विश्वलाई पाल्न सक्ने सयौँ वर्ष पुरानो गहुँको प्रजाति खोज्दै वैज्ञानिक

गहुँको प्रजाति

तस्बिर स्रोत, BBC/TONY JOLLIFFE

तस्बिरको क्याप्शन, न्याचुरल हिस्ट्री म्युजियमको अभिलेखमा जेम्स कुकले अस्ट्रेलिया पुग्दा सङ्कलन गरेको प्रजाति पनि छ

जलवायु परिवर्तनको चुनौतीका माझ विश्वको आहार बन्नसक्ने उपाय के एउटा ३०० वर्ष पुरानो सङ्ग्रहालयभित्र रहेको बाली हुनसक्छ?

लन्डनको न्याचुरल हिस्ट्री म्युजियमको अभिलेखमा रहेका १२ हजार गहुँ र त्यसका मिल्दोजुल्दो प्रजातिको अध्ययन गर्दै वैज्ञानिकहरूले यसको जवाफ खोजिरहेका छन्।

ब्रिटेनका वैज्ञानिकहरूले जलवायु परिवर्तन, किटनाशक औषधि र रोगको जोखिमसँग जुझ्ने अपेक्षा सहित यो अध्ययन अघि बढाएका हुन्।

ब्रिटेनको न्याचुरल हिस्ट्रि म्युजियममा रहेका सन् १७०० आसपास यताका गहुँका प्रजातिहरूको उनीहरूले अध्ययन गर्न थालेका हुन्।

त्यसमा जेम्स कुकले आफ्नो पहिलो अस्ट्रेलिया भ्रमणको क्रममा सङ्कलन गरेको गहुँ पनि छ।

अनुसन्धानकर्ताहरूले पुराना प्रजाति नयाँ भन्दा विविधतायुक्त रहेको आकलन गर्दै सबैभन्दा राम्रो पाइएका प्रजातिका आनुवंशिक चरित्रलाई अध्ययन गरेर तीनका विशेषताबारे बुझ्ने काम भइरहेको बताएका छन्।

पुराना प्रजाति कसरी राखिएका छन्

गहुँ

तस्बिर स्रोत, BBC/TONY JOLLIFFE

तस्बिरको क्याप्शन, द जोन इन्नस सेन्टरले पनि एक सय वर्ष पुरानो गहुँको अभिलेखहरूको अध्ययन गरिरहेको छ

जलवायु परिवर्तन, किटनाशक औषधि र रोगहरूले उक्त बालीमाथि दबाब निम्त्याइरहेको छ।

गहुँका पुराना प्रजातिहरू सयौँ फाइलहरू सहित उक्त म्युजियमको भल्टमा सुरक्षित रूपमा राखिएका छन्।

सुकाइएको पात, हाँगा वा अन्न अथवा तीनै कुरा सहित विशिष्ट ढङ्गले लिखित जानकारी सहित ती प्रजातिबारेका विवरण सङ्ग्रहित गरिएको छ।

उक्त अभिलेखको डिजिटल प्रति तयार पार्ने काम गरिरहेकी लारिसा वेल्टन भन्छिन्, "हामीसँग विभिन्न कृषि प्रविधि आउनुभन्दा अघिका प्रजातिहरू पनि छन् त्यही भएर कृत्रिम मल भन्दा अघि कसरी गहुँ फलिरहेको थियो भन्ने जवाफ समेत त्यसले दिन सक्छ।"

गहुँ किन महत्त्वपूर्ण

गहुँ विश्वको एउटा प्रमुख बाली हो र यो मुख्य गरी खानका लागि प्रयोग गरिन्छ।

पाउरोटीदेखि पास्तासम्म र सिरिअलदेखी केकसम्म तयार पार्न महत्त्वपूर्ण रहेको गहुँ हाम्रो खानेकुराको महत्त्वपूर्ण हिस्सा हो।

हाल युक्रेनमा जारी युद्धका कारण गहुँको विश्वव्यापी आपूर्ति प्रणाली जोखिममा परेको छ।

तर यो नै एक मात्र समस्या हैन।

जलवायु परिवर्तन र चरम मौसमले पनि असर गरिरहेको छ। वैज्ञानिकहरूले १ सेल्सियस तापक्रम वृद्धिले हामीले विश्वभर बाली लगाउने परिमाण ६ दशमलव ४ प्रतिशतले घटाउनसक्ने उल्लेख गरेका छन्।

त्यसबाहेक किटनाशक औषधि र रोगका कारण अपेक्षा गरिएको वार्षिक उत्पादन २० प्रतिशतसम्मले घटिरहेको भनिएको छ।

गहुँ

तस्बिर स्रोत, BBC/TONY JOLLIFFE

तस्बिरको क्याप्शन, गहुँको उत्पादनमा ह्रास आइरहेको बताइन्छ

आधुनिक गहुँ बालीले सङ्घर्ष गर्नु परिरहेको छ। सन् १९५० र सन् १९६० को दशकको हरित क्रान्तिको समयमा कृषकहरूले द्रुत गतिमा उत्पादन हुने प्रजातिहरूमा बढी ध्यान दिएका थिए।

बढी उत्पादन हुने प्रजातिमा ध्यान दिँदा अरू प्रजातिहरूलाई बेवास्ता गर्न थालियो जसको अर्थ चुनौतीहरू सामना गर्नसक्ने प्रजातिहरूले प्राथमिकता पाएनन् र गहुँको विविधता पनि कम हुन पुग्यो।

अनुवंश सम्बन्धी विज्ञ डाक्टर म्याथ्यू क्लार्क भन्छन्, “हामीले गुमाएको केही चीज जसलाई हामी फर्काउन सक्छौँ र आधुनिक प्रजातिका रूपमा ल्याउन सक्छौँ कि भनेर हेर्न चाहन्छौँ।”

विश्वको जनसङ्ख्या वृद्धि हुँदै जाँदा गहुँको उत्पादन अझै बढाउनुपर्ने चुनौती छ।

सन् २०५० सम्म अहिले भन्दा अनुमानित ६० प्रतिशत बढी उत्पादन गर्नुपर्ने बताइन्छ।

त्यही भएर वैज्ञानिकहरूले अहिले गहुँ उम्रन नसक्ने ठाउँमा पनि बाली लगाउन मिल्ने गहुँका प्रजातिहरू खोजिरहेका छन्।

डाक्टर क्लार्कका अनुसार गर्मी र सुख्खा मौसममा पनि हुर्कनसक्ने प्रजाति फेला पारियो भने त्यसले विकासशील देशहरूको खाद्य आपूर्ति प्रणालीमा सहयोग पुर्‍याउनेछ।