अपाङ्गता भएकाहरूका लागि अन्तरिक्षमा अवसर सिर्जना गर्ने प्रयासमा यी 'प्याराखेलाडी'

सेन्ट्रिफ्यूज यन्त्रमा जोन म्याकफल

तस्बिर स्रोत, ESA

तस्बिरको क्याप्शन, सबै प्रशिक्षार्थी अन्तरिक्षयात्रीले यो सेन्ट्रिफ्यूज यन्त्रमा बसेर गोलगोल घुम्नुपर्छ
    • Author, रेबेका मोरेल र एलिशन फ्रान्सिस
    • Role, बीबीसी न्यूज साइन्स

एकजना भूतपूर्व प्यारालिम्पिक्स खेलाडी जोन म्याकफल हाल युरोपेली अन्तरिक्ष एजेन्सीसँग एउटा उल्लेखनीय अनुसन्धान परियोजनामा काम गर्दै छन्।

यसमा शारीरिक अपाङ्गता भएका मानिसले अन्तरिक्षमा बस्न र काम गर्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरिँदै छ।

उनले अन्तरिक्षयात्रीको प्रशिक्षण लिइरहँदा उनको प्रगतिलाई बीबीसी न्यूजले पछ्याइरहेको छ।

यो यस्तो परीक्षण हो जसमा सबै नयाँ अन्तरिक्षयात्री बन्ने आकाङ्क्षीहरू सहभागी हुनुपर्दछ। तर यो ‘कमजोर मुटु’ भएका वा साँघुरो ठाउँमा अत्यास लागेर डराउनेहरूका लागि सहज भने हुँदैन।

ठूलो आवाजसहित ढोका बन्द हुन्छ र कफिन आकारको धातुको अँध्यारो बाकसमा जोन म्याकफल थुनिन्छन्। त्यसपछि त्यो बाकस बेस्सरी घुम्न थाल्छ।

महत्त्वपूर्ण परीक्षण

सेन्ट्रिफ्यूज मशीन

तस्बिर स्रोत, ESA

तस्बिरको क्याप्शन, यो मशीनले अन्तरिक्षयात्रीले पृथ्वी छाड्दा र पुनः प्रवेश गर्दा गर्ने जस्तो चरम गुरुत्वबलको अनुभव हुने वातावरण तयार पार्दछ

उनी एउटा ठूलो आकारको 'सेन्ट्रिफ्यूज' भनिने गोलो गोलो घुम्ने यन्त्रमा छन्। यस यन्त्रले रकेट प्रक्षेपण हुँदा अनुभव हुने गुरुत्वाकर्षणको चरम बलको र पृथ्वीमा फर्कँदा अनुभव हुने ‘जी फोर्स’ भनिने बलको जस्तो अवस्था सिर्जना गर्छ।

“जति छिटो छिटो यो उपकरण घुम्छ, 'जी फोर्स'को शक्ति पनि त्यसरी नै बढ्छ,” जोन बताउँछन्।

“र आज हामी '६ जी' भनिने स्तरसम्मको अवस्थामा जानेछौँ, त्यो भनेको पृथ्वीको गुरुत्वाकर्षण बलभन्दा छ गुणा बढी शक्ति हो। यो परीक्षणले सोयूज अन्तरिक्ष वाहनबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अनुभव हुने बलको अवस्था सिर्जना गर्दछ।”

यो युरोपेली अन्तरिक्ष निकायसँग जोनले गरिरहेका तालिम कार्यक्रमसम्बद्ध एक परीक्षण हो।

सन् २०२२ मा उनलाई शारीरिक अपाङ्गता भएका प्रथम अन्तरिक्षयात्रीको उम्मेदवारका रूपमा चयन गरिएको थियो। सुरक्षित रूपमा उनी अन्तरिक्षमा जान सक्छन् कि सक्दैनन् भनेर गरिने अनुसन्धानमा काम गर्न उनलाई छानिएको थियो।

