नेपाल भूकम्प: लोकल म्याग्निट्यूड ६.० को खोटाङ भुइँचालोले के सङ्केत गर्छ, नेपालमा कहाँकहाँ छ ठूलो भूकम्प जाने जोखिम

लोकविजय अधिकारी

तस्बिर स्रोत, KESHAV P. KOIRALA / BBC

पूर्वी नेपालको खोटाङ जिल्लामा केन्द्रबिन्दु बनाएर लोकल म्याग्निट्यूड ६.० भूकम्प गएपछि सरकारी अधिकारी तथा विज्ञहरूले पूर्व र पश्चिम नेपालमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी भूगर्भविद् शीला भट्टराईका अनुसार खोटाङको साकेला गाउँपालिकाअन्तर्गत पर्ने मार्तिमबिर्तामा बिहान ८:१३ मिनेटमा गएको उक्त भूकम्पको प्रभाव पूर्वी नेपालदेखि काठमाण्डू उपत्यकासम्म महसुस भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भूकम्पको धक्का पश्चिम बङ्गाल र बिहारका विभिन्न स्थानमा पनि महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भूकम्पबाट कस्तो क्षति?

राष्ट्रिय समाचार समितिका अनुसार गृहमन्त्री बालकृष्ण खाणले खोटाङमा गएको भूकम्पबाट पुगेको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

सरकारी अधिकारीहरूले उक्त भूकम्पका कारण खासै ठूलो क्षतिको विवरण नआएको बीबीसीलाई बताएका छन्।

"अहिलेसम्म त्यस्तो ठूलो क्षतिको विवरण छैन। भूकम्पको केन्द्रबिन्दु रहेको मार्तिमवरिपरि पुराना कच्ची घरहरू अलिअलि चर्किएको भन्ने छ," खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले भने।

खोटाङ भूकम्प

नजिकै रहेको भोजपुरमा पनि केही पुराना संरचनामा क्षति पुगेको विवरण आएको छ।

"हामीले मज्जाले नै भूकम्पको धक्का महसुस गर्‍यौँ। करिबकरिब २०७२ सालको भूकम्पजत्तिकै शक्तिशाली कम्पन छोटो समयको लागि महसुस गरियो," सेढाईँले भने।

साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले भूकम्पबाट मानवीय क्षति नभएको जानकारी राससलाई दिएका छन्।

विक्रम स‌ंवत् २०७२ को भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लामा थियो। यूएसजीएसले ७.८ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पमा परी झन्डै ९,००० जनाको मृत्यु भएको थियो।

त्यसपछि गोरखा भूकम्प शृङ्खलाअन्तर्गत दशौँ हजार परकम्पहरू मापन गरिएको अधिकारीहरूले बताएका छन्। परकम्प जाने क्रम अहिले पनि जारी छ।

यद्यपि खोटाङमा गएको भूकम्पको गोरखा भूकम्पसँग कुनै सम्बन्ध नरहेको अधिकारीहरू बताउँछन्।

नेपाल भूकम्प

नेपालमा कहिलेकहिले गएका थिए ठूला भूकम्प?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसर विक्रम संवत् १९९० पछि नेपालको पूर्वी क्षेत्रमा ठूलो भूकम्प गएको छैन।

"हाम्रोमा ९० सालको महाभूकम्पयता त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन। त्यहाँ त्यसयताको शक्ति जम्मा भएर बसेको छ। त्यसयता साना केही भूकम्पहरू गएका छन्। धरानमा गएको अलग्गै हो।"

उनका अनुसार पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर विक्रम संवत् १२५५ मा ८ म्याग्निट्यूडभन्दा बढीको भूकम्प गएको थियो।

"विक्रम संवत् १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ। उक्त महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त भएको ठानिन्छ।"

उनले कहिले ठूलो भूकम्प जान्छ भनेर भन्न नसकिने भएपनि "जति ठूलो अन्तरालमा भुइँचालो जान्छ त्यो त्यति नै बढी शक्तिशाली हुने" बताए।

अधिकारीका अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको नै छैन।

उनले थपे, "तर मध्यनेपालमा २००-२५० वर्षको अन्तरालमा शक्तिशाली भूकम्प गइरहेको छ।विक्रम संवत् १८९० मा गएको ठाउँमा २०७२ सालमा गयो। उक्त भूकम्पका परकम्पहरू पनि शक्तिशाली थिए। त्योभन्दा पहिला पनि विसं १४०० मा, १६०० मा गएका छन्।"

भोजपुरको टक्सारमा भूकम्पले क्षति पुगेको एउटा घर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भूकम्पका कारण खोटाङ र भोजपुरमा केही क्षति पुगेको छ

पूर्व र पश्चिम दुवैतर्फबाट किन जोखिम?

