पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो

तस्बिर स्रोत, Getty Images/Mark Garlick
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
अर्कोचोटि पूर्णचन्द्र हेरेर मक्ख पर्दा कृपया एक पटक 'थीआ' पनि सम्झनुहोस्।
झन्डै साढेर चार अर्ब वर्षअघि पृथ्वीसँग बज्रिएको भन्ठानिएको एउटा काल्पनिक ग्रहलाई वैज्ञानिकहरूले 'थीआ' नाम दिएका हुन्।
उक्त भीषण घटनापश्चात् उछिट्टिएका टुक्राटाक्री नै पछि गएर चन्द्रमा बनेको ठानिएको छ।
यो विश्वासअनुसार थीआको 'बलिदान' नभएको भए हाम्रो प्राकृतिक उपग्रह चन्द्रमाको उत्पत्ति नै हुने थिएन र तपाईँले पनि यो लेख पढ्न पाउनुहुने थिएन।
एउटा 'भीषण' ठक्कर
प्रारम्भिक कालको पृथ्वी तथा करिब मङ्गल ग्रहजत्रो पिण्डबीच 'भीषण' ठक्कर भएको वैज्ञानिकहरूले ठानेका छन्। त्यो घटनापछि उछिट्टिएका टुक्राहरू बिस्तारै जम्मा भएर नयाँ चन्द्रमा बनेको हुन सक्ने उनीहरूको आकलन छ। ठानेका छन्।
'जायन्ट इम्प्याक्ट हाइपथसिस' नाम दिइएको उक्त अनुमानअनुसार त्यो टकरावपश्चात् विकसित भएको सम्बन्धको पृथ्वीमा जीवनको उदयका निम्ति अत्यधिक महत्त्व रहन पुग्यो।
अन्य विषयका अतिरिक्त बितेका केही अर्ब वर्षयता जसरी चन्द्रमाले हाम्रो ग्रहसँग गुरुत्वाकर्षण तानातानको सम्बन्ध बनायो, त्यसले आफ्नो अक्षमा घुम्ने पृथ्वीलाई एउटा स्थिरता प्रदान गर्यो अनि हामीलाई एउटा स्थिर जलवायु प्रणाली मिल्यो।
"जलवायु स्थिरताको अभावमा यहाँ विषम जलवायु तथा मौसमी प्रणाली हुन्थे, जसले जीवनको विकासलाई सहयोग गर्दैनथ्यो," जर्मनीको माक्स प्लाङ्क इन्स्टिट्यूट फर सोलर सिस्टम रिसर्चका विज्ञ प्राध्यापक थोर्स्टन क्लाइनले भने।
पृथ्वीले भोगेको हुन सक्ने उक्त भयङ्कर तथा अझै रहस्यमय घटनाबारे गत नोभेम्बरमा अध्ययन गरेको एक अन्तर्राष्ट्रिय टोलीमा क्लाइन पनि सहभागी थिए।
'साइन्स' जर्नलमा प्रकाशित शोधपत्रमा उक्त टोलीले पृथ्वी तथा चन्द्रमाको पदार्थको रासायनिक परीक्षण गर्दा सौर्यमण्डल निर्माणको त्यो उथलपुथलपूर्ण समयमा पृथ्वी र थीआ असहज छिमेकीका रूपमा रहेको विश्वासमा बल पुगेको उल्लेख गरेको छ।

तस्बिर स्रोत, NASA
एउटा चन्द्रमा, तर कैयन् अनुमान
तर हामीले सधैँ थीआबारे सोचेका चाहिँ थिएनौँ। सन् १९६९ मा मानवजातिले चन्द्रमाको सतहमा पहिलो पाइला टेक्नुअगाडि चन्द्रमाको उत्पत्तिबारे तीनथरी अनुमान थिए।
'फिशन' सिद्धान्तअनुसार द्रुत गतिमा घुमिरहेको पृथ्वीबाट ठूलो चोक्टा अन्तरिक्षमा हुत्तियो र चन्द्रमा बन्न पुग्यो।
'क्याप्चर' सिद्धान्तअनुसार सौर्यमण्डलमा अन्यत्रै बनेको चन्द्रमालाई पृथ्वीको गुरुत्वाकर्षणले तान्यो र यतै राख्यो।
अनि 'कोफर्मेशन' सिद्धान्तअनुसार चाहिँ पृथ्वी र चन्द्रमा सँगसँगै उत्पत्ति भए र सँगसँगै स्थिर भएर रहे।
ती अनुमानमध्ये कुनै एउटालाई बल पुर्याउनुको साटो नासाको अपोलो चन्द्र अभियानले अर्कै नयाँ अनुमानतर्फ औँल्यायो।
रासायनिक समानता
चन्द्रमामा उत्रिएका नील आर्मस्ट्रङ र अन्य अन्तरिक्षयात्रीहरूको सफलताको धेरै चर्चा भयो तर अपोलो अभियानको एउटा महत्त्वपूर्ण योगदान चाहिँ उनीहरूले आफूसँग ल्याएका 'उपहारहरू' थिए।
"अपोलो अन्तरिक्षयात्रीहरूले चन्द्रमाको चट्टानका टुक्राहरू ल्याए। जब वैज्ञानिकहरूले तिनको परीक्षण गरे, उनीहरूले तिनमा र पृथ्वीका चट्टानहरूमा रहेको रासायनिक समानता भेट्टाए," यूनिभर्सिटी कलेज लन्डनका एक खगोलशास्त्री तथा 'वन्डर्स अफ मून' नामक बालविज्ञान पुस्तकका लेखक प्राध्यापक रमन प्रिन्जाले भने।
यसको अर्थ चन्द्रमा पनि पृथ्वीबाटै उत्पन्न भएको हुन सक्ने भन्ने लाग्थ्यो।

