नेपाल भूकम्प: काठमाण्डू यसरी पूर्वतिर सर्दै पछि पश्चिममा गएर अडियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो
पढ्ने समय: १ मिनेट
Presentational white space

वि.सं. २०७२ साल वैशाख १२ गते शनिवार गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ठूलो भूकम्पले नेपालमा ठूलो क्षति भयो।

गोरखा भूकम्प नाम दिइएको सो भूकम्प र शक्तिशाली परकम्पमा परेर झन्डै नौ हजार व्यक्तिको मृत्यु भयो।

चार वर्ष भइसक्दा पनि भूकम्पमा भत्किएका सबै भवन तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण भइसकेको छैन।

बेलाबेलामा आउने परकम्पले मानिसहरू चार वर्षअघि आजकै दिन ११:५६ बजे गएको भूकम्प सम्झेर तर्सिन्छन्।

विनाशकारी भूकम्प गएको चार वर्ष पुग्ने एक दिनअघि बुधवार बिहान दुईवटा परकम्पले काठमाण्डू उपत्यका र मध्य नेपालका विभिन्न स्थान हल्लाइदिए।

खानी तथा भूकम्प विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४५ हजारवटा परकम्प गइसकेका छन्।

तीमध्ये अधिकांश परकम्प पहिलो वर्ष रेकर्ड भएका थिए।

गोरखा भूकम्प
Presentational white space

नेपालको भौगर्भिक अवस्थितिले गर्दा हिमालयछेउछाउ भूकम्पको जाने सम्भावना सधैँ भएको वैज्ञानिहरू बताउँछन्।

उनीहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो। ती साना भूकम्प अर्थात् परकम्पले भूगर्भमा सञ्चित ऊर्जा अलिअलि गरेर निष्काशन हुने र पहिला चलमलाएका चट्टानहरू पनि बिस्तारै सन्तुलनमा आउने बताइन्छ।

धादिङ भूकम्प
Presentational white space

माथिको भिडिओमा हामीले नेपाल प्रहरीले काठमाण्डूका विभिन्न स्थानमा राखेका सीसीटीभी क्यामराले चार वर्षअघि भूकम्प जानुअघि र जाँदाजाँदै खिचेका दृश्यहरू प्रस्तु गरेका छौँ।

तलको भिडिओमा भने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जीपीएस डेटा र सीसीटीभीले असनमा खिचेको दृश्य प्रयोग गरेर बनाइएको एनिमेशन भिडिओ देखाउँदै भूकम्पले कसरी काठमाण्डू उपत्यकालाई हल्लाएको थियो भनेर व्याख्या गरेका छन्।

उनका अनुसार काठमाण्डू यसरी पूर्वतिर सरेर पश्चिममा गएर अडिएको थियो। हेर्नुहोस् यो भिडिओ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भूकम्प जाँदा यसरी सरेको थियो काठमाण्डू उपत्यकाको जमिन
Presentational white space

(भिडिओ: केशव कोइराला, एनिमेशन सौजन्य: लोकविजय अधिकारी/राष्ट्रिय भूकम्प मापन केन्द्र)