नेपाल मनसुन: एक साताअघि नै वर्षा सुरु हुने र औसतभन्दा बढी पानी पर्ने अनुमान, विपद् रोक्ने प्रयास कस्ता

इनरुवमा बाढीमा परेको बस

तस्बिर स्रोत, RSS

यस वर्ष सामान्यभन्दा एक साताअघि नै मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा बढी वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ।

भारतको मौसम पूर्वानुमान शाखाले जुन १ मा केरलाबाट मनसुन सुरु हुने जनाएको छ। नेपालमा पनि मनसुन प्रभावित हुनसक्ने अनुमान गरिएको मौसम पूर्वानुमानको महाशाखाका मौसमविद् वरुण पौडेलले बीबीसीलाई बताएका छन्।

"तर अहिले नै यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने कुरा तय गर्ने समय भएको छैन," उनले भने।

"नेपाली मौसमविद्हरूले गरेको आकलनमा भने जुन १० देखि १३ को आसपासमा मनसुन सुरु हुने देखिएको छ।"

प्रत्येक वर्ष साउथ एशियन क्लाइमेट आउटलुक फोरममार्फत् दक्षिण एशियाली मौसमविद्हरू मनसुनबारे सम्भावित जानकारीहरू निकाल्छन्। त्यसैलाई आधार बनाएर नेपालको पनि मौसम पूर्वानुमान गरिन्छ।

कस्तो रहन्छ नेपालमा मनसुन?

यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने विज्ञहरूको पूर्वानुमान छ। मौसमविद् पौडेलले मधेश प्रदेश र बागमती प्रदेशको दक्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने ठानिएको बताए।

नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ। यस अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको पौडेलले बताए। त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत नै मानिन्छ।

बाढीले मेलम्चीमा ठूलो क्षति पुर्‍याएको थियो

तस्बिर स्रोत, NurPhoto / Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष मनसुन सुरु हुनासाथ बाढीले मेलम्चीमा ठूलो क्षति पुर्‍याएको थियो

ठाउँअनुसार औसत वर्षाको मात्रा फरकफरक हुन्छ।

सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको तथ्याङ्कको आधारमा त्यहाँको औसत वर्षाको गणना गरिन्छ। उक्त स्थानमा पर्ने पानीको तुलनामा ११० प्रतिशतभन्दा धेरै वर्षा भयो भने त्यसलाई औसतभन्दा बढी मानिने विज्ञहरू बताउँछन्।

सामान्य वर्षा र मनसुन कसरी छुट्ट्याउने?

कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वर्षाका बेला विभिन्न स्थानमा बढीपहिरोले दुःख दिने गरेको छ

नेपालको विभिन्न भूभागमा अहिले पनि पानी परिरहेको छ। तर सामान्य वर्षा र मनसुनबीच भिन्नता हुने मौसमविद् पौडेलले जानकारी दिए।

अहिलेको अवस्थामा दिनभरि घाम लागे पनि साँझपख पानी पर्छ वा एकदुई दिन बिराएर पानी परिरहेको छ।

"सामान्य अवस्थामा पानी खण्डखण्ड गरेर पर्छ। मनसुनमा त्यस्तो हुँदैन। बिहानैदेखि छिपछिपे झरी पर्छ," उनले भने।

मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ। दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पुर्‍याउँछ।

मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिम लाग्छ।

अहिले पानी परे पनि बिहान दिउँसो प्रायः चर्को घाम लाग्छ। तर मनसुनको समयमा बिहानैदेखि कालो बादल मडारिने उनले बताए।

इन्द्रेनी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

वर्षा र विपद्

गत वर्ष पनि मनसुनमा औसतभन्दा बढी पानी परेको थियो। त्यसका कारण देशका विभिन्न स्थानमा प्राकृतिक विपद् देखा पर्‍यो। त्यसले थुप्रै भौतिक र मानवीय क्षति पुर्‍यायो।

