अन्तरिक्षमा १,००० डिग्री सेल्सिअसको भट्टीसहितको कारखाना

अन्तरिक्षमा पठाइएको मिनीफ्याक्टरी

तस्बिर स्रोत, Tony Jolliffe/BBC News

तस्बिरको क्याप्शन, यस 'मिनीफ्याक्टरी'ले अन्तरिक्षमा सेमिकन्डक्टर बनाउने छ
    • Author, रेबेका मोरेल
    • Role, विज्ञान सम्पादक
    • Author, एलिसन फ्रान्सिस
    • Role, वरिष्ठ विज्ञान पत्रकार

पृथ्वीबाट सयौँ किलोमिटर माथि अवस्थित कारखानामा उच्च गुणस्तरीय सामग्रीहरू उत्पादन हुने कुरा विज्ञानको कथाजस्तो सुनिन्छ।

तर कार्डिफस्थित एक कम्पनी यसलाई वास्तविकता बनाउने दिशामा एक कदम नजिक छ।

'स्पेस फोर्ज'ले माइक्रोवेभ आकारको कारखानालाई कक्षमा पठाएर त्यसको लगभग १,००० सेल्सिअसको तापक्रममा भट्टी खोल्न सकिने देखाएको छ।

अन्तरिक्षमा बन्ने सेमिकन्डक्टरहरू ४,००० गुणा शुद्ध हुने छन्

तस्बिर स्रोत, Tony Jolliffe/ BBC News

तस्बिरको क्याप्शन, अन्तरिक्षमा बन्ने सेमिकन्डक्टरहरू ४,००० गुणा शुद्ध हुने छन्

उनीहरूले सेमिकन्डकटरका लागि सामग्री निर्माण गर्ने योजना बनाएका छन्, जुन पछि पृथ्वीमा ल्याएर विद्युतीय सञ्चार पूर्वाधार, कम्प्युटिङ र यातायातमा प्रयोग गर्न सकिन्छ।

अन्तरिक्षको अवस्था सेमिकन्टक्टर निर्माणका लागि सबैभन्दा उपयुक्त हुन्छ, जसमा परमाणुहरू उच्च क्रमबद्ध 'थ्रीडी' संरचनामा रहेका हुन्छन्।

भारहीन वातावरणमा निर्माण गरिँदा ती परमाणुहरू पूर्ण रूपमा पङ्क्तिबद्ध हुन्छन्। अन्तरिक्षको खाली ठाउँको अर्थ दूषित पदार्थहरू त्यसभित्र छिर्न सक्दैनन् भन्ने पनि हो।

के फरक पर्छ?

सेमिकन्डक्टर जति शुद्ध र व्यवस्थित हुन्छ, त्यसले त्यति नै राम्रोसँग काम गर्छ।

"अहिले गरिरहेको कामले हामीलाई आज यहाँ बनाउन सक्ने भन्दा अन्तरिक्षमा ४,००० गुणा बढी शुद्ध सेमिकन्डक्टरहरू सिर्जना गर्न अवसर दिइरहेको छ," स्पेस फोर्जका प्रमुख कार्यकारी अधिकृत जोश वेस्टर्न भन्छन्।

"यस प्रकारको सेमिकन्डक्टर फाइभजी टावरमा रहने छ, जहाँ तपाईँले आफ्नो मोबाइल फोन सिग्नल पाउनुहुने छ, यो तपाईँले ईभी प्लग गर्ने कार चार्जरमा हुने छ, यो पछिल्ला विमानहरूमा हुने छ।"

भेरोनिका भिएरा

तस्बिर स्रोत, Tony Jolliffe/BBC News

तस्बिरको क्याप्शन, भेरोनिका भिएरा अन्तरिक्षबाट आएको चम्किलो प्लाज्माको तस्बिर हेर्न पाउनु अद्भुत भएको बताउँछिन्

सो कम्पनीको मिनी-फ्याक्टरी गत गर्मी याममा स्पेसएक्स रकेटमा प्रक्षेपण गरिएको थियो।

त्यस बेलादेखि उक्त टोलीले कार्डिफमा रहेको 'मिशन कन्ट्रोल'बाट आफ्नो प्रणालीको परीक्षण गरिरहेको छ।

'निकै महत्त्वपूर्ण'

कम्पनीका पेलोड अपरेशन लीड भेरोनिका भिएराले हामीलाई उपग्रहले अन्तरिक्षबाट पठाएका तस्बिर देखाएकी छन्।

यो तस्बिर उक्त भट्टीभित्रबाट लिइएको हो र यसले प्लाज्मा अर्थात् करिब १,००० डिग्री सेल्सिअसमा तताइएको ग्यास चम्किरहेको देखाउँछ।

उनले हामीलाई उक्त तस्बिर देख्नु आफ्नो "जीवनको सबैभन्दा रोमाञ्चक क्षणहरूमध्ये एक" भएको बताइन्।

"यो निकै महत्त्वपूर्ण छ किनभने यो अन्तरिक्षमा हुने निर्माण प्रक्रियाको लागि आवश्यक पर्ने मुख्य सामग्रीहरूमध्ये एक हो," उनी बताउँछिन्। "त्यसैले यो प्रदर्शन गर्न सक्षम हुनु अद्भुत छ।"

उक्त टोलीले अब अन्तरिक्षमै एउटा ठूलो कारखाना निर्माण गर्ने योजना बनाइरहेको छ। त्यसले १०,००० चिप्सको लागि सेमिकन्डक्टर सामग्री बनाउन सक्छ।

पृथ्वीमा कसरी ल्याउने?

ताप कवच

तस्बिर स्रोत, Space Forge

तस्बिरको क्याप्शन, ताप कवचले सामग्रीहरू सुरक्षित रूपमा फिर्ता गर्न सक्छ या सक्दैन भनेर समेत परीक्षण गर्नुपर्ने छ

उनीहरूले ती सामग्रीलाई पृथ्वीमा फिर्ता ल्याउन प्रविधिको परीक्षण पनि गर्नुपर्ने छ।

भविष्यका मिशनमा किङ आर्थरको पौराणिक ढालको उपमा प्रयोग गर्दै 'प्रिड्वेन' नामक ताप कवचलाई पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा अन्तरिक्षयानले सामना गर्ने तीव्र तापक्रमबाट जोगाउन प्रयोग गरिनेछ।

अन्य कम्पनीहरू समेत औषधिदेखि कृत्रिम तन्तुसम्म सबै कुरा बनाउनका लागि आकाशतिर हेरिरहेका छन्।

"अन्तरिक्षमा उत्पादन गर्ने काम अहिले नै पनि भइरहेको छ," साइन्स लाइब्रेरीका अन्तरिक्ष प्रमुख लिबी ज्याक्सन भन्छिन्। "यी प्रारम्भिक दिन हुन् र यिनले अहिले यो थोरै सङ्ख्यामा [नतिजा] देखाइरहेका छन्।

"तर प्रविधिलाई प्रमाणित गर्दै यसले आर्थिक रूपमा सम्भाव्य हुने गरी उत्पादनको लागि ढोका साँच्चै खोल्छ, जहाँ वस्तुहरू अन्तरिक्षमा बनाउन र पृथ्वीमा फर्काउन सकिन्छ अनि पृथ्वीमा सबैले प्रयोग गर्न र फाइदा पाउन सक्ने छन्। यो साँच्चै रोमाञ्चक छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।