चन्द्रमा वा मङ्गल ग्रहमा मानिस बस्ने घर कस्तो होला

भारतको पहिलो एनलग अन्तरिक्ष मिशन

तस्बिर स्रोत, AAKA Space Studio

तस्बिरको क्याप्शन, भारतले आफ्नो पहिलो एनलग अन्तरिक्ष अभियान Hab-1 को हिमाली क्षेत्र लद्दाखमा गरेको छ
    • Author, गीता पाण्डेय
    • Role, बीबीसी न्यूज, दिल्ली

अण्डा आकारको यो संरचनाजस्तै अन्तरिक्षमा भारतीय अन्तरिक्षयात्रीहरूको भविष्यको घर देखिएला त?

ह्याब-१ (Hab-1 अर्थात् ह्याबिट्याट-१ को सङ्क्षिप्त रूप) भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोको पहिलो "एनलग मिशन" हो जसले वास्तविक अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयात्रीहरूलाई कम्प्युटरमा प्राविधिक रूपमा अन्तरिक्षको जस्तै अवस्था सिर्जना (सिम्युलेशन) गरेर तयार पारिन्छ।

भारतको उच्च हिमाली भाग लद्दाखमा हालै तीन सातासम्म त्यसको परीक्षण गरिएको थियो।

गुजरातमा अवस्थित आका कम्पनीकी अन्तरिक्ष आर्किटेक्ट आस्था काचा-झलाले बीबीसीलाई बताएअनुसार अन्तरिक्षको अवस्थाको सिम्युलेशनले अन्तरिक्षमा जानुअघि अन्तरिक्षयात्री तथा उपकरणहरूले सामना गर्न सक्ने समस्याको पहिचान तथा सम्बोधन गर्न सहयोग गर्छ।

आस्था काचा-झला पहिलो एनलग मिशनको क्याप्स्यूलभित्र

तस्बिर स्रोत, AAKA Space Studio

तस्बिरको क्याप्शन, चन्द्रमा अथवा मङ्गल ग्रहमा सीमित स्थान मात्र उपलब्ध हुन्छ भन्ने कुरा ध्यानमा राखेर ह्याब-१ बनाइएको आर्किटेक्ट आस्था काचा-झला बताउँछिन्

ह्याब-१ मा के छ?

ह्याब-१ को निर्माणका लागि अन्तरिक्षमा नबिग्रिने खालको उच्चगुणस्तरीय 'टेफ्लोन' प्रयोग गरिएको छ। भित्र र बाहिरको ताप छेक्न औद्योगिक प्रयोजनको फोम प्रयोग गरिएको छ। ह्याब-१ मा ओछ्यान छ र 'वर्कस्टेशन'का रूपमा बाहिर तान्न सकिने 'स्टोअवे ट्रे' छ। विभिन्न सरसामान र आपत्कालीन सामग्री राख्ने ठाउँ, खाना तताउनका लागि एउटा 'किचेनट' र शौचालय पनि छन्। एक अन्तरिक्षयात्रीले उक्त सिम्युलेशनमा एक्लै तीन साता बिताए।

"चन्द्रमा अथवा मङ्गल ग्रहमा [अन्तरिक्षयात्रीले उपयोग गर्न] सीमित स्थान मात्र हुन्छ भन्ने कुरा ध्यानमा राखेर ह्याब-१ बनाइएको छ," काचा-झलाले भनिन्।

"अन्तरिक्षयात्रीहरूसँग पानी पनि निकै सीमित मात्रामा हुने छ। त्यो भएर हामीले सुक्खा खालको शौचालय डिजाइन गरेका छौँ। फोहोरमैला व्यवस्थापनका लागि पनि हामीले समुचित व्यवस्था गरेका छौँ र दुर्गन्ध नहुने सुनिश्चत गरेका छौँ।"

लद्दाखमा भारतको पहिलो स्थायी 'सिम्युलेशन स्पेस फसिलिटी' निर्माणका लागि उनले इसरोसँग छलफल गरिरहेकी छन्। अन्तरिक्षमा भारतले पहिलो पटक अन्तरिक्षयात्रीहरू पठाउने तयारी गरिरहेका बेला सिम्युलेशन मिशन आएको हो।

