जलवायु परिवर्तन: घना बस्ती भएको क्षेत्रमा फैलिँदै छ समुद्री आँधी

चक्रवात

तस्बिर स्रोत, NASA

    • Author, म्याट म्याकग्रा
    • Role, वातावरण सम्वाददाता

एउटा नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण उष्ण प्रदेशीय चक्रवातका दायरा बढेको बताएका छन्।

चक्रवातको दायर बढेपछि आउने विनाशकारी समुद्री आँधीहरूका कारण लाखौँ सङ्ख्यामा मानिसहरू जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ।

अहिले यी चक्रवातहरू मुख्यतया भूमध्यरेखादेखि उत्तर र दक्षिणमा अवस्थित उष्ण प्रदेशीय क्षेत्रहरूमा देखिन्छ।

तर अनुसन्धानकर्ताका अनुसार बढ्दो तापक्रमका कारण यी मौसमी घटनाहरू मध्य-अक्षांशका भूभागमा पनि देखा पर्न सक्ने बताएका छन्।

उक्त भूभागमा न्यूयोर्क, बेइजिङ, बोस्टन र टोकियोलगायत सहरहरू छन्।

अध्ययन नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार यस शताब्दीको अन्त्यसम्ममा यी चक्रवातहरूले तीस लाख वर्ष पहिले झैँ निकै वृहत् दायरामा असर पुर्‍याउने छन्।

सन् २०२० सेप्टेम्बरमा पोर्चुगलमा अल्फा आँधीले पहिरो निम्त्यायो। तुलनात्मक रूपमा सानो आकारको उक्त क्षति समाचारको शीर्षक बनेन तर वैज्ञानिकहरूका लागि यो एक महत्त्वपूर्ण घटना थियो।

“हामीले यस्तो कहिल्यै अनुभव गरेका थिएनौँ,” येल विश्वविद्यालयका भौतिकशास्त्री जोस्वुवा स्टडहोल्मले भने।

“पोर्चुगलमा यसअघि कहिल्यै नदेखिएको आँधी परम्परागत मध्य-अक्षांश आँधी समयक्रममा खिइँदै र स्वरूप परिवर्तन गर्दै विकसित भएको हो,” उनले भने।

चक्रवात

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अमेरिकी समुद्री किनारका बस्तीमाथि सन् २०१७ मा बनिरहेका तीन चक्रवात

डा. स्टडहोल्मले यस अनुसन्धानको नेतृत्व गरेका थिए।

उक्त अध्ययनले प्रक्षेपण गरे अनुसार जलवायु परिवर्तनका कारण मध्य अक्षांशका भूभागहरूमा यस्ता आँधीहरू उत्पन्न भइरहेका छन्। जहाँ विश्वको अधिकांश जनसङ्ख्या रहेको छ र अधिकांश आर्थिक गतिविधिहरू यही भूभागमा हुने गर्दछ।

उनले व्याख्या गरे अनुसार जब पृथ्वीको तापक्रम बढ्दै जान्छ तब भूमध्यरेखा र ध्रुवीय क्षेत्रबीचको तापक्रम भिन्नता घट्दै जान्छ। जसले जेट स्ट्रीम्स भनिने हावाको बहावलाई समेत प्रभावित गर्छ।

जेट स्ट्रीम्स पृथ्वीको सतहभन्दा कयौँ किलोमिटर माथि घेरा लगाएर रहेको हुन्छ।

सामान्यतया हावाका यी उच्च तहले आँधीलाई भूमध्यरेखा केन्द्रित गराउन सीमा रक्षकको काम गर्छ।

चक्रवात

तस्बिर स्रोत, NASA

“जब तापक्रम वृद्धि हुँदै जान्छ, जेट स्ट्रिम्सको उक्त कार्य मध्य अक्षांशमा सर्न पुग्छ, जसका कारण उक्त सतह कमजोर हुनुका साथै फुट्न पुग्छ र आँधी बन्छ।”

मानव सिर्जित जलवायु परिवर्तनका कारण आँधीहरूमा पर्ने प्रभाव विगतमा विवादास्पद थियो। तर पछिल्ला अध्ययनहरूले जलवायु परिवर्तन र आँधीबीचको सम्बन्ध निकट रहेको स्पष्ट सङ्केत गरेका छन्।

