स्टारलाइनर: अन्तरिक्ष स्टेशन जान नासाले नयाँ विमान प्रयोग गर्ने

तस्बिर स्रोत, Nasa/Boeing
- Author, पल्लब घोष
- Role, विज्ञान संवाददाता
अमेरिकी अन्तरिक्ष निकाय नासाका दुई जना अन्तरिक्ष यात्री नयाँ अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षतिर उड्ने भएका छन्। सोमवारका लागि तय भएको प्रक्षेपण सुरक्षा समस्याका कारण अन्तिम समयमा स्थगित भए पनि शुक्रवार प्रक्षेपणको नयाँ प्रयत्न हुन सक्ने बताइएको छ।
बोइङको स्टारलाइनरले गर्न लागेको चालक दल सहितको परीक्षण उडान फ्लोरिडाको केप म्याभेरलबाट गर्ने तय भएको छ।
विमान विकास क्रममा उत्पन्न गडबडीका कारण यो लक्ष्य केही वर्षले ढिला हुन पुगेको थियो।
शुक्रवारको प्रयत्न सफल भएमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतिर र बाट उडान गर्ने बोइङ दोस्रो निजी कम्पनी बन्नेछ। अहिलेसम्म इलोन मस्कको स्पेस एक्सले त्यस्तो काम गर्दै आएको छ।
नासा अब यस्ता विमान किन्न र चलाउन चाहन्न बरु उसले अरू व्यावसायिक क्षेत्रबाट यस्तो सेवा किन्न चाहिरहेको छ।
स्थानीय समय अनुसार सोमवार २२:३४ बजे ‘लिफ्ट अफ’ निर्धारण गरिएकोमा सुरक्षा सम्बन्धी समस्या देखिएका कारण दुई घण्टाअघि स्थगित गरिएको थियो। अन्तरिक्षयात्रीहरू विमानमा बसिसकेको अवस्थामा अक्सिजन प्रवाह हुने भल्वमा समस्या देखिएको हो।
बोइङले एउटा सोसल मिडिया पोस्टमा भनेको छ, शुक्रवार प्रक्षेपणको नयाँ प्रयत्न हुनसक्छ।
बोइङका लागि पनि खतराको क्षण

तस्बिर स्रोत, Boeing
यो प्रक्षेपणलाई बोइङका लागि खतराको क्षणका रूपमा पनि हेरिएको छ।
एकपछि अर्को दुर्घटनाका कारण बोइङ एअरलाइन व्यवसाय दबावमा रहेको छ। यो कम्पनीको पहिले नै कठिनाइहरू सामना गर्दै आएको अन्तरिक्ष क्षेत्र पनि अनुगमनको दायरामा छ।
ओपन युनिभर्सिटीका अन्तरिक्ष वैज्ञानिक डा शिमोन बार्बरले भने, “यो बोइङका लागि वास्तवमा ठूलो दिन हो।”
“यो कम्पनीले लामो समयदेखि विमानबारे काम गरिरहेको छ। उनीहरूको परीक्षण उडानमा केही समस्या भएको थियो र यसमा गर्नुपर्ने धेरै छ।”
खासमा स्टारलाइनरले सन् २०१५ मा नै मानव बिनाको परीक्षण उडान गर्न लागेको थियो तर त्यो कार्यक्रममा केही ढिला भएर सन् २०१९ पुग्यो।
त्यसपछि परीक्षण उडान हुनै लागेका बेला प्राविधिक गडबडी भएर आन्तरिक घडीमा खराबी आयो जसले समस्या निम्त्यायो।
त्यसका कारण धेरै इन्धन प्रयोगमा आएकाले विमान अन्तरिक्ष स्टेशनसम्म पुग्न सकेन।
२०२१ मा दोस्रो प्रयासको योजना बनाइएको थियो, तर त्यो पनि २०२२ सम्म लम्बिन पुग्यो।
त्यसो हुनुमा यानलाई अघि धकेल्ने प्रणालीमा आएको समस्यालाई जिम्मेवार ठहर्याइयो।
अन्तत: जब यसले धर्ती छाड्यो, आफ्नो लक्ष्य पूरा गर्न सफल भयो। यद्यपि पछि यसका केही थ्रस्टर इन्जिनको प्रदर्शन तथा चिस्यान प्रणालीवारे प्रश्न उठ्यो।
यी समस्यासहित विद्युतीय तार तथा पारासुट सम्बन्धी सुरक्षा समस्यालाई हल गर्नका निम्ति पूर्व निर्धारित यात्रुसहितको प्रक्षेपण कार्यक्रम आजसम्म धकेलिन पुग्यो।
सबै गडबडी सुल्झिएको पक्का नभएको भए नासा र बोइङले अन्तरिक्ष यात्रीहरूसहितको उडान गर्न अनुमति दिँदैनथे।
यानमा समस्याको सङ्केत देखिएमा प्रक्षेपण रद्द गरिनेछ।