"यस वर्ष पनि ठ्याक्कै यति पानी पर्छ भन्न सकिन्न, तर विगतका वर्षहरूको अवस्था विश्लेषण गर्दा १० दिनमा हुनुपर्ने वर्षा एक दिनमै भइदिने परिदृश्य दोहोरिन सक्छ। प्रणालीमा परिवर्तन देखिएको छ," मौसमविद् पौडेलले भने।

यस पटक पनि वर्षापछि निम्तिन सक्ने जोखिमप्रति सतर्क रहनुपर्ने उनले बताए।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष मनसुनको अवधिभरि प्राकृतिक विपद्का कारण बागमती प्रदेशमा मात्र एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भयो।

बझाङको पहिरो

तस्बिर स्रोत, RSS

बागमती प्रदेशका स्रोत व्यक्ति सुरेन्द्र कार्कीका अनुसार वर्षाका कारण विभिन्न क्षेत्रमा गरी २०० भन्दा बढी बाढी, पहिरो, खोला थुनिने र वेगका साथ खुल्ने, बाटो अवरुद्ध हुने जस्ता घटना भएका थिए।

"यस वर्ष चाहिँ त्यस्ता दुर्घटना नियन्त्रणका लागि पूर्वतयारी भइरहेको छ। स्रोतसाधनको यकिन तथ्याङ्क निकाल्ने र त्यसलाई परिचालन गर्ने सन्दर्भमा काम भइरहेको छ," कार्कीले भने।

उनले विपद् भइहालेको अवस्थामा उद्धार गर्न र राहत वितरणको समेत योजना बनाइरहेको उनले बताए।

त्यस्तै वर्षामा प्रभावित हुने प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा पनि पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

त्यहाँ जोखिमपूर्ण बस्तीहरू पहिचान गर्ने र स्थानान्तरण गर्ने, पहिरो जान सक्ने ठाउँहरू जहाँ चिरा परेका छन्। खनालका अनुसार ती ठाउँहरूमा भल कटाउने वा टाल्ने जस्ता कार्यको योजना बनिरहेको छ।

उनले भने,"विपद् रोक्न नसकेको परिस्थितिमा राहत सामग्रीहरूलाई योजनाअनुरूप ठाउँहरूमा तयार राख्दै छौँ। त्यस्तै बाटो खोल्ने उपकरणहरू पनि तयारी अवस्थामा राख्ने योजना छ।"

स्थानीय तहको निर्वाचन सकिएपछि जनप्रतिनिधिहरूसँग बसेर छलफल गर्ने र जोखिम न्यूनीकरणका लागि स्थानीयवासीलाई सतर्क र सक्रिय बनाउने खनालले बताए।

बाली नोक्सानी रोक्न के?

मनसुन फाइल फोटो

तस्बिर स्रोत, RSS

गत वर्ष मंसिरमा भएको आकस्मिक वर्षाका कारण करिब पाँच अर्ब ७२ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको प्रारम्भिक विवरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको थियो।

कृषि मन्त्रालयले यस पटक पनि सम्भावित क्षति रोक्न मन्त्रालय र सम्बन्धित निकायहरू सतर्क रहेको बताएको छ।

"यस पटक सतर्क छौँ। मौसम पूर्वानुमान विश्लेषण गरी सूचना प्रवाहको दायरा बढाउँदै छौँ," मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने।

त्यस्तै सुक्खा डुबान भइहालेको स्थितिमा त्यसलाई सहन सक्ने धानको जात विकास भएको उनले बताए।

उनका अनुसार प्रदेशका कृषि विज्ञान केन्द्रहरूमार्फत् त्यस्तो जातको धान प्रसार गरिने छ।

"डुबान हुने सम्भावित क्षेत्रहरूबारे स्थानीय स्तरमा अध्ययन भएका छन् भने त्यहाँ डुबान सहन सक्ने बीउ पुर्‍याउँछौँ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा