पछिल्लो इजरेल-इरान द्वन्द्व सुरु हुनुको कारण र अबको सम्भावित दिशाबारे लेखोजोखा

क्षतिग्रस्त आवासीय भवन

तस्बिर स्रोत, Getty Images

    • Author, लाना ल्याम, सोफिया फेरेरा सान्तोस, यारोस्लाभ लुकिभ र नेथन विलिअम्स
    • Role, बीबीसी न्यूज

गत शुक्रवार पछिल्लो द्वन्द्व सुरु भएयता इजरेल र इरानले एकअर्काविरुद्ध आक्रमण जारी राखेका छन्।

दुवैतर्फबाट आक्रोशपूर्ण अभिव्यक्ति आइरहेका छन्। अर्कोतर्फ इरानका परमाणु केन्द्रहरूमाथि इजरेलले गर्ने आक्रमणमा अमेरिका संलग्न हुनेबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विचार गरिरहेका बताइएको छ।

इरानका परमाणु केन्द्रहरू र सैनिक स्थलहरूमा इजरेलले आक्रमण गरेपछि पछिल्लो द्वन्द्व सुरु भएको हो। त्यसपछि हवाई आक्रमण गर्दै इरानले प्रत्याक्रमण थाल्यो।

इजरेली हमलाहरूमा अहिलेसम्म २०० जनाभन्दा बढी व्यक्ति मारिएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इरानी आक्रमणमा २४ जना मारिएका इजरेलले बताएको छ।

इजरेलको 'अपरेशन राइजिङ लायन' र इरानको प्रत्याक्रमण

जुन १२ तारिख बिहीवारका दिन इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले तेहरानको डिस्ट्रिक्ट १८ खाली गर्न भन्यो। सो क्षेत्रमा सैनिक भवनहरूका साथै आवासीय भवनहरू रहेका छन्।

त्यसको केही घण्टापछि स्थानीय समयअनुसार शुक्रवार बिहान साढे तीन बजेतिर तेहरानका आवासीयसहितका क्षेत्रमा आक्रमणको पहिलो वर्षा भएको इरानको सरकारी टेलिभिजनले जनायो।

सरकारी प्रतिबन्धका कारण बीबीसीका पत्रकारहरू इरानबाट रिपोर्टिङ गर्न असक्षम भएका कारण इजरेली आक्रमणबाट परेका क्षतिको आकलन गर्न गाह्रो छ।

इजरेल डिफेन्स फोर्सेसका अनुसार तेहरानदेखि २२५ किलोमिटर दक्षिणमा पर्ने नतान्ज परमाणु केन्द्रलाई निसाना बनाएर त्यसमा उल्लेख्य क्षति पुर्‍याइएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले 'अपरेशन राइजिङ लायन' नाम दिएको हमलाले इरानको परमाणु कार्यक्रमको "मुटु"लाई निसाना बनाइएको बताएका छन्।

"यदि रोकिएन भने इरानले एकदम छोटो समयभित्र एउटा परमाणु अस्त्र बनाउन सक्छ," नेतन्याहूले दाबी गरे। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले इजरेलले "कठोर दण्डको अपेक्षा" गर्नुपर्ने टिप्पणी गरे भने उनका विदेशमन्त्रीले इजरेली हमलालाई युद्धको "उद्‌घोष" भने।

इरानको प्रत्याक्रमण घण्टौँपछि सुरु भयो। सैनिक केन्द्र, हवाई अखडासहित इजरेलका दर्जनौँ ठेगानामाथि इरानले बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्‍यो। इरानले पछिल्लो कारबाहीको नाम 'ट्रू प्रमिस ३' दिएको छ।

आईडीएफका अनुसार करिब १०० वटा क्षेप्यास्त्रहरू इजरेलतर्फ प्रहार गरिएकामा अधिकांशलाई आइरन डोम प्रणालीले निस्तेज पारिदियो। हाल एकअर्काविरुद्ध आक्रमण जारी छ।