तस्बिर स्रोत, NASA/Getty Images
प्रिन्जाका अनुसार ती चट्टानका टुक्रा अध्ययन गर्दा तिनको निर्माण अत्यधिक तापका माझ भएको जस्तो लाग्छ - अर्थात् कुनै 'भीषण' ठक्कर भएपछि।
ताप दिँदा सहजै वाष्पीकरण हुने तत्त्वहरू तिनमा थिएनन्। त्यसको अर्थ उत्पत्तिको समयमा चन्द्रमामा तत्त्वहरू पग्लिएका अवस्थामा थिए।
नासाका एक चन्द्रभूगर्भशास्त्री डा स्यारा भ्यालेन्सियाका अनुसार ती नमुनाहरूबाट प्राप्त निचोड त साना सङ्केत मात्र हुन्। पछिल्ला दशकहरूमा भएका प्राविधिक विकास, खास गरी कम्प्युटर मोडलिङले 'जायन्ट इम्प्याक्ट हाइपथसिस'लाई थप बल दिएको छ।
एउटा विश्वासअनुसार त पृथ्वीको अक्ष केही ढल्कनुमा थीआसँगको ठक्कर नै जिम्मेवार पनि ठानिन्छ।
"पृथ्वी र चन्द्रमाबीचको सम्बन्ध अनि रसायन बुझाउने अहिलेसम्मको उत्तम विश्वास चाहिँ यही जायन्ट इम्प्याक्ट हाइपथसिस नै हो," भ्यालेन्सियाले भनिन्।
के पृथ्वीले थीआलाई "निलेको" थियो?
तर थीआलाई के भयो त?
यो समाधान ननिस्किएको एक रहस्य हो। अन्दाजी साढे छ करोड वर्षअगाडि जब एक 'कुख्यात' खगोलीय पिण्ड पृथ्वीमा बज्रन आइपुग्यो र यहाँका डाइनसोरलगायतका जीव लोप भए, तब त्यसले मेक्सिकोको युकातान प्रायद्वीपमा विशाल खाडल बन्यो। तर थीआले त्यस्तो निसाना पनि छाडेको पाइएको छैन।
किन?
क्लाइनका अनुसार थीआको पिण्ड पृथ्वीको दश भागको एक भाग जति थियो। अर्थात् पृथ्वीसँग ठोकिँदा त्यो टुक्राटुक्रा हुन पुग्यो र त्यसका अधिकांश हिस्सा पृथ्वीमै गाभियो। केही टुक्राटाक्री उछिट्टिएर अन्तरिक्षमा पुगे र चन्द्रमाको अंश बन्न पुगे।
"त्यस्तो कुनै ठक्कर भएको भए हुने स्वाभाविक परिणाम यही हो। तर हामीले चन्द्रमामा थीआको संरचनागत चिनो भेट्टाउनुपर्थ्यो, जुन अहिलेसम्म भेटिएको छैन," ती वैज्ञानिकको भनाइ छ।

तस्बिर स्रोत, NASA/JPL-Caltech/Esa
"हामीले के भनेका छौँ भने सौर्यमण्डलको एकै स्थानमा बनेको हुनाले पृथ्वी तथा थीआ निकै समान थिए," उनको भनाइ छ।
साथै हामीलाई थाहा छ कि हाम्रो ग्रह र यसका सबैभन्दा निकट दुई छिमेकी ग्रह मङ्गल र बुधबीच पनि कैयन् समानता छन्। बुधलाई त कहिलेकाहीँ "पृथ्वीको दुष्ट जुम्ल्याहा" पनि भनिन्छ।
"तर जसरी थीआको उत्पत्तिबारे हामीलाई पक्कापक्की थाहा छैन, उसको अन्त्यबारे पनि अन्योल छ," भ्यालेन्सियाले भनिन्।
तथापि केही सङ्केतहरू मिलेका छन्। सन् २०२३मा गरिएको एक अध्ययनले पृथ्वीको गहिराइमा रहेका महादेश आकारका दुई क्षेत्र थीआको अवशेष हुन सक्ने दाबी गर्यो।
चन्द्रमामा पुन: अभियान
पृथ्वी र चन्द्रमाको जोडी कसरी बन्न पुग्यो भनेर यकिन जान्न अझै बाँकी छ।
त्यसैकारण नासाले मानिसलाई फेरि चन्द्रमामा पठाउने आर्टमिस अभियान थाल्न लागेकोप्रति वैज्ञानिकहरू निकै उत्साहित भएका छन्।

तस्बिर स्रोत, NASA
अपोलो अभियानताकाभन्दा अत्याधुनिक परीक्षण गर्न सम्भव हुनुका साथै नयाँ चन्द्र अभियानले दक्षिणी ध्रुवजस्ता चन्द्रमाका नयाँ क्षेत्रहरूको अन्वेषण गर्ने छ। अपोलोले चन्द्रमाको सीमित क्षेत्रबाट मात्रै - खासगरी त्यहाँको भूमध्येरेखाआसपासको क्षेत्रबाट - चट्टानका नमुना ल्याएको थियो।
"यदि हामीले पृथ्वीको जम्मा छ वटा भाग मात्र डुल्यौँ भने के हामीले सम्पूर्ण पृथ्वीको अन्वेषण गरेको वा यसको उत्पत्ति बुझेको भन्न सक्छौँ? निश्चय पनि सक्दैनौँ! चन्द्रमामा वैज्ञानिक अध्ययनको असीमित सम्भावना छ," भ्यालेन्सियाले भनिन्।
तर अहिलेका लागि हामीले जति बुझेका छौँ, त्यसको आधारमा थीआले गरेको त्यागका निम्ति ऊप्रति आभार मात्र व्यक्त गर्न सक्छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















