मनसुन सुरु हुनै लाग्दा मुख्य राजमार्गमा सम्भावित अवरोधको चिन्ता, सरकारी तयारी के छ?

- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा मनसुन सुरु हुन झन्डै एक साता बाँकी रहँदा अधिकारीहरूले मुख्य राजमार्गमा बाढीपहिरोका कारण हुन सक्ने अवरोधका लागि आवश्यक तयारी गर्न थालिएको बताएका छन्।
तर यस वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म वर्षा हुनसक्ने प्रक्षेपण भइरहँदा चुनौती थपिन सक्ने चिन्ता रहेको उनीहरूले स्वीकारेका छन्।
देशका मुख्य राजमार्ग व्यवस्थापनका लागि जिम्मेवार सडक विभागका प्रमुखले वर्षायाममा यस पटक पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, अरनिको राजमार्गका धेरै भाग, पृथ्वी राजमार्गका विभिन्न खण्ड तथा मेची राजमार्ग बढ्ता जोखिममा रहेको बताएका छन्।
“पूर्वाधारका हिसाबले सबै सुरक्षित नै छन्। तर भवितव्य हुने अवस्थामा हामी तयारी भएर बस्नुको विकल्प छैन,” विभागका महानिर्देशक सुशीलबाबु ढकाल भन्छन्।
“मनसुनसम्बन्धी एउटा आपत्कालीन योजना बनाएर करिब २६० उपकरणहरू जोखिमयुक्त क्षेत्रमा पुर्याउने अन्तिम तयारी गरिएको छ।”
खास गरी निर्माण अधुरा रहेका सडकमा समस्या बढी देखिन सक्ने अधिकारीहरूको आकलन छ।
यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने क्रममा समेत रणनीतिक सडकहरू जोखिममा रहेको कुरा गम्भीर रूपले सोचिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जनाएका छन्।
प्रवक्ता डिजन भट्टराई भन्छन्, “ती रणनीतिक बाटाहरू हाम्रा लाइफलाइन हुन्। त्यसको अवरोध हुनु भनेको हाम्रो जनजीवन कष्टकर बन्दै जानु हो भन्ने सोचेर एकीकृत प्रयास गर्ने कुरा भएको छ।”
कस्तो छ समस्या

तस्बिर स्रोत, RSS
सडक विभागका अधिकारीहरू बर्खा सुरु हुन लागेसँगै सडक निर्माण र मर्मत भइरहेका ठाउँमा माटो खन्ने, भित्ता काट्नेजस्ता काम नगरीकन त्यसमा लाग्ने स्रोत अन्यत्र परिचालन गर्न निर्देशन दिएको बताउँछन्।
“त्यस अवधिमा प्रीकास्ट अर्थात् बनिबनाउ सामग्री ल्याएर राख्ने, सबबेस अर्थात् कालोपत्रमुनिका आधार बनाउने तर सडकलाई झन् जोखिमयुक्त बनाउने काम नगर्ने भनेर स्पष्ट निर्देशन दिइएको छ,” महानिर्देशक ढकाल भन्छन्।
“बर्खामा यसै पनि समस्या त आउँछन् नै। निर्माण भइरहेका ठाउँमा केही थप चुनौती थप हुन सक्छन्। तर छोटो समयमा देखा पर्ने समस्या र अवरोध खोल्नका लागि तयार भएर बस्ने भन्ने छ।”
तर पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा पर्ने दाउन्नेको दुई लेनको साँघुरो बाटोमा गाडीहरू फस्दा वा पहिरो जाँदा अवरोध खुलाउन समेत समस्या हुने गरेको अधिकारीहरूको भनाइ छ।
प्राधिकरणका प्रवक्ता भट्टराईले सामान्य वर्षाले सिर्जना गर्ने अवरोधका हकमा केही घण्टाभित्रै खुला गर्ने गरी सम्बन्धित निकायहरूले काम गरिरहेको जानकारी दिएको बताउँछन्।
“त्यसको लागि उपलब्ध सरकारी स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी परिचालन गर्ने भन्ने छ।”
त्यस्तो ठाउँमा उपकरणहरू मात्र नभएर ट्राफिक व्यवस्थापनका दृष्टिले समेत योजना बनाइएको उनीहरूको भनाइ पाइन्छ।
सडक विभागका महानिर्देशक ढकाल थप्छन्, “यस वर्षामा दाउन्ने क्षेत्र अलि बढी संवेदनशील हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ। अहिले सडक विस्तार भएर होइन, अरू बेला पनि दाउन्नेलाई हामीले अलि बढ्तै ध्यान दिन्थ्यौँ।”
अधकल्चो सडक

तस्बिर स्रोत, RSS
नारायणगढ-बुटवल सडक खण्डमा दुई पटक म्याद थप गरिए तापनि त्यहाँ आधाजसो मात्र भौतिक प्रगति भएको अवस्था छ।
उक्त सडकमा धेरैतिर पुल निर्माणको कामसमेत अधकल्चो अवस्थामै रहेको पाइन्छ। प्रीमनसुनको छिटपुट वर्षाकै क्रममा समेत त्यहाँका उकालोओरालो बाटोमा गाडीहरू फस्ने र घण्टौँ जाम हुने अवस्था देखिने गरेको छ।
मुग्लिङ-पोखरा खण्डको पूर्वी खण्डको म्याद वैशाखमै सकिएको छ तर त्यहाँ झन्डै ५६ प्रतिशत भौतिक प्रगति भएको अवस्था छ। उक्त सडकको पश्चिम खण्डमा पाँच भागको एक भाग पनि काम हुन सकेको छैन।
नयाँ आर्थिक वर्षको बजेटमा यी दुवै सडक खण्डका काम एक वर्षभित्र सकिने भनिए तापनि सरकारी अधिकारीहरूले नै त्यसका लागि अहिलेकै जस्तो रफ्तारले नभ्याउने बताउँछन्।
त्यसैगरी मुग्लिन-नौबिसे सडकको पहिलो खण्डमा पर्ने नौबिसे-खानीखोला क्षेत्रमा केही काम भए पनि बाँकी दुई खण्डमा निर्माण कामले गति लिन सकेको छैन।

उक्त सडक खण्डमा समेत गत वर्ष पुल बगाएर समस्या देखा परेको थियो।
विभागका महानिर्देशक ढकाल भन्छन्, “नदीहरूमा समस्या हुँदाको अवस्थाका लागि हाल विभागसँग एक दर्जनजति बेली ब्रिजहरू छन्। दुई हजार मिटरसम्मको बेलीब्रिज हामीसँग रहनुपर्छ भनेर कुरा राखिए पनि त्यो हुन सकिरहेको छैन।”
बीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








