इरानबाट नेपालीलाई भारतले उद्धार गर्ने, इजरेलका हकमा कैयौँ जटिलता

तस्बिर स्रोत, EPA-EFE/Shutterstock
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
भारतले इरानमा रहेका नेपालीहरूलाई समेत आफ्ना नागरिकहरू उद्धार गर्ने क्रममा समेट्ने जनाइरहँदा इजरेलमा रहेका नेपालीका हकमा अझै उद्धारको प्रारुपबारे प्रस्ट नभइसकेको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
इरानमा १७जना मात्र नेपाली रहेका कारण अन्य देशका प्रयासमा समेट्न सहज भए पनि पाँच हजारभन्दा धेरै सङ्ख्यामा नेपाली रहेको इजरेलका हकमा सोही प्रारूप 'काम गरिहाल्ला भन्ने नहुने' तेल अभिभस्थित नेपाली राजदूतले बताएका छन्।
नेपाली दूतावासले इजरेलबाट तत्कालै नेपाल फर्कन खोज्नेहरूको सङ्ख्या झण्डै दुई दर्जन मात्र रहेको जनाएको छ। तर त्यहाँ रहेका कतिपय नेपालीहरूले उद्धारको सुनिश्चितता भएपछि मात्र त्यस विषयमा सोच बनाउने बताएका छन्।
नेपाली नियोगको आफ्ना सम्पर्कमा आएका कतिपय नेपालीहरूले नेपाल फर्किएको अवस्थामा त्यहाँको जागिर कायमै रहने वा नरहने र फेरि इजरेल फर्कने बाटोबारे जिज्ञासाहरू राख्ने गरेको राजदूत धनप्रसाद पण्डितले बीबीसीलाई बताए।
इजरेलमा तनाव चर्किएयता अधिकांश व्यावसायिक उडान रोकिएको अवस्थामा तत्कालका लागि इजरेलसँग स्थल सीमा जोडिएका जोर्डन वा इजिप्टमार्फत् नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था छ। त्यसका लागि पनि लामो प्रशासनिक जटिलता समेत देखिएको राजदूत पण्डितले बताए।
तर शुक्रवार परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूसहितको एक बैठकमा आवश्यक पर्दा त्यसमा सहजीकरण गर्ने जबाफ जोर्डन सरकारबाट आएको उक्त बैठकमा सहभागी एक अधिकारीले बताए।
नेपालले के गरिरहेको छ?

तस्बिर स्रोत, fb/ArzuRanaDeuba
नेपालले उद्धार गर्ने प्रयोजनका इजरेलमा रहेका नेपालीहरूलाई आवेदन दिन भनेको थियो। त्यसमा ६०० जना भन्दा धेरैले अनलाइनमार्फत आफ्नो विवरण बुझाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसालले बताए।
"हामीले उक्त बैठकपछि श्रम, परराष्ट्र र गृह मन्त्रालयसहितको एकीकृत एकाइ बनाएर काम गरिरहेका छौँ," भुसालले भने।
"दूतावासमार्फत् साँच्चिकै फर्कन चाहनेको सङ्ख्या बढ्यो भने उद्धार गरेर नेपाल ल्याउने काम अगाडी बढाइने भन्ने छ। ट्रान्जिट भूमि प्रयोगका सन्दर्भमा जोर्डनले सघाउने बताएको परराष्ट्रले जानकारी गराएको छ।"
पछिल्ला केही दिनमा कैयौँ युरोपेली र केही एशियाली देशले इजरेल र इरान दुवैतर्फबाट आफ्ना नागरिकलाई फिर्ता लैजाने क्रम सुरु गरेका छन्।

तस्बिर स्रोत, Twitter/IndiainIran
नेपालले भने अझै आफ्नै उद्धार उडान गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारे ठोस निर्णय गरिनसकेको त्यस प्रक्रियामा संलग्न अधिकारीहरूले बताएका छन्।
"नेपालीलाई जोर्डन र इजिप्ट दुवैमा अनअराइभल भिसाको व्यवस्था छैन। उनीहरूका भिसा दिने सेवामा समेत निकै चाप परेको देखिँदा नियमित प्रक्रियाबाट सहजै भिसा पाइहाल्न नेपालीलाई कठिन छ," राजदूत धनप्रसाद पण्डितले भने।
"जोर्डनले तत्कालका लागि अमेरिका वा सेन्जेन भिसा भएकालाई अन अराइभल भिसा दिने भनेको छ। तर त्यस्तो अवस्थाका नेपाली यहाँ नगन्य छन्। इजिप्टमा कूटनीतिज्ञहरू समेत भिसा लिएर मात्र जान सक्ने अवस्था छ।"
अन्य देशबाट निस्कने सकस
नेपालीका लागि जोर्डनको बाटो निस्कन सबैभन्दा सजिलो पर्ने राजदूत पण्डित बताउँछन्। तर नियमित प्रक्रियामा जोर्डनको भिसा लिन आफ्ना सम्पूर्ण यात्रा विवरण, हवाई टिकट र होटल बुकिङ देखाउनुपर्ने अवस्था रहेको राजदूत पण्डित बताउँछन्।
महँगिएको होटल, टिकेट दर र बाँकी प्रक्रियाका कारण व्यक्तिगत प्रयासमा इजरेलबाट निस्कन कठिन रहेको इजरेलस्थित नेपालीहरू बताउँछन्।

