अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय तस्बिर खिचेका नासाका अन्तरिक्षयात्रीको निधन

बिल एन्डर्स

तस्बिर स्रोत, Getty Images

अपोलो ८ का अन्तरिक्षयात्री बिल एन्डर्सको अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक सानो आकारको विमान दुर्घटनामा मृत्यु भएको छ। उनी ९० वर्षका थिए।

एन्डर्सले बाह्य अन्तरिक्षमा एउटा निकै चर्चित तस्बिर खिचेका थिए। उनको शव शुक्रवार प्राप्त भएको एन्डर्सका छोरा ग्रेगले पुष्टि गरेका छन्।

उनको परिवारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ: "परिवार विक्षिप्त अवस्थामा छ। उनी महान् पाइटल थिए। उनको अभाव खड्किनेछ।"

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा सम्बन्धी निकाय एनटिएसबीका अनुसार एन्डर्स टि-३४ का रूपमा समेत चिनिने एक बिचक्राफ्ट ए ए ४५ विमानमा सवार थिए।

अपोलो ८ मिशनमा एन्डर्स नुनार मोजुल पाइलट थिए जसले प्रसिद्ध 'अर्थराइज' अर्थात् पृथ्वी उदयको तस्बिर खिचेका थिए।

दुर्घटना

उक्त निकायका अनुसार उक्त विमान जोनेस टापुको तटभन्दा झण्डै २५ मिटर बाहिर दुर्घटनाग्रस्त भएको थियो।

एकजना प्रत्यक्षदर्शी फिलिप पिअर्सनल सिअटलमा किङ-टिभीसँग कुरा गर्दै उक्त विमान समस्यामा परेजस्तो देखिएको र उल्टिएको बताए।

"मैले आफ्नो आँखा अगाडि के देखिरहेको थिएँ भनेर विश्वास गर्न सकिनँ," उनले स्थानीय सञ्चारमाध्यमलाई भने।

"यो ठ्याक्कै कुनै चलचित्र वा विशेष प्रभाव जस्तो देखिन्थ्यो। ठूलो विस्फोटन र आगो र सबथोक।"

विमान दुर्घटनाको जस्तो देखिएको भिडिओ फुटेजमा पानीको सतहमा खस्नुअघि र भग्नावशेषमा परिणत हुनुअघि अन्तिम सेकेन्डमा उचाइ लिने प्रत्यत्न गरेको देखिन्छ। यद्यपि बीबीसी न्यूजले त्यसको पुष्टि गरेको छैन।

'अर्थराइज' तस्बिर

अर्थराइज

तस्बिर स्रोत, Nasa

उक्त तस्बिर पृथ्वीको अन्तरिक्षबाट खिचिएको सबैभन्दा स्मरणीय र प्रेरणादायी तस्बिरमध्येमा गरिन्छ।

सन् १९६८ को सो मिशनका बेला क्रिसमसको पूर्वसन्ध्यामा उक्त तस्बिर खिचिएको थियो।

अपोलो ८ अन्तरिक्षयात्रीहरू सहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो।

अर्थराइज तस्बिमा हाम्रो ग्रह बलौटे चन्द्र सतहको क्षितिजबाट उदाउँदै गरिएको देखिन्छ।

एन्डर्सले पछि उक्त तस्बिरलाई अन्तरिक्ष कार्यक्रमका लागि आफ्नो सबैभन्दा उल्लेख्य योगदानका रूपमा उल्लेख गरेका थिए।

उक्त तस्बिरले विश्वव्यापी वातावरण आन्दोलनका लागि उत्प्रेरकको रूपमा काम गरेको र पृथ्वी दिवस सुरु गर्न प्रेरित गरेको रूपमा हेरिन्छ। पृथ्वी दिवस वार्षिक रूपमा पृथ्वीको रेखदेखको लागि सचेतना र अभियान प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइन्छ।

उक्त तस्बिर लिँदाको क्षणबारे एन्डर्सले भनेका थिए: "हामी त्यतिपरबाट चन्द्रमा खोज्नका लागि आयौँ र हामीले थाहा पाएको सबैभन्दा महत्त्वपूर्ण कुरा पृथ्वी थियो।"

अन्तरिक्षयात्री, राजदूत पनि

चन्द्रमामा २० जुलाई १९६९ मा पहिलो सफल आरोहण गरेको अपोलो ११ मिशनमा समेत उनी ब्याकअप पाइलटका रूपमा थिए।

सन् १९६९ मा उक्त अन्तरिक्ष कार्यक्रमबाट सेवा निर्वित्त भएपछि एन्डर्सले एरोस्पेस क्षेत्रमा कैयौँ दशक बिताए।

सन् १९७० को दशकमा उनी नर्वेका लागि अमेरिकी राजदूतका रूपमा एक वर्ष बिताएका थिए।

तर पनि उनी अपोलो ८ मिशन र उनले अन्तरिक्षबाट लिएको प्रतिष्ठित तस्बिरकै कारण सबैभन्दा राम्रोसँग चिनिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।