अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए

ओपनहाइमर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अणुबम बनाउनमा ओपनहाइमरको उल्लेख्य भूमिका थियो
    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता

क्रिस्टोफर नोलनद्वारा निर्देशित चलचित्र 'ओपनहाइमर'को संसारभरि सकारात्मक चर्चा भइरहेको छ।

"अणुबमका आविष्कारक"को जीवनी देखाउने यो चलचित्र भारतमा पनि सफल भएको छ। यद्यपि चलचित्रमा ती वैज्ञानिकले सम्भोग गरेलगत्तै हिन्दूधर्मको सबैभन्दा पवित्र ग्रन्थमध्ये एक भगवद्गीता पढेको दृश्यको भने केहीले विरोध गरेका छन्।

ओपनहाइमरले प्राचीन संस्कृत भाषा सिकेका थिए र उक्त ग्रन्थ उनलाई मन पर्ने पुस्तकहरूमध्ये रहेको बताइन्छ।

सन् १९४५ को जुलाईमा न्यूमेक्सिकोको मरुभूमिमा पहिलो पटक अणुबम विस्फोट हुनुभन्दा दुई दिनअघि रोबर्ट ओपनहाइमरले भगवद्गीताको एउटा श्लोक वाचन गरेका थिए।

विस्फोटअघि गीता पाठ

भौतिकशास्त्री ओपनहाइमरले बर्क्लीमा शिक्षण गर्दा उनले प्राचीन संस्कृत भाषा र पछि गीताबारे जानकारी पाएका थिए।

हजारौँ वर्षअघि लेखिएको गीतामा ७०० श्लोक छन्। यो ग्रन्थ संस्कृत वाङ्मयको ठूलो महाकाव्य मानिने महाभारतको अंश हो।

इतिहासलाई नै परिवर्तन गर्ने एउटा घटना हुनुभन्दा केही घण्टाअघि "अणुबमका आविष्कारक"ले संस्कृतबाट आफैँले अङ्ग्रेजीमा अनुवाद गरेको एउटा श्लोक पढेर आफ्नो तनाव कम गरेका थिए।

युद्धमा, वनमा, पहाडको उचाइमा

अँध्यारो समुद्रमा , भाला र तीरहरूको बीचमा

निद्रामा, भ्रममा, लज्जाको गहिराइमा

प्रतिरक्षा गर्नुअघि मानिसले गरेका असल कामहरू।

काई बर्ड र मार्टिन जे शेर्विनले सन् २००५ मा आफ्नो आधिकारिक जीवनी 'अमेरिकन प्रमिथिअस: द ट्राइअम्फ एन्ड ट्रेजडी अफ जे रोबर्ट ओपनहाइमर'मा लेखेअनुसार ओपनहाइमरलाई युवावस्थामा यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लीका संस्कृतका प्राध्यापक आर्थर डब्ल्यू राइडरले संस्कृतबारे जानकारी दिएका थिए।

त्यतिबेला ओपनहाइमर २५ वर्षको उमेरमा सहायक प्राध्यापकका रूपमा त्यहाँ पुगेका थिए। त्यसपछिका केही दशकहरूमा उनले अमेरिकामा "सैद्धान्तिक भौतिक विज्ञानको सबैभन्दा ठूलो स्कूल" निर्माण गर्न सघाए।

redline
redline

एक रिपब्लिकन तथा "धार्मिक वा परम्परागत संस्थाहरूको आलोचक" राइडर ओपनहाइमरसँग प्रभावित थिए।

ओपनहाइमरले भने राइडरलाई "उत्कृष्ट बुद्धिजीवी"को सङ्ज्ञा दिए, त्यस्ता विद्वान् जो "वीतरागीले जसरी सोच्थे वा बोल्थे"।

यी युवा वैज्ञानिकका बुबा उक्त सङ्ज्ञासँग सहमत थिए। राइडरबारे उनले भनेका थिए, "गाम्भीर्य र कोमल हृदयको उल्लेखनीय मिश्रण भएको व्यक्तित्व।”

