'सुक्खा' हिउँद सकिएपछि अहिले कसरी पर्‍यो पानी, यसबाट कस्तो फाइदा हुन्छ

मनाङ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

नेपालमा यस वर्षको हिउँदमा औसतभन्दा निकै कम पानी पर्‍यो। तर बुधवारको पहाडी भूभागमा आंशिक वा सामान्य बदली भई हल्का वर्षा भयो।

मौसमविद्हरूले अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै मनसुनपूर्व उत्पन्न हुने स्थानीय वायुप्रणाली पनि सक्रिय भएको बताएका छन्। ती दुवैका कारण अहिले पानी परेको उनीहरूको भनाइ छ।

नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँद मानिन्छ। यो वर्ष सो अवधिमा औसत ११.७ मिलिमिटर मात्र वर्षा भएको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागले दिएको छ।

त्यति परिमाणको वर्षा हिउँदको औसत वर्षा (झन्डै ६० मिलिमिटर) भन्दा निकै कम हो। विज्ञहरूले यसपालिको हिउँदलाई 'सुक्खा' मानेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार देशभरि नै बदली रहने र नेपालको पहाडी भूभागमा हल्का वर्षा हुने अवस्था छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, "हिउँद सकिए पनि पानी पर्ने प्रणालीमा पश्चिमी वायुको प्रभाव समेत देखिन्छ। यद्यपि त्यसमा स्थानीय वायुको समेत असर छ।"

कर्णाली र सुदूरपश्चिमका केही भागमा हल्का हिमपात समेत भइरहेको छ।

पर्वतमा छाता बोकेर नारी दिवसको प्रभातफेरीमा सहभागी हुँदै महिलाहरू

तस्बिर स्रोत, rss

रेड लाइन
रेड लाइन

'हिउँद अझै सकिएको छैन'

नेपालमा विगत एक दशकमा छ वर्षमा औसतभन्दा कम पानी परेको देखिन्छ।

विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडो याममा हुने वर्षालाई तुलना गरिन्छ।

वर्षा

तस्बिर स्रोत, RSS

कतिपयले जलवायु परिवर्तनका कारण त्यसो भएको बताउने गरेका छन्। तर त्यसबारे पर्याप्त अध्ययन भइनसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका प्रमुख प्राध्यापक दीपक अर्याल बताउँछन्।

"खासमा नदीमा पानीका सतह बढ्न थालेपछि हिउँद सकिएको मान्नुपर्छ। त्यसरी हेर्दा हिउँद अझै सकिएको छैन," प्राध्यापक अर्याल भन्छन्।

"यस पटक हिउँद सुक्खा हुँदा डढेलो धेरै लाग्ने जोखिम रहन्छ, जुन कतैकतै सुरु भइसकेको छ।"

तर हिउँद सुक्खा भयो भन्दैमा "बेग्लै प्रणाली हुने" मनसुनसँग त्यसको सम्बन्ध नहुने उनी बताउँछन्।

"त्यस्तो अवस्थामा प्रि-मनसुन केही चाँडै सक्रिय हुन चाहिँ सक्छ।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

मार्च, एप्रिल र मे महिनामा हुने वर्षालाई प्रि-मनसुन अर्थात् मनसुनपूर्वको वर्षा मानिन्छ।

हिउँदमा कम वर्षा हुँदा जमिनमा पानी सञ्चित हुने प्रक्रियामा असर पर्ने मौसमविद् वरुण पौडेल बताउँछन्।

"वायुमण्डल स्थिर हुने याममा मौसम सुक्खा हुँदा प्रदूषणका असरहरू समेत देखिने गरेका छन्।"

नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत चार प्रतिशतजति पानी हिउँदमा पर्ने आकलन गरिन्छ।

बाँकी झन्डै ८० प्रतिशत वर्षा मनसुनमा, १२ प्रतिशत प्रि-मनसुनमा, र पाँच प्रतिशत जति पोस्ट-मनसुन अर्थात् मनसुनपछि हुने गरेको विभागका अधिकारीहरू बताउँछन्।

रेड लाइन
रेड लाइन
सिन्धुपाल्चोकमा तोरीबारी

तस्बिर स्रोत, RSS

खेतीमा कस्तो प्रभाव

बाली वैज्ञानिकहरूले हिउँदे बालीका लागि अहिले भएको वर्षा ‘हुँदै नहुनुभन्दा केही हुनु बेस’ भने जस्तो भएको मानेका छन्।

हिउँदको अन्तिमतिर र अहिलेको वर्षाले विशेषतः छोटो जरा हुने कोसेबालीलाई केही "राहत" पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्रमुख टीकाबहादुर कार्कीले बताए।

"गहुँजस्तो गहिरो जरा जाने र लगभग बाला निकाल्ने बेला भइसकेको बालीलाई यसले खासै ठूलो असर पारेन।"

चितवनमा चैते धान रोप्दै किसानहरू

तस्बिर स्रोत, rss

अहिले पहाडी भेगमा वर्षा भएको छ। त्यस भेगमा किसानहरू सिँचाइका लागि धेरैजसो आकासेपानीमै भर पर्ने भएकाले यसको खेतीपानीमा ठूलो महत्त्व भएको विज्ञहरू बताउँछन्।

वरिष्ठ वैज्ञानिक कार्कीले पहाडी भेगमा यस पटक उत्पादन कम हुने पहिल्यै आकलन गरिएकोमा यस वर्षाले त्यहाँ केही राहत दिएको बताउँछन्।

"तर जुन बेलामा बिरुवाका लागि पानी चाहिने हो त्यो बेला नपरेपछि उत्पादन घट्ने नै भयो," उनी भन्छन्।

"कतिपय ठाउँमा चिस्यान नै नभएर बीउ नै उम्रिएन पनि होला, कतै उम्रिएर पनि बढ्न पाएन। कतै बढेर पनि फल लाग्ने बेलामा पानी पाएन।"

बिहीवार र शुक्रवारको मौसमी पूर्वानुमान के छ?

जल तथा मौसम विज्ञान विभागले शुक्रवारसम्मको लागि जारी गरेको मौसमी पूर्वानुमानमा आउँदा दुवै दिन नेपालका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

बिहीवार राती कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।