बीबीसीले सन् २०२१ को निम्ति विश्वभरिका एक सय प्रेरक एवं प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ।
यस वर्षको १०० महिलाको सूचीले हाम्रा समाज, हाम्रा संस्कृति अनि हाम्रा संसारलाई परिष्कृत गर्न लागिपरेका महिलाहरूलाई समेटेको छ।
सूचीमा परेकाहरूमा सबभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, अनि चर्चित् लेखिका चिमामान्डा नगोजी अडिची पनि छन्।
यस वर्षको सूचीमा आधा अफगानिस्तानका महिलाहरू रहेका छन्। सुरक्षाका कारण उनीहरूमध्ये केहीको छद्म नाम प्रयोग गरिएको छ तथा फोटो राखिएको छैन। सन् २०२१ को अगस्टमा तालिबान पुन: सत्तामा आएपछि दशौँ लाख अफगानहरूको जीवन बदलियो - बालिकाहरूलाई माध्यमिक शिक्षा लिनबाट वञ्चित पारियो, महिला मामिला मन्त्रालय खारेज गरियो तथा कैयन् महिलालाई आइन्दा काममा नआउन भनियो।
यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको छ।
बीबीसीले विश्वभरिबाटै छानिएका १०० प्रेरक तथा प्रभावशाली महिलाको सन् २०२१ को सूची सार्वजनिक गरेको हो।
बीबीसी १०० विमिन २०२१
लीमा आफशिद
अफगानिस्तानकवयित्री
पुरस्कृत कवयित्री एव लेखिका जसको कविता र लेखहरूले अफगान संस्कृतिमा जरा गाडेर बसेको पितृसत्तामा तरङ्ग पैदा गर्छ।
पत्रकारिता पढेकी लीमा आफशीदले स्वतन्त्र पत्रकार र सामाजिक टिप्पणीकर्ताकी रूपमा पाँच वर्षभन्दा बढी काम गरिसकेकी छिन्।
उनी काबुलको कविता सङ्घ शेर-ए-दानेशगाहकी सदस्य हुन्। सङ्घले महामारीको समयमा आफ्ना दुई सयभन्दा बढी सदस्यहरूलाई स्वास्थ्य सङ्कटका बाबजुद समुदायको भावना कायम राख्न भर्चुअल कविता वाचन कार्यक्रमहरू आयोजना गरेको थियो।
*अफगानिस्तानको पतन त्यसरी नै भासिएर पूर्ववत् दलदलमा पुग्दैछ जहाँबाट निस्कन हामीले २० वर्ष सङ्घर्ष गर्यौँ। यद्यपि जङ्गलको अन्धकारमा प्रकाशको खोजीमा मौलाउने हाँगा जसरी हामी पुनः उदाउनेछौँ भन्नेमा आशावादी छु।
हलिमा एडन
केन्यामानवीय सहायताकर्मी तथा पूर्वमोडेल
हिजाब लगाउने प्रथम सुपरमोडल हलिमा वंशजका आधारमा सोमाली भए पनि केन्याको एउटा शरणार्थी शिविरमा जन्मिएकी थिइन्। सन् २०१७ मा उनले विश्वकै ठूलो मध्येको एक आइएमजी मोडल्स एजेन्सीसँग सम्झौता गरिन्। सम्झौतामा उनलाई मोडलिङका लागि हिजाब खोल्न नलगाइने सर्त थियो।
उनी ब्रिटिश भोग, अल्युर र स्पोर्ट्स इलुस्ट्रेटेसको स्वीमसुट संस्करणको कभरमा हिजाब लगाउने प्रथम महिला हुन्। युनिसेफको बालबालिका अधिकार दूत समेत रहेकी एडन मुस्लिम महिलाहरूको जनचेतना र उपस्थिति अभिवृद्धि गर्न अभियान सञ्चालन गर्छिन्।
इस्लाम आस्थासँग मेल नखाने लागेपछि उनले सन् २०२० मा मोडलिङ छोडिन् तर उनको प्रभाव फ्याशन उद्योग र अन्यत्र कायम छ।
*हामीले अग्रपङ्क्तिमा रहेर महामारीमा काम गर्नेहरूले हामीलाई सुरक्षित राख्न विशेष कार्य गरेको देखेका छौँ। उनीहरूको योगदानको कदर होस् भन्ने मेरो कामना छ। हामी कृतज्ञता ज्ञापन गर्दै अघि बढेर विश्वलाई नयाँपन दिन सक्छौँ।
ओलुएमी एडिटिवा ओरिजा
नाइजिरियासंस्थापक, हेडफोर्ट फाउन्डेसन
अपराध क्षेत्रमा वकालत गर्ने उनले स्थापना गरेको हेडफोर्ट फाउन्डेसनमा सबै महिला कानुन व्यवसायीले काम गर्छन् जसले सार्वजनिक हितमा बिनाशुल्क कानुनी सेवा दिँदै आएको छ।
लागोसमा रहेको उनको चार जनाको कानुनी टोलीले जेलहरू भ्रमण गरेर धरौटी तिर्न नसकेका गरिब र गलत तरिकाले थुनामा परेका परेका कैदीहरूलाई सहायोग गर्ने गरेको छ। यो टोलीले लामो समयसम्म सुनुवाइ हुन नसकेका कारण थुनामा रहेकाहरूलाई पनि सहयोग गर्छ। नाइजिरियामा ७० प्रतिशत कैदीहरू समयमा मुद्दाको सुनुवाइ नटुङ्गिएका कारण थुनामा छन्। उनको समूहले कम उमेरका अभियुक्तहरूलाई जेलबाहिर अर्को मौका दिन सहयोग गर्ने गरेको छ।
सन् २०१८ मा स्थापना भएयता यो संस्थाले सामान्य अभियोग लागेका १२५ बढी मानिसहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराएको छ।
*संसार बदल्नका लागि हामी सबैले आफ्नो भूमिका निभाउनुपर्छ। विश्वमा स्वतन्त्रता र सुरक्षा सुनिश्चितताका लागि राम्रा अभियानहरूबारे बोल्नुपर्छ, पैरवी गर्नुपर्छ र सहयोग गर्नुपर्छ।
मकदसा अहमदजाई
अफगानिस्तानसामाजिक तथा राजनीतिक अभियानकर्मी
मकदसा अहमदजाईले पूर्वी अफगानिस्तानमा ४०० भन्दा बढी युवा महिला अभियानकर्मीहरूको समूह बनाएकी छिन्। उनीहरू नजिकका जिल्लाहरूमा पुगेर घरेलु हिंसाका पीडितहरूलाई सहायता उपलब्ध गराउँछन्।
सामाजिक र राजनीतिक अभियानकर्मीकी रूपमा मकदसाले महामारीको समयमा प्रवाह भएका अपुष्ट सूचनाको प्रभावबाट महिला र तिनको समुदायलाई जोगाउन सहयोग गरिन्। उनी अफगान युवा संसद्को पूर्वसदस्य हुन् जहाँ उनले महिला र बालबालिकाको विषयमा वकालत गरिन्।
मकदसाले सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम अन्तर्गत एन-पिस अवार्ड प्राप्त गरिन्। उनी शान्ति निर्माण र द्वन्द्व समाधानका लागि निर्वाह गरेको भूमिकाका लागि सम्मानित भएकी हुन्।
*मैले देशमा सरकार नै नभए जस्तो यस्तो अप्रत्याशित परिवर्तन देखेकी थिइनँ। अब हाम्रो एक मात्र आशा युवावर्ग हुन्। उनीहरूले नै प्रणालीमा सुधार ल्याउने छन्। तर त्यो सबै अन्तर्राष्ट्रिय साथ र सहयोगपछि मात्र सम्भव छ।
रादा अकबर
अफगानिस्तानकलाकार
महिलाप्रति राखिने पूर्वाग्रह र उनीमाथि गरिने दमन यी अफगान भिजुअल कलाकारको कलाको मुख्य विषय रहिआएको छ। रादा अकबरले कलालाई बोल्ने माध्यम तथा महिलाहरूले समाजमा पाउनुपर्ने सम्मानका निम्ति प्रयोग गर्दै आएकी छन्।
सन् २०१९ यता उनले 'सुपरविमिन' (अबरजनान) नाममा हरेक मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवस र आफ्नो देशमा महिलाहरूले पुर्याएको योगदानलाई सम्झन कला प्रदर्शनी गर्दै आएकी छन्। केही समय अघिसम्म काबुल वा अन्यत्र महिलाहरूको इतिहासबारे एउटा सङ्ग्रहालय खोल्न उनी लागिपरेकी थिइन्।
उनलाई लाग्छ उनका कलाकृतिले राजनीतिक, आर्थिक र धार्मिक मान्यतामा महिलाहरूको निन्दा गर्ने सामाजिक कानुनहरूको भर्त्सना गर्न सघाउँछन्।
*अफगानिस्तान र त्यहाँका नागरिकहरू अतिवादी र विश्व नेताहरूबाट दशकौँदेखि दुर्व्यवहार एवं हिंसामा परेका छन्। तर एउटा प्रगतिशील देशका लागि काम गर्न हामी कहिल्यै रोकिएनौँ। हामी फेरि पनि स्वतन्त्र र समृद्ध अफगानिस्तानमा बस्न पाउनेछौँ।
आबिया अक्रम
पाकिस्तानअपाङ्गता भएकाहरूकी नेत्री
अपाङ्गता भएकी आबिया सन् १९९७ मा विद्यार्थी छँदै स्पेशल ट्यालेन्ट एक्सचेन्ज प्रोग्राम सुरु गरेर अपाङ्गता आन्दोलनको अभियानमा होमिएकी थिइन्।
उनी कमनवेल्थ यङ डिसेवल्ड पिपुल्स फोरमको संयोजकमा मनोनित हुने पहिलो पाकिस्तानी महिला हुन्। न्याश्नल फोरम अफ विमिन विथ डिसेविलिटिजकी संस्थापक समेत रहेकी अक्रमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशी विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घको अभिसन्धि कार्यान्वयनको वकालत गर्छिन्।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० का लागि तय गरेको दिगो विकास लक्ष्यमा अपाङ्गतालाई पनि समावेश गर्न अक्रमले पहल गरिरहेकी छन्।
*कोभिड-१९ महामारीपछि विश्वको पुनर्संरचना गर्दै नयाँ सामान्य परिस्थिति निर्माणका लागि हाम्रो समाजका सबै पक्षमा सुधार गर्न हामी सबैले मिलेर कदम चाल्नुपर्छ। यसो गर्दा हामीले धेरै नै समावेशी विकास देख्नेछौँ।
लीना आलम
अफगानिस्तानकलाकार
पुरस्कृत टिभी, चलचित्र र रङ्गमञ्चकी कलाकार एवं मानव अधिकारकर्मी लीना आलम सेरिन र किलिङ फरखुन्डाजस्ता अफगान महिलावादी टेलिभिजन कार्यक्रममा देखिएका कारण चर्चित छिन्। किलिङ फरखुन्डाले कुरान जलाएको मिथ्या आरोप लागेर क्रोधित पुरुषहरूले सार्वजनिक स्थानमा झुन्डयाएर मारिएकी अफगान महिलाको कथा भन्छ।
आलमले सन् १९८० को दशकमा अफगानिस्तान छाडेकी हुन्। उनी हाल अमेरिकामा बस्छिन्। तर आफ्नै देशका कथाहरू भन्ने कार्यलाई उनले निरन्तरता दिएकी छिन्।
सन् २००९ मा उनी संयुक्त राष्ट्रसङ्घको अफगान सहायक मिसनअन्तर्गत शान्तिदूत रहेकी थिइन्।
*हामीलाई हाम्रो देश पुनर्निर्माण गर्नका लागि रगत र बलिदानसहित दशकौँ लाग्यो। निमेषभरमै सबै कुरा लथालिङ्ग भएको देख्नु साह्रै पीडादायी थियो। तर यस पटक अझै बलियो जगका साथ लडाइँ जारी रहनुपर्छ।
डा. आलिमा
अफगानिस्तानदार्शनिक र अभियानकर्मी
दर्शनशास्त्र तथा सामाजिक विज्ञानकी प्रख्यात विज्ञ डा. आलिमा शान्ति राज्य मन्त्रालयअन्तर्गत मानव अधिकार र नागरिक विभागकी उपमन्त्री थिइन्। उनी महिलाहरूको स्वतन्त्र राजनीतिक सहभागिता समितिकी संस्थापक र चर्चित महिला अधिकारकर्मी समेत हुन्।
जर्मनीबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेकी डा. आलिमासँग द्वन्द्व विश्लेषणको २० वर्ष लामो अनुभव छ।
उनले जर्मन-अफगान अन्तर्राष्ट्रिय सम्बन्ध र अफगानिस्तानमा महिला सशक्तीकरणलगायत विषयमा पुस्तक लेखेकी छन्। उनी शरणार्थी, आप्रवासी र विस्थापित मानिसहरूलाई केन्द्रमा राखेर मानवीय कानुनसम्बन्धी प्रशिक्षण समेत दिन्छिन्।
*मैले स्वतन्त्र र लोकतान्त्रिक अफगानिस्तानको सपना देखेकी छु जहाँ नागरिक अधिकार विद्यमान संविधानले सुरक्षित गर्छ। त्यहाँ महिला सहभागिताको अधिकार पुरुष बराबर सुनिश्चित हुन्छ।
सेभ्दा अल्टुनोलुक
टर्कीगोलबल खेलाडी
जन्मँदै दृष्टिविहीन सेभ्दा व्यावसायिक गोलबल खेलाडी हुन्। तीन-तीनजना दृष्टिविहीनहरूले टिमले घण्टीको आवाज आउने बलललाई विपक्षी टिमको जालीमा पुर्याएर यो खेल खेलिन्छ।
विश्वकै उत्कृष्ट गोलबल खेलाडीको रूपमा चर्चा हुने गरेकी उनी चार विश्व च्याम्पियनशीप र दुई युरोपियन च्याम्पियनशीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।
अङ्काराबाट शारीरिक शिक्षामा डिग्री गरेकी उनी तोकाल एनाटोलीयामा जन्मिएकी हुन्।
*अपाङ्गतालाई बाधकको रूपमा हेरिनु हुँदैन। बरु यसलाई त स्वअभिव्यक्तिको अवसरको रूपमा लिनुपर्छ।
एक लाइब्रेरिअन र पुस्तकप्रेमी वाहिदा आमिरी कानुनमा स्नातक हुन् र प्रदर्शनकारी हुन्। तालिबानले सत्ता हातमा लिएपछि उनी पुस्तकालयमा काम गर्न नसक्ने अवस्थामा पुगेका कारण सडकमा ओर्लिन र काम गर्न तथा पढ्न पाउने अधिकारको पक्षमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महिलाहरूले थालेको आन्दोलनमा सहभागी भइन्।
त्यसयता तालिबानले प्रदर्शनमाथि प्रतिबन्ध लगाएका छन्। अरू महिलासँग मिलेर आमिरी अध्ययन र छलफलको प्रवर्द्धनमा जुटेकी छिन्।
सन् २०१७ देखि उनको पुस्तकालय सञ्चालनमा छ र आमिरी भन्छिन्, पुस्तकहरूविना उनले आफ्नो पहिचान गुमाएकी छन्।
*संसारले हामीलाई मानवको रूपमा सम्मान दिँदैन। तर अफगानिस्तान विध्वंसबाट गुज्रिरहँदा हामी प्रदर्शन गरेर, न्यायको माग गरेर अनि किताब पढ्न प्रोत्साहित गरेर मानिसहरूको आशा जगाउन चाहन्छौँ।
उत्सर्जनरहित यातायात क्षेत्रलाई गति दिन काम गरिरहेकी जलवायु विज्ञसमेत रहेकी अरायाले अमेरिका र युरोपमा दिगोपनाका अभियानहरूलाई मार्ग निर्देशित गरिन्। अरायाको कोस्टारिका लिम्पिया नागरिक अभियानले उनको देशलाई नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वकै नेतृत्वमा पुर्यायो।
आराया यातायातको क्षेत्रमा जलवायु परिवर्तन कम गर्न चालिनुपर्ने कदमसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय अभियानकी विशेष सल्लाहकार हुन्। उनी रुट जेरो भनिने शून्य उत्सर्जनसम्बन्धी अभियानकी पनि सल्लाहकार छिन्। त्यसबाहेक क्लाइमेट वर्कस् फाउन्डेसनमा समेत उनी आबद्ध छिन्।
टेडटकका सबै सामग्रीको जोड्दा उनले करिब ४० लाख भ्यूज पाएकी छन् र ती ३१ वटा भाषामा अनुवाद गरिएका छन्। सन् २०१६ मा आराया विश्वकै सबैभन्दा ठूलो महिलाहरूको अन्टार्कटिका आरोहणमा सहभागी थिइन्।
*हामीलाई सामान्य लागेको कुरालाई पुनर्संरचना गर्नुपर्ने समय भइसकेको छ। हाम्रो पेट्रोल र डिजेलको माग घटाउनु महत्त्वपूर्ण छ र अरू अत्यन्तै जरुरी सामाजिक रूपान्तरणका लागि राजनीतिक समर्थन आवश्यक छ।
नताशा अस्गर
यूकेवेल्स संसद्की सदस्य
वेल्सको संसद्मा निर्वाचित हुने पहिलो गैरश्वेत महिला भएर उनले इतिहास बनाइन्। सन् १९९९ मा गठन भएको संसद्मा उनको समुदायको मानिसहरूबाट प्रतिनिधित्व हुन सकेको थिएन।
कन्जरभेटिभ पार्टीकी सदस्य तथा साउथ वेल्स क्षेत्रकी सांसद नताशा अस्गर यातायात र प्रविधिको छायामन्त्री हुन्। उनले यात्रा कार्डको प्रयोग सुरु गर्ने योजना बनाएकी छन् जसले इन्धन खपत कम गर्न स्थानीय र पर्यटकहरूलाई वेल्समा सार्वजनिक यातायात प्रयोगका लागि प्रोत्साहन गर्नेछ।
राजनीतिमा आउनुअघि उनले ब्याङ्कर, टेलिभिजन र रेडिओ कार्यक्रम सञ्चालिका भएर काम गर्नुका साथै दुईवटा पुस्तक प्रकाशित गरेकी थिइन्।
*हामी एकजुट भएर नयाँ सामान्य परिस्थितिमा पुग्न कठिन बाटोको यात्रा सुरु गर्नुपर्छ। हामीले हाम्रो जीवन उकास्न प्राप्त उपलब्धिहरूलाई सदुपयोग गरिहाल्नुपर्छ। त्यसका लागि अहिल्यैबाट काम सुरु गरौँ।
जुहाल अत्मार
अफगानिस्तानउद्यमी, गुल-ए-मरसल
अफगानिस्तानको पहिलो थोत्रा कागज पुनर्नवीनीकरण गर्ने कारखाना गुल-ए-मरसल जुहाल अत्मारले स्थापना गरेकी हुन्। अर्थशास्त्र र व्यवसायको पृष्ठभूमि भएकी उनले महिलाद्वारा सञ्चालित उक्त कारखाना सन् २०१६ मा सुरु गरेकी हुन्। कारखानामा ३० प्रतिशतभन्दा बढी कामदार महिला छन्।
