बिहार: चट्याङ लागेर २० जनाको मृत्यु, नेपालमा कस्तो छ जोखिम

तस्बिर स्रोत, Getty Images
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ।
त्यहाँ बुधवार र बिहीवार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ। नेपालको तराई क्षेत्रमा पनि बुधवार वर्षा भइरहेको छ।
बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यको विपद् व्यवस्थापन प्राधिकरणको सुझाव पालना गर्न मानिसहरूलाई आग्रह गरेका छन्।
वर्षायाममा भारतमा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ।
घरबाहिर काम गर्ने चलन धेरै भएकाले भारतमा चट्याङका कारण अन्य देशको तुलनामा बढी मानवीय क्षति पुग्ने गरेको बताइन्छ।
मुख्यमन्त्री नितीशकुमारले चट्याङबाट मृत्यु भएका मानिसका परिवारलाई प्रतिपरिवार ४०,००० भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
मुख्यमन्त्रीले गत साता अधिकारीहरूसँग बैठक गरेर विद्यालय र अस्पतालसहित सबै सरकारी भवनहरूमा 'लाइटनिङ अरेस्टर' अर्थात् चट्याङ प्रतिरोधक उपकरण राख्न निर्देशन दिएको द टाइम्स अफ इन्डियाले जनाएको छ।
यो प्रदेशको भौगोलिक अवस्थितिका कारण पनि वर्षायाममा बढी चट्याङ पर्ने बताइएको छ।
गत फेब्रुअरीमा बीबीसीले सार्वजनिक गरेको एउटा विवरणले भारतमा चट्याङका घटनामा ठूलो वृद्धि भएको उल्लेख गरेको थियो।
भारतीय उष्णदेशीय मौसम विज्ञान संस्थानले भूउपग्रहबाट सङ्कलन गरेको विवरणले सन् १९९५ र २०१४ को बीचमा चट्याङका घटनामा उल्लेख्य वृद्धि भएको देखिएको छ।
एउटा गैरनाफामूलक संस्थाले गरेको अध्ययनमा भारतमा सन् २०२० को एप्रिलबाट २०२१ को मार्चबीचमा एक करोड ८० लाख पटक चट्याङ परेको देखिएको थियो।
यो अघिल्लो वर्षको त्यही अवधिमा भन्दा ३४ प्रतिशत बढी हो।
नेपालमा चट्याङको जोखिम कस्तो?
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पनि बुधवार र बिहीवार चट्याङ पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।
बुधवार दिउँसो र राति "थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको" महाशाखाले जनाएको छ।
यद्पि महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बिहारमा जस्तो चट्याङ पर्ने सम्भावना भने नेपालमा नरहेको बताएका छन्।
"हाम्रोमा ठूलो जोखिम छैन। यद्यपि नेपालको केही क्षेत्रमा पनि बादल आइसोलेटेड भएर बसेकाले हामीले पूर्वानुमानमा उल्लेख गरेका छौँ," पौडेलले भने।
बिहीवार पनि दिउँसो र राति "देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ का थोरै स्थानहरूका साथै मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख छ।
नेपालमा वैशाख महिनायता मात्रै चट्याङका कारण ५५ जनाको मृत्यु भएको र १४४ जना घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा चट्याङका कारण प्रत्येक वर्ष सरदर १०० जनाभन्दा बढी मानिसको मृत्यु हुन्छ भने ३०० जनाजति घाइते हुन्छन्।
हालै गरिएको एउटा अध्ययनले चट्याङका दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ।

चट्याङ्बाट कसरी जोगिने?
चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको मान्यता छ।
तर यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ।
- चट्याङप्रतिरोधी घर निर्माणः घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने
- चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत नलाग्ने
- धातुको तारबारनजिक नबस्ने
- समथर र खुला ठाउँमा नबस्ने
- भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने
- चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने
- छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने।











