इरानका परमाणु केन्द्रहरूमा भएका अमेरिकी हमलाबारे हालसम्म हामीलाई के थाहा छ

तस्बिर स्रोत, Reuters
- Author, टोमस म्याकिन्टोस र नादिन यूसुफ
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा "सफल" बम हमला गरेर तिनलाई "ध्वस्त" पारेको बताएका छन्।
इजरेलले उक्त हमलाको योजना बनाउन अमेरिकासँग "पूर्ण समन्वय" गरेको बताएको छ।
इरानी अधिकारीहरूले ती आक्रमणहरू भएको पुष्टि गरेका छन् तर ती परमाणु केन्द्रहरूमा ठूलो क्षति भएको अस्वीकार गरेका छन्।
इजरेलले आक्रमण सुरु गरेपछि इरान र इजरेलबीच चलिरहेको लडाइँमा अमेरिकी यी आक्रमणहरूले त्यो उल्लेखनीय रूपमा चर्किएको देखाउँछ।
यहाँ हालसम्म हामीलाई थाहा भएका कुराबारे चर्चा गरिएको छ।
अमेरिकाले कहाँ र कस्तो बम प्रहार गर्यो?
अमेरिकाले निसाना बनाएका स्थानमध्ये एउटा फोर्दो हो। त्यो भनेको इरानको महत्त्वाकाङ्क्षी परमाणु कार्यक्रमका लागि युरेनिअम संवर्धन गर्ने दुर्गम पहाडी भागमा जमिनमुनि रहेको एउटा प्लान्ट हो।
फोर्दोमा भएको क्षतिको पूर्ण विवरण अझै बाहिर आएको छैन।
अमेरिकाले अन्य दुई परमाणु केन्द्रहरू नटान्ज र इस्फाहानमा पनि प्रहार गरेको बताएको छ।
तेहरानको दक्षिणमा रहेको पहाडमा रहेको फोर्दोलाई यूके र फ्रान्सलाई जोड्ने च्यानल टनेलभन्दा गहिरो भूमिगत केन्द्र मानिन्छ।
फोर्दो जमिनमुनि निकै गहिराइमा रहेका कारण त्यसलाई नष्ट गर्न सक्ने "बङ्कर बस्टर" बम अमेरिकासँग मात्र छ। त्यो अमेरिकी बमलाई जीबीयू-५७ म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ।
विज्ञका अनुसार उक्त बमको तौल १३,००० किलोग्राम छ र विस्फोट हुनुअघि यो करिब १८ मिटर (६० फीट) सम्मको कङ्क्रिट वा ६१ मिटर (२०० फीट) गहिराइसम्मको माटो र ढुङ्गामाटोसहितको भूसतहमा पुग्न सक्छ।
फोर्दो केन्द्रका सुरुङको गहिराइका कारण एमओपी पनि सफल हुने ग्यारेन्टी छैन यद्यपि त्यसलाई नष्ट गर्न वा त्यसको नजिक पुग्न सक्ने यो मात्र गैर परमाणु बम हो।
पछिल्लो हमलामा अमेरिकी सञ्चारमाध्यमहरूले एमओपी प्रयोग गरिएको बताएका छन्।

तस्बिर स्रोत, US Air Force
हमलाका प्रभावको बारेमा हामीलाई के थाहा छ?
अमेरिकी आक्रमणले परमाणु केन्द्रहरूमा कति क्षति पुर्याएको छ वा कुनै प्रकारको हताहत भएको छ कि छैन भन्ने अझै स्पष्ट भएको छैन।
इरानको आणविक ऊर्जासम्बन्धी निकायले तीनवटा परमाणु केन्द्रहरूमा बम विस्फोट गर्नु अन्तर्राष्ट्रिय कानुनको "बर्बर उल्लङ्घन" भएको बताएको छ।
साउदी अरब र संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले आक्रमण पछि त्यहाँ विकिरणको स्तरमा कुनै वृद्धि नभएको बताएका छन्।
इरानको राष्ट्रिय प्रसारक संस्थाका उप-राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले "केही समयअघि" तीनवटै परमाणु केन्द्रहरू खाली गराएको थियो।
सरकारी टेलिभिजनमा देखिएका उनले भने: "इरानले ठूलो धक्का सहनु परेको छैन किनभने त्यहाँ रहेका सामग्रीहरू पहिले नै बाहिर निकालिएको थियो।"
तर आफ्नो टेलिभिजन सम्बोधनमा डोनल्ड ट्रम्पले "परमाणु संवर्धनसम्बन्धी केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको" जनाएका थिए।
तर बीबीसी न्यूज च्यानलमा बोल्दै अमेरिकाका राजनीतिक तथा सैन्य मामिलाका लागि पूर्व सहायक विदेशमन्त्री मार्क किमिट अलि बढी सतर्क देखिएका थिए।
"यो सधैँका लागि नष्ट भएको आधार दिने कुनै तरिका छैन," उनले भने।
इरानका विदेशमन्त्रीले फोर्दो, इस्फहान र नटान्जमा गरिएको आक्रमणले "अनन्त परिणामहरू" निम्त्याउने अमेरिकालाई चेतावनी दिएका छन्।
विदेशमन्त्री सैयद अब्बास अरागचीले इरानले आफ्नो सम्प्रभुताको रक्षा गर्न "सबै विकल्प"को अधिकार आफूहरूमा रहेको बताएका छन्।
इरानले कसरी बदला लिन सक्छ?

