चन्द्रमामा 'टायर पङ्चर' हुनबाट कसरी जोगाउने - उपाय खोज्दै वैज्ञानिकहरू

सन् १९७२ मा चन्द्रममा अपोलो मिशनको लुनार रोभर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अपोलो मिशनको 'लुनार रोभर'हरू हलुका तौलका थिए
    • Author, पड्रिग बेल्टन
    • Role, प्रविधि संवाददाता

आधा शताब्दीपछि पुन: चन्द्रमामा जानु र त्यसपछि मङ्गल ग्रहतर्फ लाग्नु वस्तुत: सबै कुरा सुरुबाटै थालेजस्तो हो।

टायरमा समस्या आएर फेरि काम थाल्नुपर्‍यो भने मङ्गल अभियान‍‍ वास्तवमै टाढा धकेलिन जान्छ।

"तपाईँ टायर पङ्चर हुने जोखिम मोल्न सक्नुहुन्न," फ्रान्सेली टायर निर्माता मिशलिनका प्रमुख कार्यकारी फ्लोरन्ट मेनग भन्छन्।

मानवरहित 'क्युरि‌ओसिटी रोभर'को अनुभवले मङ्गल ग्रहको कठिन परिस्थितिलाई थप स्पष्ट पारिदिएको छ।

सन् २०१२ मा अवतरण भएको उक्त रोभरका अल्युमिनिअमबाट बनेका छ वटा कठोर टायरहरू एक वर्षमै फाट्नुका साथै तिनमा प्वाल देखिएका थिए।

मङ्गल ग्रहमा 'क्युरिओसिटी रोभर'

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, मङ्गल ग्रहको चट्टानी सतहले 'क्युरिओसिटी'का टायरहरूमा क्षति पुर्‍याए

चन्द्रमा छुने लक्ष्य तर टायरमा समस्या

चन्द्रमाका हकमा अमेरिकी 'आर्टिमिस मिशन'को लक्ष्य सम्भवत: सन् २०२७ सम्ममा अन्तरिक्ष यात्रीहरूलाई पुन: त्यहाँ पठाउनु हो।

त्यसपछि उक्त अभियानको योजना चन्द्रमाको दक्षिणी ध्रुवको अन्वेषणका निम्ति 'लुनार रोभर'को उपयोग गर्नु हो। सन् २०३० का निम्ति निर्धारित उक्त अभियानको सुरुवात 'आर्टिमिज–भी' बाट हुने छ।

'आर्टिमिज'का अन्तरिक्षयात्रीहरूले अघिल्ला अपोलो मिशनहरूको तुलनामा लामो दूरी तय गर्ने छन्। सन् १९६९ देखि १९७२ बीचका छ वटा अवतरणमा ती मिशनहरूले चन्द्रमाको सतहमा ४० किमिभन्दा अधिक दूरी पार गर्न सकेका थिएनन्।

"दस वर्षमा १० हजार किमि समेट्ने लक्ष्य राखिएको छ," मध्यफ्रान्सस्थित मिशलिनको वायुरहित लुनार टायर कार्यक्रम सञ्चालन गर्दै आएका सिल्भाँ बार्थले भने।

"हामी साता दिनजस्ता छोटो अवधिको कुरा गरिराखेका छैनौँ। हामी दशकौँसम्मको उपयोगको कुरा गरिराखेका छौँ," पदार्थ विज्ञानमा विद्यावारिधि गरेका तथा ओहायोस्थित नासाको जोन ग्लेन अनुसन्धान केन्द्रमा इन्जिनियरका रूपमा कार्यरत डाक्टर सान्टो पाडुलाले भने।

चन्द्रमाका निम्ति प्राविधिक विकासमा लागेका हरेकका निम्ति एउटा ठूलो चुनौती भनेको त्यहाँको तापमानको स्तर हो।

चन्द्रमाको ध्रुवमा तापमान माइनस २३० सेल्सियससम्म झर्न सक्छ। त्यो पूर्णशुन्यभन्दा धेरै पर होइन, जुन स्थितिमा अणुहरूको गति रोकिन्छ।

