नेपाल भूकम्प: धादिङ केन्द्रविन्दु भएर दुई परकम्प, पहिलो लोकल म्याग्निट्युडमा ५.२

भूकम्प

तस्बिर स्रोत, Keshav P. Koirala/BBC

    • Author, केशव कोइराला
    • Role, बीबीसी नेपाली सेवा

काठमाण्डू उपत्यका र मध्य नेपालका विभिन्न स्थानलाई बुधवार बिहान कम्तीमा दुईवटा भूकम्पले हल्लाएका छन्।

खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:२९ बजे रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ मापन गरिएको थियो।

त्यसको ११ मिनेटपछि अर्थात् ६:४० बजे रेकर्ड गरिएको दोस्रो भूकम्पको क्षमता लोकल म्याग्निट्युडमा ४.३ थियो।

केन्द्रले यी दुवै भौगर्भिक घटनालाई चार वर्षअघि वैशाख १२ मा गोरखा केन्द्रविन्दु हुनेगरी गएको विनाशकारी भूकम्पको शृङ्खलाका परकम्पका रूपमा सूचीकृत गरेको छ।

दुवै परकम्पको केन्द्रविन्दु धादिङको नौबिसे रहेको भूकम्प मापन केन्द्रका चिन्तन तिम्सिनाले बीबीसी नेपाली सेवालाई बताए।

म्याग्निट्युड ५.० देखि ५.९ सम्मको भूकम्पलाई मध्यम वर्गको भूकम्प मानिन्छ र त्यसले क्षति पनि पुर्‍याउन सक्छ। म्याग्निट्युड ४.० देखि ४.९ सम्मको भूकम्पलाई सामान्य वर्गको मानिन्छ।

तर बिहानको भूकम्पका कारण क्षति पुगेको विवरण प्राप्त नभएको गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

यसैबीच पूर्वोत्तर भारतमा केन्द्रविन्दु हुनेगरी नेपाली समयानुसार बिहान दुई बजेतिर गएको शक्तिशाली भूकम्प पनि नेपालमा मापन भएको छ।

अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार सो भूकम्प ६.१ म्याग्निट्युडको थियो।

जारी छ परकम्पको शृङ्खला

भुकम्प

भूकम्प गएको चार वर्ष हुन लाग्दा पनि नेपालमा परकम्पको शृङ्खला रोकिएको छैन।

चार वर्षभित्र गोरखा र त्यहाँबाट पूर्व दोलखासम्म केन्द्रविन्दु भएर झन्डै ४५ हजार परकम्प गएको तिम्सिना बताउँछन्।

उनका अनुसार सर्वाधिक परकम्प दोलखा, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गए भने धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डु उपत्यकामा केन्द्रविन्दु भएका परकम्पको सङ्ख्या उल्लेख्य छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘हामी सुरक्षित छैनौँ’

भूकम्प मापन केन्द्रले लोकल म्याग्निट्युडमा ४.० वा बढी क्षमता भएका सबै परकम्पबारे सर्वसाधारणलाई सूचित गर्ने गरेको छ।

बुधवार बिहानसम्म उसले ५२० वटा परकम्पको जानकारी आफ्नो वेबसाइटमा राखेको छ।

पहिलो वर्ष सर्वाधिक अर्थात् ३० हजार भन्दा बढी परकम्प गएका थिए।

तर त्यसपछि भने परकम्पको सङ्ख्या पातलिएको तिम्सिना बताउँछन्।

Presentational grey line

परकम्प कहिलेसम्म?

वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो। ठूलो भूकम्पकै कारण जाने भएकाले र त्यसलाई पछ्याउने हुनाले तिनलाई 'आफ्टर्शक' अर्थात् परकम्प भनिन्छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२, २०७२ को भूकम्प लोकल म्याग्निट्युडमा ७.६ रहेको बताएको छ भने अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको रहेको मानेको छ।

सो भूकम्पबारे गरिएका अध्ययनमा संलग्न भएकी यूएसजीएसकी वैज्ञानिक सुजन हफका अनुसार आधुनिक डेटा उपलब्ध भएका हुनाले गोरखा भूकम्पबारे बुझ्न विस्तृत अध्ययनहरू भइरहेका छन्।

गत वर्ष बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले भनेकी थिइन्, "वास्तवमा हामी परकम्पको सङ्ख्याबारे केही पूर्वानुमान गर्नसक्छौँ। किनभने तिनका केही निश्चित आचरण हुन्छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गएको थियो चार वर्षअघि काठमाण्डूमा भूकम्प
Presentational white space

"तर बिस्तारै तिनको सङ्ख्या घट्छ। समय बित्दै जाँदा थोरै परकम्प महसुस हुन्छ। ठूला परकम्प पनि कम हुँदै जान्छन्।"

'गोरखा भूकम्प शृङ्खला'बारे नै हाल फ्रान्समा विद्यावारिधि गर्दै गरेका भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहिलो एक वर्षमै ३० हजारभन्दा बढी परकम्प गएका थिए।

सुजन हफका अनुसार ठूलो भूकम्प गएको १० वर्षसम्म परकम्प गइराख्न सक्छ।

पुराना भूकम्प

नेपालमा पहिला पनि ठूला भूकम्प नगएका हैनन्।

विसं १९९० मा गएको 'महाभूकम्प' अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निट्युडजति भएको आकलन गरिएको छ।

तर पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्याङ्क सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुन्छ।

