नेपाल: तीन वर्षमा ४४ हजार भूकम्प, रोकिएको छैन शृङ्खला

तस्बिर स्रोत, Keshav P. Koirala/BBC
- Author, केशव कोइराला
- Role, बीबीसी नेपाली सेवा
बिहीवार बिहान ९:५२ बजेको थियो। दौडधूपको बेला।
काठमाण्डू उपत्यकालगायत मध्यनेपालका धेरै स्थानमा एक छिन मानिसहरू चनाखा भए। किनभने तीन वर्षअघिको घटना सम्झाउनेगरी भूकम्पले केही समय हल्लाएको थियो।
केही बेर खैलाबैला भयो र सामाजिक सञ्जालमा पनि भूकम्पकै चर्चा भएको देखियो।
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले सो भूकम्पको केन्द्रबिन्दु धादिङमा रहेको र त्यो ५.० लोकल म्याग्निट्यूडको भएको जनाएको छ। अर्थात् त्यो मध्यमवर्गको भूकम्प थियो।
केन्द्रले उपलब्ध गराएको अक्षांश र देशान्तरले केन्द्रबिन्दु भने काठमाण्डूसँग जोडिएको धादिङ जिल्लाको कुमपुर र नीलकण्ठको बीचतिर पर्ने भागमा रहेको देखिन्छ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सो भूकम्प तीन वर्ष दुई महिनाअघि गएको ठूलो भूकम्पको शृङ्खलाकै परकम्प भएको बताएका छन्।
हजारौँ परकम्प
धादिङमै दुई दिनअघि अर्थात् असार १२ गते बिहान २:३० बजे लोकल म्याग्निट्यूड ३.८ भएको सानो भूकम्प रेकर्ड भएको थियो।
गोरखा भूकम्पको त्रिवार्षिकीपछि पनि धादिङ, गोरखा र दोलखा केन्द्रबिन्दु भएर केही परकम्प रेकर्ड भएका छन्।
अर्थात् तीन वर्षपछि पनि परकम्पहरू गइराखेका छन्।

तस्बिर स्रोत, AFP, GETTY, EPA
अधिकारी भन्छन्, "गोरखा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पपछि ४४ हजारभन्दा बढी परकम्प गइसकेका छन्।"
तर ताप्लेजुङमा असार ६ गते बिहान गएका दुईवटा भूकम्प र जेठमा दार्चुला, बाजुरा एवं दैलेखमा गएका भूकम्पको भने गोरखा भूकम्पको शृङ्खलासँग सीधा सम्बन्ध नभएको उनी बताउँछन्।
परकम्प कहिलेसम्म?
वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो। ठूलो भूकम्पकै कारण जाने भएकाले र त्यसलाई पछ्याउने हुनाले तिनलाई 'आफ्टर्शक्' अर्थात् परकम्प भनिन्छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२, २०७२ को भूकम्प लोकल म्याग्निट्यूडमा ७.६ रहेको बताएको छ भने अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको रहेको मानेको छ।
सो भूकम्पबारे गरिएका अध्ययनमा संलग्न भएकी यूएसजीएसकी वैज्ञानिक सुजन हफका अनुसार आधुनिक डेटा उपलब्ध भएका हुनाले गोरखा भूकम्पबारे बुझ्न विस्तृत अध्ययनहरू हुँदैछन्।
"वास्तवमा हामी परकम्पको सङ्ख्याबारे केही पूर्वानुमान गर्न सक्छौँ। किनभने तिनका केही निश्चित आचरण हुन्छन्," हफ भन्छिन्।
"तर बिस्तारै तिनको सङ्ख्या घट्छ। समय बित्दै जाँदा थोरै परकम्प महसुस हुन्छ। ठूला परकम्प पनि कम हुँदै जान्छन्।"
'गोरखा भूकम्प शृङ्खला'बारे नै विद्यावारिधि गर्दै गरेका केन्द्रका प्रमुख लोकविजय अधिकारी पहिलो एक वर्षमै ३० हजारभन्दा बढी परकम्प गएको बताउँछन्।
सुजन हफका अनुसार ठूलो भूकम्प गएको १० वर्षसम्म परकम्प गइराख्न सक्छ।
पुराना भूकम्प
नेपालमा पहिला पनि ठूला भूकम्प नगएका हैनन्।
विसं १९९० मा गएको 'महाभूकम्प' अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निट्यूडजति भएको आकलन गरिएको छ।
तर पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्याङ्क सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुन्छ।


