आक्रमणबाट अमेरिकालाई केही फाइदा नभएको इरानका सर्वोच्च नेताको दाबी

आयतोल्लाह अली खामेनेइ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानका सर्वोच्च नेता हाल अज्ञातस्थलमा बसिरहेको बताइन्छ
    • Author, ज्याकलीन हवार्ड र एडम डर्बिन
    • Role, बीबीसी न्यूज

मङ्गलवार इजरेलसँग युद्धविराम सहमति भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै इरानका सर्वोच्च नेताले उनको देशका परमाणु केन्द्रहरूमा आक्रमण गरेर अमेरिकालाई 'कुनै फाइदा हासिल नभएको' बताएका छन्।

आयतोल्लाह अली खामेनेइले ती अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रम बिथोल्नेतर्फ 'कुनै ठूलो उपलब्धि' हासिल नभएको बताए।

बरु आफ्नो देशले कतारस्थित अमेरिकी हवाई सैन्य अखडामा गरेको जबाफी आक्रमणले 'गम्भीर धक्का' पुर्‍याएको उनले दाबी गरे।

वाशिङ्टन आफ्नो भनाइमा अडिग

यसबीच वाशिङ्टनमा वरिष्ठ अधिकारीहरूले आफ्ना आक्रमणबाट इरानको परमाणु महत्त्वाकाङ्क्षामा गम्भीर आघात पुगेको दोहोर्‍याएका छन्।

रक्षामन्त्री पिट हेग्सेथले अमेरिका र इजरेलले बटुलेका खुफिया जानकारीबाट इरानको 'परमाणु कार्यक्रमलाई उल्लेखनीय क्षति पुगेको र तिनलाई वर्षौँले पछि धकेलिदिएको' पुष्टि हुने बताए।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी आक्रमणले इरानका तीन महत्त्वपूर्ण परमाणु केन्द्रहरू पूर्ण सखाप भएको बताएका थिए।

पेन्टागनको खुफिया निकायले गरेको प्रारम्भिक विश्लेषणमा इरानी परमाणु क्षमतामा खासै हानि नभएको भनेर अमेरिकी सञ्चारमाध्यमहरूमा हालै चुहाइएको विवरणलाई ट्रम्पले अस्वीकार गर्दै आक्रोश प्रकट गरेका थिए।

पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री पिट हेग्सेथ (बाँया) तथा अमेरिकी सेनाका चेअरम्यान अफ जोइन्ट चीफ अफ स्टाफ जेनरल ड्यान केन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री पिट हेग्सेथ (बाँया) तथा अमेरिकी सेनाका चेअरम्यान अफ जोइन्ट चीफ अफ स्टाफ जेनरल ड्यान केन

वरिष्ठ अमेरिकी जेनरल ड्यान केन पनि उपस्थित रहेको पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बिहीवार रक्षामन्त्री हेग्सेथले उक्त आक्रमणलाई 'ऐतिहासिक रूपमा सफल' भने।

पत्रकारहरूसँगको चर्को प्रश्नोत्तरका दौरान उनले इरानको फोर्दो परमाणु केन्द्रबाट इन्रिच्ड युरेनिअमलाई आक्रमण अगावै अन्यत्र सारिएका भन्ने विवरणबारे अमेरिकासँग कुनै खुफिया जानकारी नभएको बताए।

फोर्दोको भूमिगत केन्द्रमा अमेरिकाले शक्तिशाली बङ्कर बस्टर बम खसालेको थियो।

इरान के भन्छ?

जुन १३ मा इजरेलसँग प्रत्यक्ष लडाइँ सुरु भएदेखि सार्वजनिक रूपमा ओझेल परेका आयतोल्लाह अली खामेनेइले बिहीवार टेलिभिजन सम्बोधन गर्दै एक साता लामो उनको मौनता तोडेका थिए।

उनी सीमित सञ्चार सम्पर्कका साथ कुनै बङ्करमा बसिरहेको ठानिएको छ।

बिहीवार उनले कहाँबाट सम्बोधन गरे भन्ने पनि इरानी अधिकारीहरूले खुलाएका छैनन्।

बिहीवारको सम्बोधनमा खामेनेइले इरानमा फेरि आक्रमण भए मध्यपूर्वका अमेरिका अखडाहरूमा थप आक्रमण गर्ने धम्की दिए।

ट्रम्पले इरानको परमाणु केन्द्रमा भएको आक्रमणको क्षतिलाई 'बढाइचढाइ' गरेको उनले दाबी गरे।

"तिनले केही हासिल गरेनन् अनि कुनै उद्देश्य पूर्ति भएनन्।"

कतारस्थित अमेरिकी अखडामा इरानले गरेको आक्रमणलाई इङ्गित गर्दै उनले भने: "यो घटना भविष्यमा दोहोरिन सक्छ। यदि (इरानमाथि) कुनै आक्रमण गरिए, दुस्मनका निम्ति मूल्य चर्को हुने छ।"

कतारमा गरिएको हमलामा कोही मारिएका थिएनन्। ट्रम्पका अनुसार त्यो आक्रमण पूर्व इरानले अमेरिकालाई पूर्व सूचना दिएको थियो। अमेरिकी अखडामा पनि कुनै क्षति नभएको बताइएको छ।

बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीसी न्यूजका अनुसार इरानलाई फेरि वार्ताको टेबलमा फर्काउनका निम्ति ह्वाइट हाउसले कैयन् विकल्पहरूबारे सोचविचार गरिरहेको छ जसमा इरानको गैरसैनिक परमाणु कार्यक्रमलाई लगानी जुटाउन सहयोग गर्ने उपाय पनि रहेको छ।

तर इरानका विदेशमन्त्रीले बिहीवार इरानी टेलिभिजनसँग बोल्दै अमेरिकासँग वार्ताको कुनै योजना नभएको बताए। इरानले आफ्न परमाणु कार्यक्रम गैरसैनिक प्रकृतिको भएको र परमाणु अस्त्र बनाउने योजना नभएको भन्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।