एनलग स्पेस मिशनमा तीन साता बिताएका एक अन्तरिक्षयात्री

तस्बिर स्रोत, AAKA Space Studio

तस्बिरको क्याप्शन, भारतको पहिलो एनलग मिशनमा एक एनलग अन्तरिक्षयात्रीले तीन साता बिताएका छन्

इसरोको 'गङ्गायान अभियान'ले तीन अन्तरिक्षयात्रीलाई तीन दिनका लागि पृथ्वीको सतहबाट नजिकै रहेको क्षेत्र 'लो-अर्थ अर्बिट'मा ४०० किलोमिटर उचाइमा पठाउने योजना बनाएको छ। योजनाअनुसार सबै कुरा अगाडि बढ्यो भने आगामी वर्षको कुनै समयमा उक्त अभियान प्रक्षेपण हुने छ।

भारतले सन् २०३५ सम्म आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र स्थापना गर्ने र सन् २०४० सम्म चन्द्रमामा मानव पठाउने लक्ष्य लिएको छ।

अमेरिकी अन्तरिक्ष निकाय नासा, युरोपको ईएसए, रुस, चीन र अरू देश तथा निजी स्पेस कम्पनीहरूले दर्जनौँ सिम्युलेशन मिशन सञ्चालन गरेका छन्।

गङ्गायान अभियानका लागि छानिएका चार भारतीय अन्तरिक्षयात्रीमध्ये दुई जना नासामा प्रशिक्षण गर्दै छन्।

परीक्षणका लागि लद्दाख किन?

"हाम्रो आफ्नै सिम्युलेशन मिशन भएपछि हाम्रा अन्तरिक्षयात्रीहरूलाई प्रशिक्षणका निम्ति विदेशी अन्तरिक्ष निकायहरूमा निर्भर हुनुपर्दैन," लद्दाख विश्वविद्यालयस्थित रिसर्च स्टडीजका डीन प्रा सुव्रत शर्मा भन्छन्। उक्त विश्वविद्यालयले सिम्युलेशन परियोजनामा सहकार्य गरेको छ।

उनका अनुसार भौगोलिक कारणले गर्दा यो परीक्षणका लागि लद्दाख छानिएको हो। "चट्टानयुक्त, बन्जर भूभाग रहेको अनि यहाँको माटोसँग मङ्गल र चन्द्रमाका केही भागमा पाइने सामग्री एवं चट्टानसँग समानता भएकाले अन्तरिक्ष अनुसन्धानका लागि उपयुक्त हुन्छ," उनले भने।

स्थानीय रूपमा उपलब्ध सामग्रीबाट अन्तरिक्षमा घर बनाउन सकिन्छ कि भनेर मिशनका क्रममा सङ्कलन गरिएका माटोका नमुनाको विश्वविद्यालयले परीक्षण गरिरहेको छ।

भारत-चीन सीमा नजिकै पर्ने उक्त हिमाली क्षेत्र ३,५०० मिटर उचाइमा छ र त्यहाँ चरम मौसमी अवस्था छ अनि वायु कम सघन हुने भएकाले वायुको चाप पनि कम हुन्छ।

एकैदिन त्यहाँको तापक्रम अधिकतम २० डिग्री सेल्सिअसबाट न्यूनतम माइनस १८ डिग्री सेल्सिअससम्म झर्न सक्छ।

यो मङ्गल ग्रह (जहाँ तापक्रम माइनस १५३ डिग्री सेल्सिअसभन्दा तल झर्न सक्छ) वा चन्द्रमा (जहाँका केही गहिरा खाडलहरूमा तापक्रम माइनस २५० डिग्री सेल्सिअस सामान्य हुन्छ) सँग मेल खाँदैन। तर यो मानव जातिले सहन सक्ने क्षमताको परीक्षण हो।

"तपाईँ प्रत्येक पटक परीक्षणका लागि अन्तरिक्षमा जान नसक्ने भएकाले तपाईँलाई यस्ता सुविधाहरू चाहिन्छ जहाँ अन्तरिक्षको जस्तो अवस्था सिर्जना गर्न सकियोस्," प्राध्यापक शर्माले भने।

