ओपनहाइमर र आइन्स्टाइन: एउटा जटिल सम्बन्ध

तस्बिर स्रोत, Getty Images
चलचित्र ओपेनहाइमरको अन्तिमतिरको एउटा दृश्यमा भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले आफ्ना सहकर्मी रोबर्ट ओपेनहाइमरलाई भनेका छन्, “अब आफ्ना उपलब्धिको परिणाम भोग्ने पालो तिम्रो हो।”
उक्तचलचित्रले ओपेनहाइमर कसरी संयुक्त राज्य अमेरिकाको म्यान्ह्याटन परियोजनाको नेतृत्व गर्दै सन् १९४० को दशकमा "अणुबमका पिता" बन्न सफल भए भन्ने देखाउँछ।
चलचित्रमा आइन्स्टाइन आफ्नो जीवनको उत्तरार्धमा देखिन्छन्।
त्यो बेला उनी र ओपनहाइमर दुवै प्रिन्स्टन इन्स्टिट्यूट फर एडभान्स्ड स्टडीमा आबद्ध थिए भने ओपनहाइमर सन् १९४७ देखि १९६६ सम्म त्यसको निर्देशक रहेका थिए।
उनीहरू आफ्नो समयका दुई अग्रणी वैज्ञानिकहरू थिए तर उनीहरूबीच भौतिकशास्त्रको बुझाइ र आफ्ना अनुसन्धानले विश्वलाई पुर्याउन सक्ने लाभ तथा हानिलाई लिएर महत्त्वपूर्ण फरक मत पनि थियो।
“हामी निकटस्थ सहकर्मीहरू थियौँ र एक प्रकारले साथी पनि थियौँ,” आइन्स्टाइनको निधन भएको दशौँ वार्षिकीमा सन् १९६५ मा प्यारिसमा आयोजित एउटा सम्मेलनमा ओपनहाइमरले भनेका थिए।
निर्देशक क्रिस्टोफर नोलनले काल्पनिक संवादका माध्यमबाट दुई भौतिकशास्त्रीबीचको संवाद प्रस्तुत गरेका छन् जसले उनीहरूको सम्बन्ध देखाउँछ।
त्यसमा भावनामा ओतप्रोत भएका ओपनहाइमरले पिता समानका आइन्स्टाइनबाट सुझाव लिइरहेको देखाइएको छ।
वास्तविक जीवनमा महत्त्वपूर्ण फरक मत रहेको भए पनि उनीहरू एक अर्कालाई उच्च सम्मान व्यक्त गर्थे।

तस्बिर स्रोत, Universal Pictures
समानान्तर रूपमा दुई जिन्दगी

तस्बिर स्रोत, Getty Images
जुन बेला ओपनहामइमरले सैद्धान्तिक भौतिक शास्त्रमा विज्ञता हासिल गरेका थिए, त्यो बेलासम्म आइन्स्टाइनले भौतिकशास्त्रमा नोबेल पुरस्कार जितिसकेका थिए।
सन् १९१५ को सापेक्षतावादको सिद्धान्त र अमेरिकी वैज्ञानिकहरूलाई प्रभावित तुल्याउने अरू कामका कारणले उनी विज्ञानको क्षेत्रमा अग्रणी व्यक्तित्व बनिसकेका थिए।
जर्मनीमा यहुदीमाथि बढ्दो दमनका माझ आइन्स्टाइनले युरोप छाडेका थिए र सन् १९३२ मा प्रिन्सटन, न्यूजर्सीमा बसाइँ सरेका थिए। त्यहाँ उनले आफ्नो कामलाई निरन्तरता दिए।
त्यसको केही समयपछि सन् १९३९ को अगस्टमा उनले राष्ट्रपति फ्र्याङ्क्लिन डी रुजवेल्टलाई आफ्ना सहकर्मी लिओ सिलार्डले लेखेको पत्रमा हस्ताक्षर गरेका थिए।
त्यसमा उनीहरूले जर्मनीमा वैज्ञानिक खोजमा फेला परेको टुक्राइएको यूरेनिअमले उक्त युरोपेली देशले अणुबम बनाउन सक्ने चेतावनी ह्वाइट हाउसलाई दिएका थिए।
त्यसले अतिगोप्य म्यानह्याटन प्रोजेक्ट सिर्जना गराएको ठानिन्छ र सन् १९४२ मा अमेरिकी सरकारले ओपनहामइमरलाई त्यसको प्रमुखमा नियुक्त गरेको थियो।
त्यस बेलासम्म उनी अग्रणी वैज्ञानिक भइसकेका थिए।


