इजरेल द्वन्द्वमा मारिएका इरानका सैन्य कमान्डरहरूको राजकीय अन्तिम संस्कार

तस्बिर स्रोत, Reuters
- Author, डिअरबेल जोर्डन
- Role, बीबीसी न्यूज
इरानको राजधानी तेहरानमा इजरेलसँगको १२ दिने द्वन्द्वमा मारिएका सैन्य कमाण्डर र परमाणु वैज्ञानिकहरूसहित झण्डै ६० जनाको राजकीय रूपमा अन्तिम संस्कार भएको छ।
तेहरानको एन्घेलाब स्क्वायरनजिकै इरानी झण्डा ओढाइएका कमान्डरहरूको तस्बिरसहितका शव पेटिका मानिसहरूको भीडले घेरिएका थिए।
यसै साताको सुरुमा इरानका प्रमुख परमाणु स्थलहरूमा बम विस्फोट गराएर अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएपछि द्वन्द्व युद्धविरामसँगै रोकिएको थियो।
कालो पोसाकमा रहेका शोक मनाउन उपस्थित मानिसहरूको ठूलो भीडले नाराबाजी गर्नुका साथै इरानी झण्डा फहराउने र मृतकहरूको तस्बिर बोकेको थियो।
सो समारोहअघि त्यसमा मानिसहरूलाई भाग लिन व्यापक रूपमा आग्रह गरिएको थियो भने अधिकारीहरूले नि:शुल्क बस र मेट्रो सवारीको व्यवस्था गरेका थिए।
सरकारी कार्यालयहरू दिनभरि बन्द रहे।
क-कसको अन्तिम संस्कार?
राजकीय अन्तिम संस्कार हुनेमा इरानका सर्वोच्च पदका सैन्य अधिकारी मोहम्मद बघेरी समेत छन् जो इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ थिए। बघेरीलाई उनकी श्रीमती र छोरीसँगै समाधिस्थ गरिएको छ।
सो द्वन्द्वका बेला इरानमा कुल ६२७ जनाको मृत्यु भएको तेहरानका अधिकारीहरूले बताएका छन्।
इरानको क्षेप्यास्त्र हमलापछि इजरेलमा २८ जनाको मृत्यु भएको इजरेली अधिकारीहरूले बताएका छन्।
शनिवार इस्लामिक रिभोलुशनरी गार्डस्का कमाण्डर इन चीफ होसेन सलामीका साथै तेहरानको आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद महदी तेहरानचीजस्ता कैयौँ आणविक वैज्ञानिकहरूको अन्तिम संस्कार भएको छ।

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा फेरि बम विस्फोट गर्नेबारे "पूर्ण रूपमा" विचार गर्ने बताएपछि ती घटनाक्रम देखा परेका थिए।
शुक्रवार ह्वाइटहाउसको प्रेस ब्रीफिङमा बीबीसीकी नोमिया इकबालको प्रश्नको जवाफ दिँदै ट्रम्पले यदि गुप्तचर निकायले इरानले युरेनिअमलाई चिन्ताजनक स्तरमा संवर्द्धन गर्न सक्छ भन्ने निष्कर्ष निकालेमा "बिना प्रश्न" त्यहाँ हमला गरिने बताए।
ट्रम्पले इरान "पराजित" भएको आफ्नो दाबी समेत दोहोर्याउँदै लेखेका छन्: "युद्धग्रस्त देश इरानका तथाकथित 'सर्वोच्च नेता' आयतोल्लाह अली खामेनेईले किन यति स्पष्ट र मूर्खतापूर्वक इजरेलसँग युद्ध जितेको भन्न सक्छन् जबकि उनलाई थाहा छ कि उनको भनाइ झूट हो।"
ट्रम्पले "उनी [खामेनेई] कहाँ आश्रय लिएका थिए भन्ने कुरा ठ्याक्कै थाहा भएको" दाबी गर्दै आफूले "इजरेल वा अमेरिकी सेनालाई ... उनको जीवन समाप्त पार्न नदिने" बताए।
"मैले उनलाई धेरै कुरूप र अपमानजनक मृत्युबाट बचाएँ र उनले 'धन्यवाद, राष्ट्रपति ट्रम्प!' भन्नु पर्दैन," ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्।
खामेनेईको 'अनादर नगर्न' चेतावनी
इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले खामेनेईका बारेमा "अनादरपूर्ण" टिप्पणी नगर्न ट्रम्पलाई चेतावनी दिएका छन्।
अरागचीले इरानी परमाणु स्थलहरूमा अमेरिकी र इजरेली हमला "उल्लेख्य केही उपलब्धि हासिल नगरेको" भन्ने दाबी गरेका थिए।
"यदि राष्ट्रपति ट्रम्प सम्झौता चाहने कुरामा इमान्दार छन् भने उनले इरानका सर्वोच्च नेता ग्रान्ड आयातोल्लाह खामेनेईप्रतिको अनादरपूर्ण र अस्वीकार्य स्वर त्याग्नुपर्छ," अरागचीले एक्समा पोस्ट गरेका छन्।
"महान् र शक्तिशाली इरानी जनता जसले संसारलाई देखाए कि इजरेली सत्तासँग हाम्रा क्षेप्यास्त्रहरूबाट जोगिन 'बुबा' तिर दौडनु बाहेक अरू कुनै विकल्प छैन, कृपया यसलाई धम्की र अपमानलाई रूपमा नलिनुहोस्।"

तस्बिर स्रोत, EPA/Shutterstock
अरागचीले हालैका बम विस्फोटहरूले इरानको परमाणु स्थलहरूमा "अत्यधिक र गम्भीर" क्षति पुर्याएको स्वीकारेका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएइए) का प्रमुखले इरानको परमाणु क्षमता - अत्यधिक समृद्ध युरेनियम र धातु प्रशोधन गर्न आवश्यक सेन्ट्रीफ्यूजहरू सहित - कति नष्ट गरिएको छ वा सारिएको छ भन्ने कुरा अझै प्रस्ट नभएको बताएका छन्।
आईएईएका महानिर्देशक राफेल ग्रोसीले समेत इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्ने कुरा सैन्य आक्रमणबाट हासिल नहुने बताउँछन्।
"तपाईँले यसलाई सैन्य रूपमा निश्चित रूपमा समाधान गर्नुहुन्न, त्यसका लागि सम्झौता चाहिन्छ," उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई भने। ट्रम्पले सामाजिक सञ्जालमा दाबी गरे अनुसार हालैका दिनहरूमा उनी "प्रतिबन्धहरू हटाउने सम्भावित तरिका र अन्य कुराहरूमा काम गरिरहेका थिए जसले इरानलाई पूरै, छिटो र पूर्ण रूपमा निको हुने धेरै राम्रो मौका दिने थियो।"
तर खामेनेईको टिप्पणीले आफूलाई निरुत्साहित पारेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








