कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमलाबारे हामीलाई के थाहा छ

इरानी क्षेप्यास्त्र हमलापछि कतारमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानी क्षेप्यास्त्र हमलापछि कतारमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो
    • Author, सन सेडन र ग्याब्रिएला पोमरोए
    • Role, बीबीसी न्यूज

आफ्ना परमाणु केन्द्रहरूमा सप्ताहान्तमा अमेरिकी आक्रमण भएका बदलामा कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको इरानले बताएको छ।

प्रत्यक्षदर्शीहरूले राजधानी दोहामाथिको आकासमा ठूला विस्फोटका आवाज सुनेको बताए भने त्यहाँको हवाई प्रतिरक्षा प्रणाली इरानी क्षेप्यास्त्र रोक्न सक्रिय हुँदा आकास बेलाबेला चम्किएका भिडिओ देखिएका छन्।

इरान, इजरेल र अमेरिका सम्मिलित भएको युद्धको यो पछिल्लो चरण हो जसमा मध्येपूर्वमा अभूतपूर्व स्तरमा तनाव बढेको पाइएको छ।

अहिलेसम्म हामीलाई थाहा भएको जानकारी यस्ता छन्।

इरानले किन र केलाई निसाना बनायो?

इरानी क्षेप्यास्त्रहरूले अल-उदैद नामक मध्येपूर्वस्थित सबभन्दा ठूलो अमेरिकी सैन्य अखडामा निसाना बनाएको छ।

यो क्षेत्रभरिका सबै हवाई कारबाहीहरू सञ्चालन गर्ने यो अमेरिकी सेनाको क्षेत्रीय मुख्यालय हो। यहाँ केही ब्रिटिश सैनिक पनि तैनाथ छन्।

यो आक्रमणलाई सर्वप्रथम इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरे अनि त्यसपछि त्यहाँको सेनाले पुष्टि गर्‍यो।

इरानको सेनाको सबभन्दा शक्तिशाली अङ्ग इस्लामिक रिभोलुशनरी गार्ड्स कोर (आईआरजीसी)ले एक विज्ञप्ति प्रकाशित गर्दै "आफ्नो सार्वभौमिकतामाथिको आक्रमणलाई इरानले नाजवाफ हुन नदिने" भनेको छ। उसले "यो क्षेत्रमा अमेरिकी अखडा भनेको (अमेरिकाको) शक्ति होइन कमजोरी हो" पनि भनेको छ।

यसअघि अमेरिकाले इरानलाई जवाफी कारबाही नगर्न चेतावनी दिँदै तेहरानका नेताहरूलाई क्षेत्रीय तनावको कूटनीतिक हलमा सहमति जनाउन आह्वान गरेको थियो।

कतिवटा क्षेप्यास्त्र प्रहार गरियो भन्ने बारे भिन्न भिन्न विवरण आएका छन्। इरानले ६ वटा भनेको छ। अमेरिकाले १४ अनि रोएटर्समा उल्लेख भएअनुसार कतारले १९ वटा भनेको छ। ती सबैलाई प्रतिरक्षा प्रणालीले खसालेको भनिएको छ।

कोही पनि मरेका वा घाइते भएका छैनन्।

आक्रमणको केही घण्टापूर्व यूके र अमेरिका दुवैले कतारमा रहेका तिनका नागरिकलाई सुरक्षित आश्रय लिन भनेका थिए।

कतारमा ८० हजार अमेरिकी नागरिक बस्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ भने ब्रिटेनका पनि हजारौँ नागरिक त्यहाँ बस्छन्।

आक्रमणपछि के भनियो?

इरानले आक्रमण गर्दैछ भन्ने कुराको तेहरानले पहिले नै चेतावनी दिएको चाँडै नै प्रस्ट भयो। न्यूयोर्क टाइम्सले उद्धृत गरेका तीनजना इरानी अधिकारीहरूले तेहरानले दोहालाई आफ्नो कारबाहीबारे जानकारी दियो ताकी हताहती कम होस्।

आक्रमणपछिको पहिलो प्रतिक्रियामा राष्ट्रपति डोनल्ड ट्रम्पले पनि इरानलाई 'अगाडि नै हामीलाई सूचना दिएर कसैको ज्यान नजाने तथा घाइते नहुने अवस्था बनाउन सम्भव बनाएकोमा' धन्यवाद दिए।

