको बताएको छ।
म्याक्सारले इरानका अन्य दुई आणविक स्थलहरूका पनि तस्बिर उपलब्ध गराएको छ। तर त्यसमा विशेषगरी अराक र फोर्डो प्रशोधन केन्द्रमा क्षतिको प्रस्ट प्रमाण देखिँदैन।
इरानी सञ्चार माध्यमहरूले उक्त स्थानमा पनि निसाना बनाइएको विवरण प्रकाशित गरेका थिए। तर इजरेल डिफेन्स फोर्सले उक्त कुरा अस्वीकार गरेको छ।
क्षेप्यास्त्र/रेडार केन्द्र
उम्ब्रा स्पेसले शुक्रवार खिचेका तस्बिर र विश्लेषणमा उत्तर-पश्चिमी इरानको तब्रिज सहर नजिकै रहेका क्षेप्यास्त्र प्रक्षेपण गर्ने संरचनाका कैयौँ भागमा क्षति पुगेको देखिएको छ।
उम्ब्राद्वारा उपलब्ध गराइएको एनोटेटेड ग्राफिकलाई एकजना जिओस्पेसल गुप्तचर सल्लाहकार क्रिस बिगर्सले गरेको विश्लेषण अनुसार क्षतिग्रस्त संरचनाहरूमा हतियार भण्डारण स्थल, क्षेप्यास्त्र राख्ने ठाउँहरू छन्।

तस्बिर स्रोत, Chris Biggers/Umbra Space
प्लानेट ल्याब्सले केरमानशाहका कम रेजल्युसनका तस्बिरहरू पनि उपलब्ध गराएको छ जसमा एउटा परिचित क्षेप्यास्त्र अड्डा नजिकैको क्षेत्रमा जलेको दाग र दुई भवनहरूमा क्षति भएको जस्तो देखिन्छ।
सोही क्षेत्रबाट शुक्रवार प्राप्त भएका र हामीले पुष्टि गरेका दृश्यहरूमा कम्तीमा तीनवटा ठूला धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो।

तस्बिर स्रोत, Planet Labs PBC
म्याक्सारले तेहरान नजिकै इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स 'आईआरजीसी'को गदिर बलिस्टिक क्षेप्यास्त्र अखडामा रहेको एउटा संरचनामा भएको उल्लेखनीय क्षति र पश्चिम अजरबैजान प्रान्तको पिरानशहरमा रहेको आईआरजीसी रेडार साइटमा भएको उल्लेखनीय क्षति देखाउने तस्बिरहरू समेत उपलब्ध गराएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