कारखानाले काम नलाग्ने र गैरसरकारी संस्थाहरूका कागजहरू जम्मा गर्छ र हरेक साता लगभग ३५ टन कागज प्रशोधन गर्छ। ती कागज पुनर्नवीनीकरण गरेर ट्वाइलेट पेपर बनाइन्छ र देशभरि विक्री गरिन्छ।
महिलाहरूले व्यवसाय सुरु गर्नका लागि आर्थिक सहयोग प्राप्त गर्न भोग्नुपर्ने कठिनाइबारे उनी आवाज उठाउँछिन्।
*भविष्य कस्तो देखिन्छ? यहाँ त युवा र महिलाहरूका सपना, उद्देश्य र आशाहरू नै नष्ट गरिएको छ।
मार्सेलिना बाउटिस्टा
मेक्सिकोश्रमिक नेत्री
पूर्वघरेलु कामदार बाउटिस्टा घरेलु कामदारहरूलाई सहायता उपलब्ध गराउने र तालिम दिन २१ वर्षअघि स्थापित संस्थाकी निर्देशक हुन्। उनी उचित ज्याला, बिरामी बिदासहित घरेलु कामदारहरूको सामाजिक स्तर सुधारसहित अरू कामदारहरूले पाउने अधिकार घरेलु कामदारलाई पनि दिलाउन अभियान सञ्चालन गरिरहेकी छन्।
उनले कामदार, रोजगारदाता र समुदायका सदस्यहरूको शिक्षाका लागि पहल गरेकी छन्। घरेलु कामदारहरूलाई श्रम शोषण, हिंसा र असुरक्षित काम गर्ने अवस्थाबाट संरक्षण गर्ने अन्तर्राष्ट्रिय श्रम सम्झौताका लागि मेक्सिको सरकारलाई बाध्य गराउने वार्तामा बाउटिस्टाको सक्रिय सहभागिता थियो।
जर्मनीको एफईएसबाट सन् २०१० मा उनले अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार प्राप्त गरेकी थिइन्।
*संसार परिवर्तन गर्ने भनेको लाखौँ घरेलु कामदारहरू विशेषगरी महिलाको अवस्थामा परिवर्तन ल्याउनु हो। जो अरू व्यावसायिक रूपमा आफूलाई विकास गरिरहँदा घर सम्हालेर बसेका छन्। यो सामाजिक असमानता तब मात्र अन्त्य हुन्छ जब घरेलु कामले पनि उचित मूल्याङ्कन पाउँछ।
क्रिस्टल बायत
अफगानिस्तानअभियानकर्मी
सामाजिक अभियानकर्मी एवं मानव अधिकार अधिवक्ता क्रिस्टल बायत सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि गरेको विरोधका कारण चर्चामा छिन्।
उनी तालिबानको विरोध गर्दै सडकमा निस्केका सात जनामध्ये एक थिइन्। उनले अफगानिस्तानमा स्वतन्त्रता दिवस अर्थात् अगस्त १९ का दिन विरोध कार्यक्रम आयोजना गर्न मद्दत गरेकी थिइन्। बायतले यसै वर्ष राजनीति व्यवस्थापनमा विद्यावारिधि सुरु गरिन्। तर तालिबानले देश कब्जा गरेपछि उनको पढाइ पनि प्रभावित भयो।
हाल उनी अमेरिकामा छिन् र त्यहीँबाट अफगानिस्तानको मानव अधिकारको क्षेत्रमा भएका उपलब्धिहरू संरक्षण गर्न लागिपरेकी छिन्। उनले आफ्नो विद्यावारिधि सकिने र एउटा किताब समेत लेख्ने आशा राखेकी छिन्।
*अन्ततः म अफगानिस्तानमा हुने लोकतान्त्रिक परिवर्तनहरूको अंश बन्न चाहन्छु। मेरो संयुक्त राष्ट्रसङ्घमा बोल्ने सपना छ किनकि मलाई लाग्छ विश्वले साँचो अर्थमा अफगानिस्तानलाई बुझ्न आवश्यक छ। विशेषगरी त्यहाँका महिला के भन्न चाहन्छन् त्यो सुन्न आवश्यक छ।
राजिया बाराकजाई
अफगानिस्तानप्रदर्शनकारी
थुप्रै वर्ष राष्ट्रपति कार्यालय र अन्यत्र सरकारी सेवामा काम गरेकी राजिया बाराकजाई तालिबानले सत्ता हातमा लिएपछि बेरोजगार भइन्।
त्यसयता उनी सक्रिय रूपमा काबुलमा रोजगारी र शिक्षामा समान अधिकारका लागि भएका प्रदर्शनहरूमा सहभागी भएकी छन्। उनी डरका कारण अफगान महिलाहरू सामाजिक सञ्जालबाट हराइरहेको कुरामाथि प्रकाश पार्ने #AfghanWomenExist नारा सुरु गर्ने महिलामध्ये एक हुन्।
बाराकजाईले एमबीए गर्नुका साथै कानुन र राजनीतिशास्त्र पढेकी छन्। बीबीसीलाई लेखेको एक पत्रमा उनले भनेकी छन्, "दासत्वमा बाँच्नुभन्दा स्वतन्त्रताका लागि मृत्यु ठिक हुन्छ।"
*देशका शिक्षित र युवाहरू - विशेष रूपमा अफगानिस्तानका साहसी योद्धा महिलाहरूले एक दिन स्वतन्त्रताको झन्डा बोक्नेछन्। म यो कुरा प्रत्येक दिन सडकका प्रदर्शनहरूमा देख्छु।
सम्बन्धित लेखहरू
निलोफर बायत
अफगानिस्तानह्विलचेयक बास्केटबल खेलाडी
राष्ट्रिय ह्वीलचेअर बास्केटबल टोलीकी कप्तान र अपाङ्गता भएका महिलाहरूको पक्षमा वकालत गर्ने निलोफर बायतले तालिबान सत्तामा आएपछि देश छाडिन्। बायत र ह्वीलचेअर बास्केटबल खेलाडी उनका श्रीमान् रामिश दुवैजना अन्तर्राष्ट्रिय रेडक्रसका कर्मचारी थिए।
उनी दुई वर्षकी हुँदा उनको घरमाथि रकेट खस्यो जसमा उनको भाइको मृत्यु भयो र उनको मेरुदण्डमा चोट लाग्यो। बायतले आफ्नो पहिलो खेल काबुलस्थित खुला मैदानमा खेलिन् जुन महिला खेलाडीहरूको लागि एउटा ठूलो मोड साबित भयो। अफगानिस्तान छाड्ने शरणार्थीहरूका लागि उनले आवाज उठाउन थालेकी छन् र अफगान महिलाका लागि एउटा सङ्गठन खोलेकी छन्।
बायत फेरि बास्केटबल खेल्ने आशामा छिन्।
*मलाई आशा छ अफगानिस्तानमा खेलको समाप्ति हो र अर्को सेकेन्डका लागि हामीले युद्धको मूल्य चुकाउनुपर्ने छैन। मलाई आशा छ मेरो देशका मानिसहरूको मुहारमा वास्तविक हाँसो हेर्न पाइने छ।
जोस ब्वाइज
यूकेआर्किटेक्ट
जोस दी डिसअर्डिनरी आर्किटेक्चर प्रोजेक्टकी संयोजक हुन्। परियोजनाले अपाङ्गता भएका कलाकारहरूलाई हाम्रो वरपर हुने निर्माणलाई अपाङ्गमैत्री बनाउन नयाँ सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने काम गर्छ।
आर्किटेक्टको आफ्नो पेसालाई अभियानसँग जोड्दै जोसले सन् १९८० मा म्याट्रिक्स फेमिनिस्ट डिजाइन कलेक्टिभ सह-स्थापना गरिन्। उनी मेकिङ स्पेस: विमिन एन्ड मेन मेड इन्भायरमेन्टकी लेखिकामध्ये एक हुन्। उनले धेरै अन्तर्राष्ट्रिय संस्थाहरूमा प्राज्ञ भएर काम गर्दा वास्तु संरचनामा नारीवादी अभ्यासबाट रचनात्मक चुनौती दिइन्।
उनले ४० वर्ष लामो आफ्नो पेसा अवधिमा हाम्रा दैनिक अभ्यासहरूलाई कसरी अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुग्ने किसिमले गर्न सकिन्छ भन्ने जनचेतना अभिवृद्धि गरिन्।
*हामीले अपाङ्गता भएका र अन्य सीमान्तकृत मानिसहरूले विगतका वर्षमा भोगेका विभिन्न खाले अनुभवहरूमा केन्द्रित भएर त्यसलाई हाम्रो वरपर बन्ने संरचना र स्थानहरूलाई साझा रेखदेख र एकआपसमा परनिर्भरतामा परिवर्तन ल्याउने रचनात्मक प्रेरकको रूपमा सम्मान गर्नुपर्छ।
क्याथरिन कोर्लेस
आयरल्याण्डस्थानीय इतिहासकार
उनले गलवेको बन सेकोर्स मदर एण्ड बेबी होममा ९७६ जना बालबालिकाको मृत्युबारे अनुसन्धान गरिन्। सिकारु इतिहासकार भए पनि कोर्लेसको वर्षौँ लामो अथक मेहनतको अनुसन्धानले अविवाहित महिलाहरूको संस्था भएको स्थानमा धेरैजना पुरिएको चिहान फेला पर्यो। त्यस बेलासम्म सन् १९२० बाट १९५० सम्म हराएका सयौँ नाबालकहरू पुरिएको कुनै प्रमाण फेला परेको थिएन।
क्याथोलिक भिक्षुणीहरूले सञ्चालन गरेका संस्थाहरूबारे बहुप्रतीक्षित प्रतिवेदनले विभिन्न रोगबाट बाल मृत्युदरको भयावह अवस्था देखाएको थियो जसबारे यो वर्ष आइरिस सरकारले माफी मागेको थियो।
उनको असामान्य मानवीय कार्यका लागि कोर्लोसले 'बार अफ आयरल्यान्ड ह्युमन राइट्स अवार्ड' प्राप्त गरिन्।
*यदि मैले संसार बदल्न सक्ने हो भने म लाज भन्ने शब्दलाई मेटाउने थिएँ। शब्दकोषले यसलाई अपमानको पीडादायी अनुभव जसले तपाईँलाई भित्रैबाट आफू गलत भएको महसुस गराउँछ भनेर व्याख्या गर्छ। यो छोटो शब्द परमाणु ऊर्जाजस्तै खतरनाक छ।
फैजा दरखानी
अफगानिस्तानवातावरणविद्
अफगानिस्तानमा रहेर जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने निकै कम मानिसमध्ये एक हुन् फैजा दरखानी। उनी सहप्राध्यापक र बदाखशान राष्ट्रिय वातावरणीय संरक्षण केन्द्रकी पूर्वनिर्देशक हुन्। दरखानी सक्रिय महिला अधिकारकर्मी समेत हुन्।
दरखानीले पुत्र मलेशिया विश्वविद्यालयबाट परिदृश्य वास्तुकलामा स्नातकोत्तर गरेकी छिन्। उनले उच्च जनसङ्ख्या भएका सहरहरूमा ठाडो खेतीको अवधारणाजस्ता दिगो सहरी परिदृश्य व्यवस्थापन तथा नवीन प्रविधिको विषयमाथि अनुसन्धानपत्रहरू लेखेकी छिन्।
उनी वातावरण संरक्षण र महिला केन्द्रित दिगो कार्यक्रमहरू कार्यान्वयन गर्न सचेतना आवश्यक छ भन्ने विश्वास राख्छिन्।
*भिडबाट अलग्गिएर एक्लिनु साहसिक निर्णय हो। हामीले आफ्नो सपनालाई पच्छ्याउनुपर्छ र यथार्थमा परिणत गर्नुपर्छ। मेरो सपना चाहिँ सुरक्षित वातावरण, द्वन्द्वमुक्त र समावेशी देश हो।
मानव अधिकार, प्रविधि र लैङ्गिक क्षेत्रकी अग्रणी विज्ञ अज्मिना हाल डेटिङ एप बम्बलकी सुरक्षा नीति प्रमुखकी रूपमा काम गरिरहेकी छन्। उनले सन् २०२१ मा एउटा खुलापत्र सुरु गरिन् जसमा २०० बढी उच्च पदस्थ महिलाहरूले सामाजिक सञ्जालमा हुने दुर्व्यवहार सामनाका लागि ठोस कदम चाल्न माग गरेका थिए।
उनी लैङ्गिक आधारमा हुने दुर्व्यवहार र यसको वर्ग र जातीयतासँग हुने सम्बन्ध बारेको प्रतिवेदन 'टक्सिक ट्विटर: भायलेन्स एन्ड अब्यूज अगेन्स्ट विमिन अनलाइन'की लेखिका पनि हुन्।
ध्रोडियाले वर्ल्ड वाइड वेब फाउन्डेसनमा लागि लैङ्गिक र तथ्याङ्क अधिकारका लागि काम गर्दै विभिन्न प्रविधि कम्पनीहरूलाई महिला र सीमान्तकृत समुदायका लागि अनलाइनको प्रयोग सुरक्षित बनाउन मद्दत गरिन्।
*म यस्तो संसार चाहन्छु जहाँ अनलाइन स्पेसहरूको संरचना तयार गरिँदा त्यसमा महिलाले कस्तो अनुभव गर्छन् भनेर ध्यान पुर्याइन्छ। यस्तो संसार जहाँ साझा परिचय भएका र परिचय जोडिएका महिलाहरूले अनलाइनको स्पेस समान, स्वतन्त्र र बिनाडर प्रयोग गर्न सकून्।
पश्ताना दुर्रानी
अफगानिस्तानशिक्षिका, लर्न अफगानिस्तान
पश्ताना दुर्रानी लर्न अफगानिस्तान नामक संस्थाकी संस्थापक एवं कार्यकारी निर्देशक हुन्। उनी किशोरीहरूको अधिकारलाई केन्द्रमा राखेको शैक्षिक अधिकारको पैरवी गर्ने अध्यापक हुन्। लर्नमार्फत् उनले कान्दहारमा विद्यालयहरू स्थापना गरेकी छिन्। साथै शिक्षकहरूलाई तालिम र विद्यार्थीलाई उनले प्रशिक्षण दिएकी छिन्।
संस्थाले रुमी एपमार्फत् छात्राहरूलाई शैक्षिक सामग्री, भिडिओ र शिक्षासँग सम्बन्धित खेलहरूको पहुँच दिन्छ। संस्थाले दुर्गम गाउँका महिलाहरूलाई पनि सुँडेनीको तालिम दिइरहेको छ।
दुर्रानी संयुक्त राष्ट्रसङ्घमा अफगानिस्तानका युवा प्रतिनिधि थिइन्। उनी अफगान किशोरीको शिक्षामा पहुँच पुर्याउनका लागि गरेको पहलका कारण मलाला फन्ड एजुकेशन च्याम्पियन अवार्डबाट सम्मानित भएकी थिइन्।
*विश्वले हामी जे हौँ त्योभन्दा कमजोर आक्नु रोचक देखिन्छ। तर जति नै पीडामा भए पनि, दाग लागेको भए पनि, घाउ लागेको भए पनि हामी दृढ छौँ। बाटो जति नै लामो भए पनि हामीले यो यात्रा तय गर्नेछौँ।
नजला एल्मनगौस
यूकेपरराष्ट्र मामिला मन्त्री, लिबिया
एल्मनगौस यसै वर्ष नियुक्त लिबियाकी प्रथम महिला परराष्ट्र मामिलामन्त्री, कूटनीतिज्ञ एवं वकिल हुन्। सन् २०११ मा भएको लिबियामा भएको क्रान्तिताका एल्मनगौस राष्ट्रिय सङ्क्रमणकालीन परिषद्की सदस्य थिइन्। त्यति बेला उनले नागरिक समाजसँग सम्बन्ध स्थापित गर्ने काम गरेकी थिइन्।
उनले अमेरिकाको इन्स्टिच्युट अफ पिसमा लिबियाको प्रतिनिधित्व गरेकी थिइन्। साथै सेन्टर फर वर्ल्ड रिलिजन्स, डिप्लोमेसी एन्ड कन्फ्लिक्ट रिजोल्युसनमा शान्ति निर्माण र कानुनसम्बन्धी कामहरू गरेकी थिइन्। देशमा हुने राजनीतिक झगडाका कारण उनलाई राजीनामा दिन दबाव दिइयो र हालै उनलाई यात्रामा प्रतिबन्ध लगाइएको छ
उनले बेन्गाजी विश्वविद्यालयमा कानुन अध्ययन गरेकी हुन्। त्यस्तै जर्ज मेसन विश्वविद्यालयबाट द्वन्द्व विश्लेषण तथा समाधानमा विद्यावारिधि गरेकी छिन्।
*सन् २०२१ मा विश्व धेरै परिवर्तन भयो। म विश्व फेरि पहिलेजस्तै भएको हेर्न चाहन्छु। त्यस्तो विकास जसले मानिसहरूको जीवनको अर्थ र उद्देश्य ल्याओस् र त्यसले समग्र मानवताको हित गरोस्।
शिला इन्सानदोस्त
अफगानिस्तानशिक्षिका
महिला तथा बालिकाको शिक्षासम्बन्धी अधिकारबारे जनचेतना फैलाउनु अफगान शिक्षिका शिला इन्सानदोस्तको पहिलो प्राथमिकता रहेको छ। धार्मिक मामिलासम्बन्धी विषयमा उनको डिग्री छ र उनले विद्यालयमा पनि पढाएकी छन्।
राजनीतिक र नागरिक मामिलामा महिलाको भूमिकाबारे उनले कुरा उठाउँदै आएकी छन् र काम गर्न एवं पढ्न पाउने अफगान महिलाहरूको अधिकारबारे सञ्चारमाध्यममा उनले कुरा राख्ने गरेकी छन्। महिलामाथि हुने दमनविरुद्ध हालै काबुलमा गरिएको प्रदर्शनमा उनी कात्रोजस्तो पोसाक लगाएर सहभागी भएकी थिइन्।
शिक्षिका हुनुका साथै उनी महिलासम्बन्धी विभिन्न सङ्घसंस्थाकी एक सक्रिय सदस्य पनि हुन्।
*म महिलाहरूलाई राजनीतिक, सामाजिक र आर्थिक मामिलामा संलग्न गराइएको हेर्न चाहन्छु। पढ्न पाउने महिला अधिकार बहाल भएको र महिला तथा अल्पसङ्ख्यकविरुद्ध हुने हिंसा तथा असमान व्यवहार निर्मूल भएको म हेर्न चाहन्छु।
सईदा इतबारी
अफगानिस्तानगहना डिजाइनर
सईदाले बनाएका गहनाहरू वाशिङ्टन डीसीको स्मीथसोनीयनमा प्रदर्शन भएका छन्। उनका गहना अफगान परम्परागत शैलीबाट प्रभावित हुन्छन् र स्थानीय मुगा र ढाँचाहरू प्रयोग हुन्छ।
सईदा इतबारी उद्यमी हुन्। उनी आफूले बनाएका गहनाकै कारण अन्तर्राष्ट्रियस्तरमा चिनिएकी छिन्।
एक वर्षको उमेरमा रोगका कारण उनको श्रवण शक्ति गुम्यो। त्यति बेला उनी शरणार्थी शिविरमा बस्थिन्। उनले आफ्नो बुवाले खोजेका बहिरा विद्यालयबाट आफ्नो पढाइ पूरा गरिन्। इतबारीले त्यसपछि टर्क्वाइस माउन्टेन इन्स्टिच्युटमा कला र वास्तुकला पढेर गहना डिजाइनिङमा विज्ञता प्राप्त गरेकी हुन्।
*आजभोलि महिलाहरू बेरोजगार छन्। पुरुषहरूले मात्र काम गर्न पाउँछन्। अब शासन फेरिएको छ। मेरो अफगानिस्तानको राम्रो भविष्यको आशा निराशामा बदलिएको छ।
सहर फितरत
अफगानिस्ताननारीवादी अभियानकर्मी
लैङ्गिक रुढीवादी विरुद्धका कैयौँ प्रदर्शनहरू पछाडिको शक्तिको रूपमा रहेकी सहर फितरत आफैँ एक शरणार्थी थिइन्। उनले तालिबानको पहिलो शासनमा इरान र पाकिस्तानमा शरणार्थी जीवन बिताइन्। सन् २००६ मा काबुल फर्किएकी उनले किशोरावस्थामा महिलावादी अभियान अङ्गालेकी हुन्।
