'युद्धमा अमेरिका होमिए दुर्दशा निम्तिने' तेहरानको चेतावनी, ट्रम्प अझै दुविधामा

इरान इजरेल युद्ध

तस्बिर स्रोत, Getty Images

    • Author, लिज डुसेट र लुसी क्लार्क बिलिङ्स
    • Role, बीबीसी न्यूज

इरानका उपविदेशमन्त्रीले बीबीसीसँग कुरा गर्दै इजरेली हमलामा अमेरिका सामेल भए त्यसले 'सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने' चेतावनी दिएका छन्।

सइद खतीबजादेहले 'यो अमेरिकाको युद्ध नभएको' भन्दै यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे उनलाई 'आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने एक राष्ट्रपति'का रूपमा सदा स्मरण गरिने बताए।

अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई 'दलदल'मा परिणत गर्ने, निरन्तर आक्रामकता भइरहने अनि 'बर्बर ज्यादती'को अन्त्यमा ढिलाइ हुने पनि बताए।

ट्रम्पको दुविधा

दक्षिण इजरेलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि उनको टिप्पणी आएको हो। इरानी सञ्चारमाध्यमहरूले अस्पताललाई नभई नजिकैको सैन्य इलाकामा निसाना दागिएको विवरण दिएका छन्।

इजरेलको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हमलामा ७१ जना घाइते भएका छन्।

इजरेलको सेनाले इरानका परमाणु संरचनाहरूमा हमला गरिरहेको बताएको छ जसमा अराकस्थित 'निष्क्रिय' हेभी वाटर रियाक्टर तथा नतान्ज केन्द्र रहेका छन्।

तेहरानले इजरेलद्वारा भएका आक्रमणमा उसको हताहतीबारे अद्यावधिक विवरण दिएको छैन।

बिहीवार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने कि नहुने भन्ने बारे आगामी दुई साताभित्र निर्णय लिने बताएको छ।

"निकट भविष्यमा हुन पनि सक्ने नहुन पनि सक्ने इरानसँगको वार्ताको सम्भावना अझै उल्लेखनीय रहेको तथ्यका आधारमा मैले दुई साताभित्र (युद्धमा सामेल हुने कि नहुने) निर्णय लिने छु," ट्रम्पले दिएको सन्देश ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभीटले उद्धृत गरिन्।

इरानका लागि कूटनीति 'पहिलो रोजाइ'

बीबीसीसँगको कुराकानीमा इरानी उपविदेशमन्त्री खतीबजादेहले कूटनीति पहिलो रोजाइ भएको तर बमबारी भइरहेको बेला 'कुनै वार्ता थाल्न नसकिने' बताए।

इरानले इजरेलमा गरिरहेको हमलालाई उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रको आर्टिकल ५१ अन्तर्गतको 'आत्मरक्षा'को संज्ञा दिए।

जुन १३ मा इजरेलले इरानी परमाणु केन्द्रहरूमा आक्रमण गरेर अनि कैयन् उच्च जेनरल तथा परमाणु वैज्ञानिकको हत्या गर्दा आफ्नो देश 'कूटनीतिक प्रयासको माझमा' रहेको उनले औँल्याए। उनले इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भइरहेको वार्ताप्रति इङ्गित गरेका हुन्।

इरानले परमाणु सम्झौता स्वीकारेको भए द्वन्द्व नहुने भनेर राष्ट्रपति ट्रम्पले गरेका टिप्पणीबारे प्रतिक्रिया दिँदै खतीबजादेहले इजरेलले इरानमाथि आक्रमण गरेर 'भाँड्नु' अगाडि आफ्नो देश वार्तामै रहेको बताए।

इरानका विदेशमन्त्री अब्बास अरागची

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रवार जिनिभामा युरोपेली विदेशमन्त्रीहरूसँग वार्ता गर्दै छन्

"हामी मस्कट (ओमानको राजधानी)मा छैटौँ चरणको वार्ता गर्ने योजनामा थियौँ। वास्तवमा हामी सम्झौताको संघारमा पुगेका थियौँ," उनले भने।

"अरूले भन्दा यो कुरा राष्ट्रपति ट्रम्पलाई राम्रोसँग थाहा थियो कि हामी सम्झौताको नजिक पुगेका थियौँ।"

ट्रम्पले सामाजिक सञ्जालमा गर्ने 'भ्रमपूर्ण र विरोधाभासयुक्त' टिप्पणीहरूको पनि उनले भर्त्सना गरे।

अमेरिकी विशेषदूत स्टिभ विटकफ तथा इरानी विदेशमन्त्री अब्बास अरागचीबीच गत शुक्रवार यता कैयन् पटक फोन कुराकानी भएको रोएटर्सले जनाएको छ।

परमाणु बम निर्माणको अन्तिम घडीमा इरान पुगिसकेको भन्ने इजरेली दाबीलाई पनि खतीबजादेहले अस्वीकार गरे।

कुनै अनुमानको भरमा युद्ध छेड्ने कुरा गलत भएको उनले बताए।

"यदि हामीलाई परमाणु बम चाहिएको थियो भने हामीले पहिले नै बनाइसक्थ्यौँ।"

यसबीच युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अरागचीलाई शुक्रवार जिनिभामा भेटेर तनाव मत्थर पार्नेबारे कुराकानी गर्न लागेका विवरण आएका छन्।

इजरेलले आक्रमण गरेपछि पहिलोपटक इरानी विदेशमन्त्रीसँग ब्रिटेन, जर्मनी, फ्रान्स, अनि युरोपेली युनियनकी वरिष्ठ कूटनीतिज्ञले प्रत्यक्ष वार्ता गर्न लागेका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।