इरानका परमाणु केन्द्रमा अमेरिकी हमलापछि अहिलेसम्म के-के भयो?

अमेरिकी हमलापछि देखिएको फोर्दोको स्याटेलाइट तस्बिर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकी हमलापछि देखिएको फोर्दोको स्याटेलाइट तस्बिर

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई "कूटनीतिक रूपमा" सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र "शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको" जनाएको थियो।

अहिलेसम्म के-के भयो?

आइतवार बिहान डोनल्ड ट्रम्पले अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रहरू आक्रमण गरेको बताएपछि घटनाक्रमहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् र विश्वभरिबाट प्रतिक्रियाहरू आइरहेका छन्।

धेरै देशहरूले सैन्य आक्रमणले समाधान नदिने भन्दै कूटनीतिक माध्यमबाट सङ्कटलाई टार्न आग्रह गरेका छन्।

आइतवार बिहानदेखि साँझसम्म के के भयो र कसले के भने? बुँदागत रूपमा थाहा पाउनुहोस् :

  • अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकाको बीटू बमवर्षकहरू आक्रमणका लागि प्रयोग गरिएको र "ती संसारलाई पत्तो नदिइकन इरान गएर र संसारलाई थाहा नदिई त्यहाँबाट फर्किएको" बताएका छन्।
  • पिट हेग्सेथले राष्ट्रपति डोनल्ड ट्रम्प शान्ति चाहन्छन् भन्ने दाबी गर्दै कुनै पनि बदलाको कडा जवाफ दिइने ट्रम्पकै भनाइ दोहोर्‍याए।
  • इजरेली राष्ट्रपति इसहाक हर्जोगले इरानमाथि अमेरिकाले गरेको आक्रमणलाई 'ऐतिहासिक र साहसी' निर्णय भने। उनले बीबीसीसँग भने, "मलाई स्पष्ट रूपमा के लाग्छ भने इरानको परमाणु कार्यक्रममा धेरै क्षति भएको छ।"
  • यी आक्रमणबाट इरानले कति क्षति बेहोरेको छ भन्ने हालसम्म पूर्ण जानकारी उपलब्ध हुन सकेको छैन।
  • इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई 'धोका' दिएको बताएका छन्। उनले भने, "इरानको कूटनीतिप्रतिको प्रतिबद्धताको दुरुपयोग गरेर इरानलाई मात्र धोका दिएनन् आफ्ना मतदाताहरूलाई पनि धोका दिए।"
अमेरिकी रक्षामन्त्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी रक्षामन्त्री इरानमा गरिएको हमलाबारे जानकारी दिँदै
  • ब्रिटेनले इजरेल र प्यालेस्टिनी क्षेत्रबाट आफ्ना नागरिकहरू र उनीहरूका परिवारहरूलाई बाहिर निकाल्न विशेष जहाज पठाउने तयारी गरिरहेको जनाएको छ।
  • ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामीले इरानलाई संयम हुन आग्रह गरेका छन्। उनले यी आक्रमणमा ब्रिटेनको कुनै संलग्नता नभएको र आक्रमणहरूबारे इरानलाई पहिले नै जानकारी दिइएको बताएका छन्।
  • ब्रिटिस प्रधानमन्त्री सर किअर स्टार्मरले अमेरिकी आक्रमणको उद्देश्य इरानको परमाणु कार्यक्रमबाट उत्पन्न "गम्भीर खतरा"लाई "कम" गर्नु भएको बताएका छन्।
  • अमेरिकाले इरानको फोर्दो परमाणु केन्द्रलाई निसाना बनाएको छ। फोर्दो तेहरानबाट ६० माइल टाढा पहाडहरूको बीचमा छ। उक्त भूमिगत स्थलमा दुई वटा मुख्य सुरुङ र साना सुरुङहरूको सञ्जाल छ।
  • फोर्दो जमिनमुनि निकै गहिराइमा रहेका कारण त्यसलाई नष्ट गर्न सक्ने "बङ्कर बस्टर" बम अमेरिकासँग मात्र छ। त्यो अमेरिकी बमलाई जीबीयू-५७ म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ।
  • विज्ञका अनुसार उक्त बमको तौल १३,००० किलोग्राम छ र विस्फोट हुनुअघि यो करिब १८ मिटर (६० फीट) सम्मको कङ्क्रिट वा ६१ मिटर (२०० फीट) गहिराइसम्मको माटो र ढुङ्गामाटोसहितको भू–सतहमा पुग्न सक्छ।

ट्रम्पको दिएको पहिलो जानकारी

ट्रम्पले आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाउँदै आफ्नो सोसल मिडिया 'ट्रुथ सोसल'मा लेखेका थिए।

कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया जनाएका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई "अपमानजनक" भन्दै निन्दा गरेका छन्। उनले इरानले "आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको" बताएका छन्।

अमेरिकी हमलापछि जेरुसलेममा कैयौँ विस्फोटहरू र जोर्डनमा साइरनहरू बजेको सुनिएको बीबीसी संवाददाताहरूले जनाएका छन्।

इजरेली सेनाले इरानी क्षेप्यास्त्रहरूलाई रोक्न प्रतिरक्षा प्रणालीहरू सक्रिय पारेको जनाएको छ।

ट्रम्पको सम्बोधन

ट्रम्प

तस्बिर स्रोत, Reuters

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए।

"यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने।

चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले "इजरेलका लागि यस भयानक खतरा" मेट्न "एकसाथ" काम गरेको बताए।

"त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ," इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने।

"याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।"

इरानी प्रतिक्रिया

इरानी विदेशमन्त्री अरागची

तस्बिर स्रोत, Getty Images

इरानी विदेशमन्त्री अरागचीले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यको हैसियतमा अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्रको "गम्भीर उल्लङ्घन" गरेको बताए।

"आज बिहानका घटनाहरू अत्यन्तै घृणित छन् र यसका अनन्त परिणामहरू हुनेछन्। संयुक्त राष्ट्र सङ्घका प्रत्येक सदस्य यो अत्यन्तै खतरनाक, कानुनहीन र आपराधिक व्यवहारप्रति सतर्क हुनुपर्छ," उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्।

यसअघि इरानी अधिकारीहरूले फोर्दो, इस्फहान र नटान्जमा अमेरिकी हमला भएको पुष्टि गरे तापनि इरानलाई ठूलो मार परेको कुरा अस्वीकार गरेका थिए।

इरानी संसदका सभामुखका सल्लाहकार मेहदी मोहम्मदीले निशानामा पारिएका कुनै पनि स्थानमा कुनै पनि अपूरणीय क्षति नभएको दाबी गरे।

मोहम्मदीले केही समयअघि ती स्थलहरू खाली गराइएको जनाएका छन्।

इरानको परमाणु ऊर्जा निकायले ती बम हमलाहरू अन्तर्राष्ट्रिय कानुन र खासगरी परमाणु अप्रसार सन्धिको बर्बर उल्लङ्घन भएको जनाएको छ।

सो निकायले ती हमलाले इरानको परमाणु महत्त्वाकाङ्क्षालाई रोक्न नसक्ने बताएको छ।

इजरेलमा कडा सुरक्षा व्यवस्था

इजरेल इरान द्वन्द्व

अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।

अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग "पूर्ण समन्वय" मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई 'साहसिक निर्णय' बताउँदै त्यसको प्रशंसा गरेका छन्।

उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।

'बी-२ विमान प्रयोग'

अमेरिकी लडाकु विमान

तस्बिर स्रोत, Getty Images

ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्।

ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्।

ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्।

यसअघि अमेरिकी सेनाले आफ्ना बी-२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो।

त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।