इजरेलको परमाणु अस्त्रबारे सूचना चुहाउने मोर्डखाइ भनूनू को हुन्

मोर्डखाइ भनूनू

तस्बिर स्रोत, Reuters

"हामीले इरानको सशस्त्रीकरण कार्यक्रमको केन्द्रमै प्रहार गर्छौँ," इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमाथि आक्रमण सुरु गरेपछि भनेका थिए।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको जिकिर गर्दै आइरहेको छ। तर गुप्त रूपमा उसले अस्त्र निर्माणको प्रयास गरिरहेको आरोप इजरेलले लगाउँदै आएको छ।

अर्कोतर्फ इजरेल आफूसँग परमाणु अस्त्र भएको स्वीकार पनि गर्दैन नकार्दैन पनि। तर बाँकी विश्वले उक्त देशसँग परमाणु अस्त्र भएको ठानेको छ।

यसको श्रेय एक जना व्यक्तिलाई जाने गर्छ। उनकै खुलासाले परमाणु शक्ति बन्ने इजरेलको काम बाहिरी जानकारीमा ल्याइदियो। यसबापत ती व्यक्तिले भने दुई दशकसम्म आफ्नो स्वतन्त्रता गुमाउनु पर्‍यो।

मोर्डखाइ भनूनू

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मोर्डखाइ भनूनूको यो तस्बिर जेलमा हुँदा लिइएको हो

यसरी गरियो खुलासा

सन् १९८६को अक्टोबरमा द सन्डे टाइम्समा एउटा लेख छापियो। जसलाई अहिलेसम्म पनि ब्रिटिश पत्रकारिताको सबैभन्दा ठूलो खुलासा मानिन्छ। समाचारको शीर्षक थियो- 'खुलासा : इजरेलको परमाणु अस्त्रको रहस्य।'

समाचारका स्रोत थिए इजरेली आणविक प्राविधिक मोर्डखाइ भनूनू। उनको खुलासाले उनको देशको परमाणु क्षमताबारे आशङ्काहरू पुष्टि गर्‍यो। त्यसअघि सोचिएको भन्दा ठूला र अत्याधुनिक अस्त्र इजरेलसँग भएको सङ्केत पनि त्यसले गर्‍यो।

उनले नेगेभ मरुभूमिमा अति गोप्य 'डिमोना' परमाणु अनुसन्धान केन्द्रमा काम गरेका थिए। त्यो ठाउँ जेरुसलेमबाट सडक मार्ग हुँदै जाँदा १५० किलोमिटर दक्षिणमा पर्छ।

उक्त अखबारले इजरेलसँग २०० भन्दा धेरै आणविक अस्त्र रहेको र इजरेल विश्वको छैटौँ परमाणु शक्ति भएको निष्कर्ष निकाल्यो।

"हामी तनावमा थियौँ, हामी थकित पनि थियौँ। त्यहाँ रहेका अधिकांश मानिसहरूले यति ठूलो समाचार लेखेका थिएनन्," उक्त अखबारका खोज पत्रकार पिटर होनमले बीबीसीसँग भने।

तर सन्डे टाइम्सले जुन दिन उक्त समाचार खुलासा गर्‍यो त्यही दिन अर्थात् ५ अक्टोबरका दिन समाचारका प्रमुख स्रोतहरू एकाएक गायब भए।

देशद्रोही कि विसलब्लोअर?

नेगेभ मरुभूमिको डिमोनामा रहेको परमाणु रियाक्टर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेगेभ मरुभूमिको डिमोनामा रहेको परमाणु रियाक्टर

होनमले सबैभन्दा पहिला भनूनूलाई अस्ट्रेलियाको सिड्नीमा अगस्टमा भेटेका थिए। ती 'विसलब्लोअर'को उपस्थिति र हाउभाउ देखेर पत्रकार आश्चर्यमा परेका थिए।

"त्यहाँ उभिइरहेका भनूनू झट्ट हेर्दा सानो जीउडाल भएका, अलिकति तालु खुइलिएका, आत्मविश्वास पनि त्यति धेरै नभएका र औपचारिक पोसाक पनि नलगाई आएका थिए। उनी खासमा परमाणु वैज्ञानिक जस्तै देखिँदैन थिए," होनम पहिलो भेटबारे सुनाउँछन्।

"तर उनले डिमोनामा आफूले देखेको कुरा विश्वलाई सुनाउने अठोट र निर्णय चाहिँ बलियो गरी लिएका थिए," उनले थपे।

सन् १९८५को अन्त्यतिर भनूनूले आफ्नो जागिर छोड्ने निर्णय लिएका थिए। त्यसको कारण इजरेलले प्यालेस्टाइनमाथि गरिरहेको व्यवहार र परमाणु अस्त्रको विकासबारे उनको चित्त दुखाइ थियो। त्यसपछि उनी झोला बोकेर एशियाली देशहरू घुम्न निस्किए।

