नेपालमा हरेक तेस्रो घरमा महिला घरमूली, एक चौथाइ महिलासँग घर वा जग्गाको स्वामित्व

तस्बिर स्रोत, Getty Images
नेपालमा महिला घरमूलीको सङ्ख्या पछिल्लो एक दशकमा ५.८२ प्रतिशतले बढेको छ।
पछिल्लो जनगणनाका अनुसार कुल ६६ लाख ६६ हजार ९३७ घरपरिवार मध्ये ३१.५५ प्रतिशतमा महिला सदस्यको नेतृत्व रहेको छ।
पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालमा महिलाहरूको सङ्ख्या एक करोड ४९ लाख ११ हजार ०२७ अर्थात् जनसङ्ख्याको ५१.०२ प्रतिशत पुगेको छ।
तर एकजना समाजशास्त्री मिना पौडेल भने विशुद्ध रूपमा तथ्याङ्क मात्रै नहेरेर सांस्कृतिक, सामाजिक अनि कानुनीरूपमा घरमूलीको परिभाषा के हो भन्ने दृष्टिकोणबाट हेरिन जरुरी रहेको बताउँछिन्।
‘‘घर चलाउने पनि भनिएको छ प्रतिवेदनमा। अब घर चलाउने र घरमूली दुई फरक कुरा हुन्। घर चलाउने भनेर घर खर्च चलाउने कुराहरू तर्फ केन्द्रित भएको देखिन्छ,’’ उनले भनिन्।
‘‘आफ्नै उदाहरण दिँदा मैले मेरै बुवा आमा, भाइहरूको खर्च चलाउँछु। तर मेरो घरमा कसैले को हो मूली भनेर सोधे कानुनीरूपमा बुवा हुनुहुन्छ।’’
त्यस अर्थमा समाज परिवर्तन भइरहेको र सामाजिक सूचक परिवर्तन भइरहेको भए पनि कानुनीरूपमा परिभाषा प्रस्ट नभएको हो कि भन्ने प्रतिवेदन पढ्दा महसुस हुने उनी बताउँछिन्।

पछिल्लो प्रतिवेदन अनुसार कुल घरपरिवारमध्ये घर वा जग्गा माथिको स्वामित्व भएको महिलाहरूको सङ्ख्या २३.८ प्रतिशत पुगेको छ।
त्यस्तै घर र जग्गा दुबै महिला सदस्यको स्वामित्वमा हुनेहरूको सङ्ख्या ११.८ प्रतिशत छ जुन सन् २०११को तुलनामा १.१ प्रतिशत बढी हो।
तर स्वामित्वको तथ्याङ्कले समाजमा महिलाको अझै समान हैसियत नभएको दर्साउने पौडेलको तर्क छ।
‘‘धेरै काम गर्नुपर्ने छ भन्ने यसले देखाउँछ,’’ उनले भनिन्।
तर यी सूचकहरूमा टेकेर आलोचनात्मक विश्लेषण गरेर अघि बढ्न सके यी सूचक सकारात्मक पहलका लागि आधार बन्न सक्ने उनको बुझाइ छ।
झन्डै पाँच प्रतिशत अझै जार र बोतलको पानीमा आश्रित

तस्बिर स्रोत, Getty Images
कुल घरपरिवारमध्ये ८६ प्रतिशत आफ्नै घरमा बस्ने पछिल्लो जनगणनाले देखाएको छ।
१२.८ प्रतिशत परिवार भाडाको घरमा बस्छन्। सन् २०११को जनगणना अनुसार आफ्नै घरमा बस्ने परिवारको सङ्ख्या ८५.३ प्रतिशत थियो। भाडामा बस्नेको सङ्ख्या भने त्यसबेला पनि १२.८ प्रतिशत नै थियो।
देशका ५७ प्रतिशत घरपरिवारका लागि पिउने पानीको मुख्य स्रोत धाराको पानी रहेको छ। एक दशक अघि (कुल ५४ लाख २३ हजार २९७ घरपरिवारमध्ये) ४७.८ प्रतिशत घरपरिवारको पिउने पानीको मुख्य स्रोत धाराको पानी थियो।
पछिल्लो जनगणना अनुसार २९.८ प्रतिशत घरपरिवारका लागि ट्युबवेल पिउने पानीको मुख्य स्रोत रहेको छ भने जार/बोतलको पानीमा ४.६ प्रतिशत घरपरिवार आश्रित छन्।
खाना पकाउनका लागि दाउरामा आश्रित घरपरिवारको सङ्ख्या पनि घटेको छ। सन् २०११मा कुल घरपरिवार मध्य ६४ प्रतिशत दाउरामा निर्भर थिए।
हाल उक्त सङ्ख्या ५१ प्रतिशत छ। एलपी ग्यास प्रयोग गर्नेको सङ्ख्या ४४.३ प्रतिशत छ।



बत्ती बाल्न विद्युत् प्रयोग गर्नेको सङ्ख्या ९२ प्रतिशतभन्दा बढी

तस्बिर स्रोत, Getty Images
पछिल्लो जनगणनाले देशका अधिकांश घरपरिवारले बत्ती बाल्नका लागि विद्युत् प्रयोग गर्ने गरेका छन्। पछिल्लो एक दशकमा त्यस्तो सङ्ख्या झन्डै २५ प्रतिशतले बढेको छ।
बत्ती बाल्नका लागि विद्युत् प्रयोग गर्ने घरपरिवारको सङ्ख्यामा सन् २०११मा ६७.३ प्रतिशत रहेकोमा सन् २०२१मा ९२.२ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।
कुल घरपरिवारमध्ये ९५.५ प्रतिशतले कुनै प्रकारको शौचालय प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ। ४.५ प्रतिशत घरपरिवारको अझै शौचालयको पहुँच छैन। सन् २०११मा ३८.२ प्रतिशत घरपरिवारसँग शौचालयको पहुँच थिएन।
जनगणनाले सबैभन्दा बढी पहुँच मोबाइल फोनको रहेको देखिएको अधिकारीहरूले बताएका छन्।
७३.१५ प्रतिशत घरपरिवारसँग सामान्य मोबाइल फोन अनि ७२.९४ प्रतिशतसँग स्मार्ट मोबाइल फोन रहेको देखिएको छ।
टेलिभिजन, इन्टरनेट अनि साइकल भएका घरपरिवार सदस्य क्रमशः ४९.३७, ३७.७२ अनि ३५.२१ प्रतिशत छ।
त्यस्तै १५ लाख ५५ हजार ९६१ घरपरिवारका २१ लाख ९० हजार ५९२ जना विदेशमा बसिरहेका छन्। विदेशमा बसिरहेका नेपालीहरू मध्य ८२.२ प्रतिशत पुरुष छन् भने महिलाहरूको सङ्ख्या १७.८ प्रतिशत छ।








