आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

बोइङको स्टारलाइनर अन्तरिक्ष यान

तस्बिर स्रोत, NASA

बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।

उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो।

पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो।

स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो।

त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई अन्तरिक्षयात्रीलाई आईएसएसमै छाड्नु सुरक्षित हुने निर्णय गरेको थियो।

नासाका एक जना प्रवक्ताले अन्तरिक्षयान फिर्तीलाई एउटा सफलताको रूपमा व्याख्या गरे तापनि धेरै काम गर्न आवश्यक रहेको स्वीकारे।

बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वीको कक्षमा आठ महिना बिताएर स्पेसएक्स क्रु ड्र्यागन जमिनमा फर्कनेछन्।

नासाले के भन्यो?

प्रक्षेपणका क्रममा बुच विल्मोर र सुनी विलिअम्स आठ दिनका लागि भनेर अन्तरिक्ष केन्द्र गएका थिए।

नासाले उनीहरू राम्रो अवस्थामा रहेको र आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। जसका एक वरिष्ठ अधिकारीले उनीहरू आफ्नो कामका लागि उत्सुक रहेको बताएका छन्।

बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वी फर्कनेछन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वी फर्कनेछन्

नासाका कमरसिअल क्रु प्रोगाम म्यानेजर स्टीभ स्टिचले भने: “उनीहरूले अहिले अगाडी बढिरहनु र... यानलाई सुरक्षित फिर्ता पठाउनुको महत्त्व बुझेका छन्।”

नासाका अधिकारीहरूले दुवै अन्तरिक्षयात्रीहरू आफ्नो लम्बिएको मिशनका लागि राम्रोसँग अनुकूल भइरहेको बताएका छन्।

उनीहरू दुवैले यसअघि अन्तरिक्षमा दुईपटक लामो अवधि बिताएका थिए।

शनिवार फर्किएको याने पृथ्वीसम्म आइपुग्न छ घण्टा लामो यात्रा गरेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अवतरणको गति कम गर्न प्यारासुट प्रयोग गरिएको थियो।

स्टारलाइनरको पहिलो यात्रुसहितको उडान

जुन ५ मा फ्लोरिडाबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, जुन ५ मा फ्लोरिडाबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो

बोइङ कम्पनीले पहिलो पटक आफ्नो अन्तरिक्षयानमा अन्तरिक्षयात्रीसहित परीक्षण उडान गरेको थियो।

तर जुन ५ मा फ्लोरिडाको केप कनाभ्रलबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो।

त्यसले सामना गरेको हिलिअम चुहावट समस्या सामना गर्‍यो जसले प्रोपल्सन प्रणालीमा इन्धन पठाउँथ्यो। र यसका धेरै थ्रस्टरहरूले पनि राम्ररी काम गरेनन्।

बोइङ र नासाका इञ्जिनिअरहरूले महिनौँ लगाएर ती प्राविधिक समस्याहरू बुझ्ने प्रयास गरेका थिए।

तर अगस्ट महिनाको अन्त्यतिर अमेरिकी अन्तरिक्ष निकायले उक्त स्टारलाइनर अन्तरिक्षयात्री यात्रीलाई घर फर्काउन सुरक्षित नरहेको निर्णय गरेका थिए।

अवतरणपछि नासाका स्टीभ स्टीचले भने: "मानवीय दृष्टिकोणबाट हामी सबै सफल अवतरण भएकामा खुसी छौँ। तर पनि हामी सबैको मनको एउटा कुनामा त्यो हामीले योजना गरे अनुसार भइदिएको भए भन्ने कुरा खड्किरह्यो।"

"हामीले बुच र सुनीलाई यानमा राखेरै मिशन अवतरणको योजना बनाएका थियौँ।"

उनले त्यहाँ "स्पष्ट रूपमा काम गर्नुपर्ने" अवस्था रहेको भन्दै अब के हुन्छ भन्ने जान्नका लागि "केही समय" लाग्ने बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।