दुई अस्पताल हमलाका दुईथरी कथा : के बताउने भनेर मिडियाले कसरी निर्णय गर्छ

तस्बिर स्रोत, Reuters
- Author, परीजाद नोबाख्त
- Role, बीबीसी न्यूज पर्सिअन
पछिल्ला दिनहरूमा कैयन् इरानीहरूले - देशभित्र तथा बाहिर रहेकाहरू समेत - दुईवटा उस्तै हमलाका दु:खद घटनाहरूको सञ्चारमाध्यमहरूले गरेको बिल्कुल भिन्न किसिमको रिपोर्टिङ्बारे आफ्ना निराशाहरू सामाजिक सञ्जालमा पोखे।
इजरेलको बेरशिवास्थित एक अस्पतालमा भएको बम आक्रमणबारे प्रमुख अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले तत्कालै अनि विस्तृत ध्यान केन्द्रित गरे। केही दिनअगाडि मात्र पश्चिम इरानको कर्मानशाहस्थित एक अस्पतालमा पनि आक्रमण भएको थियो तर सञ्चारमाध्यमहरूमा त्यसको खासै चर्चा भएन।
पीडाको रिपोर्टिङ्मा देखिएको असमानताबारे बढ्दो बुझाइले धेरैलाई आफूहरू मूल्यहीन भएको र बेवास्तामा परिएको अनुभूति गराएको छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जाएको छ: किन संसारले कुनै दु:खद घटना देख्छ अनि कुनै देख्दैन?
यसको जबाफ भूराजनीतिमा मात्र होइन बरु पहुँच, अनि सूचनाको रणनीतिक उपयोगमा भर पर्छ।
इजरेलले सञ्चारमाध्यमलाई बुझेको छ। उसको सरकार तथा सैन्य संस्थाहरूसँग विदेशी पत्रकारहरूसित काम गर्ने व्यवस्थित प्रणाली छ।
कुनै ठूलो घटना हुनासाथ विदेशी पत्रकारहरूलाई - जसमध्ये अधिकांश तेल अभिभ वा जेरुसलेममा रहेका हुन्छन् - उसले घटनास्थलमा लैजान्छ।
त्यहाँ तिनलाई भिडिओ खिच्न, प्रश्न सोध्न अनि पीडित वा अधिकारीहरूसँग कुरा गर्न अनुमति दिइन्छ। यो प्रक्रिया छिटो, पारदर्शी अनि विश्वव्यापी समाचार चक्रलाई मिल्ने गरी बनाइएको हुन्छ।
तर यही विषय गाजामा भने लागु छैन जहाँ इजरेलले आवतजावत नियन्त्रण गरेको छ अनि जहाँ घटनास्थलमा पुगेर स्थितिको चित्रण गर्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई अनुमति दिइँदैन।
सूचनाको रिक्तता
अर्कोतर्फ इरान भने विदेशी पत्रकारहरूका निम्ति लगभग पूर्ण बन्द छ। अहिले पनि तेहरानबाट रिपोर्टिङ् गर्नका लागि बीबीसी पत्रकारहरूलाई भिसा दिइएको छैन। देशभित्र रहेका इरानी पत्रकारहरूलाई पनि कडा नियन्त्रण अनि बाक्लो सेन्सरशिप लागु छ।
कर्मानशाहको बम आक्रमणपश्चात् थोरै अनि अस्पष्ट र अँध्यारा मोबाइल फोनबाट खिचिएका फोटाहरू सार्वजनिक भए। कुनै प्रेस जानकारी दिइएन। न त कुनै संयोजित मिडिया पहुँच दिइयो। घटनास्थलबाट प्रत्यक्ष प्रसारण त निश्चितै भएन।
यो विषय अझ गहिरो छ।
इजरेलमा २४ घण्टे स्याटलाइट इमेजरी, ड्रोनबाट लिइएका फुटेज अनि तेल अभिभबाट प्रत्यक्ष प्रसारण भइरहन्छ।
इरानचाहिँ लाग्छ सूचनाको रिक्ततामा रहेको छ जहाँबाट प्राप्त हुने अधिकांश भिडिओ त्यहाँका गैरसैनिक नागरिकले तिनका फोनमा गोप्य तवरले खिचेका हुने गर्छन् जसलाई कमजोर इन्टरनेट कनेक्सनको प्रयोग गरेर अपलोड गरिएका हुन्छन् र जो चाँडै नै हटाइन्छन्।

तस्बिर स्रोत, Reuters
अनि अर्को विषयचाहिँ आधिकारिक आँकडाको छ। जब बेरशिवा अस्पतालमा प्रहार भयो इजरेली अधिकारीहरूले तत्काल घाइतेहरूको सङ्ख्या, तिनको अवस्था अनि आक्रमणको पृष्ठभूमिबारे जानकारी दिए।
इरानमा चाहिँ इजरेली हमलाको पहिलो लहरको दुई दिनपश्चात् त्यहाँको स्वास्थ्य मन्त्रालयले देशभरि मारिनेको सङ्ख्या २२४ भन्ने जानकारी दियो।
त्यसपछि उसले थप जानकारी दिएको छैन अनि कर्मानशाहको अस्पतालसहित निश्चित् स्थानहरूमा भएका हमलाको भरपर्दो सूचना पनि दिएको छैन।
आधिकारिक स्पष्टताको अभावमा पीडित परिवारले तिनका बालबच्चा वा आमा वा अन्य गैरसैनिकहरूको फोटो राखेर गरेको विलौनाबाट ताजा सूचना मिलिरहेको छ। राज्यको मौनताले छाडेको रिक्ततालाई ती व्यक्तिगत विलौनाले भर्न खोजेको छ।
यो लेख तयार पारुन्जेल इरानमा इन्टरनेट चलेको छैन। विगतमा बाहिरबाट पहुँच पाइने समाचार एजेन्सीका वेबसाइट अचेल खुल्दै खुल्दैनन् या गाह्रो गरी अपूर्ण खुल्छन्। सरकारी वेबसाइटमा राखिएका फोटा तथा भिडिओ विदेशबाट हेर्न खोज्दा हम्मेसी खुल्दैनन्। कतिपयको त होमपेज नै लोड हुँदैन।
फलस्वरूप अस्पतालमा हमला भएका जस्ता घटनाको रिपोर्टिङ्मा व्यापक असन्तुलन देखिन्छ।
मिडियामा अनि इन्टरनेटमा कडा नियन्त्रणका कारण इरानबाट रिपोर्टिङ् गर्न विदेशी पत्रकारलाई कठिन हुन्छ भने स्वदेशी मिडियाले पनि स्वतन्त्र ढङ्गले काम गर्न सक्दैन।
यस्तोमा कुनै घटनाको पूर्ण विवरण - त्यसका कारण चुकाउनु परेको मानवीय मूल्य, सन्दर्भ तथा परिणाम - दिन लगभग असम्भव हुने गर्छ। यसले विश्वव्यापी मिडिया कुराकानीमा इरान बेफाइदामा पर्छ।
युद्धका बेजा जब निश्चित् भाष्यहरू क्षेप्यास्त्रसरह शक्तिशाली हुने गर्छन्, इरानले आफूलाई लगभग मौन राखेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