जागिर छोड्नुअघि उनले परमाणु केन्द्रको दृश्य खिचेका थिए। उनले हतियार उत्पादनका लागि प्रयोग हुने रेडियोधर्मी पदार्थ उत्खनन गर्ने उपकरणहरू थर्मोन्यूक्लियर उपकरणहरूको प्रयोगशालाका नमुनाहरू भिडिओमा कैद गरेका थिए।

उक्त निर्णयले उनलाई सबैभन्दा पहिले लन्डन र सन्डे टाइम्ससम्म पुर्‍यायो। अनि उनी रोम पुगे र इजरेली गुप्तचर निकाय मोसादको अपहरणमा परे। मोसादले इजरेलमै फर्काएर उनलाई लामो जेल सजाय भोग्न बाध्य बनायो।

"उनले यो काम गर्ने योजना नै बनाएका थिए। त्यसका लागि सबैभन्दा पहिले उक्त परमाणु केन्द्रभित्र लुकाएर क्यामरा पुर्‍याए। त्यसपछि त्यसभित्र प्रयोग हुने फिल्म पनि त्यसै गरी मोजाभित्र लुकाएर पुर्‍याए। उनले राती र बिहान सबेरै गोप्य रूपमा तस्बिरहरू लिन सुरु गरे," होनम सुनाउँछन्।

मोसादको 'हनी ट्र्याप'मा

भनूनूको तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भनूनू १८ वर्ष जेल सजाय भुक्तान गरेपछि मुक्त गरिए

सन्डे टाइम्सका सम्पादकहरूले भनूनूका कुरा थप जाँच गर्न उनलाई लन्डन लिएर आउन होनमलाई आग्रह गरे। उनलाई त्रास बाँकी नै भए पनि उनी यूके उड्न सहमत भए। सन्डे टाइम्सले उनलाई लन्डन सहर बाहिरको एउटा जो कोहीले थाहा नपाउने होटेलमा राख्यो।

तर उनी बेचैन भएर त्यहाँबाट लन्डनकै होटेलमा सरे। जहाँ घटनाक्रमले अनपेक्षित मोड लियो।

"त्यो सप्ताहान्तमा उनी सडकमा हिँड्दै गर्दा एक जना महिलासँग भेट गरेका रहेछन्। उनीसँग एक/दुई पटक भेट भएपछि उनी सँगै चलचित्र हेर्न जान सहमत भएछन्। मैले उनलाई भनेको थिएँ, 'ती महिला ठिकै मान्छे हुन भन्नेमा तिमी ढुक्क छौ'?" होनम सम्झन्छन्।

लन्डन बसाइका क्रममा भनूनूको सुरक्षाको विषयमा होनमको चिन्ता बढ्दो क्रममा थियो। उनले नियमित जस्तो भनूनूलाई फोन सम्पर्क गरिरहन्थे। उनीहरूबीचको अन्तिम कुराकानी उनलाई अझै याद छ।

"उनले 'म केही दिन उत्तरी इङ्ग्ल्यान्डतिर जाँदै छु। मलाइ केही हुँदैन' भने। मैले उनलाई, 'हेर तिमीले जे गरे पनि दिनमा दुई पटक मलाई फोन गर, मलाई थाहा होस् कि तिमी सुरक्षित छौ।'"

त्यसको एक महिनापछि इजरेली सरकारले भनूनू पक्राउ परेको सार्वजनिक गर्‍यो। उनी इजरेली 'हनी ट्र्याप'मा परेका थिए र बेहोस बनाएरै डुङ्गामार्फत् इजरेल पुर्‍याइएका थिए।

इजरेलको जेलमा लैजाने क्रममा भनूनूले हत्केलामा आफ्नो अपहरणबारे केही विवरण लेखेका थिए।

उनले हात भ्यानको झ्यालबाट बाहिर हल्लाउने क्रममा पत्रकारले त्यो लेखिएको कुरा थाहा पाउन् भनेर त्यसो गरेका थिए।

उनका अनुसार लन्डनमा उनीसँग एक जना अमेरिकामा जन्मिएकी पर्यटक साथी बन्न आइन्। उनी मोसाद एजेन्ट भएको उनलाई त्यस बेला थाहा भएन।

उनले भनूनूलाई बिदा मनाउन रोम जाने प्रस्ताव गरिन्। जब उनी त्यहाँ पुगे उनी अपहरणमा परे र उनलाई बेहोस बनाइयो।

जेलमुक्त भएपछि के गर्दै छन्?