संस्कृत अध्ययनमा रमाएका वैज्ञानिक

अभिनेता सिलिअन मर्फीद्वारा अभिनित चलचित्र 'ओपनहाइमर'मा राइडरलाई "जीवनबारे दु:खद अनुभूति भएका दुर्लभ व्यक्ति”को रूपमा चित्रण गरिएको छ। उनी “मानवीय कार्यले नै मुक्ति र विनाशमध्ये एउटा बाटो निर्धारण गर्ने” कुरामा विश्वास गर्थे।

केही समयपछि राइडरले प्रत्येक बिहीवार साँझ ओपनहाइमरलाई संस्कृत पढाउन थाले। "म संस्कृत सिक्दै छु," यी वैज्ञानिकले आफ्ना भाइ फ्रान्कलाई पठाएको सन्देशमा लेखेका थिए, "म निकै आनन्द अनुभूति गरिरहेको छु...।"

ओपनहाइमरको जीवनीकारहरूले जनाएअनुसार उनका धेरै साथीहरूले भारतीय भाषाप्रतिको उनको नयाँ लगाव अस्वाभाविक ठाने। तीमध्ये एक ह्यारल्ड एफ चेर्निसले ओपनहाइमरलाई राइडरसँग परिचय गराएका हुन्।

उनले ती दुई जनाको भेटले “उचित अर्थ” राख्ने बताएका थिए किनकि ओपनहाइमरलाई "रहस्यमय र गुप्त" विषयहरूप्रति रुचि थियो।

अल्बर्ट आइस्टाइन र ओपनहाइमर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अल्बर्ट आइस्टाइनसँग ओपनहाइमर

त्यसैले ओपनहाइमरबारे चर्चा गर्दा उनको संस्कृत र गीतासम्बन्धी ज्ञानबारे उल्लेख गर्नु उचित हुन्छ। तर केही दक्षिणपन्थी हिन्दूहरूले चलचित्रमा ओपनहाइमर र उनकी प्रेमिका जीन ट्याटलक (फ्लोरन्स पगले निर्वाह गरेको चरित्र) सँगको कामुक दृश्यको भर्त्सना गरेका छन्। उक्त दृश्यले हिन्दू धर्ममाथि आक्रमण गरेको र त्यसलाई हटाउनुपर्ने माग उनीहरूको छ।

तर भारतको चलचित्र जाँच गर्ने निकायले तोकिएको दृश्यमा कुनै समस्या देखेन र भारतीय बजारमा उक्त चलचित्रले व्यावसायिक सफलता पाएको छ। गत शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को हलीवुड चलचित्र बार्बीको तुलनामा यसले राम्रो व्यापार गरिरहेको बताइन्छ।

ओपनहाइमर एक अध्ययनशील व्यक्ति थिए भन्ने कुरामा कुनै शङ्का छैन। उनले दर्शन, फ्रान्सेली साहित्य, अङ्ग्रेजी भाषा र इतिहास पढे। त्यस्तै वास्तुकला र प्राचीन ग्रीक तथा ल्याटिन भाषा पनि अध्ययन गरेका उनी एक कवि तथा चित्रकार पनि थिए।

उनले "दुःख र एक्लोपनलाई विषय बनाएर" कविताहरू लेखे। ती कविता टीएस एलिअटको कविता 'द वेस्ट ल्यान्ड'मा प्रतिविम्बित “सूक्ष्म अस्तित्ववादी दृष्टिकोण”सँग मेल खाने किसिमका भएको पाइयो।

"उनलाई गाह्रो कुराहरू मन पर्थ्यो। अधिकांश कुरा उसका लागि सहज भएकोले उनको ध्यानाकर्षण गर्ने विषयवस्तुहरू वास्तवमै जटिल हुन्थे," चेर्निसले भनेका थिए।