तस्बिर स्रोत, Reuters
"यहाँबाट व्यक्तिगत प्रयासमै निस्कन खोजिरहनु भएका एक जना नेपाली चिकित्सकलाई समेत भिसाका लागि अनलाइन फारम भर्न कठिनाइ भइरहेको छ। दुई-चार सय मानिसहरू निस्कन खोज्ने अवस्था आइहाले त्यो सहज देखिँदैन।"
तर इजरेली सहर मोदिइनमा रहेका गैरआवासिय नेपाली सङ्घ, इजरेलका पूर्वअध्यक्ष गणेश गिरी भने त्यहाँ इजरेलीले पाउने सबै सुविधा नेपालीले समेत पाउने हुँदा धेरै अत्तालिइहाल्नुपर्ने अवस्था नरहेको ठान्छन्।
"कृषि क्षेत्रमा काम गर्ने नेपालीका लागि जोखिम केही बढ्ता हो तर त्यसमा समेत अधिकतम सुरक्षा उपायहरू अपनाइएको हुन्छ," गिरी भन्छन्।
"निस्कनुपर्दा स्थलमार्ग बाहेक पानीजहाजमा साइप्रस जाने अर्को उपाय पनि छ। तर कूटनीतिक रूपमा विशेष पहल नभएसम्म भिसाका दृष्टिले नेपालीलाई निस्कन कतैबाट पनि सहज छैन।"
अधिकांश नेपालीहरू केअरगिभर भनिने वृद्ध वृद्धा, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गर्ने काममा संलग्न इजरेलमा इरानी क्षेप्यास्त्रको असर आवासीय भवन र अस्पतालहरूमा समेत परेपछि त्यहाँ चिन्ता बढेको पाइन्छ।
"निकै वृद्धहरूको एक्लै स्याहार सुसार गरेर बस्नुपर्ने काम भएकाले मानवीय नाताले पनि केअरगिभरलाई झट्ट छाडिहाल्ने अवस्था छैन। त्यसरी फर्कँदा पुनः आउने अवसर हुँदैन भन्दा पनि हुन्छ।"
गिरीले भनेजस्तै परिवेशका कारण तत्काल धेरै नेपालीहरू फर्कन हतार गरिहाल्ने अवस्थामा नरहेको बताइन्छ।
इजरेलबाट पनि भारतले सघाउला?

भारतले गत बिहीवार इजरेलबाट फर्कन चाहने आफ्ना नागरिकहरूलाई उद्धारका लागि व्यवस्थापन गर्ने जनाएको थियो।
दिल्लीले त्यस्तो उद्धार स्थल मार्गबाट अर्को देश पुर्याएर त्यसपछि विमानमार्फत् भारत ल्याउनका लागि सहजीकरण गरिने जनाउँदै विवरण सङ्कलनको काम थालेको थियो। तर भारतले पनि फिर्तीको काम सुरु नगरिसकेको राजदूत पण्डित बताउँछन्।
"शुक्रवार मसँगको अनौपचारिक कुराकानीका क्रममा त्यसरी उद्धार हुँदा अत्यावश्यक केही नेपालीलाई त्यसमा समेट्न कोसिस गर्ने आश्वासन यहाँ रहनुभएका भारतीय राजदूतले दिनुभएको छ," पण्डित भन्छन्।
"भारतले जोर्डनको अम्मानसम्म आफ्ना नागरिकलाई बसमा लगेर त्यहाँबाट विमानमार्फत् उद्धार गर्ने तयारी गरिराखेको छ। उसको दुवैतर्फ दूतावास भएकाले भारतलाई त्यसो गर्न सहज पनि छ। मैले अन्य केही देशका राजदूतहरूसँग कुरा गरे पनि भिसाो काम हामीले नै गर्नुपर्छ"
अहिले बेलाबखत इजरेली विमान सेवाहरूले विदेशमा अलपत्र परेका आफ्ना नागरिक ल्याउने उडान सञ्चालन गर्ने बाहेक नियमित व्यावसायिक उडान भइरहेका छैनन्।
इजिप्टको काएरो पुग्न २० घण्टासम्म लाग्ने अवस्था रहेको छ भने सात घण्टा जतिमा जोर्डनको अम्मान पुग्न सकिने अवस्था छ। तर यसबेला सीमावर्ती अध्यागमनमा देखा परेको चापले त्यहाँ घण्टौँ अल्झनुपर्ने अवस्था रहेको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








