प्रियङ्का चोपडा जोनस बलिउडबारे: 'पुरुष सहकर्मीले प्राप्त गर्ने पारिश्रमिकको १० प्रतिशत कमाउँथेँ'

तस्बिर स्रोत, Geetty Images
- Author, योगिता लिमये
- Role, बीबीसी १०० विमिन
अभिनेत्री प्रियङ्का चोपडा जोनसले कलाकारका रूपमा २२ वर्ष लामो यात्राका क्रममा आफूले पहिलो पटक सिटाडेल नामक आगामी अमेरिकी सिरिजका लागि पुरुष सहकर्मी सरह नै पारिश्रमिक प्राप्त गरेको बीबीसी १०० विमिनलाई बताएकी छन्।
उनी भारतमा निकै ख्याति कमाएकी व्यक्तित्व हुन् जसले ६० भन्दा बढी बलिउड चलचित्रमा काम गरेकी छन्। झन्डै एक दशकअघि हलिउडमा काम सुरु गरेकी चोपडा जोनस अमेरिकी मनोरञ्जन उद्योगमा नाम स्थापित गर्न सफल केही भारतीय कलाकारमध्ये एक हुन्।
''बलिउडमा मैले कहिल्यै समान पारिश्रमिक पाइनँ। पुरुष सहकर्मीले प्राप्त गर्ने पारिश्रमिकको झन्डै १० प्रतिशत मात्रै मैले पाउँथेँ,'' उनले भनिन्।
''यो (पारिश्रमिकको अन्तर) ठूलो छ, उल्लेख्य रूपमा अन्तर छ। र धेरै महिलाहरू अझै पनि योसँग जुझिरहेका छन्। म पक्का छु की मैले पनि बलिउडमा पुरुष सहकर्मीसँग काम गरेँ त्यसै गर्नुपर्छ,'' उनले थपिन्।
''मेरो पुस्ताका महिला कलाकारहरूले निश्चित रूपमा (समान पारिश्रमिकको) माग गरेका छन्। हामीले मागेका छौँ तर प्राप्त गरेका छैनौँ।''
सन् २०२२का लागि बीबीसी १०० विमिनका रूपमा सूचीकृत भएपछि प्रियङ्का चोपडा जोनसले भारतीय फिल्म उद्योगमा एक युवा अभिनेत्रीका रूपमा आफूले कसरी गहिरो जरा गाडिएको पितृसत्तालाई "सामान्य" रूपमा स्वीकार गरेकी थिइन् भन्ने कुरा बताइन्।
छायाङ्कन स्थलमा पुरुष सहकर्मीलाई घण्टौँसम्म पर्खनु र जतिबेला उनीहरूको आगमन भयो त्यस बेला छायाङ्कनका लागि तयार हुनु त्यस बेला आफूलाई उचित नै लागेको चोपडाले बताइन्।
बलिउड यात्रा सुरु गर्दै गर्दा शरीरको रङ्गका कारण आफूले खेप्नुपरेका टिप्पणी पनि उनी सम्झन्छिन्।

तस्बिर स्रोत, Gettty Images
''मलाई 'ब्ल्याक क्याट', 'डस्की' (तुलनात्मक रूपमा कालो छाला भएको) भनिन्थ्यो। मेरो मतलब, अधिकांश मानिस गहुँगोरो रहेको देशमा डस्की भन्नुको अर्थ के हो?''
''म सोच्थेँ की म त्यति राम्री छैन। गोरो छाला भएका सहकर्मी भन्दा केही बढी प्रतिभाशाली भएको ठान्ने भए पनि आफूले निकै मिहिनेत गर्नुपर्छ भन्ने मलाइ लाग्थ्यो। तर मलाइ यो सब ठिकै लाग्थ्यो किन भने यो कुरा निकै सामान्य बनिसकेको थियो,'' उनले थपिन्।
समान पारिश्रमिकको सन्दर्भमा हलिउडको अवस्था कति फरक छ त भन्ने प्रश्नमा चोपडा जोनस भन्छिन्, ''मसँग यस्तो पहिलो पटक भएको हो, यो हलिउडमा भएको छ। त्यस कारण यसपछि के हुन्छ मलाई थाहा छैन, किनकि पुरुष कलाकारसँग मैलै सह-अभिनेताको भूमिका निर्वाह गरेको यो पहिलो सिरिज हो,'' आफ्नो आगामी सिरिज सीटाडेलतर्फ सङ्केत गर्दै उनले भनिन्।
दक्षिण एशियामा करोडौँले चिन्ने अनि सम्मान गर्ने भए पनि अन्तर्राष्ट्रिय रूपमा स्थापित हुन भने चोपडाले एक दशक सङ्घर्ष गर्नुपर्यो।