जोन म्याकफल

तस्बिर स्रोत, BBC/Tony Jolliffe

तस्बिरको क्याप्शन, जोनले दौडनका लागि विशेष प्रकारको 'रनिङ ब्लेड' भनिने कृत्रिम खुट्टाको प्रयोग गर्छन्

उन्नाइस वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परेपछि उनको दाहिने खुट्टाको तल्लो भाग काटिएको छ। उनले सामान्यतया उच्च प्रविधियुक्त कृत्रिम प्रोस्थेटिक खुट्टा लगाउने गर्छन् तर यो परीक्षणका क्रममा उनको खुट्टाको माथिल्लो भागमा सेन्ट्रिफ्यूज यन्त्रको प्रभाव कस्तो पर्छ भनेर थाहा पाउन उनले त्यो फुकालेका छन्।

ईएसएकी फ्लाइट सर्जन मेब्रिट काउपर्सले उनको परीक्षण गरिरहेकी छन्।

उनी भन्छिन्, ”खुट्टा काटिएका व्यक्तिको सेन्ट्रिफ्यूज उपकरणमा राखेर गरिएको यो पहिलो परीक्षण हो।”

“अन्तरिक्ष उडानका क्रममा अन्तरिक्षयात्री खास गरी उत्तानो परेर बसेको जस्तो अवस्थामा हुन्छ, त्यसबाट उसको रक्त सञ्चार प्रक्रिया प्रभावित हुन्छ खुट्टाको भागमा पनि। हामी यसबाट उनलाई कस्तो प्रभाव पर्छ भनेर जान्न उत्सुक थियौँ तर त्यो सबै एकदमै राम्रो सँग भयो।”

परीक्षण सफल होला?

जोन म्याकफल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जोन म्याकफलले चीनमा सन् २००८ मा आयोजित प्यारालिम्पिक्स खेल प्रतियोगितामा कांस्य पदक प्राप्त गरेका थिए

जोन अर्थोपेडिक सर्जन हुन् तर उनले आफ्नो त्यो करिअरलाई अन्तरिक्षयात्री बन्ने परीक्षणको अनिश्चित बाटोमा अघि बढ्नका लागि हाललाई थाँती राखेका छन्।

उनी यूकेबाट बसाइँसराइ गरेर युरोपेली अन्तरिक्ष यात्री केन्द्र रहेको जर्मनीको कोलोन सहर गएका छन्।

जोनले अन्तरिक्षयात्रा गर्न पाउने नै छन् भन्ने कुनै ग्यारेन्टी छैन। तर यो परीक्षणले उनी र उनको जस्तो शारीरिक अवस्था भएका व्यक्तिहरूका लागि अन्तरिक्षयात्रा सम्भव तुल्याउन के गर्न सकिन्छ र केके गर्न पर्छ भन्ने यकिन गर्न सघाउनेछ। त्यसमा अन्तरिक्ष वाहन, अन्तरिक्ष पोसाक वा उनका विभिन्न प्रकारका प्रोस्थेटिक्स कृत्रिम खुट्टाहरूमा परिवर्तन गर्न सकिने कुराहरू पनि पर्दछन्।

अहिले उनको दौडन प्रयोग गरिने कृत्रिम खुट्टा 'रनिङ ब्लेड'को परीक्षण गर्ने पालो हो।

खेलकुद जोनको जीवनको एक महत्त्वपूर्ण भाग हो। उनी पदक विजेता र तीव्र गतिका प्यारालिम्पिक धावक पनि हुन्। अन्तरिक्षमा शरिरको मांसपेशी र हड्डीको सघनता कायम राख्नका लागि शारिरीक अभ्यास र कसरत निकै महत्त्वपूर्ण मानिन्छ।

जोन म्याकफल

तस्बिर स्रोत, ESA/Novespace

तस्बिरको क्याप्शन, जोनलाई उनको कृत्रिम खुट्टाले अन्तरिक्ष उडानमा रहेका बेला कस्तो अनुभव गराउँछ भनेर थाहा पाउन यो परीक्षण गरिएको थियो