यद्यपि इरानले गर्दै आएको आक्रमणको मात्रा अलि कम भएको छ। बीबीसीका ह्युगो बशेगाका अनुसार त्यो इजरेली हमलाहरूको असरको नतिजा हुन सक्छ।

इरान र इजरेलमा आक्रमणमा परेका क्षेत्र

इजरेली हमलाहरूमा इरानको इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का कमान्डर होसैन सलामीसहित कैयौँ उच्च सैनिक अधिकारीहरूका साथै इरानको आणविक ऊर्जा सङ्गठनका पूर्वप्रमुख फेरेयदून अब्बासीसहित कैयौँ परमाणु वैज्ञानिकहरू मारिएका छन्।

इरानका अनुसार बालबालिकासहित थुप्रै सर्वसाधारणहरू इजरेली हमलाहरूमा मारिएका छन्।

थुप्रै इरानी ड्रोनहरू तथा क्षेप्यास्त्र स्थलहरूमा हमला भएको छ भने तेल अभिभ र उत्तरी इजरेलतर्फ लक्ष्यित थुप्रै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको आईडीएफले जनाएको छ।

इरानी फौजहरू चाहिँ इजरेली सुरक्षा पूर्वाधारहरूमाथि आक्रमण गर्नमा केन्द्रित भएका छन् र उनीहरूले प्रमुख इजरेली सहरहरूका बासिन्दालाई सहर खाली गर्न आग्रह गरिएको बताएका छन्।

तेहरानमा इजरेलले हमला गर्दा सरकारी टेलिभिजनका एक प्रस्तोता प्रसारणको बीचमै उठेर भागेको देखिएको थियो। इरानी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा तीनजना कर्मचारी मारिए।

इजरेली सेनाले तेहरानको आकाशमा "पूर्ण नियन्त्रण" कायम गरेको मङ्गलवार बताएको थियो। उसले इरानको एक तिहाइ 'मिसाइल लन्चर' नष्ट पारिसकेको पनि दाबी गरेको छ।

इरानी क्षेप्यास्त्रहरूले उत्तरी र मध्यइजरेलका चार फरक क्षेत्रमा हमला गरेपछि इजरेलको उक्त भनाइ आयो।

इजरेली सेनाका अनुसार इरानको उक्त हमलामा कम्तीमा आठजना सर्वसाधारण मारिए।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रवारयता देशमा कम्तीमा २२४ जनाको ज्यान गएको छ।

सो अवधिमा इजरेलमा २४ जनाको ज्यान गएको छ। तेल अभिभ, हाइफा, ताम्रा, रिशोन लेजायोन र बात याममा ती मानिसको मृत्यु भएको हो।

बात यामस्थित एउटा भवन

तस्बिर स्रोत, Reuters

भावी कदमबारे सोच्दै अमेरिका

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी परमाणु केन्द्रहरूमाथि इजरेलले गर्ने कारबाहीमा सामेल हुनेबारे विचार गरिरहेको स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्‌को बैठकपछि ट्रम्प र नेतन्याहूले मङ्गलवार टेलिफोन संवाद गरेका थिए।

मङ्गलवार ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अली खामेनेई "ठ्याक्कै कहाँ छन् भनी आफूहरूलाई थाहा भएको र उनलाई सजिलै निसाना बनाउन सकिने भए पनि अहिले उनलाई नमार्ने" उल्लेख गरेका थिए।

आफ्नो अन्तिम पोस्टमा ट्रम्पले इरानलाई "निःसर्त आत्मसमर्पण" गर्न पनि भनेका थिए।

त्यसअघि हाल जारी द्वन्द्वबीच इरानका सर्वोच्च नेता अली खामेनेईको हत्या गर्ने इजरेली योजनालाई "राम्रो सोच नभएको" भन्दै ट्रम्पले अस्वीकार गरिदिएको आइतवार अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका थिए।

त्यसको जवाफमा अली खामेनेईले आफ्नो मुलुकमाथि सैन्य हस्तक्षेप गरेमा अमेरिकाले "अपूरणीय क्षति बेहोर्ने" चेतावनी समेत दिए।