टायरहरूका हकमा समस्यै त्यही हो।

"अणुको गतिबिना पदार्थहरूलाई आकार बदल्न र पुरानै आकारमा फर्किन कठिन हुन्छ," डाक्टर पाडुला भन्छन्।

चट्टानहरूमा गुड्दा टायरहरूले सतहअनुसार आकार बदल्न र पुन: पुरानै आकारमा फर्किनुपर्ने हुन्छ।

"हामीले सधैँका निम्ति टायरको आकार बदल्यौँ भने राम्रोसँग घुम्दा पनि घुम्दैन र शक्ति नष्ट हुने समस्या समेत आउँछ," पाडुलाले भन्छन्।

नयाँ टायरहरू

मिशलिनले बनाएको टायर

तस्बिर स्रोत, Padraig Belton

तस्बिरको क्याप्शन, मिशलिनले चन्द्रयानमा प्रयोग हुने टायरमा उच्च क्षमताका प्लास्टिकहरूको प्रयोग गर्छ

नयाँ टायरहरूले अपोलोका अन्तरिक्षयात्रीहरूले प्रयोग गरेका रोभरहरूको तुलनामा धेरै तौल समेत बोक्न सक्ने छन्।

आउँदा अन्तरिक्ष अभियानहरू "ठूल्ठूला विज्ञान केन्द्रहरू र बस्न योग्य ठाउँहरूतर्फ" केन्द्रित हुनुपर्ने उनी बताउँछन्।

चन्द्रमाको तुलनामा दोबर गुरुत्वाकर्षण शक्ति भएको मङ्गल ग्रहका हकमा यो अझ ठूलो समस्या हो।

अपोलोको लुनार रोभरमा बुनिएको जालोमा जिङ्कको लेप लगाइएको पियानो तारको प्रयोग भएको थियो। त्यसले २१ माइलसम्मको यात्रा तय गर्न सक्थ्यो।

चरम तापक्रम र ब्रह्माण्डीय किरणहरूले रबरलाई नाजुक काँचजस्तो बनाइदिने भएकाले धातुका मिश्रण र उच्च क्षमताका प्लास्टिकहरू वायुरहित अन्तरिक्ष टायर बनाउनका निम्ति प्रमुख विकल्पहरू हुन्।

"सामान्यत: यी टायरहरूमा धातुजन्य वा कार्बन फाइबरमा आधारित पदार्थहरू प्रयोग हुन्छन्," यूरोपेली अन्तरिक्ष निकाय (ईएसए) को रोजालिन्ड फ्र्याङ्कलिन मिशनका टोली नेता पिएट्रो बाग्लिअन बताउँछन्। उक्त मिशनले सन् २०२८ सम्ममा मङ्गल ग्रहमा आफ्नै रोभर पठाउने लक्ष्य लिएको छ।

एउटा आशा गर्न सकिने पदार्थ भनेको 'निकल' र 'टाइटानिअम'को मिश्रणबाट बन्ने 'नितिनोल' हो।

"यिनलाई मिसाउँदा एउटा रबरको जस्तो काम गर्ने धातु बन्छ, जुन विभिन्न प्रकारले मोडिन सक्छ र सधैँ आफ्नो पुरानै आकारमा फर्किन्छ," 'द स्मार्ट टायर कम्पनी'का प्रमुख कार्यकारी प्याट्रिक कोल भन्छन्।

उनले 'नितिनोल'को लचिलो गुणलाई "आजसम्म देखिएका अनौठा कुराहरूमध्येको एउटा" भनेका छन्।

धातुहरूको उक्त मिश्रणले अवस्था परिवर्तनका क्रममा ऊर्जालाई सोस्ने र छाड्ने गर्ने भएकाले डाक्टर पाडुला पनि 'नितिनोल' लाई 'क्रान्तिकारी' सम्भावना बोकेको पदार्थका रूपमा हेर्छन्। यसले तातो वा चिसो पार्ने कार्यको हकमा समेत नयाँ समाधान दिन सक्छ।

तथापि मिशलिनका बार्थको ठम्याइमा भने चन्द्रमामा लामो दूरी तय गर्नका निम्ति उच्च क्षमताका प्लास्टिकको निकटका पदार्थ टायर बनाउन अधिक उपयुक्त हुन्छन्।