गोरखा भूकम्प
काठमाण्डू उपत्यका भूकम्प

तस्बिर स्रोत, Getty Images

Presentational white space

उच्च भूकम्पीय जोखिम भएको हिमालय क्षेत्रकै एउटा खण्डमा गएको हुनाले चार वर्षअघिको भूकम्प अपेक्षित नै रहेको हफ बताउँछिन्।

उनी भन्छिन्, "त्यो क्षेत्रमा ठूलो भूकम्प अवश्यम्भावी नै थियो।"

विसं २०७२ को भूकम्पमा 'कम क्षति'

चार वर्षअघि वैशाख १२ गते गएको भूकम्प र त्यसका शक्तिशाली परकम्पहरूमा परेर झन्डै नौ हजार व्यक्तिको मृत्यु भयो र ठूलो भौतिक एवम् आर्थिक क्षति भयो।

तर पूरै नेपाल र काठमाण्डू उपत्यकामा होला भनी पूर्वानुमान गरिएको जस्तो नराम्रो कम्पन र धनजनको क्षति नभएको विज्ञहरू बताउँछन्। त्यसबारे बुझ्न वैज्ञानिक अध्ययनहरू पनि भए।

पहिला विशाल ताल रहेको ठानिने काठमाण्डू उपत्यकाको भूमिमुनि त्यही तालको थिगर बाँकी छ। थिगरले सानो भूकम्प जाँदा भूमिमा हुने कम्पनलाई बढाइदिने वैज्ञानिकहरूको बुझाइ थियो। त्यसैले ठूलो भूकम्प जाँदा ठूलै क्षति हुने डर थियो।

भत्केको धरहरा

तस्बिर स्रोत, AFP, GETTY, EPA

Presentational white space

'गोरखा भूकम्प'का बारेमा शोध प्रकाशित गरेकी सुजन हफका अनुसार शक्तिशाली भूकम्प जाँदा काठमाण्डूको त्यही थिगर 'शक अब्जर्बर' (आघात अवशोषक) बनिदियो र केही उच्च आवृत्तिका कम्पनलाई सोसिदियो।

उनी भन्छिन्, "यो कुरा वैज्ञानिक उपकरणहरूबाट सङ्कलित डेटा र क्षतिको विस्तृत अध्ययनबाट पनि पुष्टि भइसकेको छ।"

यदि त्यसरी कम्पनहरू नसोसिएका र तिनीहरूले छिटोछिटो तलमाथि गरेका भए भूकम्पले काठमाण्डूमा रहेका संरचनालाई बढी क्षति पुर्‍याउँथ्यो र त्यसबाट धेरै क्षति हुन्थ्यो भन्ने उनको विश्लेषण छ।

यो चित्रमा नीलो/बैजनी रङ्गले कम्पन घटेका काठमाण्डू उपत्यका एवम् अन्य क्षेत्र र हरियो/पहेँलो रङ्गले कम्पन बढेका क्षेत्र देखाइएको छ।

तस्बिर स्रोत, Susan Hough/USGS

तस्बिरको क्याप्शन, यो चित्रमा नीलो/बैजनी रङ्गले कम्पन घटेका काठमाण्डू उपत्यका एवम् अन्य क्षेत्र र हरियो/पहेँलो रङ्गले कम्पन बढेका क्षेत्र देखाइएको छ
Presentational white space

ठूला भूकम्पको सम्भावना

विसं १९९० सालमा गएको भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको चुरे प्रदेशभन्दा तलतिर भएको मानिन्छ।

चार वर्षअघिको भूकम्पको केन्द्रविन्दु गोरखा थियो।

त्यसपछि आएका ठूला परकम्पहरू दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोकको भूगर्भबाट सुरु भए।

तिनले पूर्वी नेपालतिर नै धेरै असर गरे।

भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।

तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।

पूर्वोत्तर भारतमा केन्द्रविन्दु भएर वैशाख ११ गते (आज) बिहान गएको भूकम्प तिब्बतसम्म महसुस भएको विवरणहरू प्राप्त भएका छन्।

'उपमहाद्वीप निलिँदै'

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ।

भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।

पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।

"भारत युरेशियामुनि जाँदैछ, तर प्लेटहरू अड्किएका छन्," हफ भन्छिन्।

"तिनीहरू त्यत्तिकै चल्न सक्दैनन्। अड्किएरै बस्दा समयक्रममा तनाब सिर्जना हुन्छ र त्यो भूकम्पका रूपमा निस्किन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, चार वर्षअघि यसरी हल्लाएको थियो भूकम्पले
Presentational white space

अमेरिकी संस्था नासासँग आबद्ध भूभौतिकशास्त्री एरिक फिल्डिङको आकलनमा पश्चिम नेपालमुनि सयौँ वर्षदेखि विकसित ऊर्जा निष्काशन हुँदा म्याग्निट्युड ८.५ वा सो भन्दा ठूलो भूकम्प जान सक्छ।

"पश्चिम नेपालको कुन भागमा ठूलो भूकम्प जान्छ भन्न सकिँदैन," हफ भन्छिन्। "तर धेरै समयदेखि भूकम्प नगएको हुँदा त्यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ।"

तथ्याङ्कका आधारमा सम्भावनाका कुरा गर्न सकिए पनि भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी गर्न सम्भव छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्पबारे यूएसजीएसकी वैज्ञानिक सुजन हफ यसो भन्छिन्
Presentational white space

तर भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई वैज्ञानिकहरू अस्वीकार गर्दैनन्।

"तर त्यो भोलि नै जान्छ कि वा आजभन्दा १०० वर्षपछि जान्छ त्यो भन्न सकिँदैन," हफ भन्छिन्।