सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले गरेका 'तीन गल्ती'

कालोपाटीमा भौतिकशास्त्रको सूत्र लेख्दै अल्बर्ट आइन्स्टाइन

तस्बिर स्रोत, Getty Images

    • Author, एलन शङ
    • Role, बीबीसी विश्व सेवा

प्रतिभाशाली व्यक्तिहरू पनि आखिर मान्छे नै हुन्।

अल्बर्ट आइन्स्टाइन सापेक्षताको सिद्धान्तका प्रणेता अनि गुरुत्वाकर्षण तथा प्रकाशसम्बन्धी महत्त्वपूर्ण अन्वेषण र व्याख्या गर्ने महान् भौतिकशास्त्री हुन्। तर उनी कहिलेकाहीँ आफूले प्रतिपादन गरेका सिद्धान्तहरूप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको पनि देखिन्छ।

त्यस्तो संशयका कारण उनीबाट केही ठूला गल्तीहरू पनि भएका छन्।

ब्रह्याण्ड स्थिर रहन्छ भनेर माने

सापेक्षताको सिद्धान्तमा काम गर्दा आइन्स्टाइनले गरेको गणनाले गुरुत्वाकर्षणका कारण ब्रह्माण्ड कि खुम्चिन्छ कि विस्तार हुन्छ भन्ने सङ्केत गरेको थियो।

त्यस बेला 'ब्रह्याण्ड यथास्थितिमै रहन्छ' भन्ने मान्यता प्रचलित थियो।

सन् १९१७ मा सापक्षेताको सिद्धान्तबारे आफ्नो शोधपत्रमा आइन्स्टाइनले "कस्मलजिकल कन्स्टन्ट" अर्थात् "ब्रह्माण्डीय स्थिराङ्क" समाविष्ट गरे।

गुरुत्वाकर्षणबाट पर्ने प्रभाव प्रतिकार गर्न उक्त स्थिराङ्क आवश्यक थियो। तर त्यसो गर्दा उनले ब्रह्माण्ड स्थिर रहन्छ भन्ने पुरातन मान्यता अङ्गीकार गरे।

त्यसको एक दशकपछि वैज्ञानिकहरूले ब्रह्मण्ड स्थिर हुँदैन भन्ने नयाँ प्रमाण फेला पार्न थाले। ब्रह्माण्ड वास्तवमा फैलिँदो क्रममा छ भन्ने पुष्टि भयो।

पछि भौतिकशास्त्री जोर्ज ग्यामोले आफ्नो पुस्तक 'माइ वर्ल्ड लाइन : एन इन्फर्मल अटोबायोग्रफी' मा आइन्स्टाइनले आफूले "ब्रह्माण्डीय स्थिराङ्क प्रवेश गराएर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको" बताएको लेखेका छन्।

ताराहरू देखिने ब्रह्माण्डको तस्बिर

तस्बिर स्रोत, Nasa/Esa/J Merten/D Coe

तस्बिरको क्याप्शन, सन् १९२९ देखि वैज्ञानिकहरूले ब्रह्माण्ड स्थिर छैन बरु निरन्तर विस्तार हुँदै छ भन्ने कुरामा विश्वास गर्न थाले

तर वैज्ञानिक ज्ञानमा अहिले एउटा नयाँ मोड आएको छ।

ब्रह्माण्ड एक प्रकारको रहस्यमय 'डार्क एनर्जी'का कारण तीव्र गतिमा फैलिरहेको प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन्।

केही वैज्ञानिकहरू आइन्स्टाइनले आफ्नो सूत्रमा मूलतः गुरुत्वाकर्षणको प्रतिरोधका लागि समावेश गरेको स्थिराङ्कले उक्त ऊर्जाको प्रभाव प्रतिनिधित्व गर्ने ठान्छन्।

अर्थात् आइन्स्टाइन गरेका गणना बिग्रिएको थिएन।

निकै टाढा रहेका आकाशगङ्गा

ब्लू होर्सशू आकाशगङ्गाको तस्बिर, त्यसका अगाडि लूमिनश रेड आकाशगङ्गा

तस्बिर स्रोत, Nasa/Esa

तस्बिरको क्याप्शन, 'ग्र्याभिटेशनल लेन्सिङ' प्रक्रियाका कारण हबल टेलिस्कोपलाई निकै टाढा रहेको ब्लू होर्सशू आकाशगङ्गा र त्यसलाई ठूलो आकारमा देखाउन सघाउने लूमिनस रेड आकाशगङ्गाको तस्बिर खिच्न सजिलो भयो

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले अर्को प्रक्रियाबारे पनि अनुमान गर्‍यो - ताराजस्तो विशाल पिण्डको गुरुत्वाकर्षण क्षेत्रले आफूभन्दा पछाडिपट्टि टाढा रहेको अर्को पिण्डबाट आएको प्रकाशलाई परावर्तन गराइदिन्छ अर्थात् त्यसको बाटो बङ्ग्याइदिन्छ र विशाल 'म्याग्निफाइङ लेन्स' का रूपमा देखा पर्छ।