कतिपय भूगर्भविद्हरू विक्रम स‌ंवत् २०७२ सालको भूकम्पले पूर्वमा दोलखा र पश्चिममा बारपाकसम्म जमिन सारेको बताउँछन्।

उनीहरूका अनुसार अहिले पनि पूर्वी र पश्चिम नेपालमा शक्तिशाली भूकम्प जाने जोखिम छ।

भूगर्भविद् प्रा. डा. विशालनाथ उप्रेती त्यसैले पूर्वचेतावनी दिने प्रणालीसहित पूर्वतयारीका लागि सरकारले बेलैमा लगानी गर्नुपर्ने बताउँछन्।

धरहरा

तस्बिर स्रोत, AFP, GETTY, EPA

तस्बिरको क्याप्शन, विक्रम स‌ंवत् १९९० सालको भूकम्पमा पनि धरहरा भत्किएको थियो

उनका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पूर्वचेतावनी दिने उपकरण जडान गर्ने प्रयास गरिरहेको छ। उनी नास्टका प्राज्ञ पनि हुन्।

भूकम्पीय र भौगर्भिक अध्ययन गर्न र आफ्नो क्षमता अभिवृद्धि गर्न नेपालले थप लगानी गर्नुपर्ने उनी औँल्याउँछन्।

"हामीलाई १० वटा साइस्मोमिटर आवश्यक छ। नास्टले कुनै पनि उपकरण जडान गरेको छैन। दुईवटा साइस्मोमिटर जडान गर्न बजेट दिइएको थियो तर नयाँ सरकार आएपछि त्यो बजेट पनि २० प्रतिशत घटाइयो," उनले भने।

त्यो बजेट अपर्याप्त भएकाले खर्च नभएर फिर्ता गएको उनको भनाइ छ।

यस वर्ष पनि उपकरण खरिदका लागि बजेट नदिइएको उल्लेख गर्दै उप्रेतीले कम्तीमा दुईवटा उपकरणका लागि बजेट विनियोजन गर्न सरकारलाई मनाउने प्रयासमा आफूहरू रहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'काठमाण्डू यसरी पूर्वतिर सर्‍यो, पश्चिममा गएर अडियो'

के छ नेपालको भूगर्भमा?

प्रा. उप्रेतीका अनुसार भूकम्पीय जोखिमको दृष्टिकोणबाट पूर्वदेखि पश्चिमसम्म हिमालयको २,४०० किलोमिटर लामो भूगर्भलाई विभिन्न भागमा विभाजित गर्न सकिन्छ।

"साधरणतया हिमालयमा भूकम्प जाँदा झन्डै २०० देखि ४०० किलोमिटर लामो (पूर्वपश्चिमको) टुक्रा दक्षिणतिर सर्छ। तर कहाँदेखि कहाँसम्म त्यसको सीमा कहाँ छ त्यो हामीलाई थाहा छैन," उनले भने।

तर उनका अनुसार नेपालमा विक्रम संवत् १९९० मा गएको महाभूकम्पको पूर्वपश्चिम सीमाबिन्दुबारे अझै सबै विवरण थाहा भइसकेको छैन।

"अहिलेसम्म हामीले पत्ता लगाएको विवरणअनुसार ९० सालको भूकम्पको लगभग केन्द्रबिन्दु चैनपुरमा थियो। त्योभन्दा पूर्व गएको भए सिक्किमसम्मै ध्वस्त पार्थ्यो। तर त्यसो भएन। त्यहाँबाट ल्याएर काठमाण्डूसम्म र अझ पश्चिमसम्म ध्वस्त पार्‍यो जसको अर्थ त्यो चिरा पश्चिमतर्फ सरेको रहेछ।"

"मेरो बुझाइ के हो भन्ने कोशीपूर्व सिक्किम-दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन। हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुन्छ," उनले भने।