उनी आफ्नो लेख तथा चलचित्रमा महिलावादी विचार समावेश गर्छिन्। जस्तै, सडकमा हुने दुर्व्यवहारमाथि बनेको उनको डकुमेन्ट्री, डू नट ट्रस्ट माइ साइलेन्स (२०१३)। फेत्रातले अफगानिस्तानमा युनेस्को अन्तर्गतको शिक्षा विभाग र ह्यूमन राइट्स वाचमा समेत काम गरेकी छिन्।
उनले सेन्ट्रल युरोपियन विश्वविद्यालयबाट आलोचनात्मक लैङ्गिक अध्ययनमा स्नातकोत्तर गरेकी छिन्। र हाल लन्डनको किङ्स कलेजको द्वन्द्व अध्ययन विभागमा अध्ययनरत छिन्।
*म त्यस दिनको प्रतीक्षामा छु जब महिलाहरूका लागि शिक्षा लडाइँको विषय होइन, आधारभूत अधिकार बन्छ। म अफगानी महिलाहरू अफगान हिमालभन्दा अग्ला उद्देश्य प्राप्तिका लागि लडेको हेर्न चाहन्छु।
मेलिन्डा फ्रेन्च गेट्स परोपकारी, महिला व्यवसायी र महिला तथा किशोरीहरूका लागि विश्वव्यापी अधिवक्ता हुन्। उनी संसारका ठूला परोपकारी संस्थामध्ये एक बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनकी सह-प्रमुख हुन्। उनी संस्थाको निर्देशन साथै प्राथमिकता तय गर्छिन्।
उनी महिला तथा उनीहरूको परिवारको प्रगतिउन्मुख कामहरूमा लगानी गर्ने कम्पनी पिभोटल भेन्चर्सको पनि संस्थापक हुन्। साथै व्यापक विक्री भएको 'द मोमेन्ट अफ लिफ्ट'की लेखिका हुन्।
गेट्ससँग कम्युटर विज्ञानको डिग्री छ र उनले ड्युक विश्वविद्यालयबाट एमबीए गरेकी छिन्। एक दशक माइक्रोसफ्टमा मल्टिमिडिया सामग्री निर्माणमा गरेर बिताएकी थिइन्। उनले परिवार र परोपकारी कामहरूमा ध्यान दिने भन्दै काम छोडेकी हुन्।
*कोभिड-१९ महामारीले विश्वभरि जरा गाडेर बसेको असमानतालाई उजागर गरिदियो। पुनः सामान्य अवस्थामा फर्कने हाम्रो प्रयासमा महिला र किशोरीहरूलाई केन्द्रमा राख्दा वर्तमान कष्टलाई पनि कम गर्नेछ र भविष्यका लागि पनि बलियो जग निर्माण हुनेछ।
फातिमा गैलानी
अफगानिस्तानशान्ति मध्यस्थकर्ता
सन् २०२० मा तालिबानसँग शान्ति सम्झौताका लागि बस्ने चार महिलामध्ये एक फातिमा गैलानी 'निष्पक्ष राजनीतिक समाधान' खोज्ने प्रयास गर्दै थिइन्। विगत ४३ वर्षदेखि मानवीय कार्यमा संलग्न उनी एक प्रमुख राजनीतिक नेत्री र कार्यकर्ता हुन्।
उनी सन् १९८० को दशकको सोभियत कब्जाविरुद्ध अफगान प्रतिरोध समूहकी एक महिला अनुहार हुन्। र, लन्डनमा आफ्नो निर्वासनबाटै अफगान मुजाहिद्दीनको उनी प्रवक्ता रहिन्। सन् २००१ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि उनी अफगानिस्तान फर्किइन् र नयाँ अफगान संविधान लेखनमा भूमिका निर्वाह गरिन्।
सन् २००५ देखि २०१६ सम्म उनी अफगान रेड क्रिस्सेन्ट सोसाइटीकी अध्यक्ष रहिन्। उनी अझै त्यस समूहकी सदस्य हुन्।
*म एक अर्थपूर्ण राष्ट्रिय वार्ताको आशा गर्छु जसले वास्तविक राष्ट्र निर्माणको परिणामतर्फ डोर्याउँछ।
क्यारोलिना गार्सिया
आर्जेन्टिनानिर्देशक, नेटफ्लिक्स
आर्जेन्टिनामा जन्मिएर क्यालिफोर्नियामा हुर्किएकी गार्सिया विशाल कम्पनी नेटफ्लिक्सकी अरिजिनल सिरिजकी निर्देशक हुन्। तालिमप्राप्त नर्तकी र गायिका समेत रहेकी उनले ट्वेन्टिथ सेन्चुरी फक्समा प्रशिक्षार्थी भएर काम सुरु गरेकी थिइन्।
नेटफ्लिक्सको रचनात्मक कार्यकारी गार्सियाले स्ट्रेन्जर थिङ्स, दी चिलिङ एडभेन्चर अफ सबरिना, थर्टिन रिजन्स ह्वाई, एटिपिकल र राइजिङ डायनजस्ता चर्चित शृङ्खलाहरूमा काम गरेकी छन्।
हलिउडमा नेतृत्वदायी भूमिकामा पुगेका सीमित ल्याटिन महिलाहरू मध्येकी एक गार्सिया ल्याटिन अमेरिकीहरूका कथा र उनीहरूलाई पर्दामा अवसर दिन काम गर्छिन्। यो समुदायले अमेरिकामा झन्डै पाँच जनामा एक जनाको प्रतिनिधित्व गर्छ।
*पछिल्ला केही वर्षले हामीलाई विचलित बनाएको छ, तर जीवन छोटो छ। हामीले अमूल्य समय किन डरमा खर्च गर्ने? हाम्री हजुरआमाले भन्नुहुन्थ्यो "जीवन त जिउनै छ" र अहिले हजुरआमालाई सुन्ने समय आएको छ।
सागी गहरेमन
इरानकवयित्री
इरानी-क्यानेडियाली लेखिका सागी गहरेमन 'इरानीअन क्वेर अर्गनाइजेसन'की सह-संस्थापक र अध्यक्ष हुन्।
टोरोन्टोस्थित यो संस्थाले इरानमा रहेका वा त्यहाँबाट देश छोड्न बाध्य पारिएका यौनिक अल्पसङ्ख्यकहरूको अधिकार रक्षाका लागि काम गर्दै आएको छ। संस्थाले इरानमा समलिङ्गी अधिकार हननको विषयमाथि पनि निगरानी गर्छ।
गहरमेनले सन् २०१० मा इरानी क्वेर साहित्यमा केन्द्रित गिल्गामिसान बुक्स स्थापना गरिन्। अन्तर्राष्ट्रियस्तरमै चर्चित चार खण्डको कविता र अनगिन्ती लेखहरूकी सम्पादक र लेखिका गहरमेनका कामले यौनबारे पुरानो मान्यतालाई चुनौती दिएको छ।
*यो संसारको पुनसंरचना हुँदा हामी सबै त्यहाँ समेटिनुपर्छ। हामीले क्वेर समुदायका मानिसहरूलाई पनि यौनिक अल्पसङ्ख्यकबाहेक मानिसहरूले पाउने अग्राधिकार दिलाउने गरी यो संसारलाई पुनर्संरचना गर्यौँ भने मात्र त्यो कोरोनामुक्त संसार हुनसक्छ।
गावगा
अफगानिस्तानसङ्गीतकर्मी
पाँच वर्षभन्दा लामो समय सङ्गीत क्षेत्रमा बिताइसकेकी गावगा प्रतिभाशाली सङ्गीतकर्मी हुन्। उनका गीतहरू प्राय: अफगान महिला र किशोरीहरूको अवस्थाबारे हुन्छन्। उनका गीतका शब्दहरूले समसामयिक अवस्थाप्रति खेद प्रकट गरेका हुन्छन्।
सन् २०१९ मा उनले रामिन मजहरको कविता 'आइ किस यू अमिड द तालिबान'मा सङ्गीत भरिन् जुन अनलाइनमा क्षणभरिमै भाइरल भयो। उनको हालसालै सार्वजनिक एकल गीत तबस्सुम सार्वजनिक भएको छ। उक्त गीत ती 'बालबालिकाप्रति समर्पित छ जसले देखेको सपना द्वन्द्वले मेटिदियो।'
देशले कहिल्यै आफूलाई शान्तिपूर्ण वातावरण नदिने भएकाले गीत लेख्ने गरेको गाववा बताउँछिन्। उनका गीतहरूमा त्यो पीडा झल्कन्छ।
*मेरो मातृभूमिको आकाशमा क्षेप्यास्त्र बराबर विविध रङ्गका चङ्गाहरूले रङ्गिएका छन्। मलाई मेरा देशका मानिसहरूको चिन्ता छ। विशेषगरी महिला तथा बालबालिकाको। उनीहरूको असुरक्षाको डर नै मेरो साथी बनेको छ।
एन्जिला गयूर
अफगानिस्तानशिक्षिका र अनलाइन विद्यालयकी संस्थापक
एन्जिला गयूरद्वारा स्थापित हेरात अनलाइन विद्यालयमा करिब १००० विद्यार्थी र ४०० भन्दा बढी स्वयंसेवक शिक्षक छन्। तालिबानले अफगान बालिका तथा किशोरीरहरूलाई घरमै बस्ने निर्देशन दिएपछि उनले भर्चुअल कक्षाको अवधारणामा काम गरेकी हुन्। हाल उनको अनलाइन विद्यालयमा १७० वटा फरक कक्षाहरू टेलिग्राम, स्काइपमार्फत् सञ्चालन हुन्छ। विद्यालयमा गणित र सङ्गीतदेखि पाककला र चित्रकलासम्म पढाइ हुन्छ।
सन् १९९२ मा अफगानिस्तानमा गृहयुद्ध सुरु भएपछि गयूर स्वयं हेरातबाट इरान गइन्। इरानमा उनको परिवारको भिसा अस्थायी भएकाले पाँच वर्ष विद्यालय जानबाट उनी वञ्चित रहिन्।
एन्जिलाले माध्यमिक विद्यालय शिक्षकको योग्यता हासिल गरिन्। पटकपटक बसाइँ सरेकी उनी हाल यूकेमा बसोबास गर्छिन्।
*म दुष्टहरूको तथाकथित आवश्यकताको परवाह गर्दिनँ: अन्त्यमा सुख तब प्राप्त हुनेछ जब संसारले दुष्टहरूलाई रोक्छ। र, तालिबान वा अन्य कुनै खराबीहरूको वास्ता गर्दैन।
जमिला कृत्रिम बौद्धिकताको काम गर्ने आर्टिफिसिअल इन्टेलिजेन्स 'एआई'को अवधारणाकी नेतृत्वकर्ता पनि हुन्। विश्वव्यापी खाद्य आपूर्तिमा टुटेको जालो जोड्न एआई प्रयोग गर्ने उनले स्थापना गरेको लुमाचेन विश्वकै पहिलो कम्पनी हो।
सोमालियामा जन्मिए पनि गृहयुद्धका कारण उनी किशोर अवस्थामै देश छाड्न बाध्य भइन् र केन्यामा विस्थापित भएर बसिन्। त्यसपछि अस्ट्रेलिया पुगेकी उनको रुचि प्रविधिमा मोडियो। लुमाचेन सुरु गर्नुअघि उनी आईबीएमकी विश्व कार्यकारी र क्वान्टसकी प्रमुख सूचना अधिकृत थिइन्।
उनी सन् २०१८को इन्टर्न्याश्नल विमिन्स च्यालेन्जमा माइक्रोसफ्टबाट विश्वस्तरको पुरस्कार पाउने महिला हुन्। विमिन एआई अवार्डस्मा अस्ट्रेलिया र न्यूजील्यान्डका लागि उनी सन् २०२१को वर्ष आविष्कारक बनेकी थिइन्।
*म आर्टिफिसिअल इन्टेलिजेन्सको शक्तिमा विश्वास गर्छु कि यसको सहायताले समाजमा पछि परेको क्षेत्रका मानिसहरूले पनि आफ्नो अधिकारसम्पन्न स्थान सुरक्षित गरून् र यसले व्यापारलाई रूपान्तरणका लागि पनि सहयोग गरोस्।
नज्ला हबिब्यार
अफगानिस्तानउद्यमी
अफगान महिलाहरूका लागि बुनाइसम्बन्धी व्यवसाय सुरु गर्न र उनीहरूका सामग्री महँगा बिचौलियाहरूको उपस्थितिबिना निर्यात गर्नका लागि नज्ला हबिब्यारले ब्लू ट्रेजर इन्क र आर्क ग्रुप नामक उद्योगमार्फत् व्यवसाय सुरु गरिन्। उनले यूएसएड र विश्व ब्याङ्कका लागि महिला सशक्तीकरण र व्यवसाय सम्बन्धित जलवायु परिवर्तनका मुद्दा केन्द्रित विभिन्न परियोजनाको नेतृत्व गरेकी छिन्।
सन् २०१२ देखि २०१५ सम्म उनले सरकारको निर्यात प्रवर्धन केन्द्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन्। त्यहाँ उनले अफगान सामानहरूको विश्वभरि निर्यात बढाउन भूमिका निर्वाह गरेकी थिइन्।
उनले गैरनाफामूलक क्षेत्रमा पनि १३ वर्ष काम गरिन्। त्यस समय महिलाहरूलाई शिक्षाका लागि सहयोग गरेकी थिइन् र घरबारविहीन अफगान परिवारहरूका लागि अफगान भेरासिटी केयर नामक संस्था स्थापना गरेकी थिइन्।
*एक अफगान महिला हुनुका कारण मैले भोगेका दुःखका बाबजुद म आगामी पुस्ताका लागि हामीले पुस्तौँदेखि भोग्दै आएको द्वन्द्व अन्त्य गर्न योगदान पुर्याउन सक्छु भन्ने आशावादी छु।
लैला हैदरी
पाकिस्तानसंस्थापक, मदर क्याम्प
लैला हैदरीले लागुऔषध प्रयोगकर्ताहरूका लागि काबुलको पुनर्वास केन्द्र मदर क्याम्प बाट सन् २०१० देखि हालसम्म करिब ६,४०० अफगानलाई सहयोग पुर्याएकी छिन्। उनले उक्त केन्द्र स्थापनाका लागि आफूले जोगाएको रकम खर्चिएकी थिइन्। पछि केन्द्रमा बसेर कुलत मुक्त भएका वा भइरहेका मानिसहरू काम गर्ने रेस्टुराँ खोलिन्। त्यहीँबाट हुने आम्दानीले केन्द्र सञ्चालन हुन्थ्यो। काबुलको पतनपछि उक्त रेस्टुराँ बन्द गर्नुपर्यो।
हैदरीको परिवार मूलतः बमियानको हो। तर उनी शरणार्थीका रूपमा पाकिस्तानमा जन्मिएकी हुन्। उनको १२ वर्षको उमेरमा बालविवाह भएको थियो। उनी महिला अधिकारको पक्षमा वकालत गर्छिन्।
धम्की र उनको कामको विरोधहरूका बाबजुद उनले गरेको सङ्घर्षमाथि लैला एट द ब्रिज (२०१८) वृत्तचित्र बनेको छ। उक्त वृत्तचित्रले प्रशंसा बटुलेको थियो।
*म संसारलाई अझै नैतिक र मानवीय बनाउन मानिसहरू सचेत रहून् भन्ने चाहन्छु। हामी अन्तरसम्बन्धित विश्वमा छौँ जहाँ अमेरिकी नागरिकले गरेको मतदानले अफगान नागरिकको भाग्य नै परिवर्तन गरिदिन्छ।
अफगानिस्तानकी पूर्वशरणार्थी जरलाश्त हलाइमजाई रिफ्यूजी ट्रमा इनिसियटिभ नामक संस्थाकी सह-संस्थापक एवं प्रमुख कार्यकारी हुन्। उनको संस्थाले शरणार्थीहरूलाई मनोवैज्ञानिक सहयोग पुर्याउँछ र उनीहरूलाई हिंसा र विस्थापनका कारण परेको भावनात्मक असरसँग जुझ्न पैरवी गर्छ।
संस्था स्थापना गर्नुअघि उनी टर्कीसँगको सिरियाली सीमा क्षेत्रमा कार्यरत थिइन्। त्यहाँ उनले असुरक्षित बालबालिकाहरूको शिक्षामा पहुँच पुर्याउन काम गर्थिन् र शरणार्थीहरूको शिक्षा र कल्याणका लागि गैरनाफामूलक संस्थाहरूलाई सल्लाह दिन्थिन्।
हलाइमजाई सन् २०१८ मा ओबामा फाउन्डेसन उद्घाटनकी सदस्य थिइन्। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा प्रायोजित नागरिक नवीनता कार्यक्रममा विश्वभरिका २० जना नेतृत्वकर्ताहरू सहभागी थिए।
*मेरो भविष्यप्रतिको आशा अफगान मानिसहरूको जीवनलाई चकनाचुर बनाएको हिंसाको चक्र अन्त्य हुन्छ भन्ने हो।
शम्सिया हसानी
इरानसडक कलाकार
द्वन्द्वका कारण ध्वस्त अफगान सहरहरूमा रङ्ग भर्ने शम्सिया हसानी अफगानिस्तानकी प्रथम महिला भित्तेचित्र एवं सडक कलाकार हुन्। उनले देशका परित्यक्त र क्षतिग्रस्त भवनका भित्ताहरूमा आत्मविश्वास, शक्ति र आकाङ्क्षा झल्कने चित्रहरू बनाएकी छन्।
इरानमा जन्मिएकी उनका अभिभावक अफगान हुन्। हसानीले काबुलमै दृश्य कला अध्ययन गरेकी हुन्। काबुल विश्वविद्यालयमा अध्यापक समेत रहेकी उनले विश्वभरिका १५ भन्दा बढी देशमा भित्तेचित्र बनाएकी छिन्। फरेन पोलिसी म्यागजिनका उत्कृष्ट सय वैश्विक विचारकको सूचीमा उनको नाम पनि थियो। साथै पथप्रदर्शक महिलाहरूको जीवनकथा समेट्ने गुडनाइट स्टोरीज अफ रेबेल गर्लको दोस्रो संस्करणमा उनको कथा पनि समेटिएको थियो।
तालिबानको आक्रमणका बाबजुद उनले आफ्ना कलाहरूलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहिन्।
*पछिल्लो १५ वर्षमा जब म आफ्नो देशका लागि आशावादी भएँ तब परिस्थिति विकराल बनिदियो। अब त मैले उज्यालो अफगानिस्तानको आशा नै त्यागिसकेँ। निराश हुनुभन्दा आशा नै नराख्नु ठिक।
काबुल विश्वविद्यालयमा पशु चिकित्सा पढ्दा नसरीन हुसैनी ७५ जना विद्यार्थीमा दुई महिलामध्ये एक थिइन्। उनी इरानमा शरणार्थीका रूपमा हुर्किएकी थिइन्। तर शिक्षाका लागि अफगानिस्तान फर्किइन्। त्यहाँबाट ग्वाल्फ विश्वविद्यालयमा पशु स्वास्थ्य पढ्नका लागि छात्रवृत्ति प्राप्त गरिन् र क्यानडा गइन्।
हुसैनी हाल इम्यूनोलोजी प्रयोगशालामा काम गर्छिन् र खाली समय क्यानेडियन हजारा ह्युम्यानिटरियन सर्भिसेस नामक गैरसरकारी संस्थामा स्वयंसेवा गर्छिन्। संस्थामार्फत् हजारा समुदाय र अफगानिस्तानका अन्य सीमान्तकृत सदस्यहरूलाई क्यानडामा पुनर्वासका लागि सहयोग गर्छिन्।
उनले युवा कार्यक्रम बुकिजमा पनि सहकार्य गरेकी छिन्। बुकिजले अफगान बालबालिकामाझ पठन र कथा वाचन संस्कृतिको प्रवर्द्धन गर्छ।
