भारतले चिनी निर्यात बन्द गर्दा नेपाललाई प्रभाव परेको छ?

बरामद गरिएका चिनीका बोरा

तस्बिर स्रोत, Chakra Darpal

असार ९ गते प्रहरीले नेपालगञ्जस्थित एउटा मिल क्षेत्रबाट ठूलो परिमाणमा चिनी फेला पार्‍यो।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक चक्र डमरपालका अनुसार भारतबाट साइकल, मोटरसाइकल र अन्य साना सवारीसाधनको प्रयोग गरी ल्याइएको ५० केजीका ५२० बोरा चिनी बरामद गरिएको हो।

डमरपाल भन्छन्, "कसैले भन्सार छली गरेर चिनी ल्याइएको भन्ने सूचना आएपछि हामीले खोजी सुरु गर्‍यौँ। भारतबाट अवैध रूपमा ल्याएको ठूलो मात्रा चिनी बेवारिसे अवस्थामा छाडिएको थियो।"

यसअघि पनि मानिसहरूले भारतबाट १५/२० किलो वा केही बोरा चिनी ल्याउने गरेको भए पनि भारतले चिनी निर्यात रोकेपछि ठूलो मात्रामा चिनी बरामद हुन थालेको उनले बताए।

यद्यपि जानकारहरूले चिनीको मूल्यमा ठूलो उतारचढाव नदेखिएको र बजारमा अभाव नभएको हुँदा नेपालमा चिनीको आपूर्ति भइरहेको देखिएको तर समयमै ख्याल गर्न नसके दसैँतिहारमा अभाव हुनसक्ने चेतावनी दिएका छन्।

अवैध चिनीमा के कारबाही?

यसअघि नेपालगञ्जबाटै ४० बोरा वैध ढङ्गमा ल्याइएको ठहर हुन नसकेको चिनी बरामद भएको जानकारी डमरपालले दिए। घटनासम्बन्धी थप कारबाहीका लागि बरामद भएका सम्पूर्ण चिनी भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ।

नेपालगञ्जका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेका अनुसार भारतले चिनी निर्यात रोक्ने भनेको अवस्थामा त्यसरी चिनी बरामद हुनु शङ्कास्पद भए पनि चिनी आयात ठप्प भएको छैन।।

उनका अनुसार भारतले नेपालका ठूला उद्योग तथा व्यवसायीहरूलाई कोटा प्रणालीको आधारमा चिनी उपलब्ध गराइरहेको छ।

न्यौपाने भन्छन्, "आधिकारिक रूपमा कुन-कुन दिनमा कति मात्रा चिनी पठाउने भनिएको छैन। तर उद्योगपतिहरूको नियमित रूपमा चिनी आइरहेको छ। हामीले अनुसन्धानको लागि ल्याएको चाहिँ सीमा क्षेत्रबाट लुकाएर नेपाल भित्र्याइएको सामान हो।"

छल गरेर ल्याएको शङ्का गरिएको भए पनि कसैले वैध रूपमा खरिद् गरेको प्रमाणित गर्ने कागजपत्र ल्याए सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने उनले बताए।

बरामद गरिएका दालका बोरा

तस्बिर स्रोत, Chakra Darpal

अहिले बरामद भएको चिनीको सन्दर्भमा मुद्दा दर्ता भएको छ। भन्सार अर्धन्यायिक कार्यालय भएकाले अवैध, चोरी तथा पैठारीको मुद्दा चलेर फैसला हुनसक्ने बताइन्छ।

"हामीले गरेको फैसला उपर चित्त बुझेन भने सम्बन्धित व्यक्ति राजश्व न्यायाधिकरणमा जान सक्छन्," न्यौपानेले जानकारी दिए।

उक्त चिनीसँगै बरामद भएका ३० किलो बराबरको ५१ बोरा दाल भने वैध ढङ्गले खरिद् गरेको पुष्टि भएपछि फिर्ता लगिएको छ।

नेपालमा चिनी अभाव हुन सक्छ?

नेपाल वितरक सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ बाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले नेपाल-भारत सीमा क्षेत्रबाट आइरहेकाले बजारमा चिनी अभाव नभएको हुन सक्ने बीबीसीसँग बताए।

"भारतले निर्यात रोकेको भनेको छ तर बजारमा चिनी उपलब्ध छ र मूल्यमा ठूलो उतारचढाव छैन। यसको मतलब अन्य तरिकाबाट आयात भइरहेको छ। जसका कारण माग र आपूर्तिको सन्तुलन भएको हो जस्तो लागेको छ," उनले भने।

सरकारले वैध ढङ्गमा चिनी आयातको व्यवस्थापन गर्नु पर्ने विचार श्रेष्ठको छ।

"नेपाल सरकारले भारत सरकारसँग सल्लाह गरेर आधिकारिक रूपमा चिनी आयात नगरे यस वर्षको दसैँतिहार भयावह हुने देखिन्छ।"

चिनी

तस्बिर स्रोत, Press Eye

तत्काल भारतीय पक्षसँग छलफल अघि नबढाए दसैँतिहारको समयमा आन्तरिक उत्पादनले माग नधान्ने र चिनीको अभाव साथै मूल्यवृद्धि हुन सक्ने श्रेष्ठले बताए।

नेपालमा मासिक २५ मेट्रिक टनको हाराहारीमा चिनी खपत हुने सरकारी तथ्याङ्क छ।

अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा झन्डै १,२७,००० मेट्रिक टन चिनी उत्पादन भएको छ। त्यसले आन्तरिक मागको ६७ प्रतिशत पूर्ति गर्ने र बाँकी आयातकै भर पर्नु पर्ने श्रेष्ठको भनाइ छ।

भारतले गत जुन महिनाको सुरुवातदेखि चिनी निर्यातमा रोक लगाएको हो। यद्यपि त्यसयता जुन १ देखि १५ सम्ममा भारतबाट सात लाख २८ हजार किलो चिनी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

भन्सार विभागका प्रवक्ता आनन्द काफ्लेका अनुसार चार करोड १८ लाख नेपाली रुपैयाँ बराबरको चिनी भारतबाट आयात भएको हो।

भारतले किन चिनी रोक्यो?

भारतमा उत्पादनमा कमी आएको कारण चिनी निर्यातमा रोक लगाइएको जनाइएको छ।

इन्डियन सुगर मिल्स एसोसिएशनका पूर्वमहानिर्देशक अविनाश वर्माले बीबीसीलाई बताए अनुसार बढ्दो निर्यातका कारण यस वर्षको अक्टोबर महिनासम्ममा भारत सरकारसँग चिनीको स्टक ६० लाख टनभन्दा कम हुने भएकाले यस्तो निर्णय गरेको हो।

भारतमा हरेक महिना २२ देखि २४ लाख टन चिनी खपत हुन्छ।

यस वर्ष त्यहाँ ३५० देखि ३५५ लाख टन चिनी उत्पादन हुने अनुमान गरिएको छ।