तस्बिर स्रोत, Getty Images
गत जुन १३ मा इजरेलले दर्जनौँ इरानी परमाणु तथा सैन्य केन्द्रहरूमा अचानक आक्रमण गरेदेखि इरान उल्लेखनीय रूपमा कमजोर भएको विज्ञहरू बताउँछन्। तर इरान अझै पनि पर्याप्त मात्रामा क्षति पुर्याउन सक्षम छ।
यसअघि नै इरानी अधिकारीहरूले अमेरिकालाई संलग्न नहुन चेतावनी दिँदै त्यसले उसले "अपूरणीय क्षति"को सामना गर्नुपर्ने र त्यसले उक्त क्षेत्रमा "सबैतिर युद्ध"को जोखिम निम्त्याउने चेतावनी दिएका थिए।
बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनर इरानले अब रातारात अमेरिकी आक्रमणको प्रतिक्रिया दिनका लागि तीन वटा रणनीतिक मार्गमध्ये एक छनोट गर्नु पर्नेछ:
- केही नगर्नु। त्यसले इरानलाई थप अमेरिकी आक्रमणबाट बचाउन सक्छ। त्यसले कूटनीतिक मार्ग पनि खोल्न सक्छ र अमेरिकासँग वार्तामा पुनः सामेल हुने अवस्था बन्न सक्छ। तर आक्रमण गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने अमेरिकी चेतावनीपछि पनि केही नगर्दा इरानी सत्ता कमजोर देखिन्छ। उसले आफ्नो जनसङ्ख्यामा भएको उसको पकड कमजोर हुने जोखिम थप अमेरिकी आक्रमणको तुलनामा थप महँगो पर्न सक्ने ठानी निर्णय गर्न सक्छ।
- तत्काल र कडा बदला लिनु। वर्षौँसम्म उत्पादन गरिएका र लुकाइएका इरानसँग अझै पनि व्यापक मात्रामा बलिस्टिक क्षेप्यास्त्रहरूसहित पर्याप्त अस्त्र भण्डार छ। उसको निसानाको सूचीमा मध्यपूर्वमा रहेका लगभग २० वटा अमेरिकी सैन्य अखडाहरू रहेका छन्। इरानले ड्रोन र द्रुत टोर्पेडो डुङ्गाहरू प्रयोग गरेर अमेरिकी नौसेना युद्ध पोतहरूमा "झुन्ड बनाएर आक्रमण" पनि गर्न सक्छ।
- आफ्नो रोजाइको समयमा केही पछि बदला लिनु। त्यो भनेको अहिलेको तनाव शान्त हुँदासम्म कुर्नु र अमेरिकी सैन्य शिविरहरू उच्च सतर्क नभएका बेलामा आक्रमण गर्नु हो।
अमेरिकाले मध्यपूर्वका १९ वटा देशहरूमा आफ्ना सैन्य शिविरहरू राखेको छ। त्यसमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सलगायत पर्छन्।
इरानले स्वतः निसानामा पार्न सक्ने अमेरिकी सैन्य अखडामा बहराइनको मिना सल्मानस्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लिट हेडक्वाटर्स पर्छ।
इरानले स्ट्रेट अफ हर्मुजमा रहेका जल ढुवानी मार्गहरूलाई पनि निसानामा पार्न सक्छ। त्यसले पर्सिअन गल्फलाई हिन्द महासागरसँग जोड्छ र विश्वमा हुने तेल आपूर्तिको ३० प्रतिशत ढुवानी त्यहीँबाट हुन्छ।
उसले अन्य समुद्री मार्गहरूमा पनि आक्रमण गर्न सक्छ र त्यसले विश्वव्यापी बजारहरूलाई अस्थिर बनाउने जोखिम बढाउँछ।
इरानले अमेरिकालाई सहयोग गरिरहेको ठानेका नजिकका देशहरूको सम्पत्तिलाई लक्षित गर्न सक्छ र त्यसले सम्पूर्ण क्षेत्रमा युद्ध फैलिने जोखिम निम्तिन सक्छ।
अमेरिकी बम विस्फोटको केही घण्टापछि इरानले इजरायलतर्फ नयाँ क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। उसले हाइफा, तेल अभिभ र जेरुसलेममा क्षेप्यास्त्र हमला गर्दा त्यहाँ विस्फोटन सुनिएका थिए।
ट्रम्पले के भने र अमेरिकी राजनीतिज्ञले कस्तो प्रतिक्रिया दिए?

