अन्तरिक्षमा नौ महिना बिताएका सुनी र बुचको अनुभव : 'फर्कन पाउँछौँ कि पाउँदैनौँ थाहा थिएन'

तस्बिर स्रोत, Reuters
- Author, रेगन मोरिस
- Role, बीबीसी न्यूज
गत वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएएस) नजिकै पुग्दै गर्दा अन्तरिक्षयात्रीद्वय सुनी विलिअम्स र बुच विलमोर सवार बोइङ स्टारलाइनर क्याप्स्यूलको 'थ्रस्टर्स'ले राम्रोसँग काम गरिराखेको थिएन। त्यसले गर्दा उनीहरू स्टेसनसँग जोडिन सकिराखेका थिएनन्।
त्यसो हुन नसकेमा पुन: घर फर्किन सकिने नसकिने ठेगान हुँदैनथ्यो।
"डक हुन अर्थात् त्यहाँ जोडिन अत्यन्तै जरुरी थियो," अन्तत: विलिअम्ससँगै धरतीमा सफलतापूर्वक फर्किएको तीन महिनापछि विलमोरले बीबीसी न्यूजसँग भने, "त्यसो नभएको भए हामी फर्किन सक्थ्यौँ होला? हामीलाई थाहा थिएन।"
उनीहरू आठ दिनसम्म चल्ने ठानिएको एउटा परीक्षण उडानमा थिए। तर उनीहरूलाई झन्डै १० महिनाजति अन्तरिक्षमा बस्नुपर्यो।
पहिलो चुनौती आईएसएससँग सुरक्षित र सफलतापूर्वक जोडिनमा थियो। पृथ्वीमा रहेको 'मिशन कन्ट्रोल'ले यानको 'थ्रस्टर्स'हरूलाई पुन: चालु गर्न सघाएपछि उक्त कार्य उनीहरूले केही मिनटभित्रै सम्पन्न गरे।
विल्मोरले आफूहरूले फेरि कहिल्यै पृथ्वी देख्न नपाउने सम्भावनाबारे "निश्चित् रूपमा मनमा कुरा खेलेको" बताए।
तर समस्या सुल्झाउँदै अघि बढ्ने तालिम पाएकाले उक्त क्षणमा सम्भावित खराब परिदृश्यबारे आफूहरूबीच धेरै कुरा नभएको यी दुवैले बताए।
"हामी लगभग एकअर्काको मनको कुरा थाहा पाउन सक्थ्यौँ र यी सबै विफलताले कहाँ पुर्याउन सक्छ भन्ने पनि जान्दथ्यौँ," विलिअम्सले बीबीसीसँग भनिन्।
"ती कुराहरू अपेक्षित थिएनन्," उनले स्वीकारिन्। तर विचारहरू तत्काल समाधानतर्फ मोडिए : 'एकै समयमा हामी सोच्दै थियौँ– हामीसँग के छ र हामी के गर्न सक्छौँ?"