उनले उक्त आक्रमणलाई 'एकदम कमजोर' भन्दै कोही अमेरिकीलाई हानि नभएको र न्यून क्षति भएको बताए। आफ्नो बदलाको भावलाई इरानले कार्यान्वयन गरेको भन्दै उनले अब 'शान्ति'को अवसर रहेको पनि बताए।

तथापि कतारको विदेशमन्त्रालयका एक प्रवक्ताले उक्त आक्रमण 'अप्रत्याशित' तथा 'सार्वभौमसत्ताको ठाडो उल्लङ्घन' भनेका छन्। यस क्षेत्रमा इजरेली कारबाहीको खतराबारे औँल्याउने कतार पहिलोमध्येको देश भएको पनि उनले उल्लेख गरे।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइले चाहिँ इरानले आक्रमणबाट कसैलाई हानी नगरेको तर कसैको आक्रमणबाट आफ्नो देश नलत्रिने बताए।

इरानले हमला गर्नेछ भन्ने सङ्केतहरू के के थिए?

सोमबार नै इरानले कतारमा क्षेप्यास्त्रहरू प्रहार गर्न लागेको भन्ने आशङ्का अमेरिकीहरूलाई थियो भन्ने सङ्केतहरू देखिएका थिए।

उक्त हमला हुनुभन्दा केही घन्टा अघि नै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको बताएको थियो। त्यसको केही समयपछि नै अमेरिका र यूकेले कतारमा रहेका आफ्ना नागरिकहरूलाई "सुरक्षित रहन" सन्देश जारी गरेका थिए।

ती सावधानीका सन्देशहरूले हमला हुनै लागेको भन्ने स्पष्ट जनाउ गरेका थिएनन्।

अमेरिकाले सावधानी अपनाउनका लागि त्यस्तो सूचना दिइएको बताएको थियो भने यूकेले आफूले अमेरिकीहरूबाट प्राप्त सूचनाका आधारमा सन्देश जारी गरेको बताएको थियो।

विमानहरूको उडानहरू ट्र्याक गरेर जानकारी उपलब्ध गराउने वेबसाइटहरूले कतार तर्फको उडानमा रहेका विमानहरू अन्यत्र मोडिन थालेका विवरणहरू दिन थालेका थिए। त्यस्तो एउटा वेबसाइट फ्लाइटरेडार २४ ले क्षेप्यास्त्र हमला हुनु अघि दोहा तर्फको उडानमा १०० वटा विमानहरू रहेका जनाएको थियो।

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त १० विमानस्थलहरू मध्येमा पर्दछ र त्यहाँबाट दैनिक झन्डै १४०,००० यात्रुहरूले आवतजावत गर्ने ठानिन्छ।

त्यस क्षेत्रमा बाहरेन र कुवेतजस्ता अन्य देशहरूले पनि छोटो समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका थिए।

हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुँदा नेपालबाट दोहा तर्फ जाने कतार एअरवेजको उडान पनि अवरुद्ध भएको थियो।

यो अवस्था कसरी निम्तियो?

शनिवार अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रहरूमा शक्तिशाली हमला गरेको थियो।

इजरेलले इरानविरुद्ध १३ जुनमा थालेको युद्धमा अमेरिका होमिएला कि नहोमिएला भन्ने अनिश्चयका माझ अमेरिकाले त्यो आक्रमण गरेको थियो।

इजरेलले हरेक दिन जसो इरानभित्रका परमाणु तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र हमला गरिरहेको थियो। इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्न यी कारबाही जरुरी भएको इजरेलको भनाइ थियो।

इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्न इजरेली तथा अमेरिकी सरकारहरूले निरन्तर प्रयास गर्दै आएका छन्। इरानले चाहिँ उसका परमाणु कार्यक्रम गैरसैनिक प्रकृतिको भएको भन्दै आएको छ।

आफ्नो आक्रमणले इरानको परमाणु कार्यक्रम नराम्ररी ध्वस्त भएको अमेरिकाले दाबी गरेको छ तर त्यस आक्रमणको प्रभाव अझै स्पष्ट भइसकेको छैन।

आईतवार र सोमवार पनि इरान र इजरेलबीच आक्रमण तथा प्रत्याक्रमण जारी रह्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।