तस्बिर स्रोत, Getty Images
सन् २०१५मा प्रियङ्का चोपडा जोनसले अमेरिकामा टेलिभिजन च्यानलले प्रसारण गर्ने क्वान्टीको सिरिजमा प्रमुख पात्र मध्ये एकको भूमिका निर्वाह गरिन्। त्यस्तो गर्ने उनी प्रथम दक्षिण एशियाली थिइन्।
कैयौँ प्रख्यात फ्याशन म्यागेजिनको प्रथम पृष्ठमा छापिएकी उनी प्रथम भारतीय हुन्।
अझ समावेशी बन्नुपर्छ भन्ने जागरूकता बढेको भए पनि आफ्नो जस्तै पृष्ठभूमि भएका मानिसहरूलाई हलिउडमा प्रमुख पात्र लगायतका काम पाउन अझै गाह्रो रहेको उनी बताउँछिन्।
"मलाई लाग्छ कि मैले सायद निश्चित मात्रामा विश्वसनीयता कमाएकी छु। त्यसैले म चाखलाग्दो काम गरिरहेकी छु। यो स्वीकार गरिन्छ/गरिन्न हेर्नुपर्ने हुन्छ। हलिउडमा दक्षिण एसियाली अनि भारतीय हुन वास्तवमै गाह्रो छ। अझै धेरै कुरा गर्न बाँकी नै छ," उनले भनिन्।
विश्वव्यापी घटनाक्रमहरूबारे मुखर प्रियङ्का चोपडा जोनसको घरेलु मुद्दाहरूमा टिप्पणी नगरेको भन्दै भारतमा आलोचना हुने गरेको छ। तर उनलाई उनका 'पब्लीसीस्ट'ले यो प्रश्नको जबाफ दिनबाट रोके।
त्यसअघिनै सामाजिक सञ्जालमा प्राप्त हुने सकारात्मक अनि नकारात्मक प्रतिक्रियाहरूबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले भनिन्, ''तपाईँले कुनै चीजका बारेमा केही भन्नुभएन, तपाईँले केही कुरा बारे केही भन्नुपर्थ्यो भन्ने मानिसहरू सधैँ भेटिने नै छन्। र यो तपाईँले कहिल्यै पनि सबैलाई खुसी पार्न सक्नुहुन्न भने जस्तै हो।''
यूनिसेफकी सद्भावना दूत (गुडवील एम्बेसेडर) रहेकी उनले बीबीसी १०० विमिनसँग भारतको लखनउ सहरमा कुराकानी गरेकी हुन् जहाँ उनले स्वास्थ्य केन्द्र अनि विद्यालयमा पुग्नुका साथै महिला छात्राहरूसँग कुराकानी गरिन्।
उनी यूनिसेफसँग विगत १५ वर्षदेखि जोडिएकी छन् र भारत बाहेक जिम्बाब्वे, इथियोपिया, जोर्डन अनि बाङ्ग्लादेश पुगेर द्वन्द्व अनि प्राकृतिक विपद्बाट प्रभावित बालबालिकालाई भेटेकी छिन्।

बीबीसी हन्ड्रेड विमिनले हरेक वर्ष संसारभरका १०० जना प्रभावशाली महिलाको सूची प्रकाशित गर्छ। तपाई इन्स्टाग्राम, फेसबुक र ट्विटरमा बीबीसी १०० विमिनलाई फलो गर्न सक्नुहुन्छ।