तस्बिर स्रोत, Nasa/Boeing
उडानपूर्व आयोजित एउटा पत्रकार सम्मेलनमा एकजना रिपोर्टरले नौसेना–प्रशिक्षित अन्तरिक्ष यात्रीहरूलाई लक्ष्य गर्दै यस कार्यक्रमले बेहोर्दै आएको असफलताले उनीहरूको मित्रजन तथा परिवारजनको 'सातो गएको' हुन सक्ने टिप्पणी गरे।
ब्यारी 'बुच’ विल्मोरले विभिन्न प्राविधिक समस्याहरूलाई 'विफलता' भनेर व्याख्या गर्नु गलत हुने बताए।
"हामी त्यसलाई अगाडिका पाइलाहरू भन्छौँ। हामी समस्या भेटाउँछौँ र त्यसलाई हल गर्छौँ। त्यसपछि हाम्रा परिवारजनलाई त्यसवारे जानकारी गराउँछौँ ताकि उनीहरूले बुझून्", उनले थपे।
अन्तरिक्ष यानकी पाइलट सुनिता 'सुनि' विलियम्सले टिप्पणी गरिन्, "हामी सबै यहाँ छौँ, किनकि हामी सबै तयार छौँ। हाम्रो परिवार तथा मित्रहरूले यसको बारेमा सुनेका छन्, हामीले कुराकानी गरेका छौँ। हामी यो समाधान प्रक्रियाको हिस्सा भएकोमा उनीहरू खुसी छन् र गर्व गर्छन्।"
स्पेस एक्स अघिअघि बोइङ पछिपछि
नासाले पुराना अन्तरिक्ष यानका ठाउँमा स्पेस एक्स र बोइङलाई प्रयोग गर्ने घोषणा गर्दा उसले दुवै कम्पनीसँग उस्तै खाले सम्झौता गरेको थियो।
स्पेस एक्ससँग २.६ बिलियन अमेरिकी डलरको सम्झौता थियो भने बोइङले ४.२ बिलियन अमेरिकी डलरको सम्झौता प्राप्त गरेको थियो।
स्पेस एक्स सन् २०२० मै यात्रीसहितको उडान गर्न सफल भयो। यस अर्थमा बोइङ चार वर्ष पछाडि छ। कम्पनीले गडबडीहरू ठिक पार्न धेरै रकम खर्च गरेको पनि छ।
डाक्टर बार्बर स्पेस एक्स तथा अन्य स्टार्ट–अपको प्रविधि विकासलाई हेर्ने दृष्टिकोण नयाँ छ जसले नयाँ अन्वेषणतर्फ लगेको छ भन्छन्।
"एकातिर तपाईँसँग एउटा परम्परागत अन्तरिक्ष कम्पनी (बोइङ) छ जो लामो समयदेखि छ र एउटा निश्चित तरिकाले काम गर्दछ। अर्कोतिर तपाईँसँग नयाँ कम्पनी छ जसले हरेक चिज फरक तरिकाले गर्छ। बनाउने, परीक्षण गर्ने, भत्काउने, फेरि बनाउने…त्यसैले उनीहरूको विकास चक्र निकै तीव्र छ", उनले बीबीसीसँग भने।
पत्रकार सम्मेलनमा बोइङका कमर्सियल क्रू प्रोग्राम म्यानेजर मार्क न्यापीले परीक्षण उडानमा खराबी पत्ता लगाउनु नयाँ अन्तरिक्षयान विकास क्रमको सामान्य हिस्सा भएको बताए।
"डिजाइन र विकासको चरणमा निरन्तर उतारचढाव देखा पर्छ, तर समग्र स्थिति सधैँ विकासोन्मुख नै हुन्छ। त्यसैले आज हामी यो स्थानमा आइपुगेका छौँ। हामी यो प्रक्रियाको शिखरमा छौँ।"