विकल्प

ब्रिजस्टोनको टायर

तस्बिर स्रोत, Bridgestone

तस्बिरको क्याप्शन, ब्रिजस्टोनका टायरका प्याडहरूमा उँटको खुरको नक्कल गरिएको छ

यसैबीच ब्रिजस्टोनले भने उँटको खुरको नमुना बनाएर जैविक अनुकरणको तरिका अपनाएको छ।

उँटको खुर नरम र चिप्लो हुन्छ, जसले गर्दा त्यसको वजन फराकिलो सतहमा फैलन्छ र खुकुलो बालुवामा धसिन पाउँदैन।

त्यसबाट प्रभावित भएर ब्रिजस्टोनले टायरका निम्ति धागो बनाउन त्यस्तै महसुस हुने पदार्थको उपयोग गर्‍यो, जसका टायरमा धातुका तार जडित छन् र त्यो लच्किन पनि सक्छ।

उक्त लचिलोपनले लुनार मोड्यूलको तौललाई फराकिलो क्षेत्रमा विभाजित गरिदिन्छ। त्यसले गर्दा यो चन्द्रमाका चट्टान र धुलोहरूमा नअड्किकन गुड्न सक्छ।

मिशलिन र ब्रिजस्टोन दुवै भिन्दाभिन्दै सञ्जालका हिस्सा हुन् र यिनले क्लालिफोर्नियाको भेन्चुरी एस्ट्रोल्याबसँग मिलेर आउँदो मेमा नासाको जोन ग्लेन केन्द्रमा प्रस्तावित टायरबारे प्रस्तुति दिँदै छन्।

नासाले यसै वर्षको अन्त्यसम्ममा यसबारे निर्णय लिने ठानिएको छ। यसले कुनै एउटा प्रस्तावलाई छान्न वा तीमध्येबाट विभिन्न तत्त्वहरू अपनाउन पनि सक्छ।

यसबीचमा मिशलिनले क्लेरमन्ट नजिकैको एउटा ज्वालामुखी क्षेत्रमा नमुना रोभरको टायरको परीक्षण गरिराखेको छ। त्यस स्थानको धुलाम्ये क्षेत्र चन्द्रमाको सतहजस्तो प्रतीत हुन्छ।

ब्रिजस्टोनले पनि पश्चिम जापानको टोटोरी स्यान्ड ड्यून्समा त्यस्तै परीक्षण गरिराखेको छ।

ईएसएले पनि युरोपले आफ्ना अन्य मिशनका निम्ति आफैँले रोभर बनाउनेबारे विचार गरिरहेको बार्थले बताए।

उपयोगिता

यो प्रयोग पृथ्वीकै केही अन्य कार्यका निम्ति पनि उपयोगी हुन सक्छ।

साउदर्न क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा डाक्टर कोलले मङ्गल ग्रहका निम्ति विकास गरिएको 'सूपर–इलास्टिक रोभर टायर'सम्बन्धी केही प्रविधिको व्यवसायीकरणबारे काम गर्न नासाको उद्यमशीलता कार्यक्रममा सामेल भए।

यस वर्षको प्रारम्भिक उत्पादन 'निकल–टाइटानियम'बाट बन्ने साइकलको टायर हुने छ।

अन्यको तुलनामा निकै महँगो र एउटाकै मूल्य १५० डलरको हाराहारीमा हुने भए पनि ती टायर निकै टिकाउ हुने छन्।

उनको यही वर्ष कच्ची सडक भएका क्षेत्रलाई लक्षित गरी मोटरसाइकलका निम्ति टिकाउ टायर विकास गर्ने योजना पनि छ।

यी सबैका अलावा चन्द्रमामा मानव पुनरागमनका निम्ति भूमिका निर्वाह गर्ने उनको "सपना" बाँकी नै छ।

"ताकि म मेरा केटाकेटीलाई माथि चन्द्रमातिर देखाउँदै भन्न सकौँ," उनले भने,"हेर त! बाबाले बनाएका टायरले त्यहाँसम्मको यात्रा गरिसके।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।