अन्तरिक्षमा 'अप्रत्याशित' नौ महिना: पृथ्वी फर्किएका सुनीता विलिअम्स र बुच विल्मोरका रमाइला अनुभव

स्पेसएक्स क्रू ड्र्यागन क्याप्स्यूलबाट सुनीता विलिअम्सलाई बाहिर निस्कन सघाउँदै सहयोगी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, स्पेसएक्स क्रू ड्र्यागन क्याप्स्यूलबाट सुनीता विलिअम्सलाई बाहिर निस्कन सघाउँदै सहयोगी
    • Author, टिम डोड
    • Role, जलवायु तथा विज्ञान संवाददाता

अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन्।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ।

नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन्।

बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए।

मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राख्यो।

अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पृथ्वी फर्किए।

यो स्पेसएक्स क्रू ड्र्यागन क्याप्स्यूलमार्फत उनीहरू पृथ्वीमा फर्किएका हुन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो स्पेसएक्स क्रू ड्र्यागन क्याप्स्यूलमार्फत उनीहरू पृथ्वीमा फर्किएका हुन्

त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए?

अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए।

उनन्सट्ठी वर्षीया सुनी र बैसट्ठी वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै 'स्पेशवाक'हरू समेत गरे।

ज्यानुअरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन्। त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए।

उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स-रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए।

पृथ्वीबारे सोच्ने अवसर

आईएसएस

तस्बिर स्रोत, NASA

बुच र सुनीले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए।

सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरू "अनपेक्षित (घटना)को अपेक्षा" गर्न प्रशिक्षित भएको जनाएका थिए।

उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो। उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए।

स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ। उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ।

पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीले अनुभूत गरेकी छन्।

"यसले तपाईँलाई भिन्न तरिकाले सोच्न सक्ने अवसर दिन्छ। यो हामीसँग भएको एक मात्र ग्रह हो र हामीले यसको रेखदेख राख्नुपर्छ," उनले भनिन्।

"पृथ्वीमा रहेका यति धेरै मानिसहरूले हामीलाई सन्देश पठाउँछन् कि जसले तपाईँलाई सबैसँग घरमै भएको महसुस गराउँछ।"

अन्तरिक्षबाट राष्ट्रपतिका लागि मतदान

अन्तरिक्षयात्री कसरी सुत्छन्

बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन्। उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए।

"नागरिकका रूपमा त्यो हामीसँग हुने महत्त्वपूर्ण जिम्मेवारी हो," सुनीले पत्रकारहरूसँग भनिन्।

बुच र नासाले उनीहरूलाई चुनावमा सहभागी हुनका लागि "निकै सहज" बनाइदिएका थिए।

मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो।

ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडियो।

त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो।

शून्य गुरुत्वाकर्षणमा तन्दुरुस्त रहने काम

सन् २०१२ मा नासा मिशनमा रहँदा सुनी विलिअम्स

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, सन् २०१२ मा नासा मिशनमा रहँदा सुनी विलिअम्स

बुचका लागि दिनको सुरुवात बिहान ४:३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६:३० मा उठ्ने गरिन्।

दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन्।

"तपाईँको जोर्नी दुख्दैन, जुन एकदम राम्रो छ," बुचले भनेका छन्।

शून्य गुरुत्वाकर्षणमा बस्ने प्रभावको सामना गर्न तीन फरक उपकरणले मद्दत गर्छन्।

एड्भान्स्ड रिजिस्टिभ एक्सर्साइज डिभाइस (एआरइडी) 'स्क्वाट', 'डेडलिफ्ट' अनि 'रो' जस्ता मांसपेशीलाई एकत्रित राख्ने अभ्यासमा उपयोगी हुन्छ।

ट्रेडमिल प्रयोग गर्नका लागि अन्तरिक्षयात्रीहरूले आफूलाई तैरिनबाट रोक्नको लागि पेटी लगाउनु पर्छ र सहनशीलता प्रशिक्षणको लागि साइकल एर्गोमिटर पनि छ।

सुनी विलियम्स (दायाँ)ले अन्तरिक्षबाट बालबालिकाहरूका प्रश्नहरूको जबाफ दिइन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुनी विलियम्स (दायाँ)ले अन्तरिक्षबाट बालबालिकाहरूका प्रश्नहरूको जबाफ दिइन्

क्रिस्मस उत्सवको रमाइलो

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा क्रिस्मस मनाउँदै सुनीता विलिअम्स र बुच विल्मोरलगायत

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, सुनीता विलिअम्स र बुच विल्मोरले गत क्रिस्मस अन्तरिक्षमै मनाएका छन्

गत वर्षको क्रिस्मसमा आईएसएसका अन्तरिक्षयात्रीहरूले एक सन्देश पोस्ट गर्दै पृथ्वीमा रहेका आफ्ना साथीहरू र परिवारलाई क्रिस्मसको शुभकामना दिए।

उनीहरूले 'सान्टा' टोपी र 'रेन्डिअर हेड्बिन' लगाएर सुस्तरी घुमिरहेको माइक्रोफोन एकअर्कालाई बोल्नका लागि दिँदै लागि फ्याँके। त्यतिखेर क्यान्डीहरू उनीहरूको टाउको वरिपरि तैरिरहेका थिए।

यो उक्त टोलीका लागि आफ्नो कपाल तल झार्ने अवसर थियो। सुनीको हकमा यो 'माथि' राख्ने कुरा थियो। शून्य गुरुत्वाकर्षणले उनलाई यस्तो शैली दिएको छ, जुन पृथ्वीमा प्राप्त गर्न धेरै जोडबल लगाउनुपर्छ।

आईएसएसमा बुच र सुनीको अन्तिम जिम्मेवारी भनेको उनीहरूपछि आउने अन्तरीक्षयात्रीहरूलाई स्वागत गर्दै आत्मीय महसुस गराउनु थियो।

गत १६ मार्चमा स्पेसएक्स क्याप्सुल एक नयाँ सदस्य लिएर आईएसएस आइपुग्यो।

बुच र सुनीका लागि त्यो एउटा उल्लेख्य क्षण हो, जसले उनीहरूलाई घर फर्काउँदै थियो।

उक्त उत्साहलाई आईएसएसमै रहने डन पेटिटले भिडिओमा कैद गरेका छन्। त्यहाँको झ्यालबाट उक्त क्याप्सुल आउँदै गरेको र जोडिएको पनि देखिन्छ।

परम्पराकै रूपमा रहेको एउटा घण्टी बुचले बजाउँछिन् भने सुनीले कमाण्ड कस्मोनट एलेक्सी अफ्चिनिनलाई हस्तान्तरण गरिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।