मानिसहरू किन पुनः चन्द्रमामा जाँदै छन्? 'पूर्णतया फरक खेल'को यस्तो महत्त्व

तस्बिर स्रोत, NASA
- Author, एन्जेल हेन्शल
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
पचास वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो मानव मिशन आउँदा केही साताहरूभित्रै प्रक्षेपण हुने भएको छ।
नासाको 'आर्टमिस २' मार्चदेखि एप्रिलको सुरुसम्म कुनै पनि समयमा प्रक्षेपण हुन सक्छ। यकिन मिति भने अन्तरिक्षयानको अन्तिम जाँच, चन्द्रमाको स्थिति र मौसमको अवस्था लगायतका विभिन्न पक्षहरूमा निर्भर गर्छ।
चालक दलले सतहमा पाइला टेक्ने छैनन् तर नासाले यो १० दिने "स्लिङशट" यात्राले चन्द्रमामा स्थायी उपस्थिति स्थापित गर्ने र अमेरिकीहरूलाई मङ्गल ग्रहमा पठाउने बाटो खुला गर्ने आशा गरेको छ।
तर चन्द्रमामा फर्कन खोजिरहेको देश संयुक्त राज्य अमेरिका मात्रै छैन।
किन देशहरू खगोलीय पिण्डमा पाइला राख्न हतार गरिरहेका छन् र नयाँ अन्तरिक्ष दौडमा के स्वार्थ छ?
मिशनको उद्देश्य के हो?

तस्बिर स्रोत, NASA/Sam Lott
'स्क्र्याम्बल फर द स्काइज' पुस्तककी लेखिका डा. नम्रता गोस्वामीले बीबीसीलाई बताएअनुसार सन् १९६० र ७० को दशकमा चन्द्रमामा प्रसिद्ध 'अपोलो' मिशनहरूमा जस्तो यो यात्रा मानिसहरूलाई चन्द्रमामा लग्ने र फर्काउने मात्र होइन।
"बरु यो अमेरिकाका लागि चन्द्रमामा स्थायी उपस्थिति स्थापित गर्ने र बहुमूल्य खनिज उत्खनन गर्ने लक्ष्यको एउटा खुड्किलो हो," उनी भन्छिन्।
यो २०२२ को मानवरहित मिशन 'आर्टमिस १'कै शृङ्खला हो, जुन नासाको उसबेलाको नयाँ गहिरो अन्तरिक्ष अन्वेषण प्रणालीको पहिलो परीक्षण थियो।
अन्य कामहरूका साथै 'आर्टमिस २'का चालकदलले भविष्यमा चन्द्रमा अवतरणको निम्ति 'ओरिअन' अन्तरिक्षयानको सञ्चालन र त्यसलाई व्यवस्थित गर्ने अभ्यास गर्ने छ।
अन्तरिक्षमा यसको सबैभन्दा गहिराइको बिन्दुमा यो चन्द्रमाको बाहिरी भागभन्दा लगभग ४,६०० माइल टाढा हुने छ।

तस्बिर स्रोत, Getty Images
चन्द्रमामा फर्किन यति लामो समय किन लाग्यो?
पछिल्लो पटक सन् १९७२ मा शीतयुद्धका बेला नासाको 'अपोलो-१७' मिशनमार्फत् चन्द्रमामा मानव पाइला परेको हो।
त्यस बेला संयुक्त राज्य अमेरिकाले अन्तरिक्षको दौड जितिसकेको थियो। उसले 'अपोलो-११' बाट पहिलो पटक अन्तरिक्षयात्रीहरूलाई सन् १९६९ मा चन्द्रमामा पुर्याएको हो। यस्तो उपलब्धि सोभियत सङ्घले कहिल्यै प्राप्त गर्न सकेन।
गोस्वामीका अनुसार आफ्नो लक्ष्य हासिल गरिसकेपछि चन्द्रमाको यात्रालाई निरन्तरता दिनुको कुनै कारण थिएन, अनि यो असामान्य महँगो थियो।
सन् १९६१ देखि १९७२ सम्म सञ्चालन गरिएको अपोलो कार्यक्रमको लागत २५.८ अर्ब डलर थियो, जुन अहिलेको मूल्यमा २९० देखि ३२० अर्ब डलर बराबर हो।

तस्बिर स्रोत, Bettmann Archive/Getty Images
तथापि त्यसयता इलोन मस्कको 'स्पेसएक्स र जेफ बेजोसको '' ब्लू ओरिजिन'द्वारा गरिएका पुनः प्रयोग गर्न सकिने रकेटहरूको विकासजस्ता प्राविधिक सफलताहरूले लागतले मूल्य घटाउन मद्दत गरेको छ। यसले गर्दा धेरै देशहरू अन्तरिक्ष अन्वेषणतर्फ अग्रसर हुन खोजिरहेका छन् भने अन्तरिक्षयात्रासँग सम्बन्धित 'स्टार्टअप' तीव्र बनेको छ।
अहिले ७० भन्दा बढी देशहरूका आफ्नै राष्ट्रिय अन्तरिक्ष कार्यक्रमहरू छन्।
तर सम्भवतः अमेरिकाको चन्द्रमा यात्राको नयाँ महत्त्वाकाङ्क्षाको सबैभन्दा ठूलो प्रेरक चीन र यस क्षेत्रमा उसको बढ्दो सफलता हो।
सन् २०१९ मा 'चाङ ए -४' अन्वेषणसहित पृथ्वीबाट टाढा रहेको अँध्यारो भागमा अवतरण गर्ने चीन पहिलो देश बनेको थियो।
सन् १९५७ मा अन्तरिक्षमा पहिलो पटक प्रक्षेपण गरिएको सोभियत भूउपग्रहतर्फको सन्दर्भ उल्लेख गर्दै डा. नम्रता गोस्वामी उक्त अवतरणले अमेरिकालाई 'ब्युँझाएको' र त्यसलाई 'स्पुतनिकको क्षणजस्तो' बताउँछिन्।
"उनीहरूले महसुस गरे- कतै चीनले रुसी प्रविधिको नक्कल गरिरहेको त छैन," उनको भनाइ छ।
चीनले सफलता हासिल गर्नुअघि नै डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा अन्तरिक्ष निर्देशिकामा हस्ताक्षर गर्दा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा फर्काउने र अन्तरिक्ष अन्वेषण गर्ने खुला प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यस बेला उनले उक्त निर्देशिकाले 'अमेरिकाको अन्तरिक्ष कार्यक्रमले फेरि सम्पूर्ण मानवजातिको नेतृत्व गर्ने र प्रेरित गर्ने' सुनिश्चित गर्ने बताएका थिए।