तस्बिर स्रोत, Nasa
यूके स्पेस एजेन्सीका अन्वेषण प्रमुख लिबी ज्याक्सनका अनुसार बोइङको यान सेवामा आउनु भनेको स्पेस एक्सको लागि प्रतिस्पर्धा हो, यसले मूल्यमा कटौती गराउन सक्छ।
"यो नासाका लागि मात्रै नभएर यूके स्पेस एजेन्सीजस्ता अरू अन्तरिक्ष सम्बन्धी कम्पनीहरूका लागि पनि महत्त्वपूर्ण छ, किनकि हाम्रा अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्याउन हामीले करदाताहरूको पैसा खर्च गरिराखेका छौँ र हामी त्यसको राम्रो सदुपयोग होस् भन्ने चाहन्छौँ", उनले भनिन्।
बोइङ
स्टारलाइनरको भित्री भाग अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्याएको अपोलो क्याप्सुलभन्दा फराकिलो छ।
आफ्नो वास्तविक मोड्युलसँग जोडिँदा स्टारलाइनरको उचाइ ५ मिटर र चौडाइ ४.६ मिटर हुन्छ। यो अपोलो मिसनमा प्रयोग गरिएको मोड्युल भन्दा चौडा हो। यसमा सात जना अन्तरिक्ष यात्री अटाउन सक्छन्, यद्यपि सम्भवतः ४ जनालाई लिएर मात्रै नियमित उडान गर्नेछ। यसलाई पुनः प्रयोग गर्न मिल्ने र १० पटकसम्म उडान गर्ने उद्देश्य राखिएको छ।
के कस्ता परीक्षण हुनेछन्?
अन्तरिक्षतर्फको यात्राको क्रममा चालक दलले यानको सिट, लाइफ–सपोर्ट तथा नेभिगेसन प्रणालीको परीक्षण गर्नुका साथै अन्तरिक्ष स्टेसनमा माल सामग्री आपूर्ति गर्ने प्रणालीको पनि मूल्याङ्कन गर्नेछन्।
उनीहरू नयाँ स्पेस–सुटको (अन्तरिक्षमा जाँदा लगाइने लुगाको) पनि परीक्षण गर्नेछन्। विल्मोर र विलियम्सले बोइङको नयाँ निलो सुट पहिरिनेछन् जो अमेरिकी अन्तरिक्षयात्रीहरूले पहिरिँदै आएको अघिल्लो पुस्ताको अन्तरिक्ष लुगाको तुलनामा लगभग ४० प्रतिशतले हलुका र लचिलो समेत छ। नयाँ लुगामा टच स्क्रिनसहितको पञ्जा पनि छ, जसको मद्दतले उनीहरूले यानमा ट्याब्लेट प्रयोग गर्न सक्नेछन्।
यसकारण इतिहासकै महत्त्वपूर्ण क्षण

तस्बिर स्रोत, NASA
पृथ्वीमा फर्किनु अघि दस दिनसम्म स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडिनेछ। यस अघि पृथ्वीमा फर्केपछि समुन्द्रमा अवतरण गर्ने चलनभन्दा फरक नयाँ स्टारलाइनर दक्षिण पश्चिमी अमेरिकी भूभागमा जमिनमा अवतरण गर्नेछ।
पृथ्वीमा अवतरण गर्दाको धक्का सामान्य बनाउन एअरब्याग खुल्नु अघि हीटशील्ड र पारासुटहरूले तल झर्ने गति सुस्त बनाउनेछन्।
सबै कुरा योजनाबद्ध तरिकाले सम्पन्न भएको खण्डमा स्टारलाइनर नियमित सेवाका निम्ति योग्य भएको प्रमाणित गरिनेछ।
सम्भवतः आगामी वर्ष हुने अर्को उडानमा यसले चार यात्री तथा सरसामग्री बोकेर जानेछ।
सन् १९९८ मा निर्माण सुरु भएयता सयभन्दा धेरै पटक यात्रीसहितका अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगिसकेका छन्। तर अमेरिकास्थित अन्तरिक्ष परामर्शदाता संस्था क्विल्टीका कालेब हेनरीका अनुसार स्टारलाइनरको प्रक्षेपण अन्तरिक्ष उडानको इतिहासमा एउटा महत्त्वपूर्ण क्षण हो।
"हामी अब मानव अन्वेषणको नयाँ युगमा प्रवेश गर्दैछौँ", उनले बीबीसी न्यूजसँग भने।
"निजी क्षेत्रको बढ्दो भूमिका उत्साहजनक छ। यसले अन्तरिक्ष यात्राको सङ्ख्यालाई पनि बढाएको छ, सँगसँगै नयाँ अवसरको सिर्जना पनि गरेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