कैयौँ स्रोतहरूका अनुसार ६४ वर्षका आइन्स्टाइनलाई यो परियोजनामा संलग्न नगर्नुको कारण उनको जर्मन मूल र वामपन्थी झुकावलाई कारक मानिन्छ।
तर भौतिकशास्त्रको सिद्धान्तलाई लिएर उनी र ओपनहाइमरबीचको फरक दृष्टिकोणले पनि भूमिका खेलेको थियो।
काई बर्ड र मार्टिन जे शेर्विनले “अमेरिकन प्रमीथिअस: द ट्राइअम्फ एन्ड ट्रयाजडी अफ जे. रोबर्ट ओपनहाइमर” नामक जीवनी (जसको आधारमा नोलनको चलचित्र बनेको छ) मा अमेरिकी भौतिकशास्त्रीले आइन्स्टाइनलाई ‘कामकाजी वैज्ञानिक नभई भौतिकशास्त्रका जीवित संरक्षक साधक” का रूपमा मान्ने गरेको उल्लेख गरिएको छ।
नोलनले दुईबीच देखिएको सम्बन्धलाई चलचित्रमा पनि चित्रण गर्ने प्रयत्न गरेका छन्।
ती निर्देशकले द न्यूयोर्क टाइम्ससँग भनेका छन्, “मैले उनीहरूबीचको सम्बन्धलाई पाखा लगाइएका एक गुरुको काम एक कनिष्ठले सम्हालेको ढङ्गले देखेँ।”
के अणुबम निर्माणमा आइन्स्टाइनको भूमिका थियो?
म्यान्ह्याटन परियोजना अघि बढिरहँदा चलचित्रले ओपनहाइमरले आफूले विकास गरिरहेको जस्तो अणुबमले कुन स्तरसम्मको प्रभाव पार्न सक्छ भन्ने आशङ्का गरिरहेको देखाउँछ।
उनी सुझाव माग्न आइन्स्टाइनकोमा गएको देखाइन्छ।
तर त्यो अमेरिकी निर्देशकको काल्पनिक कथा मात्रै थियो किनभने चलचित्रमा देखाइएको जस्तै यी त्यस्तो केही भएको थिए।
नोलनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, “मैले परिवर्तन गरेका थोरै कुराहरूमा ओपेनहाइमरले आइन्स्टाइनसँग नगरेको परामर्श पनि हो। वास्तवमा उनले म्यान्ह्याटन प्रोजेक्टका लागि शिकागो विश्वविद्यालयमा एउटा कार्यालय चलाउने आर्थर कोप्टनसँग त्यस्तो परामर्थ गरेका थिए।"
“तर दर्शकहरूले चिन्ने व्यक्तित्व आइन्स्टाइन हुन्।”

तस्बिर स्रोत, Getty Images
ओपनहाइमरले सन् १९४३ देखि सन् १९४५ सम्म न्यूमेक्सिकोको लस एलामोज प्रयोगशालामा काम गरेका थिए। त्यो प्रयोशाला प्रिन्सटनबाट हजारौँ किलोमिटर टाढा छ।
त्यो बेला यी अमेरिकी भौतिकशास्त्रीले आइन्स्टाइनसँग कुनै बैठक वा परामर्श गरेको स्पष्ट छैन।
तर सन् १९६५ ओपनहाइमरले आइन्स्टाइन नरसंहारकारी अस्त्र निर्माणमा संलग्न रहेको दाबीबारे प्रतिक्रिया दिएका थिए।
“मेरो विचारमा उनले अणुबम निर्माणमा भूमिका खेलेको भन्ने दाबी गलत हो,” त्यो वर्ष प्यारिस सम्मेलनमा उनले थपे।
उनको विचारमा सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टलाई जर्मनको अणुबम विकास क्षमताप्रति ध्यान दिन अनुरोध गर्दै लेखिएको पत्रले अमेरिकी सरकारलाई "वास्तविक रूपमा कुनै प्रभाव" पारेको थिएन।
अणुबम प्रयोग भएपछि कस्तो प्रतिक्रिया?
पहिलो आणविक बमको सफलतापूर्वक परीक्षणपछि ओपनेहाइमरले उनको कामलाई जोखिमको अवस्थामा नभई नरसंहारको अस्त्रका रूपमा प्रयोग गरिएको भन्दै नैतिक प्रश्नको सामना गर्नुपर्यो।
सन् १९४५ को अगस्टमा हिरोशिमा र नागासाकीमा ती बम खसाइएका थिए।
आइन्स्टाइन, सिलार्ड र कैयौँ वैज्ञानिकहरूले ती बमहरू जापानी सहरमा खसाइएकोमा निन्दा गरेका थिए।
उनीहरूको विचारमा जापान व्यावहारिक रूपमा पराजित भइसकेको अवस्थामा त्यस्तो आक्रमण गरिएको थियो।
चलचित्रमा नोलनले वाशिङ्टनस्थित सरकारलाई आफूले विकास गरेको प्रविधिको प्रयोगका लागि सीमा तय गर्न मनाउने प्रयास ओपनहामइमरले गरेको देखाइएको छ।
तर राजनीतिज्ञहरूले उनीमाथि नै प्रश्न उठाए। विगतमा वामपन्थीहरूसँगको उनको सम्बन्धलाई लिएर प्रश्न गर्दै राष्ट्रिय सुरक्षाका लागि जोखिमका रूपमा प्रस्तुत गरिएपछि उनले सरकारी समितिसमक्ष बयान दिनुपरेको थियो।

