धान दिवसः अरू अन्न बेचेर चामल किन्ने चलन 'बढ्दो', के नेपालीले हिजोआज धेरै भात खान थालेका हुन्

रोपाइँ

तस्बिर स्रोत, RSS

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालले बर्सेनि आयात गर्ने धान तथा चामलको मात्रा बढ्दो क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर मन्त्रालयकै अधिकारीहरूका अनुसार पछिल्ला वर्षमा नेपालमा पनि धान उत्पादन बढिरहेको पाइएको छ।

नेपालमा सबैभन्दा धेरै धान र त्यसपछि मकै तथा गहुँ उत्पादन हुने गरेको छ।

नेपालमै उत्पादन बढिरहँदा पनि खासगरी चामलको आयात बढ्नुमा खानपान संस्कृतिदेखि विभिन्न कारण रहेको विज्ञ तथा सरकारी अधिकारीहरू औँल्याउँछन्।

आयातको अवस्था के छ?

आर्थिक वर्ष २०७३/०७४ मा १९ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको धान तथा चामल आयात गरेको नेपालले २०७७/०७८ मा ५० अर्ब बराबरको खरिद गरेको छ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार चालु आर्थिक वर्षकै आठ-नौ महिनाको अवधिमा नेपालले ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ।

"यो आर्थिक वर्षभरिमा पनि ५० अर्ब रुपैयाँभन्दा कमको धान र चामल आयात हुने देखिँदैन," बीबीसीसँग उनले भने।

चीन, भारत, भियतनाम, अमेरिका, दक्षिण कोरिया, थाईल्यान्डसहितका मुलुकबाट नेपालले चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

विभागको तथ्याङ्कअनुसार चामल तथा कनिकाबाहेक नेपालले करोडौँ रुपैयाँ बराबरको धानको बीउ समेत आयात गर्ने गरेको छ।

रोपाइँ

तस्बिर स्रोत, RSS

नेपालले बर्सेनि आयात गर्ने चामलमध्ये मसिनो तथा बास्नादार चामलको हिस्सा ७० प्रतिशतभन्दा धेरै रहेको प्रवक्ता सन्जेलले बताए।

सन् २०१९ मा प्रकाशित 'राइस स्ट्राटेजी फर नेपाल' शीर्षकको शोधपत्रमा अनुमान गरिएअनुसार सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड २ लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्न सक्छ।

सो शोधपत्रका लेखक भवप्रसाद त्रिपाठी, होमनारायण भण्डारी र जेके लाढा हुन्।

Getty Images
नेपालमा धानखेती

यस्ता छन् केही तथ्याङ्क

  • ७० प्रतिशतधानखेती आकाशे पानीमा निर्भर

  • १४.७ लाख हेक्टरजमिन धानखेती गर्न योग्य

  • १४ नेपालमा उत्पादन हुने धानका प्रकार

  • १३८ केजीवार्षिक प्रतिव्यक्ति औसतमा चामल खपत

  • ३०%खेतीयोग्य जमिनमध्ये केवल यतिमा मात्र सिँचाइ उपलब्ध

स्रोतः BBC research

नेपालीले कति भात खान्छन्?

नेपालीहरूले वार्षिक औसतमा भात खाने प्रवृत्ति बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

अधिकारीहरूले औसतमा उपभोग हुने चामलको मात्राबारे संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन एफएओको अध्ययनलाई उद्धृत गर्ने गरेका छन्।

इटलीको रोमस्थित एफएओको मुख्यालयले बीबीसी नेपालीलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालमा १० वर्षको अवधिमा बर्सेनि प्रतिव्यक्ति बराबर आपूर्ति हुने चामलको मात्रा बढ्दो देखिन्छ।

सन् २०१० मा नेपालमा प्रतिव्यक्तिलाई वार्षिक १३२.१६ किलो चामल आपूर्ति हुने गरेकोमा सन् २०१९ मा १३८.७४ किलो आपूर्ति भएको उसको तथ्याङ्क छ।

"यो भनेको प्रतिव्यक्तिले वार्षिक रूपमा उपभोग गर्ने मात्रा [चामल] को नजिकनजिक हो," एफएओको मुख्यालयमा सञ्चार मामिला हेर्ने अधिकारी क्रिस्टोफर एम्सडेनले बीबीसीसँग भने।

सन् २०१० मा प्रतिव्यक्ति चामल आपूर्ति वार्षकि १३२.१६ किलो रहेकोमा सन् २०१५ मा बढेर १३६.९ किलो पुगेको उक्त तथ्याङ्कमा उल्लेख छ।

प्रत्येक नेपालीले वार्षिक रूपमा उपभोग गर्न थालेको चामलको मात्रा 'चाहिनेभन्दा बढी' भएको सरकारी अधिकारीहरू दाबी गर्छन्।

"हामी बढी नै चामलमुखी देखिन्छौँ। खासगरी शहरी तथा नगरउन्मुख क्षेत्रमा चामलको उपभोग बढी भएको देखिन्छ," कृषि मन्त्रालयका प्रवक्ता सन्जेलले भने।