ट्रम्पले इजरेल र इरानबीच युद्धविरामभन्दा "लडाइँको वास्तविक अन्त्य" नै गराउन चाहेको सोमवार बताएका थिए।

मध्यपूर्वमा जारी सङ्कटका कारण जी सेभेनको शिखर बैठक बीचमै छोडेर ट्रम्प क्यानडाबाट स्वदेश फर्केका थिए।

त्यसअघि ट्रम्पले परमाणु कार्यक्रममा कडा कटौती हुने गरी एउटा नयाँ सम्झौताका लागि संवादमा इरान संलग्न नभइरहेको आरोप लगाएका थिए।

अमेरिका र इरानबीच गत आइतवार वार्ता हुने तय भएको थियो, तर त्यसभन्दा अघि शुक्रवार नै इजरेलले इरानमाथि हमला गरेपछि वार्ता स्थगित भयो।

क्यानडामा जी सेभेन शिखर बैठक बीचमा छोडेर हिँड्ने क्रममा ट्रम्प

तस्बिर स्रोत, Reuters

यो बिन्दुमा कसरी पुगियो?

बेन्जमिन नेतन्याहूले "इजरेलको अस्तित्वका लागि इरानी खतरा कम गर्ने उद्देश्यले लक्ष्यित सैनिक कारबाही गरिएको" शुक्रवार बताए। जारी सैनिक कारबाही कैयौँ दिनसम्म चल्न सक्ने पनि उनले बताएका छन्।

एक इजरेली सैनिक अधिकारीले "केही दिनभित्रै" परमाणु अस्त्र बनाउनका लागि इरानसँग पर्याप्त सामग्री रहेको बीबीसीसँग बताए।

अमेरिका र इरानबीच उसको परमाणु कार्यक्रमबारे गत एप्रिलमा सुरु भएको वार्ता ठप्पजस्तो देखिएको बेला इजरेलले हमला गर्‍यो।

तेहरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्ने सम्झौता हुनेमा ट्रम्प आशावादी थिए, तर तनावमा पछिल्लो समय भएको वृद्धिका कारण ताजा चरणको वार्ता स्थगित हुन पुग्यो।

गत वर्षको एप्रिल र अक्टोबरमा इरान र इजरेलले एकअर्काविरुद्ध कैयौँ हवाई हमला गरे। गत वर्षको इरानी हमला अहिलेको स्तरमा जस्तो देखिएको थिएन।

इरानको परमाणु कार्यक्रम

तेहरानका प्रमुख परमाणु केन्द्रहरू

लामो समयदेखि इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण र गैरसैनिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ।

इरानमा थुप्रै त्यस्ता केन्द्रहरू छन्। तीमध्ये कम्तीमा केहीलाई इजरेलले निसाना बनाएको छ।

तर धेरै देशहरूका साथै संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय 'आईएईए' इरानी कार्यक्रम गैरसैनिक प्रयोजनका लागि मात्र भएकोमा विश्वस्त हुन सकेका छैनन्।

तर ३५ राष्ट्र सदस्य रहेको आईएईएको बोर्ड अफ गभर्नर्सले २० वर्षयता पहिलो पटक जुनको सुरुवाततिर इरानमाथि परमाणु अप्रसार सन्धिप्रतिका आफ्ना दायित्वहरूको उल्लङ्घन गरेको घोषणा गर्‍यो।

घोषणा नगरिएका परमाणविक पदार्थ र प्रशोधित युरेनिअम भण्डारणबारे पूर्ण जवाफ दिन इरान "विफल" भएको उसले बतायो।

सन् २०२३ को मार्चमा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले इरानी केन्द्रमा युरेनिअम प्रशोधन शुद्धता ८३.७ प्रतिशतमा पुगेको फेला पार्‍यो। उक्त प्रशोधन तह अस्त्र निर्माणका लागि चाहिने बिन्दुबाट नजिक हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।