चन्द्रमाबाट माटो र पत्थरका नमुना लिएर फर्कियो चिनियाँ अन्तरिक्षयान

चाङ्ग'अ सिक्स अन्तरिक्षयान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, 'चाङ्ग‍'अ सिक्स' अन्तरिक्षयानलाई यसअघि अन्वेषण नगरिएको भागमा पठाइएको थियो

चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान पृथ्वी फर्किएको छ।

'चाङ्ग‍'अ सिक्स' अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट त्यसरी नमुना ल्याउने अभियान ५३ दिन लामो थियो र निकै जोखिमयुक्त थियो।

चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ।

त्यहाँ बरफ हुन सक्ने भएकाले र त्यसबाट पानी, अक्सिजन अनि हाइड्रोजन निकाल्न सकिने आशा गरिएकाले वैज्ञानिकहरूले उक्त भागको अध्ययनमा रुचि देखाएका हुन्।

अब उक्त 'प्रोब'लाई बेइजिङ पठाइने र सङ्कलित नमुना निकालिने चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

चाङ्ग'अ सिक्स अभियान गत मे महिनामा चीनको वेन्चाङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चाङ्ग'अ सिक्स अभियान गत मे महिनामा चीनको वेन्चाङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो

देवीको नाम

'चाङ्ग‍-अ सिक्स' चीनले चन्द्रमामा पठाएको छैटौँ अनि चन्द्रमामाको पृष्ठभागमा पठाएको दोस्रो अभियान हो।

चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम "चाङ्ग'अ" हो।

उनैको नामबाट यो अन्तरिक्षयानको नाम "चाङ्ग'अ" राखिएको हो।

इनर मङ्गोलिया मरुभूमिमा चाङ्ग'अ सिक्स प्रोब अवतरण गर्नुअघि आकाशमा

तस्बिर स्रोत, CGTN

तस्बिरको क्याप्शन, इनर मङ्गोलिया मरुभूमिमा चाङ्ग'अ सिक्स प्रोब अवतरण गर्नुअघि आकाशमा यस्तो देखिएको थियो
चाङ्ग'अ सिक्स चीनले चन्द्रमामा पठाएको छैटौँ अभियान हो

तस्बिर स्रोत, CGTN

तस्बिरको क्याप्शन, चाङ्ग'अ सिक्स चीनले चन्द्रमामा पठाएको छैटौँ अभियान हो

चन्द्रमाको दक्षिण ध्रुव किन दुर्गम

चीन मात्र चन्द्रमाको सुदूर भागमा पुगेको छ।

उक्त भाग पृथ्वीपट्टि फर्किँदैन। कुनै अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुन्छ। त्यो भागमा ठूलाठूला खाडलहरू छन् र थोरै समथर जमिन छ।

"चाङ्ग'अ सिक्स" मे महिनाको सुरुतिर प्रक्षेपण भएको थियो। त्यसको केही सातामा त्यसले चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्‍यो।

उक्त 'प्रोब'ले एउटा 'ड्रिल' र 'रोबटिक हात' प्रयोग गरेर माटो र पत्थर सङ्कलन गर्‍यो अनि त्यहाँको तस्बिर खिच्यो। त्यसले त्यहाँ चीनको झण्डा पनि गाड्यो।

चन्द्रमामा प्रतिस्पर्धा

संयुक्त राज्य अमेरिका र रुससँग बराबरी गर्ने उद्देश्यले चीन सरकारले विगत एक दशकमा चिनियाँ अन्तरिक्ष कार्यक्रममा धेरै साधन र स्रोत प्रयोग गरेको छ।

चीनले सन् २०३० भित्र मानवयुक्त अन्तरिक्षयान चन्द्रमामा पुर्‍याउने लक्ष्य राखेको छ।

उसले चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा आधारशिविर निर्माण गर्ने योजना पनि बनाएको छ।

अमेरिकाले पनि सन् २०२६ सम्ममा 'आर्टिमिस थ्री' अभियानअन्तर्गत अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा अवतरण गराउने योजना बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।