लद्दाखना कैयौँ माइल जमिन बन्जर छ र तपाईँलाई "यो ग्रहमा एक्लै भएको महसुस" गर्न सक्नुहुन्छ।

 सन् १९६९ मा बज एल्ड्रिन चन्द्रको सतहमा हिँड्दै गरेको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वभरिका अन्तरिक्ष निकायहरूले चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य लिएका छन्। सन् १९६९ मा बज एल्ड्रिन चन्द्रमाको हिँड्दै गरेको दृश्य

ती सिम्युलेशन अन्तरिक्षयात्रीले हिउँ पर्ने मरुभूमिमा तीन सातासम्म क्याप्स्यूलभित्र बसे।

"म मानव बस्ने वातावरणबाट टाढिएको थिएँ। कति बेला उठ्ने, कति बेला के गर्ने, कति बेला सुत्ने - मैले गर्ने सबै गतिविधि निर्धारित थियो। चौबीसै घण्टाका मेरा सबै गतिविधिहरू र स्वास्थ्यस्थिति क्यामराबाट निगरानी गरिएको थियो र ती सबै विवरण कार्यालय पठाइन्थ्यो," नाम नखुलाउने सर्तमा एक २४ वर्षीय व्यक्तिले मसँग भने।

"सुरुमा केही दिनहरू रमाइलो लाग्यो। तर पछि उही कुरा दोहोरिन थाले पछि पट्यार लाग्न थाल्यो। त्यसले मेरो दैनिक कार्यक्षमतामा असर गर्‍यो। मेरो सुत्ने समयतालिका अलि प्रभावित भयो र मेरो एकाग्रता घट्न थाल्यो," उनले भने।

सिम्युलेशन अन्तरिक्षयात्रीले आफ्नो निद्रा, मुटुको चाल र तनावको स्तरलाई अनुगमन गर्न बायोमेट्रिक उपकरणहरू लगाएका थिए। उनको मनस्थिति आकलन गर्न रगत र र्‍यालको दैनिक जाँच हुन्थ्यो।

विभिन्न देशका अन्तरिक्ष निकायहरूले चन्द्रमामा अन्तरिक्षयात्रीहरू पठाउने र त्यहाँ स्थायी आधारशिविर स्थापना गर्ने लक्ष्य लिएका बेला 'सिम्युलेशन मिशन'हरू अनुसन्धान र प्रशिक्षणमा महत्त्वपूर्ण हुने अपेक्षा गरिँदै छ।

गत एप्रिल महिनामा वैज्ञानिक तथा इन्जिनियरहरूको एउटा टोलीले चन्द्रमाको सतहमा हिँडाउनका लागि 'लेसी' नामक नासाको रोबट कुकुर बनाउन ओरिगनमा परीक्षण थाल्यो।

मङ्गल ग्रहमा जीवन सिम्युलेट गर्नका लागि टेक्ससमा बनाइएको एनलगमा एक वर्ष बिताएर चार स्वयंसेवकहरू गत जुलाईमा बाहिर आए।

'इकोनमिस्ट' म्याग्जीनका अनुसार नासाले चन्द्रमाको सतहमा पाइने सामग्रीको मात्र प्रयोग गरी थ्रीडी प्रिन्ट गर्ने अपेक्षा गरेको छ। अर्कोतर्फ चीन र रुसले आफ्ना योजनामा सहकार्य गरिरहेका छन्।

भारत पछाडि पर्न चाहँदैन। प्रा शर्माका अनुसार लद्दाखमा सङ्कलित डेटाहरूको विश्लेषण गरिएपछि "त्यसले अन्तरिक्षयात्रीहरूले अन्तरिक्षमा कुनै समस्या झेल्नुपरे त्यससँग जुझ्ने चिकित्सकीय प्रविधिको विकासमा" सघाउने छ।

"पृथ्वीको तुलनामा चन्द्रमामा दिन र रात धेरै लामा हुन्छन्। त्यहाँ हाम्रो शरीरले कसरी काम गर्छ भनेर हामीले थाहा पाउन आवश्यक छ। अथवा पर्याप्त अक्सिजन नहुने अन्तरिक्षमा," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।