*अफगान महिला तथा युवतीहरू आतङ्कित छन् र वर्तमान अवस्था निराशाजनक देखिन्छ। तर समस्यासँगै समाधान पनि हुन्छ। बब मार्लीले भनेजस्तै: बलियो हुनु तपाईँको एक मात्र विकल्प नभएसम्म तपाईँलाई आफू कति बलियो छु भन्ने थाहा हुँदैन।
मोमिना इब्राहिमी
अफगानिस्तानमहिला प्रहरी
मोमिना कर्बलायी नामले परिचित मोमिना इब्राहिमी प्रहरीको भर्ना भएको तीन वर्षपछि आफ्ना वरिष्ठ सहकर्मीबाट यौन दुर्व्यवहारमा परिन्। उनले आफ्नो भोगाइ र अफगान प्रहरीमा हुने यौन दुर्व्यवहारका आरोपबारे बोल्ने निधो गरिन्।
त्यसयता धम्कीका बीच उनले आफ्नै लागि र बलात्कार तथा यौन दुर्व्यवहार पीडितहरूको न्यायका लागि काम गर्दै आएकी हुन्। "मलाई लाग्यो कि कोही न कोही यसबारे बोल्नुपर्छ र त्यो कोही म पनि हुन सक्छु चाहे त्यसका लागि ज्यानकै बाजी किन थाप्न नपरोस्," बीबीसीसँग उनले भनिन्।
गत अगस्टमा तालिबानले सत्ता हातमा लिएपछि उद्धार गरी यूके पुर्याइएका हजारौँ अफगानमध्ये इब्राहिमी एक हुन्।
*म कामना गर्छु कि ती महिला जसले वर्षौँसम्म लडाइँ गरे, अध्ययन गरे, आफ्नो लागि जागिर रोजे, ती सबै काममा फर्कन पाउने छन् र मानिसविरुद्ध शक्तिको दुरुपयोग गर्नेहरूबाट मुक्ति पाउने छन्।
मुग्धा कालरा
भारतसह-संस्थापक, नट द्याट डिफरेन्ट
अटिजम स्पेक्ट्रम डिस्अर्डर भएकी मुग्धा कालरा अटिजम अधिकारकर्मी एवं १२ वर्षीय सन्तानकी आमा हुन्। उनी बाल नेतृत्व अभियान 'नट द्याट डिफरेन्ट'की सह-संस्थापक हुन् जुन व्यक्तिगत मस्तिष्कको व्यवहार र लक्षणको विविधता केन्द्रित छ। मुग्धाले एक किसिमको कमिकमार्फत् हरेक बालबालिकालाई अटिजम बुझ्न र उनीहरूलाई आफ्ना 'न्यूरोडाइभर्स' साथीहरूको सहयोगी बन्न मद्दत गर्न विशेष भूमिका निर्वाह गरेकी छिन्।
कालरा दुई दशकदेखि सञ्चारकर्मीकी रूपमा सक्रिय छिन्। उनी टेलिभिजन प्रस्तोता र वृत्तचित्र लेखिका हुन्। उनले विविधता र समावेशितासम्बन्धी प्रशिक्षण समेत दिन्छिन्।
उनी अन्तरक्रियात्मक प्रत्यक्ष पडकास्टिङ एप ब्याक स्टेजका लागि सामग्रीहरूबारे रणनीति बनाउँछिन्।
*महामारीले सात अर्ब मानिसलाई साझा वास्तविकतामा बाँच्न बाध्य तुल्याएको छ, सबै आफ्नो संसारमा एक्लो छन्, तर उनीहरू समान पीडाबाट एकअर्कासँग गाँसिएका छन्। म यस साझा अनुभवले मानिसहरूलाई एकअर्काप्रति समानुभूति राख्न प्रेरित गरोस् भन्ने चाहन्छु।
फ्रेश्ता करिम
अफगानिस्तानसंस्थापक, चर्माग्ज घुम्ती पुस्तकालय
थोत्रा बसहरूलाई पुस्तकालयमा परिणत गरेपछि काबुलस्थित चर्माग्ज नामक गैरनाफामूलक संस्थाले छिमेकी सहरको भ्रमण गर्यो। उनीहरू बालबालिकाका लागि पुस्तक सङ्कलन एवं अन्य कलात्मक गतिविधि गर्न पुगेका थिए।
अक्सफर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेपछि सन् २०१८ मा बाल अधिकारकर्मी फ्रेस्ता करिमले सो संस्था स्थापना गरेकी हुन्।
बाह्र वर्षको उमेरमा बाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेकी उनले अफगानिस्तानमा बाल अधिकारको अवस्थाबारे सामग्री बनाउथिन्। त्यसयता उनी बालबालिकाको क्षेत्रमा सक्रिय छिन्।
*म बालबालिकासँग काम गर्छु किनकि मलाई उनीहरू अफगानिस्तानको परम्परागत चक्र भत्काउनेहरू जस्तै लाग्छन्। उनीहरूले दमन र हिंसाको दुष्चक्र भङ्ग गरेर नयाँ कथ्य र नयाँ राजनीतिसहित घाउ ठिक पार्ने ठाउँ बनाउने छन्।
अमिना करिम्यान
अफगानिस्तानखगोलशास्त्री
हेरात टेक्निकल इन्स्टिच्युटकी सिभिल इन्जिनियर एवं प्रशिक्षक अमिना करिम्यान अफगानिस्तानमा खगोल विज्ञान विकासमा केन्द्रित हुने पहिला महिलाहरूमध्ये एक हुन्।
उनी सन् २०१८ मा स्थापित केहाना खगोलीय समूहकी संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत हुन्। संस्थाले युवाहरूलाई खगोलशास्त्रबारे सिक्न प्रेरित गर्छ।
सन् २०२१ को जुलाईमा करिम्यान र महिला खगोलशास्त्रीहरूको समूहले पोल्यान्डमा भएको खगोल विज्ञान र खगोल भौतिकी प्रतिस्पर्धामा वर्ल्ड एस्ट्रोनोमिकल युनियन अवार्ड जितेको थियो। उनीहरू ५० देशका २५५ प्रतिस्पर्धी समूहमध्ये प्रथम भएका थिए।
*तालिबानले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने भएकाले अब हामी सधैँभन्दा सशक्त ढङ्गमा एक हुनुपर्छ। त्यसैले केहाना खगोलीय समूह हरेक रात अनलाइनमा भेट्छौँ। मेरो एक मात्र आशा भनेको युवा पिँढीका लागि बाटो बनाइदिनु हो।
तालिबानले काबुलमाथि नियन्त्रण कायम गर्नुअघि आलिया काजिमीले मानव अधिकार र शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकी थिइन्। रेडक्रसमा तीन वर्ष उनले स्वयंसेवककी रूपमा काम गरिन्। व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनले सन् २०२० मा मिठाई तथा बेकरी पसल सञ्चालन गरिन्। उनले विश्वविद्यालयमा अध्यापन गरिन् र उनी लेक्चरर बन्न चाहन्थिन्।
सन् २०२१ मा तालिबानले कब्जा गरेपछि उनी अमेरिका गइन् र त्यहाँ विद्यावारिधि गर्ने योजना बनाइरहेकी छन्।
उनले बीबीसीका लागि एउटा पत्र पनि लेखेकी छन् जसमा उनले खासगरी पोसाक चयनमा महिलाहरूको स्वतन्त्रता हुनुपर्नेमा जोड दिएकी छन्।
*अफगानिस्तानका लागि मेरो एक मात्र आशा भनेको शान्ति हो। हामीलाई सबैभन्दा धेरै चाहिएको शान्ति नै हो।
यूकेनिर्देशक, इन्टर्न्याश्नल बार एशोसिएशन्स ह्युमन राइट इन्स्टिच्युट
स्कटिश वकिल हेलेना केनेडी महिला र अल्पसङ्ख्यकहरूको पक्षमा वकालत गर्छिन्। उनले ४० वर्षसम्म फौजदारी कानुनको क्षेत्रमा काम गरेकी छिन्। उनी निर्देशक रहेको संस्थाले हाल अफगानिस्तानमा रहेका महिलाहरूलाई जोखिममुक्त हुन सहयोग पुर्याइरहेको छ।
उनी केही वर्ष अक्सफर्ड विश्वविद्यालयस्थित मान्सफिल्ड कलेजकी प्रधानाध्यापक थिइन्। साथै अग्रणी बोनावेरो इन्स्टिच्युट अफ ह्युमन राइट्स स्थापनामा पनि उनी जिम्मेवार छिन्।
केनेडीले न्याय प्रणालीले कसरी महिलालाई असर गरेको छ भन्ने विषयमा विभिन्न पुस्तक प्रकाशित गरेकी छिन्। सन् १९९७ मा हाउस अफ लर्ड्समा लेबर दलको सदस्यको रूपमा मनोनित भएकी थिइन्।
*हाम्रो मुद्दाको प्रतिनिधित्व गर्ने वकिल र हाम्रा अधिकारहरूलाई न्याय गर्ने महिला वा पुरुष न्यायाधीश नभएसम्म मानव अधिकारको कुनै अर्थ छैन।
महिला अधिकारवादी हुदा खामुशले महिनावारीबारे खुला छलफललाई प्रवर्द्धन गर्ने उद्देश्यले "रजस्वला खुलेर छलफल गर्न नसकिने विषय होइन" भन्ने जनचेतनामूलक कार्यक्रम अफगान विद्यालयहरूमा चलाइन्।
विस्थापित आमाबुवाको सन्तानकी रूपमा इरानमा जन्मिएकी खामुश सानैमा अफगानिस्तान फर्किन्। उनले आफ्नो शिक्षामा र कट्टरपन्थी आफन्तहरूको धारणाविरुद्ध आमाको सहयोग पाइन्। कवयित्री र पत्रकार समेत रहेकी खामुश सन् २०१५ मा रेडिओ प्रस्तोता बनिन् र महिला विरुद्धका अन्यायको विरोधमा आवाज उठाइन्। साथै उनले आफ्ना गाउँका महिलाहरूका लागि शिक्षा कार्यक्रम सुरु गरिन्।
तालिबान सत्तामा आएयता उनले विद्यालय जान नपाइरहेका कक्षा ७ र सो माथिका कक्षाका छात्राहरूका लागि शैक्षिक सत्रहरू सञ्चालन गरिरहेकी छिन्।
*सबै अन्धकारकाबीच सन् २०२१ यस्तो वर्ष रह्यो जब महिलाहरू कोर्रा र बुलेटविरुद्ध उभिए र आफ्ना अधिकार खोसेका मानिसहरूविरुद्ध प्रत्यक्ष अगाडि आए। म यो वर्षलाई आशाको वर्ष भन्छु।
मिया कृष्ण प्रतिवी
इन्डोनेशियावातावरणविद्
यी वातावरण अभियानकर्मीले बाली टापुमा प्लास्टिक फोहोरको समस्यालाई सम्बोधन गर्न गैरनाफामूलक गृया लुहु नामक संस्थाबाट काम गरिरहेकी छन्। स्थानीय समुदायसँग मिलेर उनको संस्थाले डिजिटल फोहोर ब्याङ्क तयार गरेको छ। एपमा आधारित यो प्रणालीले फोहोर सङ्कलन, प्रशोधन र तथ्याङ्क सङ्कलनमार्फत् फोहोर व्यवस्थापनमा परिवर्तन ल्याउन सहयोग पुर्याउँदै आएको छ।
वातावरणीय इन्जिनियरिङमा डिग्री गरेकी उनले स्थानीय फोहोर ब्याङ्कको सञ्चालन व्यवस्थापकको रूपमा दैनिक कार्य सञ्चालन हेर्दै आएकी छन्।
उनी इन्डोनेशियाको डेन्पासर सहरको एक वातावरण एजेन्सीमा वातावरणीय विश्लेषक पनि हुन्।
*हाम्रो मातृ पृथ्वीको सन्तुलनलाई फेरि फर्काएर ल्याऊँ। प्रदूषणको कारक हामी भए पनि समाधान पनि हामी आफैँ बन्न सक्छौँ।
हेइडी जे लार्सन
अमेरिकानिर्देशक, दी भ्याक्सिन कन्फिडेन्स प्रोजेक्ट
मानवशास्त्रीसमेत रहेकी हेइडी लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा भ्याक्सिन कन्फिडेन्स प्रोजेक्टकी निर्देशक छिन्। उनले नेतृत्व गरेका अनुसन्धानहरू स्वास्थ्य क्षेत्रमा हस्तक्षेपका लागि राजनीतिक र सामाजिक तत्त्वहरूले पार्ने असरबारे केन्द्रित छन्। उनको प्राज्ञिक रुचि जोखिम र मिथ्या सूचना व्यवस्थापन एवं कसरी खोपहरूमा आमविश्वास जित्न सकिन्छ भन्नेमा छ।
उनी खोपसम्बन्धी मिथ्या सूचना कसरी सुरु भए र समाजमा किन रहिरहन्छन् भन्ने बारेको पुस्तक 'स्टक'की लेखिका पनि हुन्। गर्भावस्थामा खोपको स्वीकारोक्तिबारे गरिएको विश्व सर्वेक्षणकी उनी मुख्य अनुसन्धानकर्ता पनि हुन्।
डा. लार्सनको सङ्क्रमण बारेका मिथ्या सूचना बारेको कामले सन् २०२१ मा एडिनवर्ड मेडल पाएको थियो।
*पहिल्यै विभाजित विश्वमा महामारी अवतरण भयो। गहन विषयहरूमा हाम्रो विभाजनलाई कुनै पनि खोपले बचाउन सक्दैन। तर एक व्यक्ति र समाजको सानो या ठूलो नेताको रूपमा गरिने कामहरूले विश्वलाई पुनसंरचना गर्न अवश्य सक्छ।
इमान ले केअर
इजिप्टसंस्थापक, ट्रान्स एसिलियस
इमान ले केअर काइरो ओपेराकी सामयिक नृत्याङ्गना एवं नृत्य निर्देशक हुन्। लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण प्रहरीले गर्ने कारबाहीबीच इजिप्ट छोडेर उनी भाग्नु परेको थियो। उनी सन् २००८ मा अमेरिका गएकी हुन्। त्यहाँ उनलाई शरण दिइएको हो। हाल उनी न्यूयोर्कमा बस्छिन्। त्यहाँ उनी चित्रकार, कलाकार, नृत्याङ्गना र लैङ्गिक अल्पसङ्ख्यक अभियनकर्मीकी रूपमा सक्रिय छिन्।
ले केयर ट्रान्स एमिग्रेट्सको संस्थापक सदस्य र अरबी सम्बन्ध व्यवस्थापक हुन्। ट्रान्स एमिग्रेट्स युरोपेली संस्था हो जसले समलिङ्गीहरूलाई सुरक्षित देशहरूमा स्थानान्तरण गर्छ।
अन्तर्राष्ट्रिय लैङ्गिक अल्पसङ्ख्यक दिवस मार्च २०२१ मा ले केअरले आफ्नै संस्था ट्रान्स एसिलियस स्थापना गरिन्। उक्त संस्थाको उद्देश्य शरण खोज्ने समलिङ्गीहरूलाई लैङ्गिक अल्पसङ्ख्यक क्षेत्रमा पुर्याउनु हो।
*महामारीले समलिङ्गीहरूलाई झनै असुरक्षित बनाएको छ। उनीहरू अपमानजनक परिवारहरूसँग बस्न बाध्य भएका छन्। विश्व नै ठप्प रहँदा उनीहरूले सहयोग माग्दै गरेको आग्रह निकै पीडादायी रह्यो। अब सबै मिलेर उनीहरूलाई बचाउनु पर्छ र उनीहरूलाई ठिक हुन सहयोग पुर्याउनुपर्छ।
डढेलो नियन्त्रणका लागि मौरीपालनलाई रणनीतिको रूपमा प्रयोग गर्दै लीकेकीले स्थापना गरेको संस्थाले २,००० मौरीपालक किसानलाई मह उत्पादन, गुण नियन्त्रण र मौरीको मैन निकाल्न तालिम दिएको छ। उनीहरूले वनविनाश रोक्न ८६,००० मौरीले मन पराउने रूखहरू पनि रोपेका छन्।
लीकेकी क्यामरुन जेन्डर एण्ड इन्भायरमेन्ट वाचकी संस्थापक सदस्य पनि हुन्। जसले देशको वातावरणीय समस्याहरूको समाधानमा लैङ्गिकमैत्री उपायहरू खोजी गर्छ। जलवायु अभियानकर्मी भएकाले उनका कामहरू महिला सशक्तीकरण र प्राकृतिक स्रोत व्यवस्थापनमा समावेशितामा केन्द्रित छन्।
उनी किलुम लिम वन क्षेत्रजस्ता २०,००० हेक्टरसम्मका वनहरू समुदायव्यापी प्रयासहरूबाट संरक्षण गर्न सकिने विश्वास गर्छिन्।
*म यस्तो विश्व चाहन्छु जहाँ वनजङ्गल संरक्षण र जीविकोपार्जनका पहलहरूमा महिलाहरूको पर्यावरणीय र सामाजिक-आर्थिक अधिकारहरूलाई पूर्ण ध्यान दिइयोस्।
एलिसा लनकेन एन्टिलेओ
चिलेसभापति, कस्टिच्युसनल कन्भेन्सन
प्राज्ञिक, भाषाविद् र शिक्षिका एलिसा लनकेन सन् २०२१ मा चिलेको नयाँ संविधान लेख्न छानिएका स्थानीय जनताका १७ प्रतिनिधिमध्ये एक थिइन्। कस्टिच्युसनल कन्भेन्सनको नेतृत्व गरिरहेकी उनी आदिवासी चिलेवासीहरूको तर्फबाट देशको प्रतिनिधित्व गर्दै सार्वजनिक पद धारण गर्ने पहिलो महिला पनि हुन्।
लनकेेन उनको देशको सबैभन्दा ठूलो आदिवासी समुदाय मपुचेबाट प्रतिनिधित्व गर्छिन्। उनले बहुराष्ट्रिय राज्यको वकालत गरिरहेकी छन् जसले आदिवासी समुदायहरूलाई स्वायत्तताको अधिकार दिनुका साथै उनीहरूको संस्कृति र भाषालाई मान्यता दिन्छ।
गरिबी र जातीय भेदभावबीच हुर्किएकी उनले मानविकी सङ्कायमा विद्यावारिधि गरेकी छन् र अहिले उनी सान्टिआगो विश्वविद्यालयमा प्राध्यापक छिन्।
*महामारीमा हरेक दिन मृत्युलाई नजिकबाट हेरेपछि मानव र गैरमानव जातिलाई समान अधिकारको सुनिश्चितता हुन अपरिहार्य भएको छ। हाम्रो जीवन पानी, वन जङ्गलदेखि मौरी र कमिलासम्म पृथ्वी माताबाट पाइने स्रोतहरूमा निर्भर छ।
क्लोए लोपेज गोमेज
फ्रान्सबाले नर्तकी
कम्पनीले अनुबन्ध गरेको प्रथम अश्वेत बाले नर्तकी भए पनि क्लोएले सन् २०१८ मा प्रख्यात स्टास्ट्स बाले बर्लिनमा प्रस्तुतिको अवसर पाइन्। मस्कोको बोलसोइ अक्याडमीकी पूर्वविद्यार्थी समेत रहेकी यी नर्तकीले त्यहाँ रङ्गभेदको सामना गर्नुपर्यो। त्यसपछि उनले उनकै भनाइमा बन्द र बाले क्षेत्रमा हुने कुलीनहरूको विभेदकारी अभ्यासहरूको निन्दा सुरु गरिन्।
उनले सार्वजनिक रूपमा रङ्गभेदको आरोप लगाएपछि धेरै काला र मिश्रित वर्णका बाले नर्तकीहरूले उनलाई समर्थन गरे।
स्टाट्स बालेले उनीसँगको करार नवीकरण नगरेपछि लोपेस गोमेजले सन् २०२० मा कानुनी लडाइँ सुरु गरिन्। परिणामस्वरूप कम्पनीले आफ्ना कर्मचारीमाथि जातीय विभेदको अनुसन्धान सुरु गर्यो र उनीसँग माफी माग्यो। उनलाई क्षतिपूर्ति दिएर अदालती प्रक्रियाबाहिरै उनीसँग सहमति गर्यो।