ओपनहाइमरले ग्रीक, ल्याटिन, फ्रेन्च र जर्मन भाषा पढेका थिए र छ सातामा डच पनि सिके। यो उनले भगवद्गीता पढ्नुभन्दा "धेरै अघिको" कुरा होइन। उनले यस ग्रन्थ "धेरै सजिलो र अद्भुत" महसुस गरे। यसबारे साथीहरूसँग भनेका थिएः "यो कुनै पनि ज्ञात भाषामा लिखित सबैभन्दा सुन्दर दार्शनिक काव्य" हो। उनको पुस्तक राख्ने दराजमा राइडरले उपहार दिएको पुस्तकको गुलाबी रङ्गको गाताले ढाकेको प्रतिलिपि थियो। ओपनहाइमर आफ्ना साथीहरूलाई त्यसैको प्रतिलिपिहरू उपहार दिन्थे।

जीवनीलेखकहरूका अनुसार यी वैज्ञानिक "उनको संस्कृत अध्ययनप्रति निकै मोहित" थिए। परिणामस्वरूप सन् १९३३ मा उनका बुबाले उनका लागि किनिदिएको गाडीको नाम गरुड राखिदिए। गरुड हिन्दू पौराणिक कथाहरूमा उल्लिखित विशाल पक्षीदेव हुन्।

भगवद्गीताबाट ओपनहाइमरले उद्धृत गरेका पङ्क्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विभिन्न घटनाक्रम र उनले उद्धृत गरेका पङ्क्तिहरूले ओपनहाइमरको हिन्दू दर्शनप्रतिको झुकाव दर्साएका थिए

हिन्दू दर्शनप्रति झुकाव

सोही वर्षको वसन्तमा ओपनहाइमरले अनुशासन र कर्म सधैँ आफ्ना लागि मार्गदर्शक सिद्धान्त भएको जनाउँदै पत्र लेखेका थिए। यस तथ्यले उनको पूर्वीय दर्शनप्रतिको झुकाव रहेको देखाउँछ।

उनले लेखे: "अनुशासनको माध्यमबाट यद्यपि यसमा मात्र निर्भर नभई हामीले स्थिरता प्राप्त गर्न सक्छौँ। जिन्दगीको अनिश्चितताबाट हामीले शान्ति र स्वतन्त्रताका साना तर बहुमूल्य उपाय प्राप्त गर्न सक्छौँ। यो समभावले त्यागिएको विश्वलाई पनि मूल्यवान् ठान्छ।"

"अनुशासनले व्यक्तिगत इच्छाबाट विचलित नभई संसारलाई हेर्न सिकाउँछ। त्यसपछि हामीले आफ्नो भौतिक सीमितता र जीवनका तनावपूर्ण पक्षहरूलाई सहजै स्वीकार गर्न सक्छौँ।"

“बीसको दशकको अन्त्यतिर ओपनहाइमर अनासक्तिको खोजीमा रहे जस्तो देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा उनी भौतिक संसारमा वैज्ञानिकको रूपमा संलग्न हुन चाहन्थे तर यसबाट अलग रहेरै,” उनको बारेमा लेखिएको छ।

redline
redline

"उनले पूरै आध्यात्मिक क्षेत्रतिर पलायन हुन खोजेका थिएनन्। उनले धर्मको खोजी गरिरहेको थिएनन्। उनले मानसिक शान्ति खोजेका थिए। मानवीय विषय र संवेगात्मक सुखमा रुचि राख्ने बौद्धिक हिसाबमा सचेत व्यक्तिका लागि गीता उत्तम दर्शन थियो।”

उनको मनपर्ने संस्कृत ग्रन्थहरूमध्ये महाकवि कालिदासको काव्य 'मेघदूत' थियो। "मैले राइडरसँग बसेर मेघदूत पढेँ, केही खुसी, केही सहजता र ठूलो मोहका साथ," उनले आफ्ना भाइ फ्रान्कलाई लेखेका थिए।

ओपनहाइमरले गीता र कर्मबारे यसले प्रदान गरेको दृष्टिकोण, भाग्य र सांसारिक कर्तव्यका धारणाहरूलाई किन ठूलो उत्साहका साथ ग्रहण गरे? उनका जीवनीकारहरूले एउटा अनुमान गरेका छन्: "सम्भवतः गीताको भाग्यवादप्रतिको मोह रोबर्टले युवावस्थामा प्राप्त गरेको शिक्षा वा सिकाइविरुद्ध ढिलो विकसित विद्रोहबाट उत्प्रेरित छ।"