तस्बिर स्रोत, Reuters
यो जोडीको यात्रा सन् २०२४ को जुनमा सुरु भयो। उनीहरू एअरोस्पेस कम्पनी बोइङले बनाएको स्टारलाइनर यानको पहिलो चालक दलसहितको परीक्षण उडानमा भाग लिँदै थिए।
तर उडानका क्रममा आएका कैयौँ प्राविधिक समस्याहरूले गर्दा उनीहरूलाई पहिले तय गरिएझैँ स्टारलाइनरमै घर फर्काउन जोखिम हुने देखिएकाले सट्टामा अर्को कम्पनी स्पेसएक्सले बनाएको यानले सुरक्षित फर्काउन सक्ने ठानियो।
त्यसै कारणले गर्दा उनीहरू स्पेसएक्सको क्याप्स्यूलमा सवार भएर नफर्किँदासम्म अन्तरिक्षमै बसे। आफ्नो तर्फबाट बोइङले आफूनिर्मित क्याप्स्यूल प्रयोगका निम्ति सुरक्षित रहेको बतायो र सन् २०२४ को सेप्टेम्बरमा उक्त यान चालक दलबिनै धरतीमा फर्किएपछि उसको दाबी सही ठहरियो।
अन्तरिक्ष स्टेसनमा महिनौँसम्मको परीक्षणहरूपश्चात् विलिअम्स र विल्मोर १८ मार्चका दिन अन्तत: पृथ्वीमा फर्किए।
उक्त मिशनको अवधिमा उनीहरू आईएसएसमा फस्न पुगेको र त्यहाँबाट निस्कने उपाय नभएको भनेर बारम्बार चर्चा गरियो।
तर त्यहाँको स्थिति मानिसहरूले ठानेजस्तो हुँदैन। स्पेस स्टेसन जहिल्यै यानजडित हुन्छ र आकस्मिक अवस्थामा त्यसले 'लाइफ–बोट' ले झैँ अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा ल्याइ पुर्याउन सक्छ।
तापनि नासाका यी अन्तरिक्षयात्रीद्वयले त्यहाँ अपेक्षा गरिएभन्दा लामो समय बिताउन पर्यो, यद्यपि उक्त स्थितिलाई उनीहरूले खुसीका साथ अँगाले।
"कसैले पनि हामीलाई निराश बनाउँदैनन् भन्ने हामीलाई थाहा थियो....सबैले हामीलाई साथ दिइराखेका थिए, हाम्रो ख्याल राखिरहेका थिए," विलियम्सले भनिन्।
उक्त अनिश्चितताका बीच यी अन्तरिक्षयात्रीद्वय राजनीतिक विवादको विषय समेत बन्न पुगे। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनमाथि उनीहरूलाई अन्तरिक्षमा अलपत्र छाडेको आरोप लगाएका थिए।
अन्तरिक्षयात्रीद्वयले आफूहरूले राजनीतिलाई बेवास्ता गरेको र परित्यक्त महसुस नगरेको बताए। "हामी त्यसबारे केही भन्न सक्दैनौँ," विलिअम्सले भनिन्, "हामी अन्तरिक्षको उडान कठिन छ भन्ने बुझ्छौँ र मानवसहितको उठान झन् कठिन हुन्छ।"

तस्बिर स्रोत, Reuters
धरतीमा आएको दुई महिनापछि दुवै अन्तरिक्षयात्रीले आफूहरूले स्वस्थ र तन्दरुस्त महसुस गरेको बताउँछन्। शुन्य गुरुत्व शक्तियुक्त वातावरणमा गरिएको कसरतको लाभ आफूहरूलाई प्राप्त भएको उनीहरूको बुझाइ छ।
विल्मोरले बताएअनुसार शुन्य गुरुत्वमा कसरत गर्दा 'स्क्वाट' र 'डेडलिफ्ट' पछि शरीर पुन: ताजा हुन धेरै समय लाग्दैन।
आफूले लगभग १० महिनासम्म हरेक दिन उक्त कसरत गरेको र "वास्तवमै अभूतपूर्व बलशाली भएर" धरतीमा फर्किएको उनले बताए।
त्यसमा सहमति जनाउँदै विलियम्सले धरतीमा फर्किएपछि कैयौँ दिनसम्म दौडिएको सुनाइन्। एकपटक अन्तरिक्षमै 'ट्रेडमिल'मा म्याराथन पूरा गरेको स्मरण गर्दै उनले पृथ्वीको गुरुत्व शक्तिसँग सामञ्जस्यता कायम गर्न सधैँ सजिलो नहुने बताइन्।
"पुन: टाउको र ढाडमा गुरुत्वको प्रभाव महसुस गर्नु हल्का पीडादायी हुन्छ," उनले भनिन्।
धरतीमा फर्केयता यी दुवैजना गएको गर्मीयाममा आफूहरूलाई अन्तरिक्षमा लैजाने अन्तरिक्ष यानमा देखेका समस्याहरूबारे नासा र बोइङसँग मिलेर काम गरिराखेका छन्।
"भविष्यमा हामीलाई बोइङको स्टारलाइनर उडाउने अवसर प्राप्त हुनेछ भन्नेमा हामी एकदमै सकारात्मक रूपमा आशावादी छौँ," विल्मोरले भने।
उक्त यानका प्राविधिक समस्या हल भएपछि व्यक्तिगत रूपमा त्यसमा उड्ने दुवैले बताए।
"त्यो एकदमै सक्षम अन्तरिक्ष यान हो," विलियम्सले भनिन्।
"अन्यका तुलनामा त्यसका अद्वितीय क्षमता छन् र यही कुराले भविष्यका अन्तरिक्षयात्रीहरूका निम्ति त्यो निकै उत्तम हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