*दुर्भाग्यवश यो संसारमा हामी सबै समान भएर जन्मँदैनौँ र हामी सफल हुने अवसर हाम्रो जात र सामाजिक अवस्थामा निर्भर रहन्छ। म यस्तो संसारमा बस्न चाहन्छु जहाँ सबैलाई आफ्नो पूर्ण सम्भावना भएको ठाउँसम्म पुग्ने अवसर मिलोस्।
माहिरा
अफगानिस्तानचिकित्सक
डा. माहिरा आफूले काम गर्ने स्त्रीरोगसम्बन्धी अस्पतालमा बिरामी हेर्दै व्यस्त छिन्।
तालिबानले नियन्त्रण कायम गरेपछि स्वास्थ्य सेवा रोकिएका जिल्लाहरूमा अग्रपङ्क्तिको सेवा दिन र आवश्यक परेका बिरामीलाई परामर्श दिनका लागि अब उनले यात्रा गर्नुपर्नेछ।
यसअघि उनले लैङ्गिक हिंसाका पीडितहरूको हकका लागि काम गरेकी थिइन्। तर तालिबान सत्तामा आएपछि त्यो काम रोकियो।
*हुन त अहिले कमै आशा होला। तर अहिलेका अफगान महिलाहरू २० वर्षअघिका महिला होइनन् र उनीहरूले आफ्नो अधिकारको रक्षा गर्न सक्छन्। मेरो मुख्य चासो भनेको बालिकाहरूका लागि विद्यालयहरू पो बन्द रहने भए।
मराल
अफगानिस्तानअभियानकर्मी
मरालको परिवारले उनी महिला अधिकारसम्बन्धी अभियानमा लागून् अथवा नागरिक समूहको हिस्सा बनून् भनेर चाहेन। महिला भएर उनी बाहिर गई काम गरून् भनेर पनि उनको परिवारले चाहेन। तर उनले गरेरै छाडिन्।
सन् २००४ यता मरालले स्थानीय महिलाहरूलाई उनीहरूको अधिकारबारे बुझ्न, काममा जान र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्दै आएकी छन्।
घरेलु हिंसाबाट ज्यान जोगिएका महिलाका लागि पनि उनी काम गर्छिन् ताकि उनीहरूले आश्रय पाउने सुनिश्चित होस् र न्याय पनि पाऊन्।
*मलाई लाग्यो हामीले सबै कुरा गुमायौँ अनि निराश भएँ। तर हामीले गरेका सबै कुरा सम्झेपछि मैले हिम्मत पाएँ र आफ्नो कामलाई जारी राखेँ। म हार मान्दिनँ-भविष्य उनीहरूकै हुनेछ जो शान्ति र मानवता चाहन्छन्।
मासुमा
अफगानिस्तानसरकारी वकिल
अफगानिस्तानमा महिला सरकारी वकिलको रूपमा मासुमाले प्रमाणहरू जुटाउने र मुद्दाहरू तयार गर्ने काम गरेकी छन्। कानुन पढेकी यिनी विगत २० वर्षमा शिक्षित भएका महिलामध्ये एक हुन्। अफगान नागरिकका लागि र महान्यायाधिवक्ताको कार्यालयमा पाँच वर्ष काम गरेकोमा उनलाई गर्व छ।
तालिबानले गत अगस्टमा नियन्त्रण कायम गरेपछि कुख्यात अपराधी र इस्लामवादी लडाकुसहित हजारौँ कैदीलाई रिहा गरे। तालिबानले सरकारी कर्मचारीहरूलाई आममाफी दिएको घोषणा गरे पनि गैरन्यायिक हत्याहरू तथा अपहरणहरू गरिएका विवरणहरू पाएको अन्तर्राष्ट्रिय अधिकारवादी समूहहरूले बताएका छन्।
मौसमा अहिले लुकेर बसेकी छन् र भविष्यमा के हुन्छ भन्नेबारे उनलाई कुनै भेउ छैन।
*विश्वको आधा जनसङ्ख्या महिला तथा बालिकाको रहेको छ। यदि अवसर दिने हो भने उनीहरूले नागरिक र देशका लागि पुरुषले जस्तै सेवा दिन सक्छन्।
फास्ट पार्टीकी नेता माटाफा सामोआकी प्रथम महिला प्रधानमन्त्री हुन। उनी २७ वर्षकी हुँदा राजनीतिमा प्रवेश गरेकी थिइन्। यसअघि उनले उपप्रधानमन्त्री, महिला, समुदाय र सामाजिक विकासमन्त्री र न्यायमन्त्री भएर काम गरिसकेकी छन्।
उनी महत्त्वपूर्ण प्रमुख पदमा पुगेकी महिला भएका कारण समोआका महिलाहरूलाई राजनीतिमा संलग्न हुने प्रेरणा पनि हुन्।
उनले उठाउने मुद्दाहरू वातावरणमा केन्द्रित हुन्छन्। जलवायु परिवर्तनको जोखिम रहेका क्षेत्रमा जलवायु सङ्कटकाल सामना गर्नेबारे उनले आवाज उठाउँदै आएकी छन्।
*एकता भए हाम्रो भावी पुस्ताको आशा रहन्छ।
सम्बन्धित लेखहरू
सलिमा मजारी
इरानराजनीतिज्ञ तथा जिल्ला पूर्वगभर्नर
अफगानिस्तानका मात्र तीन महिला जिल्ला गभर्नरमध्ये एक सलिमा मजारी सरकार समर्थित लडाकुसँग मिलेर तालिबानविरुद्ध अग्रपङ्क्तिमा लडेकोमा यो वर्ष सञ्चारमाध्यममा चर्चित बनेकी थिइन्।
अफगाानिस्तान फर्कनुअघि शरणार्थीकी रूपमा उनले इरानमा अध्ययन पूरा गरिन्। सन् २०१८ मा उनी बाल्ख प्रान्तमा पर्न चर्किन्त जिल्लाकी गभर्नर बनिन् जहाँ उनले १०० जनाभन्दा बढी तालिबान लडाकुको आत्मसमर्पणका लागि वार्ता गरिन्। सन् २०२१ मा तालिबानले काबुलमाथि कब्जा नगरेसम्म उनको जिल्लाले कडा प्रतिरोध गरेको थियो। तालिबानले कब्जा गर्न नसकेका केही जिल्लामध्ये उनको जिल्ला पनि एक थियो।
उनी समातिएको ठानिएको थियो। तर उनी भाग्न सफल भइन् र अहिले अमेरिकामा पुनर्वासको पर्खाइमा छिन्।
*मलाई आशा छ त्यो दिन आउनेछ जब एउटी महिला, एउटी हाजरा, एउटी शिआ, एउटी पर्सिअन भाषी- जुन कुरा मेरा पहिचान हुन्- हुनु मेरो देशमा अपराध ठहरिने छैन।
दिपेल्सा थोमस म्याग्रुडर
अमेरिकासंस्थापक, मम्स अफ ब्लाक ब्वाइज युनाइटेड
अमेरिकामा रहेका अश्वेत आमाहरूबीच सहकार्य गर्ने र उनीहरूलाई एक ठाउँमा ल्याउन उनले पहल गरेकी दिपेल्सा थोमस म्याग्रुडर राष्ट्रव्यापी 'मम्स अफ ब्लाक ब्वाइज युनाइटेड' र 'युनाइटेड फर सोसल चेन्ज'की संस्थापक सभापति पनि हुन्। यो संस्था अश्वेत मानिसहरूलाई कानुन कार्यान्वयन निकायहरूले समाजमा गर्ने व्यवहारबारे नीति तथा दृष्टिकोणहरू परिवर्तन गर्न केन्द्रित छ।
फोर्ड फाउन्डेसनकी प्रमुख सञ्चालन अधिकृत र कोषाध्यक्ष पनि रहेकी उनले यसको विश्वव्यापी सञ्चालन र वित्त हेर्दै आएकी छन्।
यसअघि म्याग्रुडरले सञ्चारमाध्यम र मनोरञ्जन व्यवसायमा २० वर्ष खर्चिएकी छन्। उनले प्रसारण पत्रकारका साथै एमटीभी र ब्ल्याक एन्टरटेनमेन्ट टेलिभिजनमा नेतृत्वदायी पदमा समेत काम गरेकी थिइन्।
*यो महामारीबाट पार पाउँदा यो संसार थप दयालु हुनेछ भन्ने मेरो आशा छ। मानिसहरू हामी एकअर्कामा कसरी अन्तरनिर्भर छौँ भन्ने महसुस गर्नेछन् र अरू मानिसका पीडा र चुनौतीबारे थप संवेदनशील बन्नेछन्।
मुलु मेफसिन
इथियोपियानर्स
नर्स पेसामा १० वर्षभन्दा बढी काम गरिसकेकी मुलु मेफसिन हाल इथियोपियाको टिग्रे क्षेत्रस्थित द्वन्द्वग्रस्त क्षेत्रीय राजधानी मेकेलमा वन स्टप सेन्टरमा कार्यरत छिन्। यो कार्यालयले यौन दुर्व्यवहार र हिंसाका पीडितहरूलाई औषधि उपचार, मनोपरामर्श र कानुनी सेवा प्रदान गर्दै आइरहेको छ।
टिग्रे क्षेत्रमा सन् २०२० यता जारी गृहयुद्धमा थप बढ्दै गएको बालिका र महिलाहरूमाथि हुने हिंसा अन्त्यका लागि मेफसिनले तीन वर्ष अघिबाटै सुरु अभियानलाई निरन्तरता दिइरहेकी छन्।
आफैँ आघातको समस्या खेपिरहे पनि मेफसिनले एक दिन शान्ति पुनःस्थापित हुने आशामा आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन्।
*म सबै प्रकारका द्वन्द्वहरू अन्त्य हुने गरी विश्वलाई पुनर्संरचना गर्न चाहन्छु। जहाँ देशहरूले हतियार खरिदका लागि वार्ताहरू गर्नुको साटो शान्तिका लागि प्रयत्न गरून् र बालिका र महिलाहरूका बलात्कारीलाई सजाय गर्ने कानुनहरूको कार्यान्वयन होस्।
मोहदीज मिर्जाई
अफगानिस्तानविमानचालक
अफगानिस्तानकी प्रथम व्यावसायिक महिला पाइलट मोहदीज मिर्जाईले यसै वर्षको सुरुतिर आफ्नो देशमा काम एअर बोइङ ७३७ को ऐतिहासिक उडानको नेतृत्व गरिन् जसमा चालक दलका सबै सदस्य महिला थिए। सन् २०२० को सेप्टेम्बरमा व्यावसायिक पाइलट भएयता उनले अफगानिस्तानबाट टर्की, साउदी अरब र भारतसम्म विमान उडाएकी छन्।
तालिबान लडाकुहरू काबुलमा प्रवेश गर्दा मिर्जाईले विमानस्थलमा उडानको तयारी गरिरहेकी थिइन् जुन उडान हुनै सकेन। देश छोडेर उनी पनि यात्रीको रूपमा उडिन्। मिर्जाई भन्छिन्, उनी समाजमा "समानताका लागि उभिन चाहन्छिन् जहाँ महिला र पुरुष काँधमा काँधमा मिलाएर काम गर्न सकून्"।
उनी आफू छिटै उड्न पाउनेमा आशावादी छिन्।
*नपर्खिनूस्! तपाईँ आफैँले दह्रो खुट्टा टेक्नुभएन भने कोही आएर तपाईँलाई सहयोग गर्दैन। म आफ्नो लागि लडेँ, तपाईँ आफ्नो लागि लड्नुहुनेछ र हामी एकसाथ अगाडि बढेमा रोकिनेछैनौँ।
फहिमा मिरजाई
अफगानिस्ताननर्तकी
अफगानिस्तानकी एक मात्र दर्विश नर्तकी हुन् फहिमा मिरजाई। दर्विश नृत्य इस्लामिक सुफी परम्परा अन्तर्गतको सभा समारोहमा गरिने नृत्य हो। फहिमाले लैङ्गिक समावेशितासहित सुफी नृत्य र कला प्रदर्शन गर्ने समूह शोहुद कल्चरल एन्ड मिस्टिकल संस्था सुरु गरिन्।
उनका लागि नृत्य समावेशितालाई निषेध गर्ने अति परम्परागत र धार्मिक समाजमा आफ्नो लागि ठाउँ बनाउने माध्यम हो। उनी देशभरि कार्यक्रमहरू आयोजना गरी अफगानिस्तानमा सहिष्णुताको सन्देश प्रवाह गर्न चाहन्छिन्।
सन् २०२१ मा तालिबानले सुफी दर्विश नृत्यलाई इस्लामिक कानुनविरुद्ध भएको घोषणा गरेपछि उनी देश छोड्न बाध्य भइन्।
*म आफ्नो अध्यात्म अगाडि राख्न चाहन्छु: हामीले आफूभित्रै शान्ति खोज्न आवश्यक छ र हरेक मानिस भित्रको शान्तिले नै विश्वलाई शान्त बनाउने छ।
दक्षिण अफ्रिकासंयुक्त राष्ट्रसङ्घकी स्वास्थ्य अधिकारसम्बन्धी विशेष प्रतिनिधि
स्नेहपूर्वक डाक्टर टी भनेर चिनिने उनी चिकित्सक र महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अधिकारका लागि काम गर्ने अभियानकर्मी हुन्। उनले विश्वव्यापी स्वास्थ्यमा पहुँच, एचआईभी हेरचाह र परिवार नियोजन सेवाको पक्षमा वकालत गर्ने गरेकी छन्।
उनी अहिले शारीरिक र मानसिक स्वास्थ्यका लागि संयुक्त राष्ट्रसङ्घकी विशेष दूत छिन्। उनी यो पदमा पुग्ने पहिलो महिला र पहिलो अफ्रिकी हुनुका साथै सबैभन्दा कम उमेरमा यो पदमा पुग्ने मध्येकी एक हुन्। धेरै विक्री भएको पुस्तक 'डाक्टर टी: ए गाइड टु सेक्सुअल हेल्थ एन्ड प्लेजर'की उनी लेखिका पनि हुन्।
उनी बिल एन्ड मेलिन्डा गेट्स इन्स्टिच्युट फर पपुलेसन एण्ड रिप्रोडक्टिभ हेल्थले परिवार नियोजनका क्षेत्रमा काम गर्ने अभियानकर्मीहरूलाई दिइएको '१२० अन्डर ४०' पुरस्कारको सन् २०१६ की विजेता पनि हुन्।
*स्वहेरचाह र समुदायको माया गरेर म विश्वलाई पुनर्संरचना गर्न चाहन्छु।
तान्या मुजिन्डा
जिम्बावेमोटोक्रस खेलाडी
पुरुषहरूको बाहुल्य रहेको अफरोड मोटरसाइकल दौड 'मोटोक्रस'मा प्रवेश गरेकी तान्या मुजिन्डा उनको देशकै अफरोड सर्किट च्याम्पिअन बनिन्। उनी सन् १९९७ मा मोटोक्रस च्याम्पियनशीप सुरु भएयता यसको उपाधि जित्ने जिम्बावेकी प्रथम महिला हुन्।
पूर्वबाइकर बुवाबाट प्रभावित उनले पाँच वर्षको उमेरमै तालिम सुरु गरेकी थिइन्। अहिले १७ वर्ष पुगेकी मुजिन्डा विमिन्स मोटोक्रस विश्व च्याम्पियनशीप जित्ने पहिलो दक्षिण अफ्रिकी महिला बन्न चाहन्छिन्। सन् २०१८ मा उनी अफ्रिकन युनियनबाट वर्वको जुनिअर स्पोर्ट्सविमिन घोषित भएकी थिइन्।
उनले मोटोक्रसबाट आएको आम्दानी विभिन्न परोपकारी काममा लगाउने गरेकी छन्। उनले हरारेमा विद्यालय पठाउनका लागि करिब १०० विद्यार्थीहरूको शुल्क तिरिरहेकी छन्।
*म विश्वलाई पुनर्संरचना गरिरहन चाहन्नँ। यो कहिल्यै ठिकठाक थिएन। सधैँ केही राम्रो र केही नराम्रो थियो। अहिलेका सबै समस्याको हामी समाधान गरौँ जसले गर्दा भावी पुस्ताले हामीले सङ्घर्ष गरिरहेका विषयमा फेरि सङ्घर्ष गरिरहन नपरोस्।
उनी निकै प्रशंसा कमाएकी नाइजिरियन लेखिका र नारीवादी प्रेरणा हुन्। उनका कृतिहरू ३० भन्दा बढी भाषामा अनुवाद भइसकेका छन्। सञ्चार र राजनीतिशास्त्रमा डिग्री हासिल गर्न उनी १९ वर्षको उमेरमा अमेरिका गएकी थिइन्।
उनको पहिलो उपन्यास 'पर्पल हिविस्कस'ले सन् २००३ मा कमनवेल्थ राइटर्स पुरस्कार जित्यो। सन् २०१३ मा उनको उपन्यास न्यूयोर्क टाइम्सको शीर्ष १० पुस्तकमा छानिएको थियो।
सन् २०१२ मा हामी सबै किन नारीवादी बन्नुपर्छ भन्ने उनको टेडटकले विश्वस्तरमै नारीवादबारे बहस जन्मायो। सन् २०१४ मा त्यसको पुस्तकसमेत प्रकाशित भएको थियो। आफ्ना पिताको अचानक निधन भएपछि उनले हालै 'नोट्स अन ग्रिफ २०२१' लेखेकी छन्।
*यो क्षणलाई हामीले विश्वका जुनसुकै ठाउँमा पनि स्वास्थ्य हेरचाह मानव अधिकार हो भनेर सोच्न सुरु गर्ने समयका रूपका प्रयोग गरौँ। यो मानिसले खर्च गर्ने क्षमताका आधारमा नभई जीवित भएका आधारमा पाउनुपर्छ।
सम्बन्धित लेखहरू
लिन एनगुगी
केन्यापत्रकार
विभिन्न पुरस्कार विजेता सर्जक लिन एन्गुगी डिजिटल समाचार माध्यम 'टुको'मा प्रेरणादायी मानवीय अभिरुचिका बृहत् समाचारहरूका कारण परिचित छिन्।
उनको जागिर क्यान्सर बिरामीहरूको हेरचाह गर्ने स्वयंसेवकको रूपमा सुरु भयो र सन् २०११ मा उनले किवो फिल्मस्मा काम गरेर सञ्चारमाध्यममा कार्य सुरु गरिन्। पछि उनले कतार फाउन्डेसनमा पनि काम गरिन्। उनी सोसल मिडिया इन्फ्लुन्सर र प्रसिद्ध सञ्चारकर्मी पनि हुन्।
उनी सन् २०२० मा 'ह्युमेनिटेरियन जर्नलिस्ट अवार्ड' र यो वर्षको 'आई चेन्ज नेशन्स कम्युनिटी एम्बेसडर अवार्ड' विजेता हुन्।
*म विश्वलाई यसरी पुनर्संरचना गर्न चाहन्छु कि जहाँ सबैजना सुरक्षित महसुस गर्न सकून्।
अमान्डा नुएन
अमेरिकासामाजिक उद्यमी
उनी यौन हिंसा र बलात्कार पीडितहरूलाई संरक्षण गर्ने संस्था 'राइज'की प्रमुख कार्यकारी अधिकृत हुन्।
उनी सन् २०१३ मा हार्वर्ड विश्वविद्यालयमा पढ्दै गर्दा बलात्कारको सिकार भएकी थिइन्। उनलाई छ महिनाभित्र प्रमाणहरू नष्ट नहुँदै जाहेरी दिन भनिएपछि नागरिक अधिकार अभियानकर्मी र सामाजिक उद्यमी अमान्दाले राइज स्थापना गरेकी हुन्। उनले बलात्कार पीडितहरूको प्रमाण संरक्षण गर्ने अधिकार सुरक्षित गर्ने यौन हिंसा पीडितहरूको अधिकार ऐनको मस्यौदा तयार गर्न सहयोग समेत गरेकी छन्।
सन् २०२१ मा अमेरिकामा एशियाली मूलका मानिसहरूमाथि घृणा गरिने अपराधबारे उनको भिडिओ भाइरल बन्यो। उनको भिडिओ एशियालीहरूमाथि घृणा रोक्न चालिएको अभियानमा निर्णायक पनि भयो।
*हामी एक ठाउँ हुने हो भने कोही पनि शक्तिहीन छैन। हामीले देखिने गरी माग उठाउँदा कोही पनि नदेखिने हुँदैन।