तस्बिर स्रोत, Reuters
उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबिओ र रक्षामन्त्री पिट हेग्सेथको आडमा उभिएर ट्रम्पले इरानलाई यदि उनीहरूले आफ्नो परमाणु कार्यक्रम नत्यागेमा र कूटनीतिक समाधानसम्म नपुगेमा "निकै नराम्रो" हमलाहरूको सामना गर्नुपर्ने चेतावनी दिए।
"याद राख, धेरै निशानाहरू बाँकी छन्," उनले भने।
ट्रम्पको रिपब्लिकन पार्टीका धेरै सदस्यहरूले यो कदमको समर्थनमा आफ्ना भनाइ पोस्ट गरेका छन्।
टेक्ससका सिनेटर टेड क्रुजले राष्ट्रपति, उनको प्रशासन र हमलाहरूमा संलग्न अमेरिकी सेनाको "प्रशंसा" गरे।
यद्यपि प्रमुख डेमोक्र्याट हकिम जेफ्रीजले ट्रम्पले अमेरिकालाई "मध्यपूर्वमा सम्भावित विनाशकारी युद्धमा फस्ने" जोखिममा पारेको बताएका छन्। अरूले पनि उनले नयाँ युद्ध सुरु गर्न कङ्ग्रेसलाई छलेको आरोप लगाएका छन्।
स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी हमलाहरूलाई "घोर असंवैधानिक" भनेका छन्।
उनले राष्ट्रपतिसँग अर्को देशमा औपचारिक रूपमा युद्ध घोषणा गर्ने एकल शक्ति नभएकाले त्यो असंवैधानिक भएको बताए। संसद्का दुवै सदनका निर्वाचित सांसदहरूले मात्र यो गर्न सक्ने उनको भनाइ छ।
यद्यपि कानुनले के पनि भन्छ भने राष्ट्रपति सशस्त्र सेनाको प्रमुख कमान्डर हुन्।
त्यसको अर्थ उनी युद्धको औपचारिक घोषणाबिनै अमेरिकी सेना तैनाथ गर्न र सैन्य कारबाही सञ्चालन गर्न सक्छन्।
यसको सुरुवात कसरी भयो?
इजरेलले जुन १३ मा दर्जनौँ इरानी परमाणु र सैन्य केन्द्रमा अचानक आक्रमण गर्यो।
उसले इरानको परमाणु कार्यक्रमलाई ध्वस्त पार्ने आफ्नो लक्ष्य रहेको बताएको थियो र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले चाँडै नै परमाणु अस्त्र बनाउन लागेको दाबी गरेका थिए।
इरानले आफ्नो परमाणु महत्त्वाकाङ्क्षा शान्तिपूर्ण रहेकोमा जोड दिएको छ। इजरेलले अचानक आक्रमण गरेपछि तेहरानले इजरेलमा सयौँ रकेट र ड्रोनहरू प्रहार गरेको छ। त्यस बेलादेखि दुवै तर्फबाट आक्रमणहरू जारी छन्।

ट्रम्पले लामो समयदेखि उनी इरानसँग परमाणु अस्त्र हुनु नहुने पक्षमा रहेको बताइरहेका छन्।
इजरेलसँग त्यस्ता अस्त्रहरू छन् भन्ने व्यापक रूपमा विश्वास गरिन्छ तर उसले न त्यसलाई पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ।
गत मार्चमा अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले इरानले आफ्नो युरेनिअम भण्डार व्यापक स्तरमा बढाएको भए पनि उसले परमाणु अस्त्र निर्माण गरिरहेको छैन भनेर भनेकी थिइन्। त्यसलाई ट्रम्पले हालै त्यो "गलत" मूल्याङ्कन थियो भनेका छन्।
चुनावी अभियानमा ट्रम्पले विगतका अमेरिकी प्रशासनहरूलाई मध्यपूर्वमा "मूर्ख र अन्तहीन युद्धहरू"मा संलग्न भएकोमा आलोचना गरेका थिए र उनले अमेरिकालाई विदेशी द्वन्द्वबाट टाढा राख्ने वाचा गरेका थिए।
इजरेलले आक्रमण गरेका बेला अमेरिका र इरान परमाणुसम्बन्धी वार्ताको चरणमै थिए।
इरानलाई आक्रमण गर्नु दुई दिनअघि मात्र ट्रम्पले महत्त्वपूर्ण वार्तामा प्रवेश गर्न दुई साताको समय दिने बताएका थिए। तर त्यो समय सीमा नआउँदै उनले इरानमा बम खसाले।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