तस्बिर स्रोत, ADEK BERRY/AFP via Getty Images
अन्तरिक्षयात्री चन्द्रमामा फर्किँदाको महत्त्व के छ?
चीनले अमेरिकासँग अन्तरिक्ष दौडमा भाग लिएको कुरा अस्वीकार गरेको छ। तर आम रूपमा विज्ञहरू चन्द्रमामा फर्किने पहिलो देश हुने होडबाजी सुरु भइसकेको विश्वास गर्छन्।
अधिकांश विश्लेषकहरू चन्द्रमामा उपस्थिति स्थापित गर्ने पहिलो देशले पानीको बरफ भेटिइसकेको दक्षिणी ध्रुवसहित बहुमूल्य स्रोत क्षेत्रमा वास्तविक नियन्त्रण गर्न सक्ने ठान्छन्।
त्यो पानी पिउनका निम्ति, अक्सिजन बनाउन, साथसाथै ग्यासहरूलाई तरल पारेर अनि अक्सिजन र हाइड्रोजन छुट्टाएर रकेट इन्धनका लागि प्रयोगयोग्य बनाउन सकिन्छ, जसले अन्तरिक्षमा इन्धन भर्न सकिने सम्भावना बढाउँछ।
विज्ञहरूका अनुसार यसले पृथ्वीबाट महँगो अन्तरिक्ष प्रक्षेपण गर्नुपर्ने बाध्यता कम गर्ने छ र भविष्यमा मङ्गल ग्रहमा हुने मिशनको आशा बढाउने छ।
चन्द्रमामा पानीका अतिरिक्त फलाम, एल्यमिनिअम र टाइटेनिअमजस्ता निर्माणमा प्रयोग हुने धातुलगायत पत्ता लगाइएको छ। थप स्रोतहरूको पनि पहिचान गरिँदै छ।
हिलिअमको एउटा दुर्लभ प्रकार- अत्यधिक मूल्यवान् आइसोटोप हिलिअम-३को मूल्य पृथ्वीमा प्रतिकिलो २ करोड डलर पर्ने बताइन्छ। त्यो अन्ततः परमाणु फ्यूजन रियाक्टरहरूलाई इन्धन दिन प्रयोग गर्न सकिन्छ।
तर हिलिअम-३ जस्ता स्रोतहरूको उत्खनन निकै चुनौतीपूर्ण छ।
त्यसमा उत्खनन उपकरणहरूले उज्यालोमा १२० डिग्री सेल्सिअस (२४८ फरेनहाइट) देखि रातमा माइनस १७० डिग्री सेल्सिअस (माइनस २७४ फरेनहाइट) सम्मको तापक्रमको सामना गर्नुलगायतका चुनौतीहरू छन्।
भविष्यमा हिलिअम-३ को उत्खननमा ठूलो लगानी आवश्यक पर्छ साथै चन्द्रमाको माटोको विशाल मात्रालाई प्रशोधन पनि आवश्यक हुन्छ।
"कुनै पनि कुरा तब मात्र सार्थक हुन्छ जब तपाईँ त्यसलाई निकाल्न सक्नुहुन्छ, बेच्नु सक्नुहुन्छ, त्यसबाट तर्कसङ्गत रूपमा नाफा कमाउनुहुन्छ अनि त्यो लगानीका निम्ति योग्य होस्, पहिल्यै पाउन सकियोस्," यूकेको साइन्स म्यूजीअमकी अन्तरिक्ष प्रमुख लिबी ज्याक्सन भन्छिन्, "तपाईँले केवल केही मिलिग्राम हिलिअम-३ प्राप्त गर्न एक मेट्रिक टन चन्द्रमाको धुलो वा माटो जस्ता पदार्थ प्रशोधन गर्नुपर्ने छ।"

तस्बिर स्रोत, Bloomberg via Getty Images
चन्द्रमामा सबैभन्दा पहिले कसको पाइला पर्ला?
अमेरिका र चीनलाई आजको अग्रणी अन्तरिक्ष शक्तिका रूपमा हेरिन्छ।
अमेरिकाले आर्टमिस ३ का साथ चन्द्रमामा मानव पुनरागमन गर्ने आशा गरेको छ, त्यसको निम्ति उसले जतिसक्दो चाँडै २०२७ सम्म सफल हुने लक्ष्य निर्धारण गरेको छ।
चीनले सन् २०३० को लक्ष्य राखेको छ।
तर चन्द्रमामा पाइला टेक्ने महत्त्वाकाङ्क्षा राख्ने देश ती मात्र होइनन्।
आफ्नै अन्तरिक्ष प्रविधिबाट तीव्र प्रगति गरिरहेको भारतले सन् २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ।
भारत सन् २०२३ को अगस्टमा अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने चौथो र दक्षिणी ध्रुवमा 'प्रोब' उतार्ने पहिलो देश बनेको थियो।
सार्वजनिक रूपमा लक्ष्यबारे प्रतिबद्धता नजाएको रुसले चन्द्रमामा अन्तरिक्षयात्रीहरू पठाउने अनि सन् २०३१ र २०४० को बीचमा चन्द्रमामा उपस्थिति स्थापित गर्ने योजना बनाइरहेको सरकारी स्वामित्वको समाचार एजेन्सी 'तास'को २०२३ मा एक रिपोर्टमा उल्लेख छ।
त्यसो भए पहिले को पुग्ने छ?
केही विज्ञहरू बेइजिङ तीव्र प्राविधिक प्रगतिका साथ अब अग्रभागमा रहेको र उसले अमेरिकी आर्टमिस कार्यक्रमको तुलनामा कम विफलता बेहोरेको विश्वास गर्छन्।
गोस्वामीका भनाइमा यो नयाँ अन्तरिक्ष दौडको नतिजा "पहिलोभन्दा धेरै महत्त्वपूर्ण" छ।
अहिले ७० भन्दा बढी राष्ट्रहरूका "अन्तरिक्ष संस्था र निकायहरूले चन्द्रमाको आर्थिक क्षमतामा अभिरुचि राख्छन्," उनी भन्छिन्, "यो पूर्णयता फरक खेल हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