बसिरा पैगाम
अफगानिस्तानलैङ्गिक अल्पसङ्ख्यक अभियानकर्मी
समलिङ्गी र लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको क्षेत्रमा काम गर्न अफगानिस्तानमा निकै गाह्रो छ। तर चुनौतीबीच बसिरा पैगामले विगत आठ वर्षदेखि लैङ्गिक समानता र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि काम गर्दै आएकी छन्।
उनी लैङ्गिक तथा यौनिक विषयमा आफ्ना सहकर्मीहरूसँग मिलेर कार्यशाला आयोजना गर्छिन् परामर्श दिनुका साथै हिंसाबाट पीडित त्यस्ता व्यक्तिका उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँछन्। आत्महत्याको जोखिममा भएका लैङ्गिक अल्पसङ्ख्यकका लागि मनोचिकित्सा उपचारमा पहुँच होस् भनेर पनि उनी काम गर्छिन्।
हाल आयरल्यान्डमा बसिरहेकी बसिरा पैगामले अफगानिस्तानको समलिङ्गी र लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र उनीहरूको मानव अधिकार एवं स्वतन्त्रताका लागि काम गर्न जारी राखेकी छन्।
*अफगानिस्तानका मानिसहरू उकुसमुकुस छन्। उनीहरूलाई श्वास फेर्न दिऔँ। उनीहरूले तब मात्र श्वास फेर्न पाउँछन् जब फरक धर्म, लिङ्ग र जातिका मानिसहरू स्वतन्त्र र खुसीसाथ जिउन पाउँछन्।
नतालिया पास्टरनाक टास्नर
ब्रजिलसूक्ष्मजीव विज्ञ र विज्ञान सञ्चारकर्मी
उनले कोभिड-१९ महामारीको समयमा उनको अखबार स्तम्भ, रेडिओ र टेलिभिजन कार्यक्रममार्फत् महत्त्वपूर्ण र जीवनरक्षा गर्ने सूचना ब्रजिलका लाखौँ जनतामाझ पुर्याइन्।
साओ पाउलो विश्वविद्यालयबाट जीवाणुहरूको अनुवंशिकी अध्ययनमा विद्यावारिधि गरेकी नतालिया विज्ञान लेखिका र सूक्ष्म जीवविज्ञ पनि हुन्। उनले गरेका कामको गुणस्तरका कारण उनले विश्वका प्रख्यात न्युरो वैज्ञानिक र विज्ञान लेखक स्टुआर्ट फायरस्टेनबाट न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा निमन्त्रणा पाइन्।
पास्टरनाक क्वैसन अफ साइन्स इन्स्टिच्युटकी संस्थापक र वर्तमान अध्यक्ष पनि हुन्। गैरनाफामूलक यो संस्थाले सार्वजनिक नीतिहरूमा वैज्ञानिक प्रमाणहरू जुटाउन मद्दत गर्छ।
*अति शक्तिशाली सरकारले मानिसहरूलाई के सम्म गर्न सक्छ भन्ने मलाई राम्रोसँग थाहा छ। ब्रजिलमा महामारीका समयमा विज्ञानका पक्षमा बोल्नु नागरिकहरूलाई बचाउनु पनि थियो।
मोनिका पउलस
पपुआ न्यूगिनीबोक्सीप्रथा विरोधी अभियानकर्मी
बोक्सीप्रथा र सम्बन्धित हिंसाका पीडितहरूलाई सहयोग गर्न मानव अधिकारकर्मी पाउलसले हाइल्याण्डस् विमिन ह्युमन राइट डिफेन्डर नेटवर्क सह-स्थापना गरिन्। उनको संस्थाले बोक्सीको आरोप लागेका महिलाहरूलाई आश्रय दिनुका साथै उनीहरूको समस्याबारे संयुक्त राष्ट्रसङ्घ र अरू अन्तर्राष्ट्रिय संस्थाहरूलाई जानकारी गराउने काम गर्छ।
उनीहरूको प्रयासपछि पपुआ न्यूगिनीको सरकार बोक्सी आरोपसम्बन्धी हिंसा हेर्ने समिति गठन गर्न बाध्य गरायो।
सन् २०१५ मा पाउलस राष्ट्रसङ्घको 'विमिन अफ एचिभ्मेन्ट' मा छानिइन् र उनको साहसले 'पपुआ न्यूगिनी अवार्ड फर विमिन' प्राप्त गर्यो। एमनेस्टी इन्टर्न्याश्नलले उनलाई विश्वकै साहसी महिला भनेको छ।
*हाम्रो सोच फेर्नुपर्छ र हामी सबै मानव जाति हौँ भन्ने कुरा सम्झनुपर्छ। लिङ्गले हामीलाई कहिल्यै अघि बढ्नबाट रोक्नु हुँदैन र हामीविरुद्ध यो प्रयोग हुनु हुँदैन।
आप्रवासन र देवानी कानुनका विज्ञ रिहाना पोपालले अफगान दोभाषे, अनुवादक र अफगानिस्तानबाट ब्रिटेन बाहिरिएपछि बाँकी रहेका अन्य सहयोगीलाई सघाउने क्षेत्रमा काम गर्दै आएकी छन्।
इङ्ग्ल्यान्ड र वेल्समा पोपालले प्रथम अफगान ब्यारिस्टरकी रूपमा अभ्यास गरेकी छन्। पाँच वर्षकी उमेरमा उनी शरणार्थीको रूपमा यूके पुगेकी थिइन्। अन्तर्राष्ट्रिय राजनीति र कानुन पढेकी उनी हाल मानव अधिकार ब्यारिस्टरकी रूपमा कार्यरत छिन्।
सन् २०१९ मा उनी कानुनको क्षेत्रमा प्रेरणादायी महिलालाई दिइने पुरस्कारका लागि ब्यारिस्टर अफ दि इयर बनेकी थिइन्।
*मलाई आशा छ भविष्यमा अफगानिस्तानमा महिला तथा बालिकाहरूले पढ्न पाउने, जागिर गर्न पाउने र त्रासबिना बाँच्न पाउने स्वतन्त्रता पाउनेछन्।
सम्बन्धित लेखहरू
मञ्जुला प्रदीप
भारतमानवअधिकार अभियानकर्मी
उनी भारतको सबैभन्दा पिछडिएको समुदायकी वकिल र मानव अधिकारकर्मी हुन्। गुजरातको दलित समुदायकी मञ्जुला जात र लिङ्गका आधारमा हुने भेदभाव विरुद्धको कामले परिचित छिन्। यसअघि अछुत भनिने भारतका दलितहरूको सबैभन्दा ठूलो संस्था नभसर्जन ट्रस्टको कार्यकारी निर्देशक भएर उनले काम गरेकी छन्।
यस वर्ष मात्रै उनले 'न्याश्नल काउन्सिल फर विमिन लिडर्स' सह-स्थापना गरिन्। उनले 'वाइज एक्ट अफ युथ भिजनिङ एन्ड इन्गेजमेन्ट' पनि स्थापना गरेकी छन् जसले देशका सीमान्तकृत युवाहरूलाई सशक्तीकरणको लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धतासम्बन्धी सञ्जालकी सदस्य पनि रहेकी उनले संयुक्त राष्ट्रसङ्घको जातिभेदसम्बन्धी सभामा सम्बोधन समेत गरेकी छन्।
*म यो संसार दया र मायाले परिपूर्ण हुनेगरी पुनर्संरचना होस् भन्ने चाहन्छु। जहाँ सीमान्तकृत समुदायका महिलाले शान्तिपूर्ण र न्यायसङ्गत समाजको मार्गदर्शनमा नेतृत्व लिन सकून्।
रज्मा
अफगानिस्तानसङ्गीतकार
एक दक्ष सङ्गीतकारकी रूपमा रहेकी रज्मा प्रायः पुरुषले बजाउने सङ्गीतको साधन बजाउँछिन्। सङ्गीत र कलामा स्नातक उनी साङ्गीतिक पृष्ठभूमि भएको परिवारकी हुन्। उनले अफगानिस्तान र विदेशमा चर्चित कलाकारहरूसँग प्रस्तुति दिएकी छन्।
सङ्गीतमार्फत् अफगानिस्तानको एउटा नयाँ आयाम देखाउने उनको आशा थियो। तर अब अफगान महिलाका लागि "अँध्यारो वर्ष" देखिएको उनको बुझाइ छ। सङ्गीतकार भएर गाउन वा बजाउन नपाउनु साँच्चिकै पीडाको विषय हो।
विगतमा सन् १९९६ देखि २००१ सम्म तालिबानले सत्ता चलाउँदा गीत र सङ्गीतमाथि प्रतिबन्ध लगाइएको थियो। रज्मालाई लाग्छ अब इतिहास फेरि दोहोरिने क्रममा छ।
*गीत र सङ्गीतबिनाको समाजबारे सोचेर मलाई कहिल्यै नभएको तनाव हुन्छ। मलाई आशा छ महिलाका दबिएका आवाज एक दिन प्रस्फुटन हुनेछन्।
रोहिला
अफगानिस्तानविद्यार्थी
रोहिला एक विद्यार्थी हुन् जो तालिबानद्वारा अफगान माध्यमिक विद्यालयका छात्राहरूलाई बहिष्कार गर्न दिइएको आदेशबाट प्रभावित भइन्। उनलाई विज्ञान र अङ्ग्रेजी विषयमा रुचि छ। उनी हरेक बिहान आफ्ना दाजुभाइसँगै विद्यालय जान चाहन्छिन्।
रोहिलाका अनुसार उनको समूहका निकै कम किशोरीहरू इन्टरनेटको पहुँचमा छन् र उनलाई शिक्षकबिना पढ्न गाह्रो भइरहेको छ।
उनी मनोविज्ञान पढ्न चाहन्छिन्। विदेशमा पढ्नका लागि छात्रवृत्ति प्राप्त गर्ने उनले आशा राखेकी छिन्।
*हाल अफगानिस्तान विश्वको अरू देशहरूबाट सम्पर्कविहीन छ र मेरो उच्च शिक्षा हासिल गर्ने सपना व्यर्थ लाग्छ। म आशा गर्छु कि अन्तर्राष्ट्रिय समुदायले हामीलाई बिर्सने छैन र हामीले गरेको वर्षौँ लामो सङ्घर्ष खेर जाने छैन।
आर्जेन्टिनाको महिला, लैङ्गिक र विविधता मन्त्रालयकी उपसचिव रुइडा उनको देशमा सबैभन्दा उच्च सरकारी पदमा पुगेकी पहिलो लैङ्गिक अल्पसङ्ख्यक हुन्।
एक अभियानकर्मी र प्राध्यापक रहेकी उनी 'ट्रान्स विमिन आर्जेन्टिना'की परिचय हुन् जसले सार्वजनिक क्षेत्रमा ट्रान्सजेन्डर महिलालाई एक प्रतिशत आरक्षण सुरक्षित गर्ने कानुनको मस्यौदा तयार गर्यो। यो विधेयकले संसद्मा राम्रो समर्थन प्राप्त गरेर सन् २०२१ जुनबाट कानुन बन्यो।
सन् २०१९ मा रुइडाले आफ्नो राष्ट्रिय परिचयपत्र अनुसार चर्चको अभिलेखमा रहेको नाम र लिङ्ग परिवर्तन गर्न अस्वीकार गर्ने एक क्याथोलिक पादरीहरूका प्रमुखलाई मुद्दा चलाइन्।
*सन् २०२१ ले असमानताहरू बढाउन आर्थिक नीतिहरूको ठूलो प्रभाव रहने कुरा प्रदर्शित गरेको छ। हामीले ट्रान्सफेमिनिस्ट नीतिहरूलाई प्रवर्द्धन गरौँ जसले हामीलाई भिन्न प्रकारका सम्बन्धहरू बनाउन सहयोग गर्छ। साथै सामूहिक र सामुदायिक हेरचाहको विकास गर्छ।
रुक्साना
अफगानिस्तानचिकित्सक
डा. रुक्साना शल्यचिकित्सक र सहप्राध्यापक हुन्। उनी एउटा अफगान प्रान्तबाट अर्कोमा विस्थापित बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने एक संस्थाकी संस्थापक समेत हुन्।
द्वन्द्वको समयमा निकै असुरक्षित समूहलाई स्वास्थ्य सहायता दिन पुग्दा उनले थुप्रै प्रतिकूल अवस्थाहरूको सामना गरेकी छन्। उनी राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमकी स्वयंसेवक हुन्। र, हालै उनले स्तन क्यान्सरविरुद्ध सचेतना अभियान अघि बढाएकी छिन्।
उनी आफ्नो शल्यचिकित्सकीय पेसासँग भावनात्मक रूपमा नजिक छिन्। उनले आफू थुप्रै अफगान मेडिकल विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्न सक्ने विश्वास राखेकी छन्।
*हरेक ठूला परिवर्तनहरू नेतृत्वकर्ताको प्रतिबद्धता र दृढताका परिणाम हुन्। म नेतृत्वकर्ता नहोउँला। तर म अफगानिस्तानमै बस्छु र यहाँको भ्रष्ट र समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई सुधार्ने काम गर्छु।
कानुन निर्माता एव जोजजान प्रान्तको पूर्वसांसद हुन् हलिमा सदाफ करिमी। उनको राजनीतिमा वर्षौँ लामो अनुभव छ।
करिमी उनको देशका करिब ७० जना महिला सांसदमध्ये एक र अल्पसङ्ख्यक उज्बेक समुदायकी एक मात्र महिला सांसद हुन्। सदनमा उनले आफ्नो समुदायको अधिकारका लागि लडिन्। उनले राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरेकी छन्। उनी महिला अधिकारका लागि आवाज उठाउने प्रमुख अभियानकर्मीमध्ये एक हुन्। तालिबानले धम्काएका कारण उनी पटकपटक घर सार्न बाध्य भएकी छिन्।
सन् २०२० मा विश्वविद्यालय अध्ययनरत उनका भाइ तालिबानद्वारा मारिए।
*स्वार्थी सत्ताले जहिले पनि प्रारम्भिक असफलताको सामना गरेको छ। म आशा गर्छु कि अफगान महिलाहरूले राजनीतिक, सांस्कृतिक र सामाजिक सहभागितामार्फत् मानव अधिकार प्राप्त गर्नेछन्। त्यसैगरी हामी कहाँ भएको मानवीय सङ्कट पनि रोकथाम हुनेछ।
दुई दशक लामो पेसागत अनुभव सँगालेपछि उनी अस्कर अवार्डमा मनोनित भइन्। चलचित्र निर्माता एवं निर्देशक रोया सादत अफगानिस्तानकी प्रथम महिला निर्देशक हुन् जो तालिबानको दबदबा रहेकै समयमा उदाइन्। उनका चलचित्रहरूले अफगान महिला, उनीहरूको जीवन र उनीहरूमाथि लागेका प्रतिबन्धहरूको आवाज बोल्छन्।
सादतद्वारा निर्देशित सन् २०१७ मा सार्वजनिक चलचित्र अ लेटर टु द प्रेसिडेन्ट ९० औँ एकेडेमी अवार्डका लागि उत्कृष्ट विदेशी चलचित्रको विधामा मनोनित भएको थियो।
सादत स्वतन्त्र चलचित्र निर्माण कम्पनी रोया फिल्म हाउसकी अध्यक्ष एवं सह-संस्थापक हुन्। अफगानिस्तानमा अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव आयोजना गर्नुको श्रेय सादतलाई जान्छ। उनी उक्त महोत्सवको पनि अध्यक्ष थिइन्।
*तालिबानी शासनको पहिलो पाँच वर्षसम्म मलाई सधैँ लागिरह्यो कि यो सबैको अन्त्य हुनेछ र मेरो विद्यालयको ढोका खुल्नेछ। तर त्यसो भएन। आज पनि मलाई स्वतन्त्रता र मानिसहरूको आवाजमा विश्वास छ। त्यो आवाजले एक दिन अवश्य जित्नेछ।
सम्बन्धित लेखहरू
सगुफा साफी
अफगानिस्तानअर्केस्ट्रा कन्डक्टर
सगुफा साफी सबै सदस्य महिला मात्र रहेको अफगानिस्तानको पहिलो अर्केस्ट्रा जोहराकी कन्डक्टर हुन्। १३ देखि २० वर्ष उमेर समूहका कलाकारहरू भएको सो अर्केस्ट्रामा कतिपय गरिब परिवारका त कतिपय टुहुरा छन्।
सङ्गीतकी पर्सिअन देवीको नाम दिइएको उक्त अर्केस्ट्राले सन् २०१४ देखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परम्परागत अफगान र पश्चिमा शास्त्रीय सङ्गीत मिसिएको प्रस्तुति दिने गरेको छ।
साफीले कुनै बेला अभ्यास गरेको अफगानिस्तान न्याश्नल इन्स्टिट्युट अफ म्युजिकलाई तालिबानले अहिले बन्द गराएका छन्। वाद्यवादन सामग्री देशमै छाडी भागेर दोहा पुगेकी साफी र उनका केही साथीहरूलाई फेरि सँगै साङ्गीतिक यात्रामा फर्कने आशा छ।
*आशाको हार कहिल्यै हुँदैन। मलाई विश्वास छ जस्तोसुकै अन्धकारमा पनि सङ्गीतको साधनाले अफगानिस्तानका लागि आशा र प्रकाश छर्नेछ।
सहर
अफगानिस्तानफुटबल खेलाडी
अफगानिस्तानका महिला फुटबल खेलाडीमध्ये उनी एक हुन् जो तालिबानको शासनमा चाहेर पनि खेल्न सक्दैनन्। सहरले स्थानीय फुटबल टोलीका लागि कैयौँ वर्षसम्म खेलिन् र खेलमार्फत् थुप्रै साथी पनि बनाइन्।
तालिबानले यसै वर्ष शासन हातमा लिएपछि उनी आफ्नो परिवारसँगै लुकिन् र पछि विदेश पलायन भइन्।
हाल अफगानिस्तानमै रहेका आफ्ना महिला साथीहरूलाई लिएर उनमा अझै डर छ। अर्कोतिर फेरि फुटबल मैदान फर्कने आफ्नो सपना पूरा हुनेमा उनी आशावादी पनि छिन्।
*म आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्छु र आफ्ना सफलताले परिवार तथा आफूलाई गौरवान्वित बनाउन लक्ष्य प्राप्तिका निम्ति कठिन परिश्रम गर्नेछु। म सफल हुन चाहन्छु ताकि कसैले पनि भन्न नसकून् कि महिलाले फुटबल खेल्न सक्दैनन्।
सोमा सारा
यूकेसंस्थापक, एभ्रिवन्स इन्भाइटेड
सोमा साराले सन् २०२० मा यौन हिंसाका पीडितहरूका लागि 'एभ्रिवन्स इन्भाइटेड' भन्ने भाइरल इन्स्टाग्राम अकाउन्ट र वेबसाइट बनाएकी थिइन्। यो स्थान पीडितहरूलाई आफ्नो परिचय गोप्य राखेर घटना विवरणहरू सुनाउनका लागि खुला छ। यसको उद्देश्य यूकेका विद्यालय र विश्वविद्यालयहरूमा बलात्कारको समस्याबारे बहस चलाउनु थियो।
सुरु भएयता यो परियोजनाले ५०,००० बढी घटना विवरण सङ्कलन गरिसकेको छ। लन्डनको सडकबाट सन् २०२१ को मार्चमा अपहरणमा परेकी सारा एभार्डको हत्यापछि यो परियोजनाले चर्चा पायो।