उनले गोरखाभन्दा पश्चिम पोखरादेखि दार्चुलासम्म पछिल्लो ५०० वर्षयता ठूलो भूकम्प नगएको जानकारी दिँदै भने, "गोरखाभन्दा पश्चिम नेपालभरि कहीँ पनि ठूलो भूकम्प जान सक्छ। पूर्वमा सिक्किमसम्म ठूलो भूकम्प जान सक्छ। खोटाङमा गएको ६ म्याग्निट्यूडको भूकम्पले काठमाण्डूलाई त्यति हल्लाउँछ भने भविष्यमा जान सक्ने ८.० वा त्योभन्दा माथिको भूकम्पले त्यसै पनि ठूलो असर गर्छ।"

गोरखा भूकम्पमा झन्डै ९ हजार जनाको ज्यान गएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विसं २०७२, वैशाख १२ गते भूकम्प गएपछि धेरै शक्तिशाली, मध्यम र साना परकम्पहरू गए

महाभूकम्प के हो र पूर्वचेतावनी प्रणालीको फाइदा कस्तो छ?

म्याग्निट्यूड आठ वा त्योभन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ।

प्रा. उप्रेती नेपालको सन्दर्भमा हिसाब गर्दा प्रत्येक १,००० वर्षमा त्यस्तो महाभूकम्प जाने आकलन गरिएको बताउँछन्।

आठ वा त्योभन्दा बढी म्याग्निच्युडको भूकम्पले केन्द्रबिन्दु वरपरका क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त गरिदिने सामर्थ्य राख्ने बताइन्छ।

यूएसजीएसका अनुसार सेकएलर्टजस्ता पूर्वचेतावनी प्रणालीले पृथ्वीको सतहमुनि कम्पनको तरङ्ग देखा पर्नासाथ तत्काल चेतावनी जारी गर्न सक्छन्।

भूकम्पको समयमा एकदमै द्रुत गतिको पी (P) तरङ्ग सुरुमा देखिने र त्यसपछि अलिक कम गतिको एस (S) तरङ्ग उत्पन्न हुने बताइन्छ। त्यसपछि जमिनको सतहमा तरङ्गहरू आइपुग्छन्।

सेन्सरहरूले तत्कालै पी तरङ्गलाई पहिल्याउने र उक्त तथ्याङ्कलाई सेकएलर्टको प्रणालीमा पठाउने काम गर्छन्। त्यसले भूकम्प गएको ठाउँ र सम्भावित शक्तिजस्ता तथ्य तत्कालै पत्ता लगाएर सूचना जारी गर्ने काम गर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्पः गोरखा भूकम्पले 'ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन'

त्यस्तो चेतावनीले मानिसहरूलाई तत्कालै अवलम्बन गर्न सकिने सुरक्षाका उपाय अपनाउन सहयोग गर्न सक्छ र रेलजस्ता यातायातका साधनको गति कम गर्न सघाउ पुर्‍याउन सक्छ।

भूगर्भविद् उप्रेतीका अनुसार पूर्वचेतावनी प्रणाली जडान गरिएको अवस्थामा केन्द्रबिन्दुबाट टाढा रहेका मानिसले बढी र नजिक रहेकाले थोरै समय पाउँछन्।

उनले भने, "अहिले हामीले ३५/३६ सेकेन्डसम्मको कुरा गरेको छौँ काठमाण्डूलाई। जति पूर्व जानुभयो त्यो समय त्यति कम हुन्छ। १० सेकेन्ड नै पाउनु ठूलो कुरा भयो। घरबाट भाग्ने मान्छेको मात्रै कुरा होइन् यहाँ विमान अवतरणदेखि बिजुली र पानीको आपूर्ति, विद्यालयसम्मका क्षेत्रमा पनि यसलाई प्रयोग गर्न सकिन्छ।"

अहिलेसम्म सरकारले यस्ता पूर्वाधारमा लगानी नगरेर हेलचेक्र्याइँ गरिरहेको उनको भनाइ छ।

आइतवार खोटाङमा गएको जस्तो मध्यम खालको भूकम्पले एउटा ठूलो महाभूकम्पको तुलनामा पृथ्वीभित्र सञ्चित एकदमै कम शक्ति बाहिर निकाल्ने वैज्ञानिकहरू बताउँछन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, धरहरा: पुनर्निर्माण भयो कि नवनिर्माण?