तस्बिर स्रोत, Getty Images
उच्च भूकम्पीय जोखिम भएको हिमालय क्षेत्रकै एउटा खण्डमा गएको हुनाले तीन वर्षअघिको भूकम्प अपेक्षित नै रहेको हफ बताउँछिन्।
उनी भन्छिन्, "त्यो क्षेत्रमा ठूलो भूकम्प अवश्यम्भावी नै थियो।"
'कम क्षति'
वैशाखको भूकम्प र त्यसका शक्तिशाली परकम्पहरूमा परेर झन्डै ९,००० जनाको मृत्यु भयो र ठूलो भौतिक एवम् आर्थिक क्षति भयो।
तर पूरै नेपाल र काठमाण्डू उपत्यकामा होला भनी पूर्वानुमान गरिएको जस्तो नराम्रो कम्पन र धनजनको क्षति नभएको विज्ञहरू बताउँछन्। त्यसबारे बुझ्न वैज्ञानिक अध्ययनहरू पनि भए।
पहिला विशाल ताल रहेको ठानिने काठमाण्डू उपत्यकाको भूमिमुनि त्यही तालको थिगर बाँकी छ। थिगरले सानो भूकम्प जाँदा भूमिमा हुने कम्पनलाई बढाइदिने वैज्ञानिकहरूको बुझाइ थियो। त्यसैले ठूलो भूकम्प जाँदा ठूलै क्षति हुने डर थियो।
'गोरखा भूकम्प'का बारेमा शोध प्रकाशित गरेकी सुजन हफका अनुसार शक्तिशाली भूकम्प जाँदा काठमाण्डूको त्यही थिगर 'शक् अब्जर्बर्' (आघात अवशोषक) बनिदियो र केही उच्च आवृत्तिका कम्पनलाई सोसिदियो।
उनी भन्छिन्, "यो कुरा वैज्ञानिक उपकरणहरूबाट सङ्कलित डेटा र क्षतिको विस्तृत अध्ययनबाट पनि पुष्टि भइसकेको छ।"
यदि त्यसरी कम्पनहरू नसोसिएका र तिनीहरूले छिटोछिटो तलमाथि गरेका भए भूकम्पले काठमाण्डूमा रहेका संरचनालाई बढी क्षति पुर्याउँथ्यो र त्यसबाट धेरै क्षति हुन्थ्यो भन्ने उनको विश्लेषण छ।

तस्बिर स्रोत, Susan Hough/USGS
ठूला भूकम्पको सम्भावना
नब्बे सालको भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको चुरे प्रदेशभन्दा तलतिर भएको मानिन्छ।
तीन वर्षअघिको भूकम्पको केन्द्रबिन्दु गोरखा थियो। त्यसपछि आएका ठूला परकम्पहरू दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकको भूगर्भबाट सुरु भए।
तिनले पूर्वी नेपालतिर नै धेरै असर गरे।
भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।
तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।
'उपमहाद्वीप निलिँदै'
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ।
भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
"भारत युरेशियामुनि जाँदैछ, तर प्लेटहरू अड्किएका छन्," हफ भन्छिन्।
"तिनीहरू त्यत्तिकै चल्न सक्दैनन्। अड्किएरै बस्दा समयक्रममा तनाब सिर्जना हुन्छ र त्यो भूकम्पका रूपमा निस्किन्छ।"
अमेरिकी संस्था नासासँग आबद्ध भूभौतिकशास्त्री एरिक फील्डिङको आकलनमा पश्चिम नेपालमुनि सयौँ वर्षदेखि विकसित ऊर्जा निष्काशन हुँदा म्याग्निट्यूड ८.५ वा सोभन्दा ठूलो भूकम्प जान सक्छ।
"पश्चिम नेपालको कुन भागमा ठूलो भूकम्प जान्छ भन्न सकिँदैन," हफ भन्छिन्।
"तर धेरै समयदेखि भूकम्प नगएको हुँदा त्यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ।"
तथ्याङ्कका आधारमा सम्भावनाका कुरा गर्न सकिए पनि भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी गर्न सम्भव छैन।
तर भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई वैज्ञानिकहरू अस्वीकार गर्दैनन्।
"तर त्यो भोलि नै जान्छ कि वा आजभन्दा १०० वर्षपछि जान्छ त्यो भन्न सकिँदैन," हफ भन्छिन्।