सोमा आफ्नो अभियान शैक्षिक संस्थानहरूभन्दा बाहिर पनि विस्तार गरेर महिलामाथि हुने हिंसा विरुद्धको लडाइँ अघि बढाउन चाहन्छिन्।
*म यस्तो संसार चाहन्छु जहाँ यौन हिंसाका पीडितहरूलाई सुनियोस्, सहयोग गरियोस् र विश्वास गरियोस्।
महबुबा सिराज
अफगानिस्तानमहिला अधिकारकर्मी
अमेरिकामा २६ वर्ष निर्वासित जीवन बिताएर सन् २००३ मा महबुबा सिराज स्वदेश फर्किन्। त्यहाँ उनले अफगान विमिन्स नेटवर्कसहित महिला तथा बालबालिकाको हकअधिकारका लागि काम गर्ने विभिन्न संस्था मिलेर खोलिन् र नेतृत्व गरिन्।
उनले घरेलु हिंसाबाट पीडितको अधिकार, बालबालिकाको स्वास्थ्य एवं शिक्षाको क्षेत्रमा काम र भ्रष्टाचारविरुद्ध सङ्घर्षमा आफ्नो जीवन अर्पण गरेकी छन्। सन् २०२१ को अगस्टमा तालिबान सत्तामा आएपछि पनि उनी देशमै रहिन् र अफगान महिलाहरूका चासोलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुर्याउने भूमिका निर्वाह गरिन्।
टाइम म्यागजिनले उनलाई सन् २०२१ का प्रभावशाली १०० जनाको सूचीमा समावेश गरेको थियो।
*मेरो देशका लागि शान्ति मेरो पहिलो कामना हो। अनिश्चित भविष्यले पर्खिरहेका मेरा अफगान दिदीबहिनी र छोरीहरूका आँखामा म त्रास हेर्न चाहन्नँ। अब त अति नै भइसक्यो।
महिला र लैङ्गिक अल्पसङ्ख्यकका अधिकारका लागि वकालत गरिरहेकी उनी धेरै पुरस्कार विजेता भइसकेकी टर्किश-ब्रिटिश लेखिका हुन्।
शफाकले १९ वटा पुस्तक प्रकाशित गरिसकेकी छन्। उनको पुस्तक '१० मिनट्स ३८ सेकेन्डस् इन दिस स्ट्रेन्ज वर्ल्ड' बुकर पुरस्कारका लागि मनोनयनमा परेको थियो। उनको अर्को पुस्तक 'फोर्टी रूल्स अफ लभ' बीबीसीको 'हन्ड्रेड नोभल्स द्याट सेप्ड आवर वर्ल्ड'मा छनौट भयो। उनका कृतिहरू ५० भन्दा धेरै भाषामा अनुवाद गरिएका छन्।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी शफाकले टर्की, अमेरिका र यूकेका विश्वविद्यालयहरूमा अध्यापन गरेकी छन्। सन् २०२१ मा उनले कथाप्रस्तुतिको कला नवीकरणमा योगदान गरे बापत 'हार्लडर लक्सनेस इन्टर्न्याश्नल लिटररी' पुरस्कार पाइन्।
*पूर्व होस् या पश्चिम हामी दोबाटोमा उभिएका छौँ। हामीसँग पुरानो संसार अब बाँकी छैन। त्यसैले पछाडि फर्कनुभन्दा हामी अझै उत्कृष्ट र सुन्दर संसार बनाउन सक्छौँ, जहाँ कोही पनि पछाडि पर्ने छैनन्।
अनिसा शाहीद
अफगानिस्तानपत्रकार
एक दशकभन्दा लामो समय मानव अधिकार उलङ्घन, राजनीति र भ्रष्टाचारबारे कलम चलाएकी अनिसा शाहीद अफगानिस्तानकी एक वरिष्ठ पत्रकार हुन्। उनी अफगानिस्तानको प्रभावशालीमध्ये एक सञ्चारमाध्यम टोलो न्यूजमा काम गर्छिन्।
शाहीदले पत्रकार र महिला भएकै कारण प्रत्यक्ष धम्कीहरू पाइन्। त्यसैले गत अगस्त १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छोड्न उनी बाध्य भइन्। सन् २०२० मा रिपोर्टर्स विथआउट बोर्डर्स नामक संस्थाले उनलाई कोरोनाभाइरस महामारीका बेला सक्रिय रूपमा काम गर्ने 'साहसिक' पत्रकार घोषणा गरेको थियो।
सन् २०२१ मा अफगानिस्तानको फ्री स्पीच हब नेटवर्कद्वारा उनी वर्ष पत्रकार र 'वाक् स्वतन्त्रताको मुहार' घोषित भएकी थिइन्।
*विस्थापन र निराशा उत्कर्षमा पुगेको अफगानिस्तानमा चाँडै शान्ति छाएको हेर्न पाउने आशा छ। म अफगान महिला र बालिकाहरू मुस्कुराएको हेर्न चाहन्छु। म देश, घर र काममा फर्कने विषयमा आशावादी छु।
मीना स्मलमेन
यूकेपादरी र अध्यापक
उनी सन् २०१३ मा अल्पसङ्ख्यक अश्वेत जातिको तर्फबाट यूकेको गिर्जाघरमा वरिष्ठ पादरी बन्ने प्रथम महिला बनिन्। अहिले पादरी र शिक्षकको पेसाबाट अवकाश पाइसकेकी उनले यूकेका बाटोहरू सुरक्षित बनाउन र प्रहरी सुधारका लागि अभियान सञ्चालन गरिरहेकी छन्।
उनका दुई छोरीहरूलाई सन् २०२० मा एक १९ वर्षीय पुरुषले लन्डन पार्कमा छुरा प्रहार गरी हत्या गरेका थिए। स्मलमेनले प्रहरीले उनीहरू हराएको प्रारम्भिक उजुरीलाई गम्भीरतापूर्वक नलिएको भन्दै आलोचना गरिन्। उनले आफ्ना छोरीहरू जातीय विभेदको सिकार बनेको बताउने गरेकी छन्।
उनका अनुसार उनले छोरीका हत्यारालाई माफी दिइसकेकी छन्। 'हामी कसैलाई घृणाका लागि नियन्त्रणमा लिन्छौँ भने त्यो समातिएकालाई मात्रै सबैको प्रतिनिधित्व गर्ने प्राधिकार दिनु हुँदैन। त्यसो गर्दा तपाईँमा बदलाको भावना आउन सक्छ। मैलै उसलाई त्यो अधिकार दिन चाहिनँ।'
*एक शिक्षिका र पादरीको रूपमा मैले मेरो जीवन हेरचाह नपाएका केटाकेटीका लागि समर्पित गरेँ। म तपाईँहरू प्रत्येकलाई विभेदबारे बोल्नुहोस् भनिरहेकी छु। हामी परिवर्तन गर्न सक्छौँ।
बार्बरा स्मोलिन्सका
पोल्यान्डसंस्थापक - रिबर्न सुगर बेबिज
पोलिश कलाकार बार्बरा स्मोलिन्स्का पुतली डिजाइनर र निर्माता हुन्। उनी जीवितजस्तै लाग्ने 'रिबर्न डल्स' नाम दिइएको पुतलीहरू बनाउँछिन् जसलाई चिकित्सकीय प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। अतियथार्थवादी 'रिबर्न डल्स'ले केही महिलाहरूलाई गर्भपतन प्रक्रियामा मद्दत पुर्याउँछ। त्यस्तै केही महिलालाई चिन्ता, अवसाद (डिप्रेसन) र प्रजननसम्बन्धी समस्याविरुद्ध लड्न सहयोग गर्छ।
स्मोलिन्स्का पूर्वसङ्गीतकार हुन्। व्यावसायिक सौन्दर्य शास्त्र प्रशिक्षित उनी 'रिबर्न सुगर बेबिज' नामक कम्पनीको संस्थापक हुन्। उनको हस्तनिर्मित पुतलीहरू चलचित्र एवं स्वास्थ्य संस्थाहरूमा चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिनका लागि प्रयोग गरिन्छ।
स्मोलिन्स्का आफ्नो कलाप्रति विशेष झुकाव राख्छिन्। उनी आफ्नो सिर्जनाले महिलाहरूलाई आशा प्रदान गर्ने र उनीहरूको मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने विश्वास राख्छिन्।
*म मानिसहरूलाई अझ बढी सहानुभूतिपूर्ण बन्न र फरक मत राख्नेहरूप्रति पनि उदार र सहिष्णु बन्न आग्रह गर्छु, रिबर्न डल्स थेरापीमा जस्तै। त्यसो गर्दा धेरै महिलालाई मद्दत पुर्याउन सक्छ।
इन सोय मे
म्यान्मारप्रजातन्त्रवादी अभियानकर्मी
हालै आममाफी पाएर छुट्नु अघि इन सोय मे (नाम परिवर्तित)लाई म्यान्मारको सेनाले ६ महिना बन्दी बनाएको थियो। उनलाई सेनाका धेरै सोधपुछ केन्द्रहरू मध्येको निकै बदनाम इनसेन जेलमा थुनिएको थियो। शारीरिक र मानसिक यातना पाएको आरोप लगाउँदै उनी आफ्नो जेल समयलाई अति नै कठिन भएको बताउँछिन्।
यी युवा अभियानकर्मी आफ्नो विद्यार्थी कालदेखि विभिन्न अभियान र तल्लो तहका गतिविधिहरूमा संलग्न थिइन्। गत फेब्रुअरी १ मा भएको सैनिक विद्रोहपछि सू मे सेनाविरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी भइन्। उनी फेब्रुअरीमै भएको 'पट्स एन्ड प्यान' र मार्चको अन्त्यमा भएको मौन हडतालमा पनि सहभागी थिइन्।
उनी रिहा भएदेखि नै राजनीतिक गतिविधिमा फर्किएकी छिन्।
*हामी यो महामारीबाट मुक्त हुन चाहन्छौँ र एक शान्त समाज निर्माण गर्न चाहन्छौँ। हामी आशा गर्छौँ कि संसारभरिका तानाशाहहरू परास्त हुनेछन् र साँचो र शान्तिपूर्ण लोकतन्त्र स्थापित हुनेछ।
पाइपर स्टिग नेल्सनले टेक्ससको दी सेफ अलायन्स इन अस्टिनमा प्रमुख सार्वजनिक रणनीति अधिकृतको रूपमा समुदायसँग मिलेर बालबालिकामाथि हुने दुर्व्यवहार, यौन हिंसा, घरेलु हिंसा र यौन बेचबिखन अन्त्य गर्न काम गरिरहेकी छन्।
गर्भपतनसम्बन्धी राज्यको नयाँ कानुनले नयाँ नियमहरू ल्याइरहँदा यो संस्थाले गर्भपतनको सेवामा पहुँच नभएका कम उमेरका बलात्कार पीडितहरूलाई परामर्श प्रदान गर्दै आएको छ।
स्टिग नेल्सनले आफ्नो जीवन महिला र युवतीहरूको अधिकारलाई अघि बढाउनमै समर्पित गरेकी छन्। उनले मिसेल ओबामाको लेट गर्ल्स लर्न अभियानमा समेत काम गरेकी थिइन्। राजनीतिमा महिलाको सङ्ख्या र सफलता बढाउन सहयोग पुर्याउने संस्था 'एनिज् लिस्ट'मा पनि काम गरेको अनुभव उनीसँग छ।
*कोभिड-१९ महामारीले हाम्रा सामाजिक संरचनाहरूमा धेरै नै परिवर्तन ल्याएको छ। मानिसहरूले महत्त्वपूर्ण लागेका कुरामा बोल्न सक्ने महसुस गर्न थालेका छन्। अबको चुनौती भनेको हरेक पुरुष, महिला र बालबालिकालाई शरीरको स्वायत्तता र सहमतिबारे सिकाउनु हो।
फातिमा सुल्तानी
अफगानिस्तानपर्वतारोही
सन् २०१९ मा रहर पूरा गर्न हिमाल आरोहण गरेपछि फातिमा सुल्तानीले अन्य अफगान महिलाहरूमा पनि आरोहणप्रति रुचि जगाउने उद्देश्य राखिन्।
उनले १८ वर्षको उमेरमा ७,४९२ मिटर उचाइमा रहेको नोशाख हिमालको आरोहण गरिन्। नोशाख हिमाल हिन्दू कुश हिमालय पर्वतमा अवस्थित अफगानिस्तानकै अग्लो हिमाल हो। फातिमा सबैभन्दा कम उमेरमा उल्लिखित उचाइ आरोहण गर्ने प्रथम युवती बनिन्। नौ जनाको समूहले आरोहण गर्दा तीमध्ये तीनजना महिला थिए।
सुल्तानी उत्सुक महिला खेलाडी हुन्। उनी सात वर्षयता राष्ट्रिय बक्सिङ, तेक्वान्दो र जिउ जित्सु समूहकी सदस्य हुन्।
*अफगान महिलाहरूले आफ्नो अधिकारका लागि २० वर्ष लामो सङ्घर्ष गरेका छन्। उनीहरूले अग्ला हिमालहरू आरोहण गरेका छन् र आफ्नो नाम राखेका छन्। म आशा गर्छु कि उनीहरू पुनः देशभित्र र बाहिरका हिमाल चढ्न स्वतन्त्र हुनेछन्।
खाद्य डिजाइनर यी कलाकारले हाम्रो जीवनशैलीको छनौटसँग आधुनिक खाद्य प्रणालीको सम्बन्ध पहिचान गरेकी छन्।
चीनमा जन्मिएकी एडिलेड लाला टाम पछि हङकङकी स्थायी बासिन्दा भइन् र अहिले द नेदरल्यान्ड्समा बस्दै आएकी छन्। उनको कलाले औद्योगिक खाद्य उत्पादनको आलोचनात्मक विश्लेषण गर्दै उपभोक्ताहरूलाई उनीहरूको खानपिनबारे मूल्याङ्कन गरी औद्योगिक उत्पादनमा उनीहरू कति जिम्मेवार छन् भन्नेबारे सचेत गराउने गरेको छ।
सन् २०१८ को 'फ्युचर फुड डिजाइन अवार्डस्'मा उनले निर्णायक मण्डल र जनमत दुवैतर्फको पुरस्कार जितिन् जसमा उनले गाईको वध गर्ने प्रक्रिया दर्साउने प्रस्तुति दिएकी थिइन्। उनी सन् २०२१ को '५० नेक्स्ट' को सूचीमा समावेश छिन्। यो सूचीमा खानपिनको भावी शैली निर्धारण गर्ने मानिसहरूबारे चर्चा गरिएको छ।
*सन् २०२१ मा विश्वमा धेरै परिवर्तन आएको छ। अब म विश्वलाई हामी के खान्छौँ र त्यो हाम्रो टेबलसम्म कसरी आइपुग्छ भन्ने कुरामा थप सहभाव राख्ने संसार चाहन्छु।
सिस्टर एन रोज नु तङ
म्यान्मारक्याथोलिक भिक्षुणी
गिर्जाघरमा आश्रय लिइरहेका प्रदर्शनकारीहरूलाई बचाउन प्रहरीको अगाडि घुँडा टेकेपछि यी क्याथोलिक भिक्षुणी म्यान्मारको सेनाविरोधी आन्दोलनकी प्रतीक नै बनिन्।
हतियारधारी प्रहरीहरूको अगाडि निडर भएर हात फैलाइरहेको उनको तस्बिर सन् २०२१ को मार्चमा भाइरल बन्यो जसबाट उनले व्यापक प्रशंसा बटुलिन्।
उनले सर्वसाधारण विशेषगरी बालबालिकालाई संरक्षण गर्नुपर्ने विषयमा खुलेर बोल्ने गरेकी छन्। सुँडेनीको तालिम लिएर विगत २० वर्षयता सेवा दिइरहेकी उनी हाल म्यान्मारको कचिन राज्यमा कोभिडका बिरामीको हेरचार गर्दै आएकी छन्।
*म्यान्मारमा जे भयो त्यो देखेर मेरो मुटु दुखेको छ। यदि मैले केही गर्न सक्थेँ भने मैले जेलमा नियन्त्रणमा लिइएका सबै मानिसहरूलाई विनासर्त रिहा गरिदिन्थेँ र मानिसहरूबीचको विभेद अन्त्य गर्थेँ।
एमा थियोफेलस
नामिबियाराजनीतिज्ञ
गत वर्ष २३ वर्षमा मन्त्री नियुक्त हुँदा उनी अफ्रिकाकी सबैभन्दा कम उमेरकी मन्त्रीमध्ये एक थिइन्। एमा सांसद एवं सूचना र सञ्चार प्रविधि राज्यमन्त्री हुन्। उनले देशको आधिकारिक कोभिड-१९ व्यवस्थापनको सञ्चार प्रयासहरू नेतृत्व गरिरहेकी छन्।
त्यसअघि उनी लैङ्गिक समानता, बालबालिकाको अधिकार र दिगो विकासको अभियानमा संलग्न युवा अभियानकर्मी थिइन्। उनी युथ पार्लियामेन्टकी सभामुख र उनी जन्मेको सहरकी जुनियर मेयर पनि थिइन्।
थियोफेलसले नामिबिया विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेकी छन्। उनले दक्षिण अफ्रिका विश्वविद्यालयबाट अफ्रिकन फेमिनिज्म र लैङ्गिक अध्ययनमा स्नातक समेत गरेकी छन्।
*हामीले गर्नुपर्ने कामहरूलाई गति दिएर हाम्रो संसार बदल्न सकिन्छ। हामीसँग वर्षौँदेखि थाती रहेका योजनालाई कार्यान्वयन गरेर गति दिन सक्छौँ। हामीसँग समयको एकदमै अभाव छ। हामीलाई ढिलो हुने छुट छैन।
सारा वाहिदी
अफगानिस्तानप्रमुख कार्यकारी, एहतेसाब
सारा वाहिदी अफगान प्रविधि स्टार्टअपकी संस्थापक हुन्। उनको एपले काबुलका बासिन्दालाई सुरक्षा र ट्राफिक अवस्थाबारे जानकारी दिन्छ। उक्त एप अफगान नागरिकलाई सूचना दिन र सम्भावित जोखिमबारे सचेत गराउन महत्त्वपूर्ण साबित भएको छ। एपले विशेषगरी विस्फोटकहरूको विस्फोटन, हिंसा र घरमा मारिने छापाबारे भरपर्दो जानकारी दिन्छ।
सन् २०२२ सम्ममा एसएमएसमार्फत् सतर्कता सहितको सेवा सुरु गर्ने र उक्त सेवा दुर्गम गाउँका मानिसको पहुँच विस्तार गर्ने साराको लक्ष्य छ।
यी प्रविधि उद्यमी सन् २०२१ मा टाइम म्यागजिनको 'नेक्स्ट जेनेरेसन लिडर्स'को सूचीमा अटाएकी थिइन्। हाल उनी कोलम्बिया विश्वविद्यालयमा मानव अधिकार र डेटा साइन्स अध्ययनरत छिन्।
*स्वतन्त्रता, निष्पक्ष चुनाव र देशलाई पुनर्निर्माण गर्ने निकायको मागसहित अफगानहरू एकजुट भएर उठ्नु अपरिहार्य छ। माग पूरा हुनका लागि लचिलो अभियान आवश्यक छ जसले पुरुष वा महिला सबैका लागि शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउँछ।
भेरा वाङ
अमेरिकाफ्याशन डिजाइनर
सन् १९७० बाट फ्याशन डिजाइनमा अग्रपङ्क्तिमा रहेकी भेरा एलेन वाङ बेहुली पहिरनको प्रख्यात डिजाइनर हुन्। उनले आफ्नो व्यवसायलाई अत्तर, प्रकाशन र घर डिजाइनका क्षेत्रमा पनि विस्तार गरेकी छन्।