जोनले गुरुत्वाकर्षण शक्तिको विपरीत काम गर्ने ट्रेडमिलको प्रयोग गर्छन् र यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा भएको जस्तै पृथ्वीमा पनि तौलविहीनताको अवस्था सिर्जना गर्दछ। हावाको मद्दतले उनको शरीरलाई केही माथि उठाइन्छ र कृत्रिम रूपमा उनको तौल केही कम भएको जस्तो अनुभव हुन जान्छ।

यस्तो अवस्थामा उनको शरीरको तौलले कसरी ट्रेडमिलमा उनले लगाएको कृत्रिम खुट्टालाई टेक्न सघाउँछ, टेकिसकेपछि त्यसलाई कसरी उफार्छ र कुन प्रकारले उनी स्वाभाविक रूपमा नै दौडिएको जसरी चलायमान हुन सक्नेछन् भनेर जोनले हामीलाई बताउँछन्।

तर यो परीक्षणमा त्यो विशेष ट्रेडमिलले उनलाई उनको वास्तविक शारीरिक तौलको दाँजोमा ८०% प्रतिशतले हलुको बनाइदिएको छ। यसले गर्दा उनको रनिङ ब्लेडले राम्ररी काम गर्न सकेन।

“यो निकै अररो जस्तो भयो,” उनले बताए। “म हलुङ्गो बन्न पुग्दा मेरो शरीरको निकै कम बल मात्रै यो ब्लेडमा पर्न गयो। त्यसकारण ब्लेड पर्याप्त मात्रामा बाङ्गिन सकेन र त्यसले मेरो शरीरलाई दौडन सहज हुने गरी उफार्न सकेन।”

यसको समाधानका लागि अझ सजिलै बाङ्गिन सक्ने ब्लेडको प्रयोग गर्न सकिन्छ कि भन्ने उनलाई लागेको छ। तर अरू कुराहरू पनि छन्।

उनलाई अन्तरिक्ष स्टेशनमा बस्दा अरू धेरै प्रकारका प्रोस्थेटिक्स अर्थात् कृत्रिम खुट्टाहरूको आवश्यकता पर्ने लागेको छ।

“दौडनको लागि एक प्रकारको, माइक्रोप्रोसेसर जडित अर्को, एउटा यान्त्रिक खालको जुन अन्तरिक्षतर्फ जाँदा र त्यहाँबाट फर्कंदा स्पेससुट लगाइँदा प्रयोग हुन्छ,” उनले बताए।

यस्तो प्रकारको परीक्षण गर्ने ईएसए पहिलो अन्तरिक्ष एजेन्सी हो।

हालसम्म जोनको जस्तो अवस्थाका मानिसहरू शारीरिक अपाङ्गताका कारण अन्तरिक्षयात्री बन्न सकेका छैनन्। युरोपेली अन्तरिक्षयात्री केन्द्रका प्रमुख फ्र्याङ्क डु विनी यो अवस्थामा परिवर्तन ल्याउन चाहन्छन्।

“हामीलाई लाग्छ कि यो निकै ठूलो अवसर हो किनकि जोनजस्तै अपाङ्गता भएका मानिसहरूमा एकदम धेरै प्रतिभा भएकाहरू छन्,” उनले भने।

जोनले यो परियोजनाको आधा अवधि बिताइसकेका छन् र हालसम्म अन्तरिक्षयात्रामा जानका लागि उनलाई व्यवधान पुर्‍याउन सक्ने केही कुरा देखा परेको छैन।

हरेक चरणले उनलाई आफूले सही कुरा चयन गरेको छु भन्नेमा थप बल प्रदान गर्ने गरेको छ किनकि उनको सफलताले मानिसहरूको सोच र व्यवहारमा नै परिवर्तन ल्याइदिनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।