सरदर एक नेपालीले एक वर्षमा झन्डै १३८ किलो चामल खपत गर्ने गरेको बताइन्छ

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, सरदर एक नेपालीले एक वर्षमा झन्डै १३८ किलो चामल खपत गर्ने गरेको बताइन्छ

प्रतिव्यक्ति वार्षिक रूपमा औसत १२१ किलोसम्म चामल उपभोग गर्दा स्वास्थ्यको दृष्टिकोणले पर्याप्त हुने अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको उनको दाबी छ।

तर नेपालीहरूले बढी भात खान थालेको कुरामा कृषि विज्ञ कृष्णदेव जोशी चाहिँ सहमत देखिँदैनन्।

"एकजना नेपालीले वार्षिक १३८ किलोको हाराहारीमा चामल उपभोग गर्छन् जुन दैनिक २५० ग्राम हुन आउँछ," उनले भने।

"हामीले भन्दा भुटान, बाङ्ग्लादेश र एशियाका अरू मुलुकमा प्रतिव्यक्ति वार्षिक बढी मात्रामा चामल खपत हुने गरेको छ।"

सरकारी अधिकारी तथा विज्ञहरूका अनुसार नेपालमा चामल तथा धान आयात बढ्नुमा मुख्यतया पाँचवटा कारण देखिन्छ।

१. माग जति उत्पादन नहुनु

नेपालमा पछिल्ला वर्षमा धानको उत्पादनमा वृद्धि भइरहेको पाइएको अधिकारीहरूले बताएका छन्।

"गत पाँच वर्षको अवधिमा हामीकहाँ १.८ प्रतिशतले धानको उत्पादन बढेको देखिन्छ," राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दीनाथका धान संयोजक डा. रामवरण यादवले बीबीसीसँग भने।

कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ।

"तर धानखेती हुने जग्गामध्ये ३० प्रतिशतमात्र सिँचाइ पुगेको छ भने ७० प्रतिशतमा आकाशे पानीकै भरमा खेती हुन्छ," यादवले भने।

बेर्ना

तस्बिर स्रोत, RSS

राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक प्रजनन केन्द्रस्थित वरिष्ठ वैज्ञानिक भानुभक्त पोखरेलका अनुसार नेपालको उत्पादकत्व औसतमा प्रतिहेक्टर ४ टन रहेको छ।

"५५ देखि ६० लाख मेट्रिक टन धान हामीकहाँ उत्पादन हुन्छ। हाम्रो उत्पादनको २० प्रतिशत अझै आयातमा निर्भर गर्नुपर्ने अवस्था छ," बीबीसीसँग उनले भने।

हाल नेपालमा स्थानीय, उन्नत तथा वर्णशङ्कर (हाइब्रिड) जातका गरी १२ देखि १४ प्रकारका धान हुने गरेको पोखरेल बताउँछन्।

२. भात बढी रुचाउनु

पछिल्ला वर्षमा चामलको आयात बढ्नुमा अर्को प्रमुख कारण भातप्रति मानिसहरूको बढ्दो रुचि रहेको सरकारी अधिकारी तथा विज्ञहरू औँल्याउँछन्।

कृषि विज्ञ कृष्णदेव जोशीका अनुसार नेपालीहरूको खाद्य उपभोगमध्ये ७५ प्रतिशत योगदान चामलको रहेको छ।

"पहिला मकै दोस्रो खाद्यको रूपमा थियो भने अहिले दोस्रो नम्बरमा आलु आएको छ। तेस्रोमा गहुँ र चौथोमा मकै छ," केन्द्रीय तथ्याङ्क विभागको अध्ययनलाई उद्धृत गर्दै बीबीसीसँग उनले भने।

नेपालीहरूको खानपिन संस्कृतिमा परिवर्तन आएको सरकारी अधिकारीहरू दाबी गर्छन्।

"पहिलापहिला हामीले कोदो, फापर लगायत स्थानीय उत्पादन मज्जाले खान्थ्यौँ, तर अहिले भात नै खोज्छौँ," वरिष्ठ वैज्ञानिक पोखरेलले भने।

डा. यादव पनि पाएसम्म मानिसहरूले मकै, गहुँ आदि बेचेर चामल नै खान थालेको बताउँछन्।

भात

३. नेपालीको क्रयशक्ति बढ्नु

विप्रेषण आप्रवाह अर्थात्‌ रेमिट्यान्सका कारण नेपालीहरूको आर्थिक अवस्थामा सुधार हुँदै गएको विभिन्न सरकारी तथ्याङ्कले देखाएका छन्।

नेपालीहरूको क्रयशक्ति बढ्दै जानुले चामलको खपतमा योगदान पुर्‍याएको डा. यादव बताउँछन्।

त्यसमा सही थाप्दै कृषि विज्ञ जोशीले भनेः "चामलप्रतिको मोहलाई आयमा भएको वृद्धिले पनि टेवा पुर्‍याएको जस्तो मलाई लाग्छ।"