न्यूयोर्कमा चिनियाँ आमाबुवाबाट जन्मिएकी उनले 'भोग'मा वरिष्ठ फ्याशन डिजाइनर र राल्फ लौरेनमा डिजाइन निर्देशक भएर काम गरिसकेकी छन्। प्रतिभाशाली फिगर स्केटर समेत रहेकी उनले आफ्नो किशोरावस्थामा व्यावसायिक प्रतिस्पर्धाहरूमा पनि भाग लिएकी थिइन्।
उनी प्रतिष्ठित काउन्सिल अफ फ्याशन डिजाइनर्स अफ अमेरिकाकी सदस्य हुन् जसले उनलाई सन् २००५ मा 'विमिन्सवेयर डिजाइनर अफ दी इयर'को उपाधि दियो।
*हामी सबै ठ्याक्कै एउटै कुराको जोखिममा छौँ। जतिसक्दो छिटो यो घरलाई बचाउन हामी सबै मिलेर थप बौद्धिक ढङ्गबाट र अस्तित्व रक्षा हुने गरी काम गर्छौँ, हाम्रो जीवन त्यति नै राम्रो हुनेछ।
नान्फू वाङ
चीनचलचित्र निर्माता
चीनको एक विकट गाउँकी नान्फू वाङ अवार्ड विजयी चलचित्रकर्मी हुन्। हाल उनी अमेरिकामा बस्छिन् र त्यहीँ काम गर्छिन्।
उनको पहिलो चलचित्र हुलिगन स्प्यारो (२०१६) एकेडेमी अवार्डको उत्कृष्ट डकुमेन्ट्री विधामा मनोनित भएको थियो। उनले सन् २०१९ मा सार्वजनिक वान चाइल्ड न्याश्न र सन् २०२१ मा सार्वजनिक भएको सेम ब्रिथ निर्देशन गरेकी छन्। सेम ब्रिथ संसारमा कोभिड-१९ देखिएपछि चिनियाँ र अमेरिकी सरकारले कस्ता प्रतिक्रिया जनाए भन्ने विषयमा केन्द्रित छ।
वाङ गरिब पारिवारिक पृष्ठभूमिकी हुन्। तर उनले साङ्घाई, ओहिओ र न्यूयोर्क विश्वविद्यालयहरूबाट तीनवटा विषयमा स्नातकोत्तर गरेकी छिन्। उनी म्याकअर्थर जिनियस ग्रान्टकी रूपमा सन् २०२० मा सम्मानित भएकी थिइन्। उनले 'तानाशाही शासन, भ्रष्टाचार र जबाफदेहिताको अभावको प्रभावबारे परीक्षण गर्न पात्रहरूको सूक्ष्म अध्ययन गरेकाले' सम्मानित भएकी हुन्।
*विश्व पुनः सामान्य दिनहरूमा फर्कन आतुर देखिन्छ। तर हामीले सामान्य ठानेको परिवेशकै कारण अहिले हामीले भोगिरहेको सङ्कट सृजना भएको हो।
रोशनक वरदाक
अफगानिस्तानस्त्रीरोग विशेषज्ञ
पूर्वसांसद तथा स्त्रीरोग विशेषज्ञ डा. रोशनक वरदाक २५ वर्षसम्म महिलाहरूलाई स्वास्थ्य सेवा दिएकी छन्। तालिबान पहिलो पटक सत्तामा पुगेका बेला आफ्नो गृह प्रान्त मैदान वरदाकमा एक मात्र महिला चिकित्सककी रूपमा पनि उनले काम गरेकी छन्।
सन् २००१ मा तालिबान सत्ता ढलेपछि उनी सांसद बनिन्। अरू ग्रामीण इलाका जस्तै उनको जिल्ला विगत १५ वर्षदेखि तालिबानको नियन्त्रणमा थियो जहाँ नेटो फौज संलग्न भीषण लडाइँहरू भएका उदाहरण छन्।
तालिबानले कब्जा गरेको र लडाइँ अन्त्य भएको कुरा आफूलाई 'सपना'झैँ लागेको उनले बीबीसीसँग भनिन्।'सत्तामा भएका भ्रष्टहरू हट्ने दिनको प्रतीक्षामा म थिएँ,' उनले भनिन्। तर अहिले उनी बन्द रहेका विद्यालयहरू खुलाउने विषयमा केन्द्रित भएकी छन् र महिला शिक्षासम्बन्धी तालिबानले आफ्नो वाचा तोडेपछि उनी शिक्षा अभियानकर्मी भएकी छन्।
*अफगानिस्तानको लागि मेरो एक मात्र आशा के हो भने राष्ट्रविरुद्ध विगत ४० वर्षयता काम गरेका सरकारका मन्त्रीहरूलाई जबाफदेही बनाइयोस्।
मिङना वेन
मकाउकलाकार
एनिमेटेड चलचित्रहरू फा मुलान, मुलान र मुलान-२ मा मिङनाको प्रमुख भूमिका छ। उनले एशियाली-अमेरिकी नायक रहेका अमेरिकी चिकित्सासम्बन्धी शृङ्खलाहरूमा पनि अभिनय गरेकी छन्।
हालै उनले डिस्ने प्लसको चर्चित शृङ्खला फिनेस सान्ड र दी मन्दालोरियनमा अभिनय गरिरहेकी छन्। उनी 'दी बुक अफ बोबा फेट'को आगामी शृङ्खलाहरूमा पनि देखिनेछिन्। सन् २०१९ मा मिङना डिस्ने लेजेन्ड घोषित भएकी थिइन्।
सन् २०२२ मा 'हलिवुड वाक अफ फेम'मा उनले स्टार उपाधि पाउँदैछिन्।
*पुनर्संरचना सही विकल्प होइन। किन हामीले पछाडि फर्कने झन्झट गर्नु। मलाई लाग्छ जे हुन्छ कुनै कारणले नै हुन्छ। हरेक दिन आफैँमा पुनर्संरचना हो। त्यसैले आजको दिन कृतज्ञतासहित बाँचौँ।
रेबेल विल्सन
अस्ट्रेलियाकलाकार, लेखिका र निर्मात्री
कानुनमा स्नातक विल्सन हलिवुड मेगास्टार, कलाकार, लेखिका, कार्यक्रम उत्पादक र निर्देशक हुन्। उनको अभिनय यात्रा सिड्नीको मञ्चबाट सुरु भएको थियो। त्यहाँ उनले आफूले गर्ने काम आफैँ लेख्ने पनि गर्थिन्। सन् २०१० मा अमेरिका जानुअघि उनले अस्ट्रेलियन हास्यव्यङ्ग्यमा आफूलाई स्थापित गरिसकेकी थिइन्।
उनले अमेरिकामा पहिलो अभिनय नै महिलाहरूले नेतृत्व गरेको चर्चित हास्यव्यङ्ग्य शृङ्खला 'ब्राइड्समेट्स'बाट गरिन्। उनले अस्कर विजेता जोजो र्याबिटमा पनि अभिनयको मौका पाएकी थिइन्। तर उनलाई बक्स अफिसमा सफल तीनवटा संस्करण भएको साङ्गीतिक पिच पर्फेक्टले बढी चिनायो, जसको दोस्रो शृङ्खला सन् २०१५ मा सार्वजनिक हुँदा सबैभन्दा धेरै कमाउने साङ्गीतिक हास्यव्यङ्ग्य भएको थियो।
सन् २०२२ मा विल्सनले पहिलो कथानक चलचित्र निर्देशन गर्दैछिन्।
*जीवनका हरेक क्षेत्रमा विविधता, सम्मान र सहभागिता मागिरहन नपर्ने कुरा हुनुपर्छ।
बेनाफ्शा याकूबी र उनका श्रीमान् दुवै दृष्टिविहीन हुन्। उनीहरू मिलेर अफगान दृष्टिविहीनहरूलाई शिक्षा र पुनर्वासको सुविधा उपलब्ध गराउन राहयाब संस्था स्थापना गरे। मानव अधिकारकर्मी याकूबीले अफगानिस्तानको स्वतन्त्र मानव अधिकार आयोगमा आयुक्तको जिम्मेवारी समेत वहन गरिसकेकी छन्। उनको कार्य दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान गर्न केन्द्रित रह्यो।
तालिबान आक्रमणका कारण उनी देश छोड्न बाध्य भइन्। तर अपाङ्गता भएकाहरूको अधिकारका लागि उनले निरन्तर आवाज उठाइरहेकी छन्। उनलाई तालिबानले अपाङ्गता भएकाहरूलाई विभेद गर्छन् भन्ने डर छ।
अपाङ्गता भएका व्यक्तिहरूको जनसङ्ख्याको तुलनामा सबैभन्दा ठूलो जनसङ्ख्या भएकोमध्ये एक अफगानिस्तानमा पहुँच र भेदभाव गम्भीर मुद्दा बनेको छ। यसमा दशकौँ लामो द्वन्द्वको प्रभाव छ।
*मलाई मेरो देश फेरि स्वतन्त्र र देश विकासका लागि सम्पूर्ण अफगानको समावेशी सहभागिता भएको हेर्न मन छ।
मलाला युसुफजाई
पाकिस्तानसह-संस्थापक, मलाला फन्ड
सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता हुन् मलाला युसुफजाई। उनी एक पाकिस्तानी बालिका शिक्षा अभियानकर्मी र संयुक्त राष्ट्रकी शान्तिदूत हुन्। उनले ११ वर्षको उमेरदेखि नै युवतीहरूको शिक्षा अधिकारका लागि आवाज उठाइन्।
मलालाले आफ्नो अभियान बीबीसीका लागि ब्लग लेखेर सुरु गरिन्। उनले आफ्ना लेखहरूमा पाकिस्तानमा तालिबान शासनमा बाँच्नु पर्दाको अवस्था र उनीहरूले बालिकाहरूलाई विद्यालय जान निषेध गर्दाको अनुभव समेट्थिन्। सन् २०१२ को अक्टोबरमा एक बन्दुकधारीले उनलाई खोज्दै उनी चढेको बसमा उक्लिए र उनको टाउकोमा गोली प्रहार गरे।
स्वास्थ्यलाभ हुँदै जाँदा उनले पुनः आफ्नो कामलाई निरन्तरता दिएकी छन्। उनी मलाला फन्डकी सह-संस्थापक हुन्। उक्त संस्थाको उद्देश्य हरेक बालिकालाई त्रासरहित सिक्ने र नेतृत्व गर्ने वातावरण सिर्जना गर्नु हो।
*आज लाखौँ बालिका विद्यालयबाट टाढा छन्। म त्यस्तो विश्व देख्न चाहन्छु जहाँ हरेक बालिका एवं किशोरीहरू १२ वर्ष लामो नि:शुल्क, सुरक्षित र गुणस्तरीय शिक्षा पाउँछन्। जहाँ हरेक बालिकाहरूले सिक्न र नेतृत्व लिन सक्छन्।
सम्बन्धित लेखहरू
युमा
तुर्कमेनिस्तानमनोचिकित्सक
गत अगस्टमा उनको परिवारलाई समलिङ्गी परेडमा सहभागी भएको देखाउने एउटा सुपर मार्केटको विज्ञापनमा सहभागी भएपछि सुरु भएको आलोचनापश्चात् उनी रुस छाड्न बाध्य भएकी थिइन्। एक मनोचिकित्सक र लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी युमा अहिले स्पेनमा बस्दै आएकी छन्।
आफ्नो थर खुलाउन नचाहने युमा सन् २०१३ मा रुसले समलिङ्गी प्रोपागान्डा कानुन पारित गर्दै बालिग नभइसकेकाहरूबीच गैरपरम्परागत लैङ्गिक सम्बन्धको प्रवर्द्धनमा प्रतिबन्ध लगाएपछि उनी अभियानकर्मी भएकी थिइन्।
उनले रुसी प्रहरीले सन् २०१७-१८ मा यातना दिएको आरोप लगाउँदै आएका 'चेच्या' लैङ्गिक अल्पसङ्ख्यकहरूलाई मनोपरामर्श प्रदान गरिरहेकी छन्। लैङ्गिक अल्पसङ्ख्यकहरूले आयोजना गर्ने कार्यक्रम र पर्वहरूमा पनि उनले सहयोग पुर्याउँदै आएकी छन्।
*बाध्यकारी एकान्तवासले नजिकको सम्बन्ध कति महत्त्वपूर्ण छ भन्ने दर्शाएको छ। यसले हामी विश्वमा के गरिरहेका छौँ र हाम्रो प्रिय मान्छेका लागि के गर्न चाहन्छौँ भन्ने मूल्याङ्कन गर्न सिकाएको छ।
जाला जाजाई
अफगानिस्तानमहिला प्रहरी
जाला जाजाई खोस्त प्रान्तको आपराधिक अनुसन्धान विभागकी प्रथम प्रहरी उपप्रमुख हुन्। खोस्त प्रान्त विद्रोही समूहहरूका कारण अस्थिर भएको थियो। सेकेन्ड लेफ्टिनेन्ट जाजाई ती ४,००० महिला प्रहरी अधिकारीमध्ये एक हुन् जो टर्कीको प्रहरी प्रतिष्ठानबाट प्रशिक्षित भएकी थिइन्।
सेवा अवधिमा उनले आफ्नो प्रहरी सहकर्मीबाट धम्की सहनु परेको थियो। त्यसैगरी विद्रोही समूहले पनि उनलाई मार्ने धम्की दिन्थे।
सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि जाजाई आफ्नो देश छोड्न बाध्य भइन्। त्यसयता उनी अफगानिस्तानमै लुक्न बाध्य अन्य महिला प्रहरीहरूको सुरक्षाका लागि आवाज उठाइरहेकी छिन्।
*मेरो सपना फेरि बर्दीमा ठाँटिनु हो। म परम्परा र पितृसत्ताविरुद्ध उभिन चाहन्छु। मेरो उद्देश्य दुर्गम ठाउँका काम गर्ने अधिकार नपाएका अफगान महिलाहरूका लागि काम गर्नु हो।
कसरी छानिए १०० महिला?
बीबीसी को १०० विमिन टोलीले उनीहरू तथा बीबीसी विश्वसेवाका भाषा टोलीहरूले सङ्कलन गरेका नामहरू छाँटकाँट गरेको थियो। गत १२ महिनामा कसले हेडलाइनहरूमा स्थान पाएका थिए अनि कसले महत्त्वपूर्ण प्रभाव पारेका थिए भनेर हेरिएको थियो। साथै समाचार नबनेपनि कसैसँग प्रेरक कथा छन् कि, वा कुनै महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको छ कि, वा कसैले समाजमा विशेष प्रभाव पारेका छन् कि भनेर पनि हेरिएको थियो।
उक्त नामहरूलाई यो वर्षको मुख्य 'थिम' - हाम्रा समाज, हाम्रा संस्कृति अनि हाम्रा संसारलाई परिष्कृत गर्न लागिपरेका महिलाहरू जसले महामारी पछिको विश्वलाई सुधार्न भूमिका खेलेका छन् - सँग तुलना गरेर थप हेरफेर गरियो। साथै क्षेत्रीय प्रतिनिधित्व तथा निष्पक्षतालाई पनि आधार मान्दै अन्तिम नामावली चयन गरिएको थियो।
यो वर्षको बीबीसी १०० विमिनले सूचीमा आधा महिला अफगानिस्तानबाट छान्ने अभूतपूर्व निर्णय पनि गर्यो। उक्त देशमा हालै भएका घटनाहरूपश्चात् दशौँ लाख अफगानहरू भविष्यबारे चिन्तित छन्। मानवअधिकारवादी समूहहरूले तालिबानको शासनमा त्यहाँ भावी दिनमा महिलाका स्वतन्त्रताहरूमा थप क्षयीकरण हुनसक्ने बताइरहेका छन्।
सूचीको आधा नाम उक्त देशका महिलाहरूमा समर्पित गर्दै गर्दा बीबीसीले तीमध्ये कतिपयलाई सार्वजनिक जीवनबाट 'हराउनु' परेको बाध्यता पनि उजागर गर्न खोजेको छ। तथा दबाइएका तिनका आवाज सुनाउन चाहेको छ।
डिसेम्बर ३ मा तालिबानले तिनको सर्वोच्च नेताको नामबाट आदेश जारी गर्दै मन्त्रालयहरूलाई 'महिला अधिकारबारे' गम्भीर कामकारबाही गर्न अह्राएको छ। उक्त आदेशमा विवाह तथा सम्पत्तिमा महिला अधिकारबारे नियमहरू खुलाइएका छन्।
त्यसमा महिलाहरूलाई जबरजस्ती विवाहबन्धनमा पार्न नपाइने अनि उनीहरूलाई 'सम्पत्ति' को रूपमा व्यवहार गर्न नपाइने उल्लेख छ। तर उक्त आदेशमा बालिकाको माध्यमिक शिक्षासम्बन्धी अधिकार अनि महिलाको काम गर्ने अधिकार कटौती भएका बारे केही उल्लेख नभएको भन्दै कतिपयले आलोचना गरेका छन्।
सूचीमा रहेका केही अफगान महिलाहरूको पहिचान उनीहरू तथा परिवारको सुरक्षाका कारणले उनीहरूकै अनुमतिमा अज्ञात राखिएको छ। यसो गर्दा बीबीसी सम्पादकीय नीति एवं सुरक्षा मापदण्डको पनि पालना गरिएका छन्।
क्रेडिट
Produced and edited by Valeria Perasso, Amelia Butterly, Lara Owen, Georgina Pearce, Kawoon Khamoosh, Haniya Ali, Mark Shea. BBC 100 Women editor: Claire Williams. Production by Paul Sargeant, Philippa Joy, Ana Lucía González. Development by Ayu Widyaningsih Idjaja, Alexander Ivanov. Design by Debie Loizou, Zoe Bartholemew. Illustrations by Jilla Dastmalchi.
फोटो कपिराइट: Fadil Berisha, Gerwin Polu/Talamua Media, Gregg DeGuire/Getty Images, Netflix, Manny Jefferson, University College London (UCL), Zuno Photography, Brian Mwando, S.H. Raihan, CAMGEW, Ferhat Elik, Chloé Desnoyers, Reuters, Boudewijn Bollmann, Imran Karim Khattak/RedOn Films, Patrick Dowse, Kate Warren, Sherridon Poyer, Fondo Semillas, Magnificent Lenses Limited, Darcy Hemley, Ray Ryan Photography Tuam, Carla Policella/Ministry of Women, Gender and Diversity (Argentina), Matías Salazar, Acumen Pictures, Mercia Windwaai, Carlos Orsi/Questão de Ciência, Yuriy Ogarkov, Setiz/@setiz, Made Antarawan, Peter Hurley, Jason Bell, University of Sheffield Hallam, Caroline Mardok, Emad Mankusa, David M. Benett/Getty, East West Institute Flickr Gallery, Rashed Lovaan, Abdullah Rafiq, RFH, Jenny Lewis, Ram Parkash Studio, Oslo Freedom Forum, Kiana Hayeri/Malala Fund, Fatima Hasani, Nasrin Raofi, Mohammad Anwar Danishyar, Sophie Sheinwald, Payez Jahanbeen, James Batten.
के हो १०० विमिन?
बीबीसी १०० विमिन ले हरेक वर्ष विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूची प्रकाशन गर्छ। ती महिलाबारे वृत्तचित्र, फिचर तथा अन्तर्वार्ता प्रसारण तथा प्रकाशन गर्छ - महिलाहरू केन्द्रमा राखिएका सामग्री।
बीबीसी १०० विमिनका लागि Instagram, Facebook र Twitter मा पनि फलो गर्न सकिन्छ। यसबारेका कुराकानीका निम्ति #BBC100Women प्रयोग गर्न सकिन्छ।