फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो

स्पेसएक्सको ड्र्यागन क्याप्स्यूल आईएसएससँग जोडियो

तस्बिर स्रोत, NASA

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको 'ड्र्यागन क्याप्स्यूल' आईएसएससँग जोडिएको छ।

उक्त यानमा बुच विल्मोर र सुनीता विलिअम्सका लागि दुई सीट खाली छ।

उनीहरू अमेरिकी अन्तरिक्ष निकाय, नासाको आठदिने अभियानमा सहभागी हुँदै गत जुन महिनामा बोइङको नयाँ स्टारलाइनर क्याप्स्यूल चढेर अन्तरिक्षमा गएका थिए।

तर उडानका क्रममा उक्त यानमा प्राविधिक त्रुटि देखा परेको थियो। त्यसपछि उनीहरू आईएसएसमै बस्न बाध्य भएका थिए।

अब उनीहरू आगामी फेब्रुअरी महिनामा पृथ्वी फर्किन सक्ने ठानिएको छ।

नासाका अन्तरिक्षयात्री निक हेग र र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोफलाई लिएर स्पेसएक्सको उक्त क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित केप कन्याभरलबाट स्थानीय समयानुसार शनिवार अपराह्ण उडेको थियो।

ड्रयागन क्याप्स्यूलसहित नासाको स्पेसएक्स क्रू-९ अभियानको 'स्पेसएक्स फाल्कन ९ रकेट'बाट अन्तरिक्षमा प्रक्षेपण

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, ड्र्यागन क्याप्स्यूलमा नासाको स्पेसएक्स क्रू-९ अभियान गत शनिवार 'स्पेसएक्स फाल्कन ९ रकेट'बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो

आईएसएसभित्र नयाँ पुगेका अन्तरिक्ष यात्रीहरू हेग र गोर्बुनोफलाई अरू अन्तरिक्षयात्रीले स्वागत गरेका थिए।

उनीहरूले प्रसन्न मुद्रामा तस्बिरहरू पनि खिचेका थिए।

अब हेग र गोर्बुनोफ आईएसएसको टोलीमा सम्मिलित हुने छन् भने विल्मोर र विलिअम्स फिर्ता आउने छन्। हेगले यसअघि पनि आईएसएसमा बसेर काम गरिसकेका छन्।

नासा र रुसी अन्तरिक्ष निकाय 'रोस्कस्मस'बीच भएको एउटा सम्झौताअनुसार तीन जना अट्ने रुसी अन्तरिक्षयान सोयुजले आफ्नो प्रत्येक उडानमा नासाका एक अन्तरिक्षयात्रीलाई र चार जना अट्ने ड्र्यागनले एक रुसी अन्तरिक्षयात्रीलाई आईएसएसमा लैजान्छन्।

ड्र्यागन क्याप्स्यूलको प्रक्षेपण बिहीवारका लागि तय गरिएको थियो। तर समुद्री आँधी 'हेलेन'का कारण उक्त योजना केही दिन पछि सरेको थियो।

ड्र्यागन क्याप्स्यूल नजिकै पुग्दा आईएसएस अफ्रिकाको दक्षिणी भेगमा बोट्स्वानाभन्दा ४२५ किलोमिटरमाथि अन्तरिक्षमा उड्दै थियो।

'स्टारलाइनर' मा समस्या

'स्टारलाइनर' क्याप्स्यूलले गत जुन ५ मा अन्तरिक्षयात्रीसहितको पहिलो परीक्षण उडान गरेको थियो।

उडानका क्रममा बोइङले निर्माण गरेको उक्त यानमा विभिन्न समस्याहरू देखा परेका थिए।

बोइङ र नासाका प्राविधिकहरूले समस्या समाधान गर्ने उद्देश्यले महिनौँ लगाएर अनुसन्धान गरे।

तर अगस्ट महिनाको अन्त्यतिर नासाले स्टारलाइनर प्रयोग गरेर अलपत्र परेका अन्तरिक्षयात्रीलाई फिर्ता नल्याउने निर्णय गर्‍यो। त्यसपछि स्टारलाइनर यानलाई रित्तै पृथ्वी फर्काइयो।

बुच विल्मोर र सुनीता विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वी फर्कने छन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, बुच विल्मोर र सुनीता विलिअम्स आउँदो फेब्रुअरीमा फर्किने ठानिएको छ

निर्माणका क्रममा उत्पन्न विभिन्न समस्याका कारण उक्त क्याप्स्यूलको प्रक्षेपण केही वर्षले ढिलो हुन पुगेको थियो। बोइङले सन् २०१९ र २०२२ मा मानवबिनै उक्त यानको परीक्षण उडान गरेको थियो। त्यस बेला पनि समस्याहरू देखा परेका थिए।

नासाले सन् २०११ मा आफ्नै अन्तरिक्षयानहरू प्रयोग गर्न छोड्यो। त्यसपछि आईएसएसमा आवतजावत गर्न उक्त अमेरिकी अन्तरिक्ष निकाय रुसको सोयुज अन्तरिक्षयानमा भर पर्न थाल्यो।

अहिले नासाले दुई अमेरिकी कम्पनी - बोइङ र स्पेसएक्स - को सेवा लिने गरेको छ। सन् २०१४ मा नासाले आफ्ना अन्तरिक्ष अभियानमा सहयोग लिने गरी ती दुई कम्पनीसँग अर्बौँ डलरको सम्झौता गरेको छ।

स्पेसएक्स अर्बपति व्यापारी इलोन मस्कले स्थापना गरेको निजी कम्पनी हो। उक्त कम्पनीले आफ्नो सेवा लिने अन्तरिक्षयात्रीहरूलाई पहिलो पटक सन् २०२० मा आईएसएससम्म पुर्‍याएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।