हाल भारतमा बाहेक ४० लाख नेपालीरू वैदेशिक रोजगारीमा रहेको बताइन्छ। रेमिट्यान्स बापत उनीहरू वार्षिक अर्बौँ रुपैयाँ नेपाल पठाउँछन्।

४. सडक सञ्जाल विस्तार

अहिले देशका लगभग सबै जिल्ला सडक सञ्जालमा जोडिनुले चामलको उपलब्धता पनि बढाएको अधिकारीहरू बताउँछन्।

सडक सञ्जालमा आएको सुधारले पनि चामलको उपभोग बढेको कुरामा कृषि विज्ञ जोशी पनि सहमत देखिन्छन्।

"पहिलापहिला हुम्ला, डोल्पा लगायत जिल्लाका मानिसहरू कैयौँ दिन पैदल हिँडेर चामल लिन पुग्ने गरेका हामीले सुनेकै हौँ," उनले थपे।

धानखेत

तस्बिर स्रोत, RSS

चामल आपूर्तिका लागि कतिपय जिल्लाका मानिसहरू विगतमा जस्तो नेपाल खाद्य संस्थानमा निर्भर हुने अवस्था पनि हटेको धान संयोजक डा. यादव बताउँछन्।

"पहिला खच्चड, घोडा, मान्छेले बोक्दा गाह्रो थियो। अहिले मोटरबाटोले सजिलो भयो," उनले भने।

"अहिले त डिलरहरूले ठाउँठाउँमा पसल खोलेका छन्, मानिसहरूले सजिलै चामल किन्न पाए।"

५. पेय पदार्थ बनाउनमा प्रयोग

पेय पदार्थ बनाउने प्रयोजनमा चामलको प्रयोगका कारण पनि पछिल्ला वर्षमा आयात बढ्न थालेको कृषि मन्त्रालयका अधिकारीहरूको दाबी छ।

एउटा अनौपचारिक अध्ययनअनुसार बीअर र विभिन्न प्रकारका जाँड बनाउनका लागि आयातको २० प्रतिशतसम्म प्रयोग हुन थालेको पाइएको कृषि मन्त्रालयका प्रवक्ता सन्जेल बताउँछन्।

"हुन त यो आधिकारिक तथ्याङ्क होइन, तर चामलको पेय पदार्थ बनाउनमा पनि प्रयोग उल्लेख्य रहेको पाइन्छ," उनले थपे।

उत्पादन कसरी बढाउन सकिन्छ?

नेपालमा धान, चामलको आयात घटाउनका लागि स्वदेशमा उत्पादन वृद्धि गर्नुको विकल्प नभएको विज्ञहरू बताउँछन्।

उत्पादन बढाउनका लागि राज्यले सोही अनुरूप नीति पनि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ।

"हाम्रो माग पूरा गर्ने हो भने उत्पादकत्व बढाउने र उत्पादन लागत घटाउनेतर्फ लाग्नुपर्‍यो। त्यसका लागि प्रविधि, नवप्रवर्तनमा आधारित खेती हनुपर्‍यो," कृषि विज्ञ जोशीले भने।

त्यसमा सरकारी अधिकारीहरू पनि सहमत देखिन्छन्। परम्परागत धानखेतीमा निर्भर भएर आयातलाई विस्थापित गर्न नसकिने उनीहरू पनि स्वीकार्छन्।

"उत्पादकत्व बढाउन उन्नत बीउमा पहुँच बढाउनुपर्‍यो, मलखाद समयमै उपलब्ध गराउनुपर्‍यो र सिँचाइको क्षेत्रफल बढाउनुपर्‍यो," राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक प्रजनन केन्द्रस्थित वरिष्ठ वैज्ञानिक पोखरेलले सुझाए।

जोताइ

तस्बिर स्रोत, RSS

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दीनाथका धान संयोजक यादवका विचारमा नेपालले उत्पादन बढाउने हो भने खासगरी हाइब्रिड जातको धानमा जोड दिनुपर्छ।

"मुख्य कुरो हाइब्रिड जातको धान हाम्रो खेतीयोग्य जमिनको करिब २५ प्रतिशत क्षेत्रमा लगाउनुपर्‍यो," उनले थपे।

"अनि चैते धान पनि तीन लाख हेक्टरसम्म पुर्‍यायो भने आयातलाई प्रतिस्थापन गर्न सकिन्छ।"

चामल तथा धानको आयात घटाउनका लागि खानपान संस्कृतिमा पनि परिवर्तन ल्याउने आवश्यकता पोखरेल देख्छन्।

"स्वास्थ्यको हिसाबले पनि र चामलको आयातलाई कम गर्न पनि खानपान संस्कृतिमा परिवर्तन ल्याउनुपर्छ," उनले भने।

"प्रतिव्यक्ति वार्षिक चामल खपत अझै बढी हुन सक्छ। हाम्रो धेरै जनसङ्ख्या देशबाहिर भएकोले अहिलेको आँकडाभन्दा अझ बढी पनि हुन सक्छ।"