आइन्स्टाइनले 'ग्र्याभिटेशनल लेन्सिङ' (गुरुत्वाकर्षण लेन्सिङ) भनिने यस प्रकारको प्रभाव नगण्य हुने र देख्न नसकिने ठानेका थिए। चेक इन्जिनियर आरडब्ल्यू मान्डलले नमनाउँदासम्म उनले त्यसबारे आफ्नो गणितीय विश्लेषण छाप्ने विचार नै गरेका थिएनन्।

'साइन्स' जर्नलमा सन् १९३६ मा प्रकाशित आफ्नो शोधपत्रतिर सङ्केत गर्दै आइन्स्टाइनले त्यसका सम्पादकलाई एउटा पत्र पठाए।

"यो सानो सामग्री , जुन मान्डल महोदयले मबाट निकालिछाडेका हुन्, प्रकाशन गर्न सहयोग गर्नुभएकोमा तपाईँलाई धन्यवाद ज्ञापन गर्छु। यसको खासै ठूलो महत्त्व छैन, तर यसले ती बिचरा [मान्डल]लाई खुसी बनाउँछ," उनले लेखे।

आइन्स्टाइनले तुच्छ सम्झेको विषय खगोलशास्त्रमा निकै महत्त्वपूर्ण सिद्ध हुन पुग्यो।

यसकै सहयोगमा अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष निकाय 'ईएसए'को हबल टेलिस्कोपले दूर अन्तरिक्षमा भएका आकाशगङ्गाहरूतिर चियाउँछ र तिनीहरूबारे विस्तृत विवरण सङ्कलन गर्छ।

गुरुत्वाकर्षण लेन्सिङका कारण पृथ्वीनजिकै रहेका विशाल आकाशगङ्गाहरूले टाढाका अरू आकाशगङ्गा ठूलो आकारमा देखाउँछन्।

'ईश्वरले पासा खेल्दैनन्'

सन् १९०५ मा प्रकाशित आइन्स्टाइनको शोधपत्र र अन्य अनुसन्धानले प्रकाशलाई तरङ्ग र कण दुवैका रूपमा प्रस्तुत गरे। त्यो परिभाषाले भौतिकशास्त्रमा एउटा नयाँ शाखाको उदय भयो।

'क्वान्टम मेकनिक्स'ले सूक्ष्म 'सब-एटमिक' कणहरूको अनौठो संसार खोतल्छ।

उदाहरणका लागि, अवलोकन र मापन गरेर कुनै मान दिने बेलासम्म एउटा क्वान्टम वस्तु 'सूपरपोजिशन'मा अर्थात् धेरै अवस्थामा रहिसकेको हुन्छ।

भौतिकशास्त्री एर्भिन श्रोइडिङ्गरले यो विरोधाभासपूर्ण अवस्था बुझाउन बाकसभित्र राखिएको बिरालोलाई ढक्कन खोलेर नहेर्दासम्म जीवितै रहेको र मरिसकेको जे माने पनि हुन सक्छ भन्ने तर्क प्रस्तुत गर्ने गर्दथे।

श्रोइडिङ्गर्स् प्यारडक्स बुझाउन बाकसमा राखिएको बिरालो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एर्भिन श्रोइडिङ्गरको 'प्यारडक्स' बुझाउन बाकसमा राखिएको बिरालोको अवस्था बुझ्नुपर्ने मान्यता छ

आइन्स्टाइनले यस प्रकारको अनिश्चितता स्वीकार गर्न मानेनन्। सन् १९२६ मा उनले भौतिकशास्त्री माक्स बोर्नलाई "[ईश्वरले त्यसरी] पासा खेल्दैनन्" भन्दै पत्र लेखे।

सन् १९३५ मा बोरिस पोदोल्स्की र नेथन रोजनसँग मिलेर प्रकाशित गरेको शोधपत्रमा आइन्स्टाइनले तर्क गरे -- यदि 'सूपरपोजिशन'मा रहेका दुई वस्तुलाई कुनै प्रकारको सम्बन्ध रहेपछि छुट्ट्याउने हो भने पहिलो वस्तुलाई हेर्ने र त्यसलाई कुनै मान दिने व्यक्तिले स्वतः दोस्रो वस्तुलाई पनि कुनै मान दिन्छ, त्यसका लागि दोस्रो वस्तुको अवलोकन गर्नैपर्दैन।

'क्वान्टम सूपरपोजिशन'लाई खण्डन गर्न उनले त्यस्तो विचार व्यक्त गरेका थिए। तर त्यसले केही दशकपछि क्वान्टम मेकनिक्समा एउटा नयाँ अवधारणा जन्मायो। हामी त्यसलाई 'इन्ट्याङ्गल्मन्ट' भन्छौँ। निकै टाढा भए पनि दुइटा वस्तुलाई एकै भएको भनेर देखाउन सकिन्छ भन्ने तर्क यो अवधारणाको छ।

यस आधारमा आइन्स्टाइन सिद्धान्तमा निकै प्रतिभाशाली थिए अनि कहिलेकाहीँ गलत भएको भए पनि उनको प्रतिभाले नयाँ कुरा देखाएको छ भन्न सकिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।