भनूनूलाई सन् १९८७ मार्चमा देशद्रोह र जासुसीको आरोपमा मुद्दा चलाइयो र १८ वर्षको जेल सजाय सुनाइयो। त्यसमध्ये आधाभन्दा बढी समय उनले एकान्त कारावासमा बिताए।

"मैले विश्वलाई के भइरहेको छ भनेर सुनाउन चाहेको थिएँ... त्यो देशद्रोह थिएन। इजरेलको नीति विपरीत विश्वलाई सूचित गर्ने काम मात्रै थियो," भनूनूले जेलभित्रबाट रिकर्ड गरेर पठाएको अन्तर्वार्तामा भनेका छन्।

उनी सन् २००४मा जेलमुक्त भए। त्यसपछि उनलाई इजरेल छोड्न रोक लगाइएको छ।

त्यसपछि पनि उनी जेलमुक्त हुँदा तोकिएका सर्त पालना नगरेको आरोपमा कैयौँ पटक कारागार फर्किएका छन्।

सन् २००९ मा जेलतर्फ लैजाने क्रममा उनले इजरेललाई "धिक्कार" भनेका थिए।

फ्रान्ससँगको गोप्य सम्झौता

इजरेलका प्रथम प्रधानमन्त्री डेभिड बेन-गूरिअन बायाँ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेलका प्रथम प्रधानमन्त्री डेभिड बेन-गूरिअन

भनूनूको खुलासा अघिसम्म इजरेलका निकट सहयोगीहरूलाई पनि उसको परमाणु क्षमताबारे थाहा थिएन।

इजरेलले सन् १९४८ मा देश स्थापना भए लगत्तै परमाणु कार्यक्रम सुरु गरेको ठानिएको छ। इजरेलका प्रथम प्रधानमन्त्री डेभिड बेन-गूरिअनले परमाणु अस्त्रको महत्त्वबारे बुझेका थिए। तर उक्त अस्थिर क्षेत्रमा त्यस्तो अस्त्र रहेको हल्ला गरेर आफ्ना मित्रहरूलाई निराश पार्न चाहेनन्।

त्यसकारण इजरेलले फ्रान्ससँग गोप्य सम्झौता गरेर डिमोना केन्द्र बनायो। त्यही परमाणु केन्द्रबाट सन् १९६०को दशमा इजरेलले परमाणु अस्त्रका लागि आवश्यक तत्त्वहरू उत्पादन गरेको विश्वास गरिएको छ। वर्षौँसम्म इजरेलले त्यसलाई कपडाको कारखाना भनेर विश्वास दिलाएको थियो।

सन् १९६० को दशकमा अमेरिकीहरूले कैयौँ पटक उक्त स्थानको भ्रमण गरेका थिए तर उनीहरू जाँदा बन्द गर्ने गरिएका भूमिगत सतहको बारेमा अमेरिकीहरूले भेउ नै पाएनन्।

हतियार नियन्त्रण तथा अप्रसार केन्द्रले इजरेलसँग अहिले करिब ९० वटा परमाणु अस्त्र रहेको अनुमान गरेको छ।

तर पनि इजरेलले आफ्नो परमाणु क्षमताबारे अस्पष्टताको नीति लिएको छ। अनि इजरेली नेताहरूले "मध्यपूर्वमा परमाणु अस्त्र भित्र्याउने इजरेल पहिलो देश नबन्ने" बताउँदै आएका छन्।

सन् १९७० यता १९१ राष्ट्रहरूले परमाणु हतियार अप्रसार सन्धि (एनपीटी) मा संलग्नता जनाएका छन्। यो सम्झौताको उद्देश्य परमाणु हतियारको फैलावट रोक्ने र निःशस्त्रीकरण प्रवर्द्धन गर्ने हो।

सन् १९६७ को ज्यानुअरी १ बाट सन्धि कार्यान्वयनमा आउनुअघि आणविक अस्त्र उत्पादन र परीक्षण गरेका अमेरिका, रुस, यूके, फ्रान्स र चीनलाई यस्तो अस्त्र राख्ने अनुमति छ।

इजरेल यो सम्झौताको पक्ष राष्ट्र होइन।

भनूनूलाई इजरेलमा देशद्रोही ठान्ने धेरै छन्। तर सन् २००४ मा उनी जेलमुक्त हुँदा उनका समर्थकहरूले भनूनूलाई "शान्तिका नायक" भन्दै उत्सव मनाएका थिए।

जेलमुक्त भएपछि उनले बीबीसीलाई पहिलो अन्तर्वार्ता दिँदै आफूलाई कुनै "पश्चात्ताप नभएको" बताएका थिए।

"मैले गरेको जम्माजम्मी काम भनेको गुपचुप रूपमा के भइरहेको छ भनेर विश्वलाई जानकारी गराएको मात्रै हो। मैले इजरेल ध्वस्त बनाउने वा डिमोना नष्ट गर्ने कुरा गरेको होइन। मैले मात्रै उनीहरूसँग भएको कुरा सुनाएर मानिसहरूलाई मूल्याङ्कन गर्न छोडिदिएको हुँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।