गत अगस्टमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल आईपीसीसीले आफ्नो मूल्याङ्कन प्रतिवेदनको पहिलो अङ्क प्रकाशित गर्‍यो। जसमा तापक्रम वृद्धिबारे उल्लेख गरिएको छ।

लेखकहरूले आँधी र उष्ण प्रदेशीय चक्रवातहरू मानवीय क्रियाकलापका कारण थप सशक्त हुँदै गएकोबारे आफूहरू विश्वस्त रहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको असर: मुस्ताङमा झाडापखाला हैजा

“औसतमा उष्ण प्रदेशीय चक्रवातहरू थप विनाशकारी हुँदै गएको र जलवायु परिवर्तनसँगै यो विश्वव्यापी रूपमा फैलिरहेको छ,” आईपीसीसीले जनाएको छ।

गएको बुधवार प्रकाशित नयाँ अध्ययनले बहुआयामिक तथ्यहरूको प्रयोग गरेर यस्ता उष्ण प्रदेशीय चक्रवातहरू भविष्यमा अझै धेरै उत्पन्न हुने र पहिले सोचिएभन्दा ठूला भूभागमा फैलने प्रक्षेपण गरेको छ।

“हामीले आँधीहरूमा के भइरहेको छ र वातावरणीय प्रभावले यसलाई कस्तो असर गरिरहेको छ भन्नेबारे स्पष्ट व्याख्या मात्र गरेका हौँ,” डा. स्टडहोल्मले भने।

“आँधीबारे गरिएको व्याख्या एक जटिल समस्या हो किनकि यसलाई आधुनिक कम्प्युटरहरूमा गणितीय सूत्रहरूका आधारमा अनुकरण गर्न मिल्दैन।"

आईडा आँधीले गरेको विनाश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आईडा आँधीले गरेको विनाश

जलवायु परिवर्तनका असरहरू नदेखिँदासम्म अन्य असरहरू वृहत् क्षेत्रमा यस्ता आँधीहरू फैलिनुले पृथ्वीमाथि गम्भीर सुरक्षा खतरा बढाएको छ।

“मध्य अक्षांशमा देखिने यस्ता चक्रवातहरूमा गति कम हुने वा भारी वर्षा हुनजस्ता परिवर्तन देखिन सक्छ,” डा. गान झाङले बताए।

उनी प्रिन्स विश्वविद्यालयमा कार्यरत वातावरण वैज्ञानिक हुन् जो पछिल्लो अध्ययनमा सहभागी थिएनन्।

उनले उष्ण प्रदेशीय चक्रवातमा आएको परिवर्तनसँगै बढ्दो समुद्री सतहले सम्भावित सामाजिक जोखिम कैयौँ गुणा बढाएको बताए।

डा. झाङले उष्ण प्रदेशीय चक्रवात र तापक्रम वृद्धिबीचको संवेदनशीलतामा उच्च अनिश्चितता रहेको तर सामान्य तापक्रम वृद्धिले पनि यस्ता आँधीबाट हुने जोखिम उल्लेख्य बढ्नसक्ने बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के हीराले जलवायु परिवर्तन रोक्न सहयोग गर्छ?

अध्ययनमा संलग्न वैज्ञानिकहरूका अनुसार यस्तो परिवर्तनका असरहरूबारे कतै ठोस उल्लेख गरिएको छैन।

तर आगामी दशकमा नाटकीय रूपमा कार्बन उत्सर्जन घट्ने हो भने नतिजा फेरिन पनि सक्छ।

“उष्ण प्रदेशीय आँधीको स्वरूप परिवर्तन माथिको नियन्त्रण ध्रुवीय र उष्ण प्रदेशीय क्षेत्रबीचको तापक्रम भिन्नतामा निहित छ। र यो समग्र जलवायु परिवर्तनसँग सूक्ष्म रूपमा जोडिएको छ,“ डा. स्टडहोल्मले भने।

“यस शताब्दीको अन्त्यसम्ममा उक्त तापक्रम भिन्नता अत्यधिक र न्यून उत्सर्जनको अवस्थामा नाटकीय हुनेछ। जसका कारण आँधीहरूले कस्तो व्यवहार देखाउँछ भन्ने निर्धारण गर्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको बृहत् तस्बिर र त्यसको नेपालमा प्रभाव