नेपाल मनसुन: पूर्वमा ठूलो पानी तर पश्चिममा अझै सुक्खा, कारण के होला

तस्बिर स्रोत, RSS
नेपालमा मनसुन भित्रिएको २० दिन भइसक्दा पनि देशका पश्चिमी भागहरूमा अझै "पर्याप्त पानी पर्न नसक्दा" बर्खे बाली प्रभावित हुने अवस्था आएको स्थानीय अधिकारी र कृषकहरूले बताएका छन्।
कतिपय स्थानमा पानीको मुहान सुक्दा खानेपानीको अभाव पनि देखिएको उनीहरूको भनाइ छ।
मौसमविद्ले यस वर्ष "मनसुन प्रवेश गरेको निकै दिन" हुँदा पनि पश्चिमसम्म पुग्न समय लाग्नु "अस्वाभाविक घटना" भने नभएको बताएका छन्।
उनीहरूका भनाइमा यसअघि पनि "कहिलेकहीँ यस्तै प्रवृत्ति" देखिने गरेको थियो।
यद्यपि प्राय: मनसुन नेपाल प्रवेश गरेको एक सातादेखि १० दिनसम्ममा देशैभरि फैलिसक्ने गरेको थियो।
स्थानीय अधिकारी के भन्छन्?
डोटी जिल्लास्थित मौसम फील्ड कार्यालय दिपायलका मौसम विज्ञान सहायक सन्तोष भट्टराईका अनुसार गत वर्ष ठूलो वर्षा हुन थालिसकेको अवधिमा पनि यस पटक त्यस क्षेत्रमा सुक्खा लागिरहेको छ।
"अहिले पनि यहाँ पानी पर्न सकेको छैन। कहिलेकहीँ सिमसिमे पानी परे पनि ठूलो पानी परेको छैन," उनले भने।

तस्बिर स्रोत, RSS
"सधैँ यस बेला यहाँ पनि ठूलो पानी पर्न थाल्थ्यो यो वर्ष अलि फरक देखियो।"
उक्त कार्यालयले राखेको मौसमसम्बन्धी विवरणअनुसार गत वर्ष असार १ गते नै त्यहाँ ठूलो वर्षा हुन थालिसकेको थियो।
"गत वर्ष असार १ गते यहाँ ४४.२ मिलिमिटर वर्षा भएको अभिलेख छ," उनले भने, "यसपालि असार १० गते आइपुग्दा पनि त्यस्तो ठूलो पानी पर्न सकेको छैन।"
उनका अनुसार बिहीवार २.७ मिलिमिटर वर्षा रेकर्ड भएको भए पनि शुक्रवार अपराह्ण "टन्टलापुर घाम" लागिरहेको छ।
पानी नपर्दा समस्या
समयमा पर्याप्त पानी नपर्दा स्थानीय कृषकहरूले ब्याडमा बर्खे धानको बीउ रोप्न नपाएको गुनासो गरिरहेको उनले बताए।
"कतिपय स्थानमा मुहानमा पर्याप्त पानी नहुँदा खानेपानीको समस्या पनि देखिएको गुनासो आइरहेको छ," उनले भने।
दार्चुलास्थित बीबीसी संवाददाता मञ्जु कल्यालका अनुसार कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुखले पानी कम पर्दा जिल्लामा रोपाइँ हुन नपाएको बताएका छन्।
उनका अनुसार उक्त जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ गर्न बाँकी नै छ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका कृषक मानसिंह धामी पनि पानी नपर्दा समस्या परेको बताउँछन्।
उनले भने, "हाम्रोमा धेरै रोपाइँका लागि वर्षाको पानीकै भर पर्नुपर्छ। अहिले पानी नपर्दा रोपाइँ गर्नै नपाइने हो कि जस्तो भएको छ।"
नेपालमा मनसुन
जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्ष जेठ २८ मा नेपाल प्रवेश गरेको मनसुन यो वर्ष त्यसको झन्डै एक साताअघि जेठ २२ मै भित्रिसकेको थियो।
तर अझै पनि मनसुन देशैभरि विस्तार हुन सकिरहेको छैन।
पानी नपर्दा विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कतिपय स्थानमा कृषकहरूले धानको बीउ पनि राख्न नपाएको गुनासो गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले यो वर्ष नेपालमा एक साताअगाडि नै मनसुन भित्रिएको तर त्यो पश्चिमतर्फ जान समय लागेको बताए।

तस्बिर स्रोत, RSS
"गत जेठ २२ गतेदेखि नेपालमा मनसुन प्रवेश गरेको हो तर हालसम्म गण्डकी प्रदेश आसपास मात्र पुगेको छ," उनले भने।
प्रत्येक वर्ष बङ्गालको खाडी हुँदै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्छ।
उनले भने, "अब एकाध दिनमा लुम्बिनी र कर्णाली प्रदेश तथा दुई/तीन दिनभित्र सुदूरपश्चिम प्रदेशमा मनसुन पुग्ने हाम्रो पूर्वानुमान छ।"
पश्चिम पुग्न किन समय लाग्यो?
पौडेलका भनाइमा नेपालमा प्राय: मनसुन प्रवेश गरेको एक सातादेखि १० दिनभित्र सुदूरपश्चिमसम्म त्यो पुगिसक्ने गर्छ।
तर यो पटक अलि लामो समय लिएको उनको भनाइ छ।
त्यसको कारणबारे पौडेलले भने, "मनसुन सुरु हुनुपूर्व नेपालमा पश्चिमी वायु सक्रिय हुने गरेको छ। पूर्वबाट प्रवेश गर्ने मनसुनी वायुले त्यसलाई पूर्वबाट धकेल्दै पश्चिमतर्फ लाँदा मनसुन सर्दै जाने हो।"
"यसपालि सुरुमा प्रवेश गर्दा मनसुनी वायु अलि कमजोर खालको थियो त्यसले गर्दा पूर्वी क्षेत्रमा धेरै सक्रिय भयो। अहिले पनि पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ।"
पौडेलका अनुसार पश्चिमी क्षेत्रमा अहिले परेको पानी पनि मनसुनी वर्षा होइन।
"पश्चिमी वायुकै प्रभावका कारण पश्चिमतिर हल्का वर्षा भइरहेको देखिन्छ। अब त्यसलाई पूर्वतर्फबाट जाने जलवाष्पयुक्त मनसुनी वायुले पूर्ण रूपमा धकेलेपछि मात्र पश्चिममा ठूलो वर्षा हुन थाल्छ।"

तस्बिर स्रोत, RSS
उनी अहिले पूर्वी क्षेत्रमा ठूलो खालको वर्षा भइरहेको र यो आगामी महिनामा अझै बढ्ने सम्भावना रहेको बताउँछन्।
पछिल्ला दिनहरूमा काठमाण्डू उपत्यका र प्रदेश नम्बर १ मा ठूलो वर्षा भएको मौसम विज्ञान विभागको भनाइ छ।
बिहीवार राति झापामा १०० मिलिलिटर वर्षा भएको र काठमाण्डूमा ६५ मिलिलिटरसम्म वर्षा भएको पौडेलले बताए।
ठूलो वर्षा भएसँगै विभिन्न नदीहरूमा जलप्रवाह बढेको भन्दै सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ।