त्यसो भन्दा उनीहरूले उनको 'एथिकल कल्चर सोसाइटी' सँगको प्रारम्भिक आबद्धतातिर औँल्याएका छन्। उक्त संस्थालाई "यहुदी धर्मको अमेरिकी हाँगा जुन तर्क र प्रगतिशील लौकिक मानवतावादका रूपमा परिचित छ" भन्ने गरिएको थियो।

नाकासाकीमा एटमबम विस्फोटन भएपछि उठेको धुवाँको मुस्लो

तस्बिर स्रोत, US Air Force Photo / PA

तस्बिरको क्याप्शन, सन् १९४५ को अगस्ट ९ मा जापानको नाकासाकीमा एटमबम विस्फोटन भएपछि उठेको धुवाँको मुस्लो

हिन्दू ग्रन्थको प्रशंसा

हिन्दू ग्रन्थहरूको प्रशंसा गर्ने ओपनहाइमर एक्ला व्यक्ति भने थिएनन्।

हेन्री डेभिड थोरोले आफू "भगवद्गीताको अद्भुत र ब्रह्माण्डीय दर्शनमा लीन भएको" चर्चा गर्दै आधुनिक संसार र यसको साहित्य निर्वल र अपर्याप्त रहेको टिप्पणी गरेका थिए।

हाइन्रिश हिम्लर अर्का प्रशंसक थिए। महात्मा गान्धी पनि कटिबद्ध अनुयायी थिए। त्यस्तै ओपनहाइमरले मान्ने दुई कवि डब्ल्यूबी यीट्स र टीएस एलिअटले महाभारत अध्ययन गरेका थिए।

पहिलो अणुबम परीक्षणपछि आकाशमा विशाल सुन्तला रङ्ग र च्याउ आकारको बादल देखा परेपछि ओपनहाइमरले पुन: गीतका श्लोक पाठ गरेका थिए।

दोस्रो विश्वयुद्धताका हिरोशिमा र नागासाकीमा खसालिएको उक्त बमले दशौँ हजार मानिसको ज्यान लिएको थियो।

अन्य वैज्ञानिकहरूसँग ओपनहाइमर

तस्बिर स्रोत, Getty Images

"हामीलाई थाहा थियो संसार पहिलेको जस्तो हुने छैन। केही मानिसहरू हाँसे, केही मानिसहरू रोए। धेरै मानिसहरू मौन थिए," उनले सन् १९६५ मा निर्माण गरिएको एउटा वृत्तचित्रमा एनबीसीसँग भने।

"मलाई हिन्दू धर्मग्रन्थ भगवद्गीताको पङ्क्ति याद आयो जसमा भगवान् कृष्ण राजकुमार (अर्जुन)लाई उनले पूरा गर्नुपर्ने कर्तव्यबारे मनाउन प्रयासरत हुन्छन्। अर्जुनलाई प्रभावित पार्न विश्वरूप देखाउँदै भन्छन् - अब म मृत्यु र संसारको विनाशकर्ता बनेको छु। मलाई लाग्छ कि हामी सबैले यसबारे कुनै न कुनै तरिकाले सोचेका छौँ।“

यी वैज्ञानिकका एक साथीले उक्त भनाइमा ओपनहाइमरले "पण्डित्याइँ छाँटेको" टिप्पणी गरेका छन्।

यद्यपि यी रहस्यमय वैज्ञानिक गीताबाट निकै प्रभावित थिए।

'द क्रिस्चियन सेन्चुरी'का सम्पादकहरूले ओपनहाइमरलाई उनको दार्शनिक दृष्टिकोणमा सर्वाधिक गहिरो प्रभाव पार्ने पुस्तकहरूबारे प्रश्न गर्दा उनले बोडलेअरद्वारा लिखिेत 'ले फ्लेअर डी माल' (दुष्टहरूको फूल) लाई शीर्ष स्थानमा र भगवद्गीतालाई दोस्रो स्थानमा राखेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।