तस्बिर स्रोत, Universal Pictures
बर्ड र शेर्विनले आफ्नो पुस्तकमा लेखेअनुसार आइन्स्टाइनले ओपेनहाइमरलाई "देशलाई राम्रोसँग सेवा गरेकाले त्यस्तो खेदोसँग झुक्न नहुने" सुझाव दिएका थिए। ती अमेरिकी भौतिकशास्त्रीकी सचिव भर्ना हब्सन उक्त संवादकी साक्षी हुन्।
आइन्स्टाइनले ओपनहाइमरलाई भनेका थिए, “संयुक्त राज्य अमेरिकाले यदि तिमीलाई यस्तो पुरस्कार दिन्छ भने तिमीले त्यसलाई अस्वीकार गर्छुपर्छ।"
हब्सनले ओपनहाइमरले ‘अमेरिकालाई माया गर्ने’ दाबी गर्दै त्यो माया ‘विज्ञानलाई जत्तिकै गहिरो’ भएको बताइन्।
“आइन्स्टाइनले बुझ्दैनन्,” ओपनहाइमरले हब्सनलाई भनेका थिए।
नोबेल पुरस्कार विजेताका अनुसार ओपनहाइमरले अमेरिकाबाट त्यति अपेक्षा गर्नु ठिक हुँदैन।
बर्ड र शेर्विनका अनुसार त्यो संवादपछि ओपनहाइमरतर्फ देखाउँदै आइन्स्टाइनले हब्सनलाई भनेका थिए, “एउटा मूर्ख जाँदै छ।”

तस्बिर स्रोत, Getty Images
फरक मत भए पनि दुवैले आआफ्नै ढङ्गले एकअर्काको प्रशंसा र सम्मान गर्थे।
आइन्स्टाइनले ओपनहाइमरलाई ‘बहुआयामिक शिक्षा भएका अस्वाभाविक रूपमा क्षमतावान् व्यक्ति’ भन्ने गरेको बताइन्छ।
आइन्स्टाइन ओपनहाइमरलाई "भौतिकशास्त्रीका रूपमा नभई उनको व्यक्तित्वका कारण" प्रशंसा गर्थे।
आइन्स्टाइनको मृत्युको दशौँ वार्षिकी र सापेक्षताको सिद्धान्तको ५०औँ वार्षिकीका अवसरमा ओपनहाइमरले आइन्स्टाइनको योगदानको सम्झना गरेका थिए।
“आइन्स्टाइनको प्रारम्भिक काम अत्यन्तै राम्रो थियो तर त्यसमा धेरै त्रुटिहरू थिए,” ओपनहाइमरले प्यारिसमा भनेका थिए।
आइन्स्टाइनका कामहरूलाई एक ठाउँमा प्रस्तुत गर्न आफू संलग्न भएको एउटा परियोजनामा शुद्धाशुद्धि मिलाउन १० वर्ष लागेको उनले सम्झिए।
तर उनले भने, “एक व्यक्ति जसको गल्ती सच्याउन १० वर्ष लाग्छ, ती महान् व